एजेन्सी । समृद्धिको स्तर हेर्दा चिनियाँहरु तुलनात्मक रुपमा कम खुसी रहेको देखिएको छ र खुसीलाई चीनमा अझैपनि कठिन विषयका रुपमा लिइन्छ । सन् २०१२ देखि संयुक्त राष्ट्र संघले विश्व खुसीको रिपोर्ट सार्वजनिक गर्दै आएको छ जसमा १५० देशका बासिन्दालाई उनीहरु आफ्नो जीवनसँग कतिको खुसी र सन्तुष्ट छन् भन्नेबारे प्रश्न गरिन्छ । सो सूचीमा चीन रुस र युद्धग्रस्त लिबिया भन्दा तल, ८६ औँ स्थानमा रहेको देख्न सकिन्छ ।
यसबारे विदेशी निरीक्षकहरुले चीनको निराशा बुझ्न सजिलो रहेको बताउने गरेका छन् । उनीहरुका अनुसार चीनमा असन्तोषजनक सम्झौतामा आधारित सामाजिक प्रणाली देख्न सकिन्छ जहाँ नागरिकहरुले आर्थिक वृद्धिबाट प्राप्त फलको आनन्द त उठाउँछन् तर प्रदुषण र घट्दो गुणस्तरको विरोध गर्न सक्दैनन् ।
यसरी कम्युनिष्ट शासन प्रणालीले राष्ट्रपति जिनपिङको चीनलाई फेरि महान बनाउने अभियान अन्तर्गत चिनियाँ सपनाका रुपमा जनताको खुसी पनि वृद्धि गराइरहेको विश्वास गर्दछ ।
जसबारे विश्लेषकहरुले भने शंका व्यक्त गर्ने गरेका छन् । यस्तोमा जिनपिङको टोलीले भौतिक लाभले नै लामो समयदेखि पीडित जनतालाई खुसी दिलाउन सक्ने मान्यतामा आधारित रहँदै तिव्र गतिको आर्थिक विकासलाई प्राथमिकता दिइरहेको पाइन्छ । तर यो सिद्धान्त विश्वव्यापी रुपमै प्रचलित भएपनि सबैतिर गलत नै साबित भइरहेको देखिएको छ ।
‘चाइनिज डिस्कोर्सेस अन ह्यापीनेस’ अर्थात खुसी बारे चिनियाँ धारणा सम्बन्धि दुई बेलायती सिनोलोजिस्टहरुले संपादन गरेको एक नयाँ निबन्ध संग्रहमा ‘कम्युनिजम’ अन्र्तगत चिनियाँ जनता अत्यन्तै राम्रो र सार्थक जीवन बिताइरहेको भन्ने भ्रामक प्रचारलाई स्थापित गराउन सरकारले असाधारण प्रयास गरिरहेको उल्लेख गरिएको छ । तर यस किसिमको विचारलाई बढावा दिइने गरिएपनि वास्तवमै आर्थिक विकास एक्लैले जनतालाई खुसी बनाउन नसक्ने देखिएको छ ।
यसबारेमा १९७४ मा एक अमेरिकी अर्थशास्त्री रिचर्ड इस्टरलिनले पनि भनेका थिए की धनी देशहरु विकसित र भौतिक रुपमा सम्पन्न भएपनि यसले नागरिकहरुलाई सबै पक्षमा समृद्ध बनाउनेछ भन्ने जरुरी छैन । यस्तोमा चिनियाँ मान्यतामा भने इस्टर्लीनको भनाइ विरोधावास रहेको विश्वास गरिन्छ ।
तर १९९० देखि २०१५ का बीच चीनको प्रतिव्यक्ति घरेलु उत्पादन पाँच गुनाले वृद्धि भएपनि अर्थतन्त्रको गति अनुरुप चिनियाँ जनताको खुसी र सन्तुष्टिमा भने कमी हुँदै गएको पाइएको थियो । १९९० देखि नै चिनियाँ सर्वसाधारणको खुसीमा ठूलो गिरावट आइरहेको छ ।
२०१७ को विश्व खुसी रिपोर्टबारे लेखिएको एक अध्यायमा चीनको एक दशक अगाडिदेखिको डाटालाई अध्ययन गरिएको छ जसमा खुसी र सम्पन्नता र यसको प्राप्तिबारे भन्ने गरिएका प्रचलित भनाइहरुबीच कमजोर सम्बन्ध रहेको पाइएको हो ।
त्यस्तै सो अध्यायमा खुसीका अन्य संकेतक मानिने –ऊर्जाको उपभोग, बसाइँ शुल्क, प्रति व्यक्ति घरेलु उत्पादन र स्वस्थ औसत आयु, ठुल्ठुला निर्णय लिने स्वतन्त्रता र भ्रष्टाचारलाई पनि समावेश गरिएको छ । तर यसले समेत चीनमा खुसीबारे कुनै प्रष्ट जानकारी दिन नसकेको पाइएको छ ।
यसमा विगत तीस वर्षमा चीनको ग्रामीण क्षेत्रबाट शहरमा बस्न आएकाहरुलाई उदाहरणका रुपमा लिन सकिन्छ । जो चिनियाँ आर्थिक वृद्धिको पर्याप्त फाइदा उठाइरहेपनि खुसी नभएको बताउँछन् । यसरी गाउँमा भन्दा शहरमा उनीहरुको आय धेरै गुना वृद्धि भएपनि उनीहरु पहिलेभन्दा दुःखी र असन्तुष्ट भएको देखिएको हो । यसमा उनीहरु गाउँमै बस्ने आफ्ना अफन्तजनको तुलनामा समेत कम खुसी छन् ।
जसका लागि उनीहरुको असुरक्षित र कठिन जागिर र निम्न वर्गमा विभाजित गरिने नियम जिम्मेवार हुन सक्ने बताइएको छ । यसरी आफ्ना बालबालिकाका लागि सिमित विद्यालय मात्र छनौट गर्न पाउने र अन्य सामाजिक सेवाहरुमा पनि उनीहरुले आफूलाई छुट्याइएको महसुस गर्ने गरेका छन् ।
यसकारण पनि बढ्दो समृद्धिले समाजबाट किनारा लगाइएको भावना मेटाउन नसक्ने हुँदा खुसी रहन नसकेको बताइएको छ । यसरी पछिल्लो समय धनी र गरिबबीच खुसीको अन्तर कम भइरहेको पाइएको छ जहाँ थोरै कमाउनेहरु आफ्नो जीवनसँग बढी खुसी र सन्तुष्ट छन् । द इकोनोमिस्ट