site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बुलबुल’ निर्देशक भन्छन्– गरिबको इमोसन समात्न र भन्न रुचाउँछु
Sarbottam CementSarbottam Cement

विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ अहिले नेपाली चलचित्र घरहरुमा लागिरहेको छ । स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा रहेको चलचित्रले राम्रै समीक्षा बटुलिरहेको छ । टेम्पो चलाएर घरपरिवार धानिरहेकी रणकलाको कथा भनेका निर्देशक विनोद पौडेल आफूले नेपालीपन बोकेको चलचित्र बनाएको बताउँछन् । पौडेल ओस्कार इन्टरनेशनल कलेजका प्रमुख पनि हुन् । अहिले बनिरहेका आम चलचित्र वास्तवमा चलचित्र जस्ता छैनन् भन्ने पौडेल कस्ता चलचित्र बन्नुपर्छ भन्छन्, नेपालमा किन राम्रा चलचित्र बन्न सकिरहेका छैनन्, मौलिक कथाप्रधान चलचित्रले मात्रै नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व गर्छन् भनिए पनि किन त्यस्ता चलचित्र निर्माण भइरहेका छैनन् ? यी र यस्तै प्रश्नको सेरोफेरोमा रहेर बाह्रखरीका नरेश फुयाँलले पौडेलसँग गरेको कुराकानीः 
० ० ०

अहिलेको नेपाली फिल्म यस्तो दोबाटोमा उभिएको छ, जहाँबाट एउटा बाटो सस्तो मनोरञ्जनतिर जान्छ, अर्को बाटो गम्भीर र समाजको कथातिर । यी दुवै बाटोमा फरक के भने अहिले सस्ता मनोरञ्जनले करोडौं कमाइरहेका छन्, कथाप्रधान मौलिक फिल्मले लगानी पनि उठाउन सकिरहेका छैनन् । तपाईंले जोखिमपूर्ण दोस्रो बाटो रोज्नुको कारण के हो ?
म सिनेमा कलेज चलाउँछु । मेरो पछाडि १२–१५ सय विद्यार्थी छन् । मैले सिनेमा कलेजमा विद्यार्थीलाई दिने शिक्षा सिनेमा आफू जस्तो हुनुपर्छ र आफ्नो माटो बोल्नुपर्छ भन्छु । सिनेमा आर्ट हो र बाहिरी कुराबाट प्रभावित भएर गरिने कुरा कहिले पनि आर्ट हुनै सक्तैन । त्यस्तो भयो भने त्यो सामान्य वस्तु मात्रै हुन्छ । आर्ट हुनका लागि त्यसले आफ्नो धरातल टेकेको हुनुपर्छ । म आफैंले आफ्नो धरातल छोडिदिएँ भने मेरो कलेज र मेरा विद्यार्थी मात्रै होइन, अहिले चलिरहेको फिल्मका इन्स्टीच्युट र सिनेमा भनेको सिनेमा जस्तै हुनुपर्छ भन्ने एउटा जमात छ, जोसँग मेरो भेट हुन्छ । उहाँहरुले मलाई नेपाली सिनेमा किन यस्तो भयो भनेर सोध्नु हुन्छ र चिन्ता व्यक्त गर्नुहुन्छ । जब मैले नै मेरो धरातल बिर्सिएँ भने मेरा विद्यार्थीहरुले मलाई के भन्छन् ? हजारौं जो सिनेमा सिनेमा जस्तो बनाउँछु भनेर सोचिरहेका छन्, उनीहरुको खुट्टा पनि लरबराउँथ्यो होला । र, अर्को कुरा मेरो आफ्नो टेस्ट पनि त्यही हो । मैले विद्यार्थीहरुका लागि मात्रै सोचेर होइन, मलाई जस्तो सिनेमा बनाउन मन लागेको छ, त्यस्तै बनाएको हुँ । म फेरि अर्को चलचित्र बनाउँछु भने सिनेमा जस्तो हुनुपर्छ, त्यस्तै बनाउँछु । सिनेमाभन्दा बाहिर म जान्न । अहिले जे बनिरहेका छन् ती सिनेमा बनिरहेका छैनन् मेरो सोचाइ र ज्ञानमा । ती सिनेमा नै होइनन् । 

‘बुलबुल’मा लगानी नउठ्न सक्छ भने डर थिएन ?
थियो । म आफैं पनि मार्केटिङमा एमबीए गरेको व्यक्ति हुँ । हामीले निकै सोचविचार गरेर यो सिनेमा बनाएका थियौ । हामी रिस्क लिँदैछौं । हाम्रो सिनेमाको फर्म फरक छ । हाम्रो सिनेमाको इन्डिङ ओपन छ । यस्ता सिनेमा नेपालमा बन्दैनन् । गाली पनि खान्छौं दर्शकको भन्ने हामीलाई थाहा थियो । तर गर्ने के त ? कमसेकम दर्शकलाई फरक टेस्ट दिऔं । नाफा होइन लगानी मात्रै उठाउन सके हुन्छ भन्ने थियो । लगानी उठाउन दुईचारवटा अन्तर्राष्ट्रिय मार्केट फाइन्डआउट गरेका छौं । त्यहाँबाट लगानी उठ्छ । नेपालमा कम्तीमा दर्शकले सिनेमा चलिरहेको छ है भन्ने थाहा पाउनुपर्यो । दर्शक हलसम्म आउनका लागि हामीले मार्केटिङ स्ट्राटेजी फरक गर्यौं । गाली गरे पनि ठिक छ तर यस्तो पनि सिनेमा हुँदोरछ भन्ने थाहा पाउनुपर्छ भन्ने थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

फरक खालको मार्केटिङ स्ट्राटेजी के थियो ?
आम समुदायलाई हामीले लक्षित गरेका थियौं । हामीले ह्युमर कन्टेन्ट बढी उठायौं, कारण नेपाल ह्युमर बढी रुचाउँछ । तर त्यो ह्युमर पनि फगत हँसाउनका लागि मात्रै थिएन । लाउड कुरो केही पनि राखेका छैनौं । आफ्नै धरातलभित्रबाट हामीले ह्युमर उठायौं । त्यही भित्रबाट उठाएको ह्युमरले हामीलाई तान्छ भन्ने थियो र तान्यो पनि । चोपेन्द्र र रणकला क्यारेक्टर मैले खडा गरेँ । यी क्यारेक्टर हामीहरुबीचकै क्यारेक्टर हुन् र यसले आम समुदायलाई छुन्छ भन्ने थियो र छोयो पनि । यी क्यारेक्टर खडा गर्नु मार्केटिङको एउटा टुल पनि थियो । जसले दर्शकलाई एकपटक हलसम्म तान्न सकोस् । एकपटक दर्शकले गाली गर्नुहुन्छ तर अर्कोपटक हाम्रो सिनेमा हेर्न आउँदा दर्शकले यिनीहरुको चलचित्र यस्तो हुन्छ भनेर माइन्ड मेकअप गरेर आउनुहुन्छ । 

समीक्षक र दर्शकको फिल्मदृष्टि फरक हुन सक्छ । समीक्षकहरू विशेषगरी फिल्मका प्राविधिक र न्यारेटिभमा केन्द्रित हुन्छन् । दर्शकहरू भने २ घण्टामा फिल्मले दिने सन्तुष्टि खोज्छन् । ‘बुलबुल’ले खास कसलाई सन्तुष्टि दियो ?
केही समीक्षकहरुबाट धेरै राम्रो प्रतिकृया आयो जसप्रति हामी आभार प्रकट पनि गर्छौं । समीक्षकहरुको प्रतिकृयाबाट यस्तो पनि सिनेमा हुन्छ र भनिरहेका दर्शलाई झक्झक्याउने काम गरेको छ । सिनेमा यो ढङ्गबाट निर्माण हुनुपर्ने रहेछ भन्ने सामान्य दर्शकलाई सोच्न बाध्य बनाउने काम समीक्षकबाट भएको छ । समीक्षक खुसी हुनु भनेको हामीले भन्न खोजेको कुरा दर्शकसामु पुग्नु पनि हो । 
एकछिन रमाइलो गरेर जाने दर्शकलाई पनि भिजुअल ल्याङ्ग्वेज त थाहा भयो । मपछि आउने मेकरलाई केही त थाहा भयो । 

Global Ime bank

अहिले काम गरिरहेका र आउने मेकरहरुका लागि ‘बुलबुल’ पाठक हो भन्न खोज्दै हुनुहुन्छ ?
पक्कै पनि हो । म सर्वेसर्वा हुँ भन्दिन । मैले मात्रै राम्रो काम गरेँ भनेर पनि म भन्दिन र होइन पनि । यो मेरो पहिलो सिनेमा हो । तर मैले भन्न खोजेको यो हो, सिनेमा सिनेमा जस्तो हुनुपर्छ । यसमा चाहिँ म विश्वस्त छु । मैले सिनेमा सिनेमा जस्तै बनाएको छु । मैले कथा भन्न हतार गरेको छैन । कथा हतारमा भन्नुपर्छ भन्ने मेरो मान्यता छैन । मैले सिनेमामा कथालाई छामेको छु । आफूले छामेको कुरालाई दर्शकले पनि छामोस् र दर्शकले त्यसबाट मजा लिन सकोस् भन्ने हो । सधैँभरी रिजल्ट ओरियन्टेड काममा मजा आउँदैन । दर्शकलाई सिनेमामा छिटो–छिटो प्रोग्रेस चाहिन्छ । तर वास्तवमा त्यो सिनेमा होइन, त्यो त बिगारिएको हो । बिग्रिएको रुपलाई नै हामीले राम्रो सिनेमा भनेर बुझेका छौं । 

केही समीक्षकले न्यारेटिभ स्लो भयो भनिरहेका छन्, त्यसलाई स्वीकार्न तयार हुनुहुन्छ ?
छैन । म स्वीकार गर्दिन किनभने उहाँहरुले सिनेमाको न्यारेटिभ बुझ्नु भएन । जसले त्यसो भनिरहनु भएको छ । उहाँहरुसँग वर्ल्ड सिनेमाको नलेज कम भएको हो भन्छु म । मलाई मेरो कमजोरी स्वीकार गर्न कुनै आपत्ति छैन । तर जो समीक्षक बनेर आउँछ, ऊसँग  ज्ञान हुनुपर्छ । विश्व सिनेमा बुझेको हुनुपर्छ । सिनेमा कथा भन्न मात्रै बनेको हो र ? सिनेमाले त समय र जीवनको यात्रा भन्ने हो । त्यसभित्र कथा भन्न हतार गरिनु हुँदैन । कथा भन्न हतार गर्ने हो भने उपन्यास पढे भयो नि !

दर्शकले केमा गाली गरिरहेका छन् ?
जसले सिनेमा आर्ट हो भनेर बुझ्नुहुन्छ, त्यस्ता दर्शकबाट मैले राम्रो प्रतिकृया पाइरहेको छु । जो फाष्ट कटिङको सिनेमा हेर्ने दर्शक हुनुहुन्छ, उहाँहरु दुई घण्टा पूरै बाँधिनु भएको छ । तर जब स्वस्तिमा एयरपोर्टमा आउँछिन् र सिनेमा भ्याट्टै सकिन्छ अनि ती दर्शकले रियाक्ट गर्नुभएको छ । ह्या ! सिनेमा भएन भन्नु भएको छ । के हुन्छ के हुन्छ भनेर निष्कर्ष पर्खिहरनु भएका दर्शकले भएन भन्नु भएको छ । किनकी हामी कन्क्लुजन भएका सिनेमा हेर्न बानी परेका छौं । 

कन्क्लुजन दिनुभएको भए ‘बुलबुल’ कस्तो सिनेमा बन्थ्यो होला ?
त्यसपछि सिनेमा फर्मभन्दा बाहिर जान्थ्यो र क्लिसे हुन्थ्यो । 

कतै तपाईंले पनि पार्ट–टु का लागि चतुर्याईं गर्नुभयो ?
होइन । म पार्ट–टु कहिले पनि बनाउँदिन । पार्ट–टु बनाउने कुरालाई म आर्ट मान्दिन । त्यो आर्ट होइन, बिजनेस हो । वस्तुगत बिजनेस म गर्दिन । 

फिल्म मेकिङका हिसाबले नेपाल अझै पनि विश्वभन्दा दशकौं पछाडि छ । विश्वले तयार गरिदिने मानकहरूलाई समातेर हाम्रो सिनेमा उद्योग अहिले बामे सर्दै छ । प्रविधि प्रयोगलाई मात्रै दोष दिएर हामीले फिल्मका अरु पक्षलाई अन्याय गरिदिन्छौं । प्रविधिको उच्चतम प्रयोग नहुँदा पनि विश्वमा दशकौं पहिले राम्रा फिल्म बन्थे । हामीमा फिल्मी चेत नभएकै हो ?
नेपालमा सोचको समस्या छ । नेपालमा त्यो परिपक्व मेकरहरुको कमी छ । जो सिनेमामा आउनु भयो, उहाँहरुले सिनेमालाई ग्ल्यामरका रुपमा मात्रै बुझिदिनुभयो । बलिउडबाट हामी प्रभावित भयौं । म बलिउडमै हुर्किएको मान्छे । बलिउडलाई गाली गर्न चाहन्न । तर हामीले हाम्रो कथा भन्न सकेनौं । गहन बौद्धिक परिपक्वता भएको र आर्टलाई पनि आर्टभित्रै बसेर बिजनेस पनि गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात् गर्न सकेनौं । 

फिल्मको मुटु मानिने पटकथा लेखन नेपालमा कस्तो पाउनुहुन्छ ? फिल्मका अरु पक्ष, जस्तैः गीतसंगीत, नृत्य, लोकेसन आदिमा लाखौं खर्चिने तर पटकथाका लागि ७०–७५ हजार बजेट छुट्याउने चलन अहिले पनि छ कि सुधार आएको छ ?
पटकथा सिनेमाको फाउन्डेशन हो । कतिले कथा भन्छन् तर म कथालाई भन्दापनि पटकथालाई महत्वपूर्ण मान्छु । नेपालमा पटकथाको ठूलो खडेरी छ । योसँगै निर्देशकीय क्षमता पनि छैन । निर्देशकसँग प्रोपर भिजन छैन । म किन यो सिनेमा गर्दैछु भन्ने निर्देशक नै स्पष्ट छैन । मात्रै नाम र पैसा कमाउनुपर्छ भन्ने छ  । जुन गलत छ । 

तपाईंले यसअघि ‘साँघुरो’ जस्तो निम्नवर्गीय जोडीको कथा लेख्नुभयो । गम्भीर दर्शकहरू अहिले पनि त्यो फिल्मलाई सम्झिन्छन् । यसपटक ‘बुलबुल’ आफैं लेख्नुभयो र निर्देशन पनि गर्नुभयो । यो फिल्म पनि त्यस्तै निम्नवर्गीय जोडीको कथा हो । तपाईंलाई यो वर्गको कथाले किन छुन्छ ?
एउटा कथाकार र निर्देशकले गर्ने सिर्जना ऊ आफू वरीपरीकै हुन्छ । आफू वरपरको कुरा भन्यो भने त्यसमा इमान्दारिता हुन्छ भन्नेकुरामा मेरो विश्वास छ । यो वर्गलाई म किन पनि रोज्छु भने यो वर्गमा मेरो सहज पहुँच छ र म त्यसमा रमाउँछु । म निम्नमध्यम वर्गिय परिवारको मान्छे मैले हाई क्लासको कथा भन्न खोजेँ भने सहज पहुँच हुँदैन र केही आर्टिफिसियल कुराहरु आउँछन् । जबकी म निम्न मध्यम वर्गको इमोसन मजाले समात्न र भन्न सक्छु । यो वर्गको कथाभन्दा म रमाउन सक्छु । तर विश्वव्यापी सत्य के हो भने विश्वको जुनसुकै कुनाको इमोशन समाते पनि त्यो युनिभर्सल हुन्छ । 

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC