काठमाडौं । सरकारले दुई वर्षअघि जारी गरेको स्मार्ट लाइसेन्सको प्राविधिक तयारी अझै पूरा भएको छैन । नेपालको यातायात क्षेत्रमा स्मार्ट लाइसेन्स नयाँ प्रविधि भए पनि सरकारले यसको प्राविधिक पक्षलाई पूर्ण बनाउन सकेको छैन ।
प्राविधिक रुपमा पूर्ण नहुँदा स्मार्ट लाइसेन्स बोक्ने चालकलाई गल्तीको सजाय गर्न पनि समस्या छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई कागजको लाइसेन्समा प्वाल पार्ने गरिएको छ । तर, इलेक्ट्रोनिक्स प्रणालीको स्मार्ट लाइसेन्समा प्वाल पार्ने ठाउँ छैन ।
“स्मार्ट लाइसेन्स चेक गर्ने डिभाइस फिल्डमा रहेका ट्राफिक प्रहरीसँग छैन,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी वसन्त पन्तले बाह्रखरीसँग भने, “कारबाहीमा परेका सम्पूर्ण चालकको अभिलेख हामीले अहिले हाम्रै कार्यालयको कम्प्युटरमा राख्ने गरेका छौं ।”
यातायात व्यवस्था विभागले दुई वर्षदेखि कार्यान्वनमा ल्याएको स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन हालसम्म ल्याउन सकेको छैन । हाल देशभरबाट दैनिक ७ देखि १० हजार चालकले स्मार्ट लाइसेन्स पाउनका लागि अनलाइन फारम भर्ने गरेको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।
नेपालको चवारी चालक अनुपत्रलाई व्यवस्थित र आधुनिक बनाउन सरकारले स्मार्ट लाइसेन्स जारी गरेको हो । विकसित देशहरुमा प्रयोग हुने स्मार्ट लाइसेन्सको सम्पूर्ण चेकजाँच फिल्डमा रहेका ट्राफिक प्रहरीले नै गर्छन् ।
“सरकारले लाइसेन्सलाई आधुनिक र प्रविधियुक्त बनाउने भन्दै स्मार्ट लाइसेन्स जारी त गर्यो तर यसको चेकजाँच र चालक कारबाही भएको अभिलेख गर्ने प्रणाली पहिलाको कागजी लाइसेन्सकै जस्तो छ,” यातायात सुधार अभियन्ता रामबहादुर थापा भन्छन्, “चेकजाँचका क्रममा एक पटक मापसेमा परिसकेको चालकलाई दोस्रो पटक पनि मापसे गरेको पत्ता लागेमा ट्राफिक प्रहरीले सडकमा नै त्यस्ता चालकलाई थप कडाइ र केरकार गर्न सक्छन् । तर स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन सडकमा खटेका ट्राफिक प्रहरीसँग नहुँदा पटक–पटक बढी भाडा लिने ट्याक्सी र मापसे गर्ने चालक चिन्न झण्झटिलो छ ।”
ट्राफिक प्रहरीले मापसे र बढी भाडा लिने सार्वजनिक ट्याक्सीलाई पटके कारबाहीको व्यवस्था गरेको छ । यस्तै, गत भदौ १ बाट लेन मिच्ने चालकलाई पनि पटके कारबाहीको व्यवस्था गरेको छ ।
मापसे र बढी भाडा लिने ट्याक्सी चालकको लाइसेन्स प्वाल पारेर १ हजार जरिवाना गरिँदै आएको छ भने लेन मिच्ने चालकलाई पहिलो पटक ५ सय र दोस्रो–तेस्रो पटक १ हजार रुपैयाँ जरिवाना गरिँदै आएको छ ।
लेन मिच्ने चालकले पहिलो पटकमात्र ट्राफिक नियमको कक्षा लिए पुग्ने व्यवस्था छ । यस प्रकारका कारबाहीका लागि ट्राफिक प्रहरीले सडकबाटै स्मार्ट लाइसेन्सवाहक चालकको नाम र लाइसेन्स नम्बर सही हो कि होइन भन्ने पत्ता लगाउन सकिरहेका छैनन् ।
अहिले नेपालमा स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन १ सयवटा रहेको विभाग बताउँछ । “स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन प्रहरी मुख्यालय र यातायात व्यवस्था विभागमा मात्र छ,” ट्राफिक महाशाखाका एक अधिकृत भन्छन्, “मापसे गर्ने, बढी भाडा लिने, लेन मिच्नेलगायतका कारबाहीमा मात्र होइन, बेलाबला नक्कली स्मार्ट लाइसेन्सको शंका पनि देखिन्छ । यस्तो अवस्थामा स्मार्ट लाइसेन्स चेक गर्न कि विभाग कि मुख्यालय धाउनुपर्ने बाध्यता छ ।”
स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन किन्न सरकारले केही पहल नगरेका कारण काठमाडौंमा मात्र देशभर स्मार्ट लाइसेन्सको दुरुपयोग बढेको ट्राफिकको गुनासो छ । इन्टरनेटको सहज पहुँच नपुगेका हिमाली र पहाडी जिल्लामा स्मार्ट लाइसेन्सको अभिलेख त्यहाँका ट्राफिक प्रहरीले सजिलै भेट्न नसक्दा चालक कारबाहीमा समस्या भएको छ ।
“यस्तो अवस्थामा काठमाडौंबाहिर मापसे गरेर कारबाहीमा परेका कतिपय चालकलाई पटके कारबाही गर्न समस्या छ,” ती अधिकृतले भने, “पुरानो कागजको लाइसेन्सवाहक चालकले मापसे गरे ठाउँको ठाउँ प्वाल पार्ने तर स्मार्ट लाइसेन्सवाहक चालक एउटै कसुरमा पनि जरिवाना मात्र बुझाएर उम्किने अवस्था छ ।”
मङ्सिर २८ गतेदेखि प्रदेशस्थित मन्त्रालयलाई यातायात क्षेत्र नियमनको अधिकार गएको छ । तर स्मार्ट लाइसेन्स प्रिन्ट, वितरण र चेक गर्ने मेसिनको ठेक्का लगाउने अधिकार हाल काठमाडौंस्थित विभागलाई मात्र छ ।
हाल देशभरको स्मार्ट लाइसेन्सको समस्या समाधान विभागले नै गरिरहनु परेकाले स्मार्ट लाइसेन्स कार्यान्वयन र चेकजाँचमा केही समस्या देखिएको विभागका निर्देशक उपाध्यायको दाबी छ ।