एजेन्सी । म्यानचेष्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा साल्केविरुद्ध ३–२ को सङघर्षपूर्ण जित निकालेको छ । अन्तिम १६ को पहिलो लेगमा आज बिहान सिटीले ३–२ को जित दर्ता गर्यो । ६८ औं मिनेटमा १० खेलाडीमा सीमित सिटीले अन्तिम ५ मिनेटमा २ गोल गर्दै जित निश्चित गरेको थियो ।
त्यसअघि १८ औं मिनेटमा सर्जियो अग्युरोको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर ३८ औं मिनेटमा पेनाल्टी गोलमार्फत साल्केले खेल बराबरी पार्यो । पहिलो हाफको अन्तिम समयमा पुनह पेनाल्टीमार्फत २–१ को अग्रता बनायो । दुबै गोल साल्केका नाबिल बेन्टालेबले गरेका थिए ।
दोस्रो हाफको अन्तिम समयमा उत्कृट पुनरागमन गर्दै सिटी हारबाट जोगियो । ६८ औं मिनेटमा निकोलस ओटामेन्डी दोहोरो पहेंलो कार्डको सामनापछि मैदानबाट बाहिरिएका थिए। सिटीका लागि ८५ औं मिनेटमा लेरोय सानेले बराबरी गोल फर्काए । अन्तिम समयमा रहिम स्टरलिङले सिटीका लागि निर्णायक गोल गरे । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।