site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रीले भने– यो धनीलाई हुने रोग हो, धनीहरु बाहिर गइहाल्छन् नि !
Ghorahi CementGhorahi Cement

त्रिचन्द्र कलेजबाट उनले आईएससी सक्याए । त्यस वर्ष कोही विद्यार्थी फर्स्ट डिभिजनमा पास भएनन् । उनी पनि सेकेन्ड डिभिजनमा पास भए । तर उच्चतम अंक आएकोले उनले कोलम्बो प्लान अन्तर्गत एमबीबीएसमा छात्रवृत्ति पाए । र, उनी एमबीबीएस गर्न भारतको इन्दौर गए । 
इन्दौरमा उनको पढाई शुरु भयो । होस्टलको बसाई थियो । उनको कोठाभन्दा अर्को तर्फको कोठामा एमबीबीएस तेस्रो वर्षका केटाहरु थिए । उनी भने राती चाँडै सुत्थे । बिहान सबेरै उठेर पढ्थे । एकदिन रातको ११ बजेतिर उनको छिमेकी कोठाका विद्यार्थीहरुले उनलाई उठाए । 
उनी उठे । उनीहरुले उनलाई आफ्नो कोठामा लगे । त्यसपछि उनको कमिज खोल्न लगाए । छक्क पर्दै उनले सिनियर विद्यार्थीहरुको कुरा मान्दै गए । उनले लुगा खोलेपछि बस्न भने । उनीहरु तीन चार जना थिए । त्यसपछि ती केटाहरुले उनको पेट थिचेर हेरे । आँखा हेरे । जिब्रो निकाल्न लगाएर हेरे । हात खुट्टा थिचेर हेरे । र, डाक्टरले निर्णय दिएजस्तै ती तेस्रो वर्षका एक विद्यार्थीले आफ्ना साथीहरुलाई हिन्दीमा भने, ‘यसलाई के भएको छ थाहा छ ? यसको शरीरमा रगतको कमी छ’ । उसका साथीहरु पनि यो कुरा सुनेर छक्क परे । सबै आश्चर्यचकित थिए । फेरि उसैले भन्यो, ‘इसको जरुर हुकवर्म एनिमीया हुवा है’ । 
गएको शनिबार वरिष्ठ शल्यचिकित्सक प्रा.डा. लोकविक्रम थापा (८४) ज्ञानेश्वरस्थित आफ्नै निवासमा मेडिकल कलेजको यो प्रसंग सुनाउँदै थिए । उनी साठी वर्षअघिको सम्झनामा पुगे । नोस्टाल्जीक भए । भने, ‘उसले मेरो विषयमा डिक्लियर गर्यो । खासमा कुरो के भएको रहेछ भने अघिल्लो दिन क्लासमा ‘हुकवर्म एनीमीया’का विषयमा ऊ पढिरहेको रहेछ । त्यसका लक्षणहरुका बारेमा पढ्दै जाँदा उसले मलाई सम्झेछ । उसलाई लाग्यो, थापामा पनि यस्तै लक्षणहरु छन् । पक्कै थापालाई पनि ‘हुकवर्म एनीमीया’ भएको हुनुपर्छ ।’ 
प्राडा थापाले हुकवर्म एनीमीयाका बारेमा बताए । एककिसिमको जुका वा किरा, जसले मानिसको खुट्टाको औँलाबीचबाट शरीरमा प्रवेश गर्छ र रगत खान्छ । यसले मानिसलाई रिङ्गटा लाग्ने र शरीरमा रगतको कमी गराउँछ । मूलतः खुला क्षेत्रमा दिसा गर्नेहरुमा यस्तो रोग बढी देखापर्छ । 
\"\"एमबीबीएस तेस्रो वर्षका विद्यार्थीहरुले मध्यरातमा उनको डायग्नोसिस गरे । र भोलीपल्ट बिहान दिसा र रगत जँचाउन आफैसँग हिँड्न भने । भोलीपल्टै उनको दिसा र रगतको प्याथोलोजिकल जाँच भयो । उनको दिसामा अनेक किराहरु देखिए । त्यसपछि पढ्दै गरेको मेडिकल कलेजको अस्पतालमै उनको उपचार भयो । एक महिनामै उनी तन्दुरुस्त भए ।
प्राडा थापामा हुकवर्म एनीमीया जनकपुरमा पढ्न बस्दा नै भएको रहेछ । तर, तत्कालिन समयमा दक्ष डाक्टर र रोग निदान गर्ने उपकरणको अभावका कारण कुन रोग हो भन्ने पत्ता लगाउनै सकिन्थेन । 
डा. लोकविक्रम थापा इन्दौरबाट जनकपुरको स्मृतिमा फर्किए । २००४–०५ सालतिर पढ्नका लागि उनी जनकपुर पुगे । त्यसबेला जनकपुरमा दिसा पिसावका लागि खेतबारी धाउनु पर्ने अवस्था थियो । जुत्ता चप्पलको प्रचलन थिएन । काठको खडाउ प्रयोग गरिन्थ्यो । तर नित्यकर्मका बेला खाली खुट्टै लोटामा पानी बोकेर खेतबारीमा पसिन्थ्यो । 
त्यहीबेला उनलाई यो रोग लागेको रहेछ । जनकपुरमा उनलाई रिङ्गटा लागि रहन्थ्यो । त्यसबेला यसो सिकेर बिरामी जाँच्दै आएका खोँखा डाक्टर थिए । उनले केही औषधि दिए । तर औषधि खाउन्जेल रिङ्गटा लाग्थेन । केही समयपछि फेरि उस्तै हुन्थ्यो । यसरी उनले धेरै औषधि खाए । 
एक पटक उनका पिताजी जनकपुर आएको बेलामा जचाउँदा खोँखाले ‘चिसो ठाउँको मानिस गरम ठाउँमा बसेकोले यस्तो भएको हो’ भनिदिए । त्यस पछि उनका पिताजीले ज्यान स्वस्थ भए जे पनि काम गर्न सकिन्छ भन्दै उनलाई गाउँ लिएर आए । 
पछि उनी पढ्न काठमाडौं गए । तुलनात्मकरुपमा काठमाडौंमा उनलाई रिङ्गटा कम लाग्थ्यो । तर काठमाडौंका नाम चलेका डाक्टरहरुले पनि उनको बिमारको निदान गर्न सकेनन् । अन्ततः एमबीबीएसका तेस्रो वर्षमा पढ्ने विद्यार्थीले उनको रोग पत्ता लगाए । 
प्राडा थापा पुरानो कुरा सम्झिँदै हाँसे । उनी भन्छन्, ‘काठमाडौंमा पनि मेरो रोग पत्ता लागेन ! काठमाडौंमा पनि त्यो बेला प्याथोलोजी टेष्ट हुन्थेन् । अर्थात् हामी कहाँ केही सुविधा थिएन । अनुभवका आधारमा उपचार हुँदै आएको थियो बिरामीहरुको । जबकी मलाई जनकपुरमै लागेको रोगको निदान एमबीबीएसमा पढ्ने विद्यार्थीले नै गरिदिएका थिए ।’
डा. थापाको कुराले थाहा हुन्छ, साठी सत्तरी वर्ष अघिको उपचार प्रकृया कस्तो थियो भन्ने । 

०००
\"\"प्राडा लोकविक्रम थापा सिन्धुलीको खनियाखर्कमा जन्मिए । उनको बाल्यकाल त्यहीँ नै बित्यो । स्कूल नभएकोले सामान्य कखरा सिक्दै र गाई बाख्रा चराउँदै उनको समय बित्दो थियो । उनका पिताजी आर्मीमा भएको र तराईमा जग्गा जमिन भएकोले ठाउँठाउँ घुमिरहन्थे । त्यसैले पनि उनमा केटाकेटीहरुलाई पढाउनु पर्छ भन्ने सोच थियो । तर स्कूलको अभावमा पढाउनु सम्भव थिएन । 
डा. थापा भन्छन्, ‘आज बीपी राजमार्गमा सबैभन्दा राम्रो ठाउँ हो खनीयाखर्क । चिसो ठाउँ । पर्यटकीय दृष्टिकोणबाट सुन्दर र उपयुक्त ठाउँ मान्छु म । यही सुन्दर हिल स्टेशन र ऐतिहासिक स्थलमा मेरो बाल्यकाल बित्यो । तर २००१ सालमा आएर मात्रै मेरो पठन पाठनको ढोका उघारियो ।’ 
त्यसबेला सिन्धुलीगढीमा एउटा सानो पाठशाला थियो । हिँड्ने र कुद्ने उमेरको हुँदैजाँदा उनले पनि त्यही पाठशालामा पुगेर कखरा सिके । त्यसैबेला कुपण्डोलका एकजना राणा बडाहाकिम भएर गढी पुगे । गढीमा दरबार नै थियो । त्यही बस्थे बडाहाकिम । उनका तीन छोराहरु पनि गढीमै थिए । उनीहरु त्यस अघि काठमाडौंको दरबार हाईस्कूलमा पढ्दा रहेछन् । सिन्धुली पुगेपछि तिनीहरुको पढाई बन्द भयो । किनभने सिन्धुलीमा स्कूल थिएन । 
दशैंको समय थियो । अंग्रेजसँग युद्धका बेला खोसिएको तोप गढीमै राखिएको थियो । दशैंमा त्यसको पूजा गरिन्थ्यो । दशैंको मेसोमा एकदिन डा. थापाका पिताजीले उनलाई पनि लिएर गढी गए । तोपको पूजा सकियो । पिताजीले नयाँ बडाहाकिम आएका छन् भेट्न जाउँ भने । उनी पिताजीको पछि लागे । र गढी दरबार पुगे ।
भेटघाट गरेपछि बडाहाकिमले उनका पिताजीलाई भनेछन्, ‘यहाँ स्कूल रहेनछ । मेरा तीन छोराहरुको पढाई बिग्रने भयो । त्यसैले मैले फेरि सरुवाका लागि बिन्ती चढाएको छु । म फेरि काठमाडौं फर्किन्छु’ ।
प्राडा थापा भन्छन्, ‘पिताजीले बडाहाकिमलाई तत्कालै भन्नु भयो, ‘हजुरका छोराहरुको पढाईका लागि म हिन्दुस्तानमै गएर भए पनि मास्टर लिएर आउँछु । यहीँ दरबारमा बसेर पढाउँछन् मास्टरले । मेरो यो छोराले पनि त्यही मास्टरसँग अलिकति अंग्रेजी पढ्न पाउनेछ । बस्, मेरो जीवनको एउटा महत्वपूर्ण टर्निङ प्वाईन्ट नै त्यही भयो ।’
दशैं सकिएको केही दिनमै डा. थापाका पिताजीले दरभङ्गाबाट एकजना शिक्षक लिएर आए । उनले बडाहाकिमका छोराहरुलाई पढाउन थाले । त्यसैबखतदेखि लोकविक्रम थापाले पनि अंग्रेजी पढ्न सुरु गरेँ । शुरुआत फस्र्टबुकबाट भयो । फस्र्ट बुक पढ्दै जाँदा उनले एबीसीडी सबै पढे र सिके । करिब तीन चार महिना नै लाग्यो । 
डा. थापा भन्छन्, ‘मलाई आज पनि सम्झना छ, एबीसीडी पछि ती मास्टरले पढाएको पहिलो वाक्य थियो ‘वी डू’ । मास्टरले त्यसको अर्थ लगाए ‘हमलोग करते हँै’ । खनियाखर्कको मानिस म, मैले हिन्दी भाषा कसरी बुझ्नु । बुझिन । हिन्दी बुझे पो त्यसको अर्थ बुझ्नु । मास्टरले मलाई बुझ्यौ भनेर सोधे । तर मैले केही बुझेको थिइन । अनि मास्टर मलाई अनेक रंग भन्थे ।’ 
कुरा नबुझे पनि जसोतसो चल्दै गएको थियो । तर पाँच महिना नबित्दै बडाहाकिम सरुवा भएर काठमाडौं गए । मास्टर पनि दरभंगा फर्किए । लोकविक्रम थापाको पनि शुरु भएको पढाई बीचमै रोकियो । उनी फेरि आफ्नो उही पुरानै रमाईलोमा फर्किए । 
केही समय पछि उनका पिताजीलाई लाग्यो हैन, पढ्ने क्रम रोकिनु हुँदैन । उनका पिताजीलाई शिक्षाको महत्व थाहा थियो । त्यसैले उनले लोकविक्रमलाई सिन्धुलीकै हत्पते भन्ने ठाउँमा संस्कृत पढ्न एउटा परिचित व्यक्ति कहाँ राखिदिए । त्यहाँ उनले दुर्गाकवच र संस्कृतका केही किताबहरु पढे । 
त्यसैबीच धनुषाको रघुनाथपुरमा एउटा मास्टरले अंग्रेजी पढाउँछ भन्ने थाहा पाए पछि लोकविक्रमका पिताजीले उनलाई रघुनाथपुर पुर्याए । त्यहाँ उनको फूपू पर्नेको पनि घर भएकोले उनी रघुनाथपुरमा बसेर अंग्रेजी पढ्न थाले । त्यसबेला मधुवनीबाट आएका मास्टरले पढाउँथे । त्यतिबेला रघुनाथपुरमा विर्तावालहरु टन्नै थिए । 
रघुनाथपुरमा उनी एक वर्ष बसे । र, २००४ सालमा जनकपुरमा सरस्वती हाईस्कूल खुलेपछि उनी जनकपुर गए । पाँच कक्षामा भर्ना भए । जनकपुरमा उनी आफ्ना काईँलो काका कहाँ बस्थे । 
\"\"सरस्वती हाईस्कूलमा उनले तीन वर्ष पढे । हाईस्कूलमा उनी आठ कक्षामा पढ्दै थिए । तर बारम्बार रिङ्गटा लाग्ने र शरीर कमजोर भएकोले उनको पढाई जनकपुरमा आठमै रोकियो । उनी कक्षाका फस्र्ट विद्यार्थी थिए । तर पनि उनले पढाई पूरा गरेनन् । शरीर स्वस्थ रहनु पर्छ भन्दै उनका पिताजीले लोकविक्रमलाई फेरि खनियाखर्क नै लगे । 
आठ पढ्दापढ्दै उनी खनियाखर्क फर्किए । आफूलाई पढ्न यतिमात्रै लेखेको रहेछ भनेर चुप लागेर बसे । केही समय बित्दै दशैंको रौनक शुरु भयो । दशैंका बेला उनका भान्दाई खनियाखर्क पुगे । भान्दाई तत्कालिन प्रधानमन्त्री मोहन शमशेरका बडी गार्ड थिए । 
दशैं मनाउन गाउँ पुगेका भान्दाइलाई लोकविक्रमले आफ्नो पढाई अड्किएको दुखेसो पोखे । र उनीसँग आफू पनि काठमाडौं जाने बताए । भान्दाइले पनि लोकविक्रमलाई काठमाडौं लिएर आए । 
डा. लोकविक्रम थापा भन्छन्, ‘दरबार हाईस्कूलमा भर्ना गर्ने मेसो मिलाउनका लागि बद्रिविक्रम थापा दाइसँग कुरा गरेँ । उहाँ काठमाडौं नै हुनुहुन्थ्यो । उहाँले पनि तत्कालिन शिक्षामन्त्री नृप शमशेर राणालाई भनेर दरबार हाईस्कूलमा भर्ना गरिदिने सिफारिस चिठी लेखाई दिनुभयो । र म चिठी लिएर दरबार हाईस्कुलका बंगाली हेडसर कहाँ पुगेँ ।’ 
तर उनको भर्ना भएन । दरबार हाईस्कूलका हेडसरले भर्ना गर्न मानेनन् । अनि लोकविक्रमले पनि हेडसरलाई हिन्दी भाषामै आफ्नो दुःख सुनाए । उनी त्यतिबेला धोती कुर्ता नै लगाउँथे । त्यही लगाएर स्कूल पुगेका थिए । जनकपुर बस्दा नै उनको धोती कुर्ता लगाउने बानी भएको थियो ।
यतिभन्दा पनि हेडसरले उनको भर्ना गर्न मानेनन् । बरु भर्ना नै नभई नौ कक्षामा बसेर पढ्ने अनुमति दिए । यदि नौ कक्षाको परीक्षा पास भए दशमा भर्ना गरिदिने, हैनभने नौमा नै भर्ना गर्ने सर्त मान्दै लोकविक्रम पनि कक्षा धाउन थाले ।
डा. थापा भन्छन्, ‘मलाई जसरी पनि पढ्नु थियो । म नौ कक्षामा बसेर पढ्न थालें । नौ कक्षाका प्रथम विद्यार्थी त्रिशुलीका रामप्रसाद श्रेष्ठसँग सम्बन्ध बढाएँ । र उनीसँगै नजानेका विषयहरु पढदै गएँ । बिहान बेलुकी नै म रामप्रसाद कहाँ पुग्थेँ । उनी इन्द्रचोकमा बस्थे । उनले पनि सिकाउने मामिलामा कहिले कन्जुसी गरेनन् ।’ 
लोकविक्रम थापाले पनि मेहनत गर्न थाले । उनले सोचे, कसैगरी दश कक्षामा भर्ना त हुनैपर्छ । त्यसैले सक्दो मेहनत गरे । 
तर गज्जबसँग उनी नौ कक्षामा प्रथम भए । यसको कारण थियो, लोकविक्रमको गणित र विज्ञान विषयको पढाई राम्रो थियो । उनले साईन्स र म्याथमा ९८–९८ नम्बर ल्याए । अंग्रेजी पनि उनको राम्रै थियो । यसरी उनी फस्र्ट भए । उनी फस्र्ट भएको दिनदेखि नौ कक्षाका फस्र्ट ब्वाय रामप्रसाद श्रेष्ठ उनीसँग बोल्नै छाडे । सायद उनलाई ठूलो धक्का लागेको थियो !
थापा कक्षा १० मा भर्ना भए । भिडेर पढ्न थाले । र २००९ सालको एसएलसीमा उनी बोर्डमा सातौ पोजिसन ल्याएर उतिर्ण भए । 
प्राडा लोकविक्रमले एसएलसीमा गणित परीक्षा दिँदाको कथा यसरी सुनाए, ‘म्याथको परीक्षाको दिन मलाई फेरि रिङ्गटा लाग्यो । कम्पलसरी म्याथको दिन रिङ्गटा लागेकोेले मैले म्याथको पुरा प्रश्नको जवाफ लेख्न सकिन । जम्मा ६०–६५ नम्बरको मात्रै हल गरेँ । म्याथमा ६१ नम्बर आयो । सायद चक्कर नलागेको भए म्याथमा मैले अझै बढी नम्बर ल्याउने थिएँ ।’
अर्थात, उनले गणितको प्रश्नहरुको सबै उत्तर दिएको भए उनी बोर्डमा अझै माथिल्लो श्रेणिमा पुग्थे । 

Agni Group

०००
\"\"२०१८ सालमा एमबीबीएस पास गरेर फर्किए पछि छ महिना जति प्राडा लोकविक्रम थापाले वीर अस्पतालमा काम गरे । त्यस उप्रान्त उनको पोस्टिङ राजविराज अस्पतालमा भयो । राजविराज पुगे पछि उनका अघिल्तिर ‘हुकवर्म एनीमीया’का बिरामी कति आए कति । पहिले आफूले नै भोग्नु परेको रोग भएकोले उनले राजविराज बस्दा हजारौं त्यस्ता बिरामीहरुको उपचार गरे । 
प्राडा थापा भन्छन्, ‘राजविराजमा त हुकवर्मका बिरामी कति आउने कति । सबैमा त्यही लक्षण, रगतको कमी । रिंङ्गटा लाग्ने । यस्ता हजारौ बिरामीको उपचार गरेँ मैले र सानो अवधिमै म राजविराज क्षेत्रमा पपुलर पनि भएँ । म करिब तीन वर्ष राजविराज बसेँ ।’
तीन वर्ष पछि कुनै कामले उनी काठमाडौं आए । काठमाडौं आउन पनि गाह्रो थियो । रक्सोल हुँदै आउनु पर्दथ्यो । काठमाडौं आउँदा उनले देखे आफूभन्दा एक वर्ष मात्रै सिनीयर डाक्टर डा. पहाडी थप तालिमका लागि बेलायत गएर फर्किसकेका रहेछन् । उनी भने राजविराजमै रमाईरहेका थिए । त्यो देखेर उनीमा पनि थप तालिमका लागि बेलायत जाने हुटहुटी जाग्यो । र स्वास्थ्य सेवा विभागका महानिर्देशकसंग डा. यज्ञराज जोशीसंग भेटन गए । 
डा. थापाले आफ्नो दुखेसो पोखे महानिर्देशकका सामू । महानिर्देशक जोशीले पनि भनेछन्, ‘डा. पहाडीले पहाड गएर काम गरे । त्यसैले थप तालिमको मौका पाए । तिमी सुगम ठाउँमा गयौं । त्यसैले तिमीले पाएनौ । तिमी पनि पहाड जाउ ।’ 
त्यसबेला नियम नै थियो एक वर्ष दूर्गम पहाडमा गएर सेवा नगरी एमडी, एमएस वा एफआरसीएस गर्न पाइन्थेन । 
डा थापा भन्छन्, ‘मैले पनि भनँे ‘म पनि पहाड जान्न भनेको छैन । पहाडकै मानिस हुँ । तपाईले तराई पठाउनु भयो । त्यसैले म तराई गएँ । त्यो त मेरो दोष त होइन । त्यसको केही महिना पछि मेरो र मेरी पत्नी जुनको सरुवा डोटी अस्पतालमा भयो ।’
राजविराज हुँदा नै उनको बिहे त्यही कार्यरत डाक्टर जुनसंग भईसकेको थियो । सरुवा हुनासाथ उनी र डा. जुन थापो एक दिन पनि छुट्टि नलिएर डोटी गए । वर्षाको मौसम थियो । बाटोघाटो गाह्रो थियो । तर पनि उनले केही हेरेनन् । कतिले त वर्षामा जान्नौ दशैं सकिए पछि जान्छौ भनेर पछि मात्रै गएछन् ।
डा. थापाले तत्कालै डोटी गएर हाजिर भएको खवर गरे । ‘बहादुर छोरो रहेछ थापा’ भनेर डा. यज्ञराजले कसैसँग भनेको उनले धेरै पछि मात्रै थाहा पाए । डा. जोशी सुदूरपश्चिमकै भएकोले उनले बुझेका थिए बाटो कतिको अप्ठेरो छ भन्ने । 
प्राडा थापाले डोटीको अस्पतालको विकास र विस्तार गर्दै गए । एमबीबीएसको पढाई पछि एक वर्ष सर्जरी तालिम पनि लिएकाले उनलाई सानोतिनो सर्जरी गर्न गाह्रो थिएन । त्यसैले अस्पतालको व्यवस्था अनुरुप सानातिना अपरेशनहरु पनि गर्दै गए । 
अस्पतालमा गोरखापत्र आउँथ्यो । डोटी पुग्दा एक महिना पुरानो हुन्थ्यो अखवार । वर्ष दिन यतिकैमा बित्यो । एकदिन गोरखापत्र हात प¥यो । त्यसमा उनले देखे एमआरसीजी (गाईने)का प्रत्यासी उनकी पत्नी जुन थापाको थप तालिमका लिईने अन्तरवार्ताको म्याद चार दिन मात्रै बाँकी रहेछ । अन्तरवार्ता काठमाडौंमा थियो । अब चार दिनमा कसरी डोटीबाट काठमाडौं पुग्ने । संभव नै थिएन । 
प्राडा. थापा भन्छन्, ‘मैले जसोतसो डा.जोशीलाई टेलिफोनमा सम्पर्क गरँे । त्यसका लागि घण्टौ लाग्यो । फोनमा मैले डीजीलाई आफूहरुमाथि अन्याय भएको गुनासो गरेँ । डा. जोशीले पनि ‘ए अन्याय भयो’ भन्दै फोन राखिदिए । अब के भन्ने ! भन्ने कुरै केही थिएन् ।’
थापाका अनुसार त्यसबेला डोटीमा अमेरिकी संस्था पिसकोरका स्वयम सेवकहरु पनि सक्रिय थिए । तिनका विभिन्न सामानहरु हेलिकप्टरले ल्याई रहन्थ्यो । भोलीपल्टै सामान बोकेको एउटा हेलिकप्टर डोटीमा ओर्लियो । र उड्नुभन्दा अगाडि पाईलटले अस्पतालमा आएर भने ‘जुन थापा को हुनुहुन्छ । तपाईको डाईरेक्टरले काठमाडौं ल्याउन भन्नु भएको छ । पाँच मिनेटमा लगेज बोकेर हेलिकप्टरमा आउनुस्’ ।
यो भन्दैगर्दा प्राडा लोकविक्रम थापाको मुहार उज्यालिएको थियो । त्यसको केही समयपछि डा. थापाको पनि सरुवा भक्तपुर अस्पतालमा भयो । र केही महिना भित्रै उनी पनि एफआरसीएस गर्न बेलायत गए । 
प्राडा थापा भन्छन्, ‘डा. यज्ञराज जोशी न मेरो बाउ पट्टिका नातेदार न आमा पट्टीका । तर पनि उनले बिना कुनै स्वाथ्र्य हामीलाई सहयोग गरेका थिए । आजको समयमा त आफ्नै मानिस हुनुपर्छ ।’

०००
एफआरसीएस पास भईसकेको तीन वर्षसम्म उनले बेलायतमै बसेर अझै सिक्दै र काम गर्दै गए । एउटा पर्फेक्ट सर्जन भएर मात्रै उनी नेपाल फर्किए । नयाँ नयाँ अपरेशनका तरिका उनले सिकेर आएका थिए । काठमाडौं आउँदा उनले कहाँ काम गर्ने भन्ने कुरो उठ्यो । सबै सर्जन काठमाडौंमा नै थिए । त्यसबेलाका स्वास्थ्यका डाईरेक्टरले सबै सर्जन काठमाडौ बसेर हुँदैन जिल्ला पनि जानु पर्छ भने पछि उनले पनि आफू जान त जिल्ला जाने, तर एउटा राम्रो एनेस्थिसियाको डाक्टर चाहिने कुरा उठाए । नभए आफूले बेलायतबाट सिकेर आएको सबै खेर जाने उनको तर्क थियो । उनको तर्क जायज पनि थियो । त्यसैबेला एकजना एनेस्थिसियाका डाक्टर पनि बाहिरबाट पढेर आएका थिए । उनलाई पनि लोकविक्रम थापासंगै विराटनगर पठाईयो । 
र, प्राडा लोकविक्रम थापाले विराटनगरमा दस वर्ष काम गरे । उनका अनुसार विराटनगरमा हुँदा उनले काठमाडौंमा नहुने अपरेशन पनि गरे । उनको चर्चा विराटनगरमा पनि चल्यो । त्यसपछि उनको सरुवा काठमाडौंको वीर अस्पतालमा भयो । 
जतिखेर उनी वीर अस्पतालमा सर्जरी विभागका प्रमुख थिए, त्यसबेलाका सबै सर्जन सबै किसिमका सर्जरी गर्थे । टाउकोदेखि खुट्टाको औँलासम्मको । तर पछि बेग्लाबेग्लै विषयमा ‘स्पेशलाईजेसन’ गर्ने कुरा उठ्यो । त्यसबेला सर्जरीमा रुची भएकाहरु सबैले एउटाएउटा विषय छाने । कोही युरोलोजीमा गए । कोही जीआईमा गए । कोही न्युरो सर्जरीमा र कोही अर्थोपेडिक सर्जरीमा गए । डा. थापाले ‘म तिमीहरुले छोडेको विषय लिन्छु भनेर बसेका थिए । पछि त उनको भागमा हार्ट सर्जरी पर्यो । जबकी उनले बेलायतमा रहँदा पनि हार्ट र लङ्स सम्बन्धी काम गरेका थिएनन् । 
प्राडा थापा भन्छन्, ‘त्यसका लागि ट्रेनिङ मात्रै स्पेशल भएर पुग्थेन । उपकरण, नर्सिङ सेवा, वार्ड, अपरेशन थिएटर, एनेस्थिसियाका डाक्टर सबै स्पेशल चाहिन्थ्यो । तर पनि आफ्नो भागमा परेको काम सिक्न म फेरि बेलायत गएँ । र कार्डियो थेरासीस् सर्जरीको तालिम लिएर फर्किएँ ।’ 
तालिम लिएर फर्किएपछि काठमाडौंको वीर अस्पतालमा तत्सम्वन्धी सामग्रीहरुको व्यवस्थापन आवश्यक थियो । त्यसका लागि करोडौंको सामान पनि चाहिन्थ्यो । खर्च बढ्नु अस्वाभाविक थिएन । त्यसैले उनले तत्कालिन स्वास्थ्य मन्त्रीलाई भेटेर भने ‘अब वीरमा सबै कुराको व्यवस्था गर्नुपर्यो ।’
तर त्यसबेलाका स्वास्थ्य मन्त्रीले पनि डाक्टर थापालाई आश्चर्यचकित बनाउँदै भनेछन् ‘डाक्टर साहब, तपाई पनि कस्तो तालिम लिन जानु भएछ ! नेपाल जस्तो गरीब ठाउँमा सानो सानो रोगको उपचार गर्न त पैसा छैन । यो हार्टको अपरेशन यहाँ किन गर्नु पर्यो ? यो धनीलाई हुने रोग हो । धनीहरु बाहिर गइहाल्छन् नि । कोही दिल्ली जालान । कोही बैंकक जालान्’ । 
प्राडा थापा भन्छन्, ‘मन्त्रीको कुरा सुनेर म छाँगाबाट खसेको जस्तो भएँ । तर तालिम लिएर आईसके पछि केही न केही त गर्नै पर्थ्योे । त्यसैले रोटरी क्लबसंग आवद्ध भएँ । त्यहाँ कुरा उठाएँ । त्यहाँबाट केही सहयोगहरु आए । एक पटक अस्ट्रेलियाबाट डाक्टरहरु आए । उनीहरुसंग पनि कुरा गरेँ । उनीहरुले पनि सहयोग गर्ने आश्वासन दिए । पछि उनीहरुले सहयोग पनि गरे । यसरी नेपालमा पनि मुटु सम्वन्धी उपचार र अपरेशन सुरु भयो ।’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC