site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
हाम्रा पुर्खाले पटुकीमै बिरुवासमेत बर्मा पुर्‍याए 
Sarbottam CementSarbottam Cement

(बर्मामा नेपालीहरुको ठूलो बस्ती छ । सन् १८८५मा अंगे्रज र बर्माकाबीचमा युद्ध भएपछि ब्रिटेनले गोर्खा सैनिक परिचालन गरेको भेटिन्छ । यसरी नेपालीहरु बर्मा पुगेको इतिहासमा अंकित छ । यहीँबाट नेपालीहरुको बसोबास बर्मामा हुँदै गयो । त्यसपछि ब्रिटेनले विकासका काम गर्दै जाँदा थप नेपाली कामदारहरु त्यहाँ पुगे । यसरी बर्मामा नेपालीहरुको ठूलो बस्ती भयो । अहिले करिब दुई लाखका हाराहारीमा बर्मामा नेपालीहरु रहेको अनुमान गर्छन् बर्माबाट प्रकाशित हुने ऐरावती पत्रिकाका सम्पादक ज्ञानबहादुर थापा बगाले । हालै नेपाल आएका ज्ञानबहादुरसँग आइतबार नेपाली भाषा र साहित्यको बर्मामा जगेर्नाका विषयलाई लिएर कुराकानी भएको थियो । उनी ‘अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ’को केन्द्रिय शिक्षा विभागका प्रमुख पनि हुन् । प्रस्तुत छ, ज्ञानबहादुर थापा बगालेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको अंश ।
 

नेपालभन्दा हजारौं किलोमिटर टाढा, बर्मामा रहेर नेपाली कला साहित्यको  जगेर्ना गर्न लागिपर्नु भएको छ । कसरी गरिरहनु भएका छ ?

जब हाम्रा पुर्खाहरु प्रवासिएर बर्मा पुग्नु भयो त्यसबेला उहाँहरुले यहाँको बिरुवासमेत पटुकीमा बोकेर लानु भयो । सँगै रामायण, महाभारत, अन्य धार्मिक ग्रन्थहरु पनि लिएर जानु भएको थियो । जब उहाँहरु त्यहाँ बस्न थाल्नुभयो, सबै नेपालीहरु एउटै टोल बनाएर बस्नु भयो । एउटै समाज तयार गर्नुभयो । अनि उहाँहरुले आफ्ना बच्चाहरुलाई घरैमा रुद्री, चण्डी पढाउने काम गर्नुभयो । यसरी नै पछिपछि पाठशालाहरुको व्यवस्था पनि गर्दै जानु भयो । विशेषगरि मन्दिर स्थापना गर्दै त्यसलाई संस्कृत र नेपाली पाठशालाका रुपमा विस्तार गर्दै जानु भयो । यसरी नेपाली पठाउने काम गर्नु नै नेपाली कला संस्कृतिको जगेर्नामा उहाँहरुले दरिलो पाइला चाल्नु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बर्मामा सरकारी तवरमै नेपाली पढाइन्छ  ?

होइन् । सरकारी स्कूलमा म्यान्मा भाषा र अंग्रेजी भाषामा मात्रै पढाई हुन्छ । नेपाली भाषामा हुँदैन । तर बर्मामा सरकारी स्कूल तीन महिना बिदा हुन्छ । त्यो बिदाको अवधिमा हामी सबै केटाकेटी र किशोर अनि युवाहरुलाई समेटेर नेपाली भाषाको कक्षा लिन्छौँ । त्यहाँ २२७ वटा नेपाली पाठशाला  छन् । त्यसैमा हामीले नेपाली भाषा, साहित्य र संस्कृति पढाउँछौ । ती नेपाली स्कूलहरुमा बिदाको समयमा नेपाली पढाईन्छ । त्यसका लागि स्कूल बनाउने, शिक्षक राख्ने सबै हामी नेपालीहरुले आफ्नै लगानीमा गर्दै आएका छौँ । म्यान्मारमा तीन सय वटा मन्दिरहरु छन् । हामीले पाठशाला त्यही मन्दिरमा राख्दै आएका छौं । हामी मन्दिरको छत्रछायाँमा रहेर नेपाली भाषा साहित्य संस्कृति पढ्छौंभन्दा हुन्छ । त्यसै क्रममा विभिन्न चाड पर्वमा हामी मन्दिरमा जान्छौं र सांस्कृतिक क्रियाकलापमा सहभागी हुन्छौ । यसरी हामीले नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका छौं ।

Global Ime bank

साहित्यमा सक्रिय को–को हुनुहुन्छ ?

हामीसंग नेपाली साहित्यमा लाग्नुहुने व्यक्तिहरु कम हुनुहुन्छ । विशेष गरी जगदम्बाश्री पाउनु हुने ठाकुरप्रसाद गुरागाई, अर्का साहित्यकार लक्ष्मण न्यौपाने हुनुहुन्छ । अरु पनि केही हुनुहुन्छ । कोही भरखरै सिक्दै हुनुहुन्छ । त्यस्तै पत्रपत्रिकाहरुको प्रकाशन हामीले गर्न सकेका छैनौं । पत्रपत्रिका व्यापकरुपमा फस्टाउन सकेको छैन । अहिले मेरो सम्पादनमा ‘ऐरावती’ साहित्यिक पत्रिका प्रकाशन हुँदै आएको छ । यो पत्रिका हामीले हरेक नेपालीको घरघरमा पुर्‍याएका छौ । यसरी हामी भरखरै बामे सर्दैछौ भन्ने मलाई लाग्छ । वास्तवमा विगतमा बर्मामा आर्मी शासन थियो । त्यसबेला नेपाली मात्रै होइन म्यान्मा भाषामा पनि लेख्न गाह्रो थियो । अहिले म म्यान्मा भाषामा पनि पत्रपत्रिकाका लागि लेख्छु । पहिले जोगिएर लेख्नु पर्दथ्यो । अहिले त्यति कडा अवस्था छैन ।

पहिलेको कठिन अवस्थामा पनि तपाईहरुले नेपाली भाषाको जगेर्ना गर्दै जानु भयो ? कसरी ?

हामीले अगाडि मन्दिर देखाएर रामायण/महाभारत पढाउँदैछौ भनेर नेपाली भाषा पढाउँथ्यौं । उनीहरुलाई पनि के थियो भने गोर्खाहरुले गलत गर्दैनन् । त्यसैले हाम्रो धार्मिक क्षेत्रमा र भाषा पठनपाठनमा उनीहरुले कहिले पनि हस्तक्षेप गरेनन् ।

तीन महिनाको कक्षागत पढाई कसरी अगाडि बढाउनु हुन्छ ?
हामी कक्षा १ देखि १० सम्म नेपाली पढाउँदै आएका छौ । त्यस पछि दुई वर्ष हामीले नेपाली भाषाको डिप्लोमा कोर्सका रुपमा विकसित गरेका छौ । जहाँ नेपाली साहित्यको पढाई हुन्छ ।

त्यो तीन महिनाको छुट्टीमा नै यी यावत कुरा गरिन्छन् ?
हो । यो तीन महिना हामीले पुरा पढाउँछौ । नेपाली विषयको सैद्धान्तिक ज्ञान दिन्छौ विद्यार्थीहरुलाई । त्यो समय पछि विभिन्न पर्व अर्थात भानु जयन्ती, देवकोटा जयन्तीलगायतका कार्यक्रमहरुमा साहित्यिक गतिविधि गर्दछौ । त्यस्तै अन्य सांस्कृतिक पर्वका बेला पनि विभिन्न कार्यक्रमहरु गरेर नेपाली साहित्य र संस्कृतिलाई लिएर विचार विमर्श गर्छाै । कवि गोष्ठीलगायत अन्य साहित्यक कार्यक्रम पनि समयसमयमा हुँदै आएका छन् । पढाउँदा शिशु कक्षादेखि दश कक्षासम्म तीन महिना नेपाली पढाउँछौ । घरमा फूर्सदमा घरमा बसेर नेपाली पढने क्रम त छँदैछ ।

नेपाली पत्रपत्रिकाहरु पुग्छ कि पुग्दैन ?
नेपाली पत्रपत्रिकाहरु खासै पुग्दैनन् । अहिले नेपाली अनलाईन पत्रिकाबाट कतिपय जानकारी लिँदै आएका छन् । युट्युबहरुबाट भने नेपाली गीत सिक्दै आएका छन् केटाकेटीहरुले । र डिप्लोमा कोर्सकालागि थेसीस लेख्ने क्रममा पनि विद्यार्थीहरुले नेपाली अनलाईनहरुबाट धेरै कुरा पढ्दै आएका छन् । वास्तवमा विद्यार्थीहरु नेपाली भाषाका लागि मेहनत गरिरहेका छन् । यो नै हाम्रो लागि खुशीको कुरा हो ।

नेपाल सरकारले तपाईँहरुको यो काममा सहयोग गर्छ कि गर्दैन ?

हामीले बेलाबेलामा नेपाल सरकार र तिनका निकायहरुमा हामीलाई सहयोग गर्नुस् भनेर कुरा उठाएका हौं । तर आजसम्म पनि कुनै सहयोग हामीले पाएका छैनौं । यहाँका साहित्यकारहरु पनि खासै म्यान्मा पुग्नु हुन्न । यदाकदा कोही कोही पुगिहाल्नु भए पनि खासै केही उपलब्धी हुँदैन । हो पहिले बर्मास्थित नेपाली एम्बेसीमा कार्यरत कर्मचारी साहित्यकार दुबसु क्षेत्री/कृसु क्षेत्रीहरु हुँदा उहाँहरुले विभिन्न साहित्यिक कार्यक्रमहरुमा हामीलाई सहयोग र साथ दिनुभएको थियो । तर साहित्यमा रुची नभएका कर्मचारी हुँदा कुनै सहयोग मिल्दैन । अहिले भीम उदास हुनुहुन्छ । उहाँले पनि हामीलाई सहयोग गरिरहनु भएको छ । 

बर्मामा भारतीयहरु पनि हुनुहुन्छ । भारतले कल्चरल एम्बेसेडर नै राखिदिएका छन् त्यहाँ । कैयन पुस्तकालयहरु स्थापना गरिदिएका छन् । तपाईलाई भनुँ, मलाई भारतीय काउन्सिलरले दुईचार पटक नै भनिसक्नु भयो तपाईका २२७ वटा स्कूलमै हिन्दी भाषा पढाउनुस् । तपाईहरुका लागि हामीले स्कूलमा सहयोग गर्छौ, टिचरको व्यवस्था गरिदिन्छौं, पास भएका विद्यार्थीहरुलाई भारतमा स्कलरसिपमा पढ्ने व्यवस्था मिलाईदिन्छौ । तर हामीले नाई भनिदियौं । हामीलाई हाम्रो भाषा नै प्यारो छ । हामी त्यता लागे त नेपाली भाषा हराउँछ । तर यता नेपाल सरकारले भने अलिकति पनि हेरेको छैन । वास्तवमा नेपालको कल्चरल एम्बेसडर नै राखिनु पर्ने हो म्यान्मामा ।

यतिबेला नेपाल आउँनु भएको छ । नेपाल सरकारलाई केही भन्नु भएन् ?
खासमा, यस पटक म म्यान्माका नेपाली विद्यार्थीहरुका लागि मिल्दो पाठ्यक्रमको व्यवस्थापन गर्न आएको हुँ । र मैले केही काम सक्याएँ पनि । जबकी यस विषयमा सहयोग गर्न हामीले बर्मामा रहेको नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई अनुरोध पनि गरेका थियौं । तर नेपाल सरकारले कुनै ‘रेस्पोन्स’नै गरेन । हामीले छ सात महिना कुर्‍यौं, तर कुनै जवाफ आएन् । त्यस पछि यसरी भएन भनेरै हामीले व्यक्तिगतरुपमा आफै यहाँका केही विज्ञ र विद्वान व्यक्तिहरुको सहयोग लिएर काम गर्‍यौं । हामीले थालेको आधा काम सकिएको छ । 
हामीले हाम्रो कुरा राष्ट्रपति कहाँ पनि पुर्‍याएका छौ । परराष्ट्र मन्त्री कहाँ पनि पुर्‍याएका छौ । तर केही पनि भएको छैन !

तपाईँहरुले लेखेका नेपाली भाषाका रचना कहाँबाट बढी छापिन्छन् ?
नेपाली पत्रपत्रिकाहरुमा हामी आफ्ना रचना पठाई रहेका हुन्छौ । त्यस बाहेक सिक्किम, दार्जिलिङ, असमबाट प्रकाशित हुने नेपाली पत्रिकामा पनि पठाउँछौ । असम नजिक भएकोले पनि हामी निकट छौ त्यहाँ । हामीले प्रकाशित गर्दैआएको ऐरावती पत्रिकामा लेख रचना छापिनु त स्वाभाविक नै भयो । 

बर्मामा नेपाली बालबालिकामा लेख्ने क्रम कस्तो छ ?
बालबालिकाहरुमा लेखनपठ्न प्रवृत्ति बढ्दो छ । तर उनीहरुले आफूमा गुणात्मक सुधार ल्याउनु जरुरी छ । उनीहरु पनि गीत, मुक्तक र गजल लेख्न थालेका छन् । यसले पनि उनीहरुको साहित्यप्रतिको उत्साह बढ्दै गएको देख्न सकिन्छ । अहिले फेसबूकमा पनि साहित्यमा लाग्ने केटाकेटीहरुले आफ्ना रचना पोस्ट गर्दै आएका छन् । नेपाली साहित्यको उत्थानमा यो पनि एउटा योगदान हो भन्ने लाग्छ ।

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC