site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालीमा एउटा भनाइ छ – लोभले लाभ, लाभले विलाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त अहिले यही ‘लाभले विलाप’को नियति भोग्दैछन् । अख्तियारमा परेको एउटा मुद्दाबाट उम्कन चाहने व्यक्तिले उनलाई दिएको पैसा काम नभएपछि फिर्ता माग्दा उत्पन्न विवादले अहिले ती आयुक्तले पदबाट राजीनामा दिएका छन् । आयुक्तले पैसा लिएको र फिर्ता नदिएको थाहा हुने भिडियो अन्ततः घुस खुवाउने पक्षले नै सार्वजनिक गरेको थियो । सामाजिक संस्थाका रूपमा सञ्चालित एउटा इन्जिनियरिङ कलेजको सम्पत्ति निजी बनाउन खोज्ने व्यक्तिमाथि परेको मुद्दा मिलाउन ती आयुक्तलाई पैसा दिइएको सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक भएको छ । भ्रष्टाचारको आरोप लागेपछि संवैधानिक निकायबाट राजीनामा गर्ने सम्भवतः यी पहिला व्यक्ति हुन् ।

राजीनामा दिएपछि खतबात माफ हुने चलनले गर्दा जिम्मेवार पदमा पुग्ने प्रायः धेरैमाथि भ्रष्टचारको आरोप लाग्नेगरेको छ । समाज र यदाकदा सञ्चार माध्यममा पनि आरोप सजिलै लगाइन्छ र राज्यको सम्बन्धित निकायले पनि त्यसलाई गम्भीरतापूर्वक लिँदैन । राजनीतिक नेतृत्व वा सम्बन्धित निकायबाट जति नै ‘शून्य सहनशीलता’ रट लगाए पनि व्यवहारमा समाज र राज्यको संयन्त्रमा ’चरम सहनशीलता’ विद्यमान छ । सम्भवतः यही कारणले अख्तियारका ती आयुक्तले पैसा मागेको भिडियो सार्वजनिक हुँदा पनि खासै महत्त्व नदिएका होलान् । तर, महाभियोगको धम्की दिइएपछि उनले पदबाट राजीनामा गरे । सायद, उनी पद छाडेपछि कारबाही नहुनेमा ढुक्क भएका छन् । तर, यस प्रकरण यत्तिकैमा सामसुम पारियो भने यसले अर्को गलत परम्परा बस्नेछ ।

यस्तो घटना दोहोरिनबाट रोक्नका लागि राजीनामा गर्दैमा अधिकार दुरुपयोग गर्नेले उन्मुक्ति पाउनु हुँदैन । यसैले मुद्दा मिलाउन पैसा लिने व्यक्तिमात्र हैन उनलाई पैसा दिने र यी दुईका बीचमा मध्यस्थता गर्नेसमेत माथि समेत कारबाही हुनुपर्छ । राजीनामा गर्ने आयुक्तले आफू निर्दोष रहेको दाबी गरेका छन् । न्यायिक प्रक्रियामा जान पाए उनीमाथि पनि अन्याय हुनेछैन । न्यायालयमा उनको कसुर साबित नभए कलंकबाट पनि मुक्त हुनेछन् । यसैगरी इन्जिनियरिङ कलेजको सम्पत्ति हत्याउन खोजिएको सम्बन्धमा परेको मुद्दा पनि टुंगोमा पुग्नुपर्छ । आयुक्तमाथि कारबाही गर्ने कुनै काुननी वा संवैधानिक अडचन भए त्यसलाई फुकाउन पनि कठिन सरकार सक्षम छ । कारबाही नगरे सरकार पनि शंकाको घेराबाट मुक्त हुनेछैन । नियक्तिपूर्व नै विवादमा परेका व्यक्तिलाई संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्नेहरूले पनि नैतिक जिम्मेवारी लिने गर्नुपर्छ । नत्र, नेपालको राज्यव्यवस्था भ्रष्टाचार र अनियमितताको ग्रहणबाट कहिल्यै मुक्त हुनेछैन ।       
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC