काठमाडौं । अभिषेक रिजाजको चार गोल प्रेरित एन्फाको यु–२१ टोलीले भारतको गुवाहाटीमा जारी डाक्टर तालिमेरेन टिओ फुटबल च्याम्पियनसिपमा ८–० ले जित दर्ता गरेको छ । पहिलो खेलमा पराजय भोगेको यु–२१ टोलीले दोस्रो खेलमा फराकिलो जित निकालेको हो ।
पहिलो हाफमा २–० को अग्रता लिएको एन्फाले दोस्रो हाफमा मात्र ६ गोल थपेको थियो ।
चौथो मिनेटमा प्रिजन तामाङको गोलबाट अग्रता लिएको एन्फाले ३१ औं मिनेटमा रेजिन सुब्बाको गोलमार्फत् अग्रता दोब्बर पारे । ५२ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका अभिषेकले ६६ औं मिनेटमा दोस्रो ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनले चौथो गोल ७८ मिनेटमा गरेका थिए ।
त्यसअघि पहिलो गोल गरेका प्रिजनले ६७ औं र धिरज श्रेष्ठले ७७ मिनेटमा गोल गरे । ४ गोल गरेका अभिषेक म्यान अफ दी म्याच भए । समुह बि मा रहेको एन्फाको टोली पहिलो खेलमा मेघालयसँग ३–२ ले पराजित भएको थियो । अब एन्फाले शनिबार तेस्रो खेलमा मणीपुरसँग प्रतिस्पर्धा गर्नेछ ।