site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाँच दशकदेखि खटेको खट्यै
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


पत्रकारितामा पाँच दशकभन्दा लामो अनुभव सँगालेका भारतदत्त कोइराला नेपाली पत्रकारिताका ज्युँदा इतिहास हुन् । पत्रकारिताको विगत र वर्तमान उनले केस्राकेस्रा केलाउन सक्छन् । ५० वर्षअघिको पत्रकारिताका समस्या र अहिले डिजिटल युगको पत्रकारितालाई केलाउनु छ भने भारतदत्तलाई भेट्नुपर्छ । कुनै समय आधा दर्जन संस्थामा एकैपटक आबद्ध हुने भारतदत्त एउटै समय चारवटा संस्थामा अध्यक्ष थिए । सात दशकको सेरोफेरोमा हिँड्दा उनी सक्रिय पत्रकारिताबाट केही टाढिए होला तर पत्रकारिता जगतबाटै भने उनी ओझेलमा परेका छैनन् । ‘वर्ल्ड भ्यु इन्टरनेसनल फाउन्डेसन’ होस् या अन्य विभिन्न सामाजिक संस्था— उनी सक्रिय नै छन् । त्यसैले उनका कुरा सुन्न हामीले करिब एक महिना कुर्नु पर्‍यो । एक महिना लामो प्रतीक्षापछि बिहीबार बिहान बल्ल खुमलटारस्थित उनको निवासमा पाइला टेक्न पायौं । कुराकानीका क्रममा अमेरिकी दूतावासदेखि ‘राइजिङ नेपाल’, ‘गोरखापत्र’ हुँदै ‘वर्ल्ड भ्यु इन्टरनेसनल फाउन्डेसन’सम्मका कुरा भए । कान अलि कम सुन्न थालेकाले पनि होला— अहिले उनी अरुका कुरा सुन्नभन्दा आफ्ना कुरा सुनाइरहेका छन् । तर उनलाई आफ्ना कुरा सुनाउनभन्दा अरुका कुरा सुन्न मनपर्छ रे !  त्यसैले उनी अर्को महिना कानको उपचारका लागि अमेरिका उड्दैछन् । सुन्न संघर्षरत उनले हामीलाई सुनाए—

० ० ०

Agni Group

वि.सं. २००८ । ललितपुरको गोदावरीमा सेन्ट जेभियर स्कुल स्थापना भयो । त्यही वर्ष भर्ना भए भारतदत्त कोइराला । इंगलिस ल्याङ्ग्वेज र इंगलिस लिट्रेचर दुइटा विषय थिए । दुइटैमा उनले ‘ए’ प्लस ल्याए ।

इन्जिनियरिङ पढ्ने रहर थियो । उनी पब्लिक साइन्स कलेज (हालको अमृत साइन्स)मा भर्ना भए । भारतदत्तको घर नागपोखरी छेउमा थियो । बीपी कोइराला त्यहीँ नजिकै बस्थे । बीपीसँगको भारतदत्तका बुवाको राम्रो चिनजान थियो । बीपी प्रधानमन्त्री भएका बेला पनि उनी भेट्न गइरहन्थे ।

Global Ime bank

छोराको इच्छा बीपीसँग राख्ने भएछन् बुवाले । अहिलेको जस्तो सजिलै विदेश पढ्न जान पाइँदैनथ्यो । सरकारको छात्रवृत्ति नै पाउनु पथ्र्यो । छात्रवृत्तिका लागि प्रयास त गरे तर पाएनन् ।

एकदिन उनलाई बुवाले भने, “बीपी कोइरालासँग भेटाउँछु । प्रधानमन्त्रीले चोहेको खण्डमा उनले पढ्न विदेश पठाइदिन सक्छन् । ल हिँड् जाऊँ ।”

भारतदत्त बुवाको पछि लागेर प्रधानमन्त्री निवास पुगे । बीपी कोठाबाट निस्किएर भने, “बाबु, विदेश पढ्न जान मन लाग्यो ?”

भारतदत्तले भने, “बाले पनि जा भन्नुहुन्छ । मलाई पनि मन छ त्यसैले...।”

बीपीले सोधे, “के पढ्दै छौ ?”

भारतदत्तले उत्तर दिए, “आईएस्सी फाइनल इयर ।”

बीपीले भने, “आईएस्सी नसकी विदेश जान पाइँदैन । पहिला आईएस्सी सिध्याऊ अनि म पठाइदिन्छु है ।”

भारतदत्तले आईएसी त सके तर बीपी त्योबेला न प्रधानमन्त्री थिए न उनलाई भेट्न नै सकिन्थ्यो । भेटे पनि उनको बोली बिक्ने अवस्था थिएन । राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेर जेल चलान गरिसकेका थिए ।

प्रजातन्त्रको जसरी घाँटी निमोठियो, त्यसरी नै विदेश पढ्न जाने भारतदत्तको सपना पनि मुर्झायो ।

भारतदत्त बीए पढ्न भर्ना भए नेसनल (हालको शंकरदेव) कलेजमा । उनले आमालाई घर चलाउन कठिन भइरहेको महसुस गरिरहेका थिए । ठीक त्यही समय अमेरिकी दूतावासमा काम गर्ने साथीले काम छोडेको थाहा पाए । भारतदत्त आफूलाई काम लगाइदिन आग्रह गर्दै दूतावास पुगे ।

दूतावासमा उनलाई सोधियो, “टाइप गर्न आउँछ ?”

“आउँछ ।”

“गाडी चलाउन जान्दछौ ?”

“जान्दछु ।”

“अंग्रेजी त राम्रै बोल्दो रहेछौ । रिटन पनि राम्रै त होला । हुन्छ सोमबारबाट आऊ ।”

भारतदत्तले अमेरिकी दूतावासमा प्रशासनिक साहायकको काम थाले । दुई वर्ष भएको थियो काम शुरु गरेको । कुमार खड्गविक्रम शाह उनका सबैभन्दा मिल्ने साथी । स्कुलदेखि कलेजसम्म सँगै पढेको । खड्गविक्रम ब्रिटिस काउन्सिलको सूचना शाखामा काम गर्थे । पत्रपत्रिकामा बेलायतसम्बन्धी कुनै पनि समाचार वा समाचार सामग्री छापिए त्यसको कटिङ राजदूतलाई देखाउनु पर्ने उनको काम थियो । ध्रुवविक्रम शाह पनि भारतदत्तकै साथी थिए । उनी पनि त्यहीँ काम गर्थे । खड्गविक्रमले एकदिन भने, “तिमी एक्लै के काम गर्छौ ? यहाँ खाली भएको छ, आऊ सँगै काम गरौं । तीनै जना साथी एकै ठाउँमा हुन्छौं ।”

भारतदत्तले आवेदन दिए । उनको अंग्रेजी राम्रो थियो । उत्तीर्ण भए । ब्रिटिस काउन्सिलमा काम शुरु गरे । बेलायतसम्बनधी कुनै पनि समाचार आए त्यसलाई काटेर राख्ने, राजदूतलाई देखाउने र बेलायतबारे नेपालको धारणा के छ भनी विश्लेषण गर्ने भारतदत्तको काम थियो ।

उनले काम थालेको केही समयमै कुमार खड्गविक्रमको शाहज्यादी शारदा शाहसँग विवाह भयो । दरबारसँग साइनो जोडिएपछि उनले जागिर छोडे । ध्रुवविक्रम बिदामा बसे । एक्लै भए भारतदत्त । टेबलभरि पत्रपत्रिकाले घेरिएर बस्थे उनी ।

पत्रकारिता प्रवेश

सरकारी अखबार ‘गोरखापत्र’ मात्रै थियो । अंग्रेजी पत्रिका थिएनन् । अंग्रेजी पत्रिका पढ्नु परे भारतीय पत्रिकाको विकल्प थिएन । नेपालबाट ‘मदरल्यान्ड’ र ‘कमनर’ त थिए तर ती ब्रोडसिट थिएनन् । तत्कालीन युवराज वीरेन्द्रको चाहनामा सरकारले अंग्रेजी ब्रोडसिट निकाल्ने तयारी शुरु गरेको थियो । तर, अंग्रेजी भाषामा राम्रो भएको पत्रकारको खडेरीजस्तै थियो । सेन्ट जेभियर स्कुलमा गएर सोधीखोजी गर्दा प्रिन्सिपलले भनेछन्, “भारतदत्त ब्रिटिस काउन्सिलमा काम गरिरहेका छन् । उनको अंग्रेजी पनि राम्रो छ । त्यहाँ पनि सूच्ना शाखामै काम गरिरहेका छन् ।”

नारायणप्रसाद बाँस्कोटा सूचना विभागका निर्देशक थिए । उनी आफैंले भारतदत्तलाई बोलाए । साथीको लोभले ब्रिटिस काउन्सिल पुगेका भारतदत्त एक्लै भएपछि दिक्दारी महसुस गरिरहेका थिए । दिनरभरि पत्रिकाले घेरिएर बस्दा उनलाई बिस्तारै पत्रकारिताप्रति रुचि भने जागेको थियो । त्यसैले उनलाई प्रस्ताव राम्रै लाग्यो । सुविधा पनि ठीकै थियो । उनले ‘ओके’ गरे । ०२२ पुस १ देखि ‘राइजिङ नेपाल’ प्रकाशन शुरु भयो ।

बरुण शमशेर राणा सम्पादक थिए । सहसम्पादक गोकुलप्रसाद पोखरेललाई नियुक्त गरेका थिए । चिफ रिपोर्टरका रूपमा भारतदत्तलाई ल्याइयो । ‘राइजिङ नेपाल’ प्रकाशन शुरु भयो । उनी चिफ रिपोर्टरबाट सहसम्पादकमा बढुवा भए । उनीसँगै मनोरञ्जन जोशी पनि सहसम्पादक थिए । त्यही बेला भारतदत्त काजमा दरबार पुगे— पुस्तक सम्पादनका लागि । पुस्तक थियो– ‘मेची महाकाली’ ।

तत्कालीन सञ्चारमन्त्रीले भारतदत्तलाई बोलाएर ‘गोरखापत्र’मा गइदिन भने । अंग्रेजी पत्रिकामा काम गरिरहेकाले उनलाई प्रस्ताव मन परेन, इन्कार गरे । तर, मन्त्रीले मान्दै मानेन् ।

दरबारले निकालेको पाँच भागको साढे चार हजार पृष्ठको पुस्तक ‘मेची महाकाली’ भारतदत्तले सम्पादन गरेर भर्खरै सकेका थिए । मन्त्रीले भने, “भर्खर त्यत्रो किताब सम्पादन गरेर आएका छौ । ‘गोरखापत्र’ सम्पादन गर्न सकिँदैन ? सकिहाल्छौ नि ।”

मन्त्रीको आग्रहपछि नौ वर्ष काम गरेको ‘राइजिङ नेपाल’ छोडेर भारतदत्त ‘गोरखापत्र’मा सम्पादक भएर गए । ‘गोरखापत्र’ पहिलो पाँच वर्ष सम्पादक र दोस्रो पाँच वर्ष महाप्रबन्धक भएर काम गरे ।

राजा वीरेन्द्रसँग दुई घण्टा

भारत्तदत्त विकास पत्रकारिताप्रति रुचि राख्ने पत्रकार । राजा वीरेन्द्र विकासप्रेमी राजा । राजाको सवारी सुर्खेतमा थियो । क्याम्पमा बसेका थिए । एउटा पाल राजालाई, एउटा पाल राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई, अर्को पाल मन्त्रीहरूलाई र अर्को पाल पत्रकारलाई थियो । हप्ता दिनमा पत्रकार फेरिन्थे । एक हप्ताका लागि ‘राइजिङ नेपाल’बाट भारतदत्त पनि पुगेका थिए ।

बिहान–बेलुका खाना खायो, दिउँसो केही पनि काम नहुने पत्रकारहरू दिनभर राष्ट्रिय पञ्चायतका सदस्यसँग गफ गरेर बस्थे । तर भारतदत्त भने गाउँ पस्थे । स्थानीयसँग कुरा गर्थे । जनताका समस्या, चाहना र आवश्यकता बुझ्थे । त्यसलाई समाचार बनाएर ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’मा प्रकाशित गर्थे । उनीले काँक्रेबिहार, स्थानीय पुरातात्विक सम्पदा, विकासको लहर, रोजगारीको अवस्था र सम्भावनाका कुरा लेखे ।

राजा महेन्द्र सुर्खेत जाँदा काँक्रेविहार पुगेर डाँडामा घोडा चढेर भनेका रहेछन्, “ओहो ! यो सुर्खेत उपत्यकामा त विकासको ठूलो सम्भावना रहेछ ।”

राजा महेन्द्रले सुर्खेत उपत्यकामा विकासको सम्भावना देखे पनि, सवारीका बेला स्थानीयमा विकासको आश्वासन बाँडे पनि न त्यहाँ विकास भएको थियो न सुर्खेतवासीको जीवनै फेरिएको थियो । तिनै कुराहरू उनले समाचारका रूपमा ‘स्पटलाइट इन सुर्खेत सिरिज’ नाम दिएर लेखे ।

क्याम्प छोड्ने अन्तिम दिन राजाले मन्त्री, राष्ट्रिय पञ्चायतका सदस्य र पत्रकारलाई भेट्ने परम्परा थियो । भेट दिइरहेका थिए वीरेन्द्र । पालो भारतदत्तको आयो । वीरेन्द्रको एडीसी शान्तकुमार मल्ल थिए (जो भारतदत्तको क्लासमेट थिए ।) । उनले भने, “ए भारत ! तिमीलाई सरकारले आधा घण्टा बक्सिएको छ । आधा घण्टामा सक है । अरूको पनि पालो छ ।”

भेट शुरु भयो । राजाले भने, “तिमीले के देख्यौ यहाँ ?”

भारतदत्तले भने, “सरकार मैले यहाँ (सुर्खेतमा) देखेका कुरा पत्रिकामा लेखेको छु ।”

वीरेन्द्रले भने, “तिमीले लेखेको कुरा त मैले पढिरहेको छु । अरू के देख्यौ ?

विकासप्रेमी भएकाले वीरेन्द्र विकाससँग जोडिएका समाचार तथा समाचार सामग्रीहरू खोजी–खोजी पढ्थे ।

भारतदत्तले भने, “सरकार ! राजाको भ्रमणले जनतामा अनावश्यक अपेक्षा र आशा जगाउँदो रहेछ । सरकारको सवारी फर्किएपछि त्यो पूरा हुँदो रहेनछ र जनतामा नैराश्यता आउँदो रहेछ । यो कुरामा विचार गर्नुपर्ने रहेछ । सल्यानदेखि पिठ्यूँमा बिरामी बोकेर राजाको सवारीमा उपचार हुन्छ भनेर आएको व्यक्ति उपचार नपाएपछि उसमा फ्रस्टेसन शुरु हुन्छ । तर, सरकारको सवारीले विकासको लहर ल्याउँदो रहेछ । यो कुरामा ध्यान दिनुपर्ने रहेछ सरकार !”

विकास र पत्रकारिताका कुरा भए । जनतालाई न्यूनतम पूर्वाधारको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने कुरा भयो । आधा घण्टा समय दिए पनि राजा र भारत्तदत्तले दुई घण्टा कुरा गरे ।

“बाहिर निस्किँदा माननीय र मन्त्रीहरू मसँग रिसले चुर भएका रहेछन् । तपाईंले गर्दा हामीले राजालाई भेट्न पाएनौं, आधा घण्टा भनेर दुई–दुई घण्टा कुरा गर्ने भन्दै रिस पोखे,” भारतदत्त सम्झिन्छन् ।

सुर्खेतमा भारतदत्तले ‘स्पटलाइट इन सुर्खेत’ भनेर लेखेका शृंखलाका समाचार पछि हल्यान्डमा रेडियो ट्रेनिङ सेन्टरको पाठ्यक्रममा ‘विकास पत्रकारिताका नमुना’ भनेर राखियो ।

जागिर खोज्दै आए किशोर नेपाल

पञ्चायती व्यवस्था थियो । एकपक्षीय कुराहरू बढी आउँथे । एकै प्रकारका समाचार तथा समाचार सामग्रीले ‘गोरखापत्र’का पाठकमा दिग्दारी छाएको भारतदत्तलाई लाग्थ्यो । कसरी ‘गोरखापत्र’का पानालाई आकर्षक र जनताको दैनिक जनजीविकासँग जोड्न सकिन्छ भन्ने लागिरहेको थियो । विकासको लहर चलिरहेको थियो । राजा वीरेन्द्र जनतामा कम्तीमा पनि न्यूनतम विकासका पूर्वाधार पुर्‍याउनुपर्छ भन्ने सोचमा थिए । उनको अभियानलाई पनि साथ दिन पत्रकारिताले कसरी सक्छ भन्ने मनमा थियो ।

‘गोरखापत्र’को सम्पादक थिए भारतदत्त । एकदिन एक जना व्यक्ति उनको कार्यकक्षमा आएर भने, “म किशोर नेपाल ।”

भारतदत्त उनका समाचार र लेखहरू पढिरहन्थे । भने, “ए तपाईंलाई त म चिन्छु त । कति राम्रो लेख्नुहुन्छ ।”

किशोरले भने, “मलाई जागिर चाहियो तपाईंको पत्रिकामा ।”

भारतदत्तले सोधे, “विकाससम्बन्धी लेख्नुहुन्छ त ?”

किशोरले उत्तर दिए, “लेख्छु ।”

त्यसपछि भारतदत्तले भने, “इन्डियामा हिन्दुस्तान टाइम्सले ‘माई भिलेज छतेरा’ कोलमबाट नाम कमाइरहेको छ । त्यसले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेको छ । ( हिन्दूस्तान टाइम्सले छेतरा गाउँको समस्या र सम्भावनाका बारेमा औंल्याएर सिरिजकै रूपमा लेखेपछि त्यो गाउँमा राज्य र विभिन्न गैरसरकारी संघसंस्थाको आँखा परेको र विकास भएको थियो ।) तपाईं पनि यस्तै लेख्नुस् । तपाईंलाई मोटरसाइकलमा हालेर एक जनाले लैजान्छ । हामीले लेख्ने भनेको गाउँको समस्या हो । हामी पनि यस्तो सिरिज शुरु गरौं ।”

किशोर भारतदत्तको प्रस्तावमा मञ्जुर भए । काठमाडौंकै बाँसबारीभन्दा माथि खड्गभद्रकाली भन्ने गाउँ छनोटमा पर्‍यो । किशोरले ‘गाउँघरका कुरा’ नामक सिरिज लेख्न थाले । त्यो लेख्न थालेपछि ‘गोरखापत्र’मा गाउँ–गाउँबाट सम्पादकलाई ‘हाम्रो गाउँमा पनि यस्तायस्ता समस्या छन्, आएर लेखिदिनुप¥यो’ भन्दै सयौं चिठी आउन थाले ।

“किशोरजीले त्यो सिरिज शुरु गर्नुभन्दा अगाडि गोरखापत्रमा चिठ्ठी आउँदैनथे । कहिलेकाहीँ त यस्तो अवस्था पनि आउँथ्यो— सम्पादकलाई चिठी भनेर सम्पादकले नै अर्को नाम र ठेगानाबाट लेख्नुपथ्र्यो,” भारतदत्तले पुराना कुरा सम्झिए, “गोरखापत्रको त्यही सिरिजबाट नेपालमा विकास पत्रकारिता शुरु भएको हो । १९८० को दशकमा नेपाल विकास पत्रकारितामा अग्रपंक्तिमा पुग्यो । किनभने हामीले नेपाल प्रेस इन्स्टिच्युट खोल्यौं । त्यसले विकास पत्रकारिताका कुरा ग¥यो । वातावरण पत्रकारिता समूह गठन भयो । त्यसले विकासका कुरा गर्न थाल्यो । हामीले अन्तर्राष्ट्रिय फिचर सेवा शुरु गर्‍र्यौं । त्यसले विकास पत्रकारिताको जग मात्रै बसालेन, अग्रणी स्थानमा पनि पुर्‍यायो ।”

मुद्रणमा क्रान्ति

‘गोरखापत्र’ एकमात्रै नियमित अखबार थियो । मन परे पनि नपरे पनि पढ्ने बानी परेकाहरूलाई ‘गोरखापत्र’ पढ्नै पर्ने बाध्यता थियो । तर, लेटरप्रेसमा छापिने पत्रिका कहिल्यै पनि समयमा छापिँदैनथ्यो । समयमै नछापिएपछि समयमा वितरण हुने कुरै भएन । सधैंभरि त्यही गुनासो सुनेर भारतदत्तको कान पाकिसकेको थियो । एकपटकमा दुई पेज छापिन्थ्यो । अर्कोपट्टि फर्काएर फेरि प्रेसमा हाल्यो, त्यो पनि बिग्रिएर आउँथ्यो । निकै ठूलो समस्या थियो ।

यो पुरानो प्रविधि विस्थापन गर्न भारतदत्त लेटर प्रेसको विकल्प के हुन सक्छ भनेर खोजिरहेका थिए । ‘गोरखापत्र’को महाप्रबन्धक भएकाले सम्भव पनि थियो । चिनेजानेका साथीहरूसँग सल्लाह गरे ।

बेलायतमा प्रत्येक वर्ष छापा उपकरणको प्रदर्शनी हुने थाहा भयो । उनी सन् १९८२ मा बेलायत पुगे । तीन दिन लगाएर प्रदर्शनीस्थल घुमे । प्रेसबारे जानकारी लिए । ‘गोरखापत्र’ले मनोटाइप प्रेस अर्डर गरेको थियो । मनोटाइप प्रेस आएपछि हातले कम्पोज गरिहनु पर्थेन, टाइप गरेर सबै काम गर्न सकिन्थ्यो ।

घुम्दै जाँदा एउटा कुरामा मनोटाइप राखेर प्रदर्शनीमा बसिरहेको देखे । सोधे, “यो प्रेस कति अर्डर भएको छ ?”

जवाफ आयो, “विश्वभरबाट जम्मा ३० वटा प्रेसका लागि अर्डर आएको छ ।”

त्यही संख्याभित्र नेपालको ‘गोरखापत्र’ले अर्डर गरेका दुइटा संख्या पनि जोडिएका थिए । भारतदत्तले त्यहीँ भने, “गोरखापत्रको महाप्रबन्धक मै हुँ । क्यान्सिल गर्दिनुस् ।”

भारतदत्तले कम्युटरबाट टाइप/डिजाइन गर्ने र वेभ अफसेटमा जाने निर्णय त्यहीँ गरे । एकैपटक चार पेज, आठ पेज छाप्न मिल्ने भयो । रोल गर्न पनि मिल्ने भयो । ‘गोरखापत्र’ले मुद्रणमा काँचुली फेर्‍यो ।

‘गोरखापत्र’ छोड्दा...

जुन बेला भारतदत्त महाप्रबन्धक भएर ‘गोरखापत्र’को व्यवस्थापनमा पुगे, त्यो बेला व्यवस्थापनमा दक्ष जनशक्ति कोही थिएन । पत्रकार साथीहरूसँग उनले सहयोग मागे । आदित्यमान श्रेष्ठले उनको आग्रहलाई स्वीकार गरेर ‘गोरखापत्र’ आए । 

नयाँ मुद्रण प्रणालीमा जाने काम सकिएपछि पालो थियो आर्थिक व्यवस्थापनको । भारतदत्तले सरकारसँग प्रस्ताव गरे, “सरकारी सूचना ‘गोरखापत्र’मा मात्रै छाप्ने ।”

तीन पटक छापिएपछि त्यो आधिकारिक हुन्थ्यो । तर, कसैकसैको १२–१५ पटकसम्म छापिन्थ्यो । त्यसको कुनै हिसाब हुँदैनथ्यो । विज्ञापन गर्न सकिने स्थान खेर गइरहेको थियो ।

भारतदत्तले एक जना चार्टर्ड एकाउन्टेन्ट लगाएर तीन पटक सरकारी सूचना छाप्न ‘गोरखापत्र’ले सरकारलाई उपलब्ध गराएको स्थानको मूल्यांकन गर्दा वार्षिक २ करोड निस्कियो । त्यो समय सरकारले ‘गोरखापत्र’लाई सञ्चालनका लागि प्रतिवर्ष ८ लाख रुपैयाँ अनुदान दिँदै आएको थियो ।

सरकारले ‘गोरखापत्र’लाई होइन, ‘गोरखापत्र’ले सरकारलाई अनुदान दिइरहेको देखियो । भारतदत्तले सञ्चार–सचिव शार्दुल शमशेर राणा र अर्थसचिव गोरक्षबहादुर नुक्ष प्रधानसँग छलफल आयोजना गरे । उनले प्रस्ताव गरे, “सरकारले गोरखापत्रमा छाप्ने सूचनाको पैसा तिर्ने व्यवस्था गरौं । यसो गर्दा हामीले एड्भर्टाइजिङ एजेन्सीलाई दिँदै आएको १५ प्रतिशत छुट दिन्छौं ।”

सञ्चार–सचिवले भने, “सरकारले तपाईंहरूलाई पैसा दिएको छ, भवन दिएको छ, सामान दिएको छ । त्यसैले अलि बढाइदिनुस् न ।”

भारतदत्तलाई थाहा थियो— २ करोड त कम्तीमा आम्दानी हुनेवाला छ, जति छुट दिए पनि घाटा हुँदैन । त्यसैले भने, “२५ प्रतिशत गरौं त ?”

सञ्चार–सचिवले भने, “ल हुन्छ ।”

अर्थसचिव पनि सहमत भए । ‘गोरखापत्र’ले सरकारी सूचना छापेबापत सरकारसँग पैसा लिन थाल्यो । भारत्तदत्तले कर्मचारीलाई भने, “हामीले हाम्रो संस्थानको आम्दानी बढायौं भने हाम्रो तलब पनि बढ्छ । बोनस बाँडेर खान पाउँछौं । मेहनत गरेर काम गरौं । म तलब पनि बढाउन लगाउँछु ।”

उनको आग्रहले कर्मचारीमा आशा जगायो । मेहनत गरे । सुविधा थपियो । बोनस पनि बाँडे । संस्थान नाफामा थियो । कर्मचारीसँग गरेको प्रतिबद्धता भारतदत्तलाई पूरा गर्नु थियो । उनी कर्मचारीको तलब बढाउने प्रस्ताव लिएर मन्त्रालय पुगे । तल्ले तहका कर्मचारीको तलब दोब्बर बनाउने उनको प्रस्ताव थियो ।

मन्त्रालयले भन्यो, “तपाईंको संस्थानमा यसरी तलब बढायो भने त अरूले पनि त्यही सुविधा खोज्छन् । सबै तपाईंको जस्तो कमाउने संस्थान कहाँ छन् र ? हुँदैन ।”

‘आफैंले कमाएको पैसा बाँडौं, कर्मचारीलाई उनीहरूको मेहनत र कामको कदर गरौं’ भन्ने उनको प्रस्ताव सरकारले मानेन ।

० ० ०

एकपटक नाइट गाडी चढेर भारतदत्त नेपालगन्ज पुगे । बिहान नेपालगन्ज पुगेर गाडी रोकिँदा सयौंको संख्यामा आएका स्थानीयले गाडी घेरे । गाडीमा कोही मन्त्री अथवा भीआईपी छ कि जस्तो लाग्यो । यसो नियाले । त्यहाँ कोही भीआईपी थिएन । एकैछिनमा थाहा भयो— त्यो भीड त ‘गोरखापत्र’ लिन आउनेको पो रहेछ !

त्यसैले उनलाई नेपालगन्ज र विराटनगरबाट क्षेत्रीय संस्करण निकाल्ने रहर थियो । विराटनगरमा अफिस पनि खोलियो । प्रेस किन्नका लागि ‘नेपाल बैंक लिमिटेड’मा कर्जा लिन गएका भारतदत्तलाई बैंकका म्यानेजरले अडिट रिपोर्ट हेरेर भने, “तपाईंहरूको आम्दानी नै यति रहेछ । करोड रुपैयाँ लोन त कसरी दिने ? यो ब्यालेन्स सिट हेर्दा त हामीलाई मर्का पर्छ ।”

विराटनगर र नेपालगन्जमा प्रेस राखेर त्यहीँबाट ‘गोरखापत्र’ निकाल्ने योजना पनि विफल भयो । त्यसैले उनलाई विरक्त लाग्न थालेको थियो ‘गोरखापत्र’को जागिरबाट ।

‘वर्ल्ड भ्यु इन्टरनेसनल फाउन्डेसन’का महासचिव आरनेले उनलाई आफ्नो संस्थामा काम गर्न आग्रह गरे । आरनेसँगको चिनजान र भेट पनि सुनाए भारतदत्तले । अल्जियर्समा ननअलाइन्स मुभमेन्ट (असंलग्न अभियान)को सम्मेलन हुँदा राजासँगै भारतदत्त पनि गएका थिए । आरने टेलिभिजन पत्रकार रहेछन् । त्यहीँ भारतदत्तसँग उनको चिनजान भएको थियो । उनले भारतदत्तलाई आग्रह गरेका थिए, “तिम्रो देशको राजाको अन्तर्वार्ता लिनुपर्‍यो, समय मिलाइदेऊ ।” पछि उनले टेलिभिजन पत्रकारको जागरि छोडेर ‘वर्ल्ड भ्यु इन्टरनेसनल फाउन्डेसन’ खोले ।

६–६ महिनामा उनी नेपाल आइरहन्थे । तेस्रो विश्वमा काम गर्ने संस्था भएकाले कोलम्बोमा प्रधान कार्यालय राखेका थिए । त्यसको अध्यक्षमा श्रीलंकाका परराष्ट्रमन्त्री नै बसिदिए । त्यसका शाखा कार्यालयहरू खुल्न थाले । नेपाल, इन्डिया, इन्डोनेसिया, अफ्रिकालगायत देशमा शाखा खोल्न थालेका थिए । उनी हरेक पटक नेपाल आउँदा भारतदत्तलाई भेट्न आउँथे । भारतदत्त उसलाई लन्च खुवाउन होटलमा लैजान्थे । आरने भारतदत्तलाई फकाउँथे, “त्यस्तो अँध्यारो, चिसो अफिसमा कति काम गर्छौ । वल्र्ड भ्युमा दाजुभाइ मिलेर काम गरौं न ।” 

ठीक त्यही समय ‘वर्ल्ड भ्यु’को वार्षिक सम्मेलन शंकर होटलमा शुरु भएको थियो । श्रीलंकका परराष्ट्रमन्त्रीसहित बोर्ड सदस्यहरू पनि आएका थिए । आरनेले भेट्न बोलाए । भारतदत्त गए ।

भेटभन्दा पनि त्यहाँ त उनलाई अन्तर्वार्ता पो लिन थाले । नेपालको पत्रकारितासँगै आर्थिक–सामाजिक अवस्थाबारे सोधे । आरनेले परराष्ट्रमन्त्रीलाई ‘मैले बोलाएका मान्छे कस्तो लाग्यो ?’ भनेर सोधे । मन्त्रीले भने, “तिम्रो रोजाइ राम्रो रहेछ । कस्तो राम्रो मान्छे बोलाएको ! मलाई मन पर्‍यो ।”

आरनेले भने, “तिमी एसियाको रिजनल डाइरेक्टर भएर आइदेऊ न ।”

‘गोरखापत्र’मा दिक्क लागिरहेका बेला भारतदत्तले भनिदिए, “ल हुन्छ ।”

प्रकाशचन्द्र लोहनी सञ्चारमन्त्री थिए । उनलाई भारतदत्तले भने, “मन्त्रीज्यू ! मैले राजीनामा पेश गरें है ।”

लोहनीका सल्लाहकार भारतदत्तकै काका थिए । भारतदत्तले ‘गोरखापत्र’मा बसेर पत्रिकाको गुणस्तर र व्यवस्थापन दुबैमा सुधारका काम गरेको उनले हेरिरहेका रहेछन् । “उहाँले मन्त्रीलाई के भन्नुभयो मलाई थाहा भएन तर मन्त्री लोहनीले भने, ‘हुँदैन भारतजी ! कामहरू भइरहेका रहेछन् । बीचैमै छोड्न मिल्दैन ।”

उनले पनि भनिदिए, “म भोलिबाट आउन छाडें भने पुलिस पठाउनुहुन्छ ? म गोरखापत्रबाट विरक्तिसकें । राम्रो काम पाएको छु, त्यसैले अब अन्तै जान्छु ।”

म्यागासेसे पुरस्कार

म्यागसेसे पुरस्कार पाउने नेपालका एकमात्रै पत्रकार हुन् भारतदत्त कोइराला । एसियाको नोबेल पुरस्कारसमेत भनिने यो पुरस्कार उनले सन् २००२ मा पाएका थिए । आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत दिइने यो पुरस्कार पत्रकारिताको विकासमा ठूलो भूमिका खेलेबापत भारतदत्तले पाएका थिए ।

पुरस्कार दिनुअघि उनीहरू सम्बन्धित व्यक्तिलाई कामबारे सोध्छन् पनि र सोध्दैनन् पनि । गतवर्ष मेडिकल एजुकेसनमा सुधारका लागि ज्यानको बाजी थापेर पटक–पटक अनसन बसिरहेका डा. गोविन्द केसीलाई दिने कि भन्ने विषयमा छलफल भएको रहेछ । भारतदत्तलाई पनि चित्त बुझेछ । तर, म्यागसेसेको बोर्डले निर्णय गरेन । “नेपालका दुई–तीन जना पत्रकारको योगदान पनि उनीहरूले अध्ययन गरेका थिए रे !” भारतदत्त भन्छन् ।

उनी आफूले म्यागासेसे पाएको वर्षतर्फ फर्किए । म्यागासेसेको टोली कसलाई पुरस्कार दिने र को योग्य छ भनेर अध्ययन गर्न हिँड्दो रहेछ । उनी याक एन्ड यती होटलमा सेमिनार गरिरहेका थिए । डेनमार्कका राजदूत, त्यहाँका एक वरिष्ठ पत्रकारलगायत नेपालका पत्रकारबीच पत्रकारिताबारे कुरा भइरहेको थियो । दुई जना आएर भने, “हामी फिलिपिन्सबाट आएका, पत्रकारितासँग सम्बन्धित संस्थामा काम गर्छौं । तपाईंहरूले गरेको कामबारे चर्चा आयो । हामीलाई केही बताइदिनुस् न ।”

भारतदत्तले भने, “यो कार्यक्रम सकिएपछि म कुरा गर्छु ।”

उनीहरूले भने, “हाम्रो आजैको प्लेन टिकट छ । हामी आजै जानु छ ।”

एकछिनपछि हेर्दा त उनीहरू माथि बसेर कार्यक्रम खिचिरहेका थिए । भारतदत्तले पनि म्यागसेसेका केही मान्छेहरू चिनेका थिए । उनीहरूले १० वर्षदेखि उनीलगायत अरू केही साथीहरूलाई हेरिरहेका थिए ।

“कसले कहिले कसरी पाउँछ, थाहै हुँदैन,” भारतदत्तले भने ।

एक दिनको बिहानी । मौसम निकै तातो थियो । खुमलटारस्थित घरमा श्रीमतीसहित बसिरहेका थिए । टेलिफोनको घण्टी बज्यो । रिसिभ गरे । उताबाट बोलेको सुनियो, “तपाईं भारतदत्त कोइराला होइन ?”

उनले भने, “हो, म बोल्दै छु ।”

“म रामन, म्यागसेसेबाट अध्यक्ष बोल्दै छु । हाम्रो बोर्डले भर्खरै एउटा निर्णय गर्‍यो । अहिले म मिटिङमै छु । यो वर्षको म्यागसेसे पुरस्कार तपाईंलाई दिने निर्णय भएको छ । तपाईं यो पुरस्कार स्वीकार गर्न सक्नुहुन्छ कि हुन्न, हामीलाई २४ घण्टाभित्र जवाफ दिन सक्नुहुन्छ ?”

भारतदत्तले जवाफ दिए, “यसबारे मैले सुनेको छु । यो प्रतिष्ठित पुरस्कार हो, त्यसैले मलाई २४ घण्टा पर्खिनु पर्दैन, म स्वीकार्छु ।”

त्यो पुरस्कारबापत प्राप्त अधिकांश रकम उनले च्यारिटी शोहरूमा प्रदान गरे । तर, उनले आफूले गरेको सहयोगको प्रचारबाजी कहिल्यै गरेनन् ।

पहिलो ई–मेल प्रयोगकर्ता

भारतदत्त ती सौभाग्यशाली नेपाली नागरिक हुन् जसले नेपालमा पहिलोपटक ई–मेल प्रयोग गर्ने अवसर पाए । त्यो बेला अहिलेको जस्तो ई–मेल भनिँदैनथियो । ‘इलेक्ट्रोनिक मेलबक्स’ भनिन्थ्यो । उनी भन्छन्, “सम्पर्क कम्युटर र टेलिफोनबाट हुन्थ्यो,” उनले नयाँ टेक्नोलोजीको पहिलो स्वरुप सम्झिए, “मलाई त्यो यन्त्र यूनेस्कोले दिएको थियो जसको आविस्कार मार्टिन अल्लर्डले गरेका हुन् ।”

भारतदत्तले नेपालमा पहिलोपट प्रयोग गर्ने मौका पाएको त्यो ‘इलेक्ट्रोनिक मेलबक्स’ पछि विकसित भएर ई–मेल भयो । विस्तार भएर जनजनमा पुग्यो । इलेक्ट्रोनिक डकुमेन्ट प्राप्त गर्ने र पठाउने भरपर्दो र सहज माध्यम बन्यो । 

अहिलेको पत्रकारिता

अहिलेको पत्रकारिताबारे उनी खासै धेरै बोल्न रुचाउँदैनन् । ५० वर्ष पत्रकारितामा काम गरे पनि पछिल्ला करिब १५ वर्ष घरायसी कारणले कहिले नेपालमा त कहिले अमेरिकामा बसेकाले केही ‘ग्याप’ भएको उनी महसुस गर्छन् । समाचार लेखनमा प्रत्यक्ष सहभागी नभए पनि उनी पत्रकारितासँग सम्बन्धित संघसंस्थामै छन् । नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) गोकुल पोखरेलसँग मिलेर भारतदत्तलगायतकै समूहले खोलेको थियो ।

वातावरण पत्रकार समूहमा पनि उनले काम गरे । मिडिया फाउन्डेसनबाट सञ्चार जगतमै सक्रिय छन् । उनी सम्झिन्छन्, “हामीले त्यो बेला सामुदायिक रेडियोका लागि आवेदन नदिएको र युनेस्कोको सहयोग मागेर रेडियो सगरमाथा नखोलेको भए आज एफएम रेडियोहरू सञ्चालनमा हुन्थे कि हुँदैनथे, कसले भन्न सक्छ र !”

सामुदायिक रेडियोले राजनीतिक दलको गुणगान गाउन थालेको प्रति उनको गुनासो छ । विकास पत्रकारितामा जोड दिनुपर्ने सामुदायिक रेडियो दलहरूको भजनकिर्तन गाउन थालेको देखेपछि भारतदत्त एफएम रेडियो सञ्चालनको अनुमति माग्दाताकाका दिनमा फर्किए, “ज्ञानेन्द्र अधिराजकुमार थिए । उनी महेन्द्र ट्रस्टको अध्यक्ष थिए । म त्यसको बोर्ड सदस्यका रूपमा थिएँ । बोर्डको मिटिङ हुन्थ्यो । ज्ञानेन्द्रलाई चुरोट खानुपर्ने । सोफामा बसेर चुरोट सल्काएर मलाई ‘ए भारत’ भन्दै बोलाएर सोफातिर देखाउँदै ‘बस बस’ भन्थे । उनले मलाई सोध्थे, ‘तिमीहरूको रेडियो के भइरहेको छ ?’ म भन्थें, ‘लाइसन्स पाइन्छ होला ।’ उनी भन्थे, ‘देलान् र ?’”

ज्ञानेन्द्रको भनाइको अर्थ निजी क्षेत्रलाई रेडियो सञ्चालनको अनुमति दिनु हुँदैन भन्ने थियो । तर, तत्कालीन सञ्चारमन्त्री झलनाथ खनाललाई घुर्काएर उनीहरूले लाइसन्स लिएरै छाडे । प्रतिफल— ६ सयभन्दा धेरै एफएम सामुदायिक रेडियोको रूपमा अहिले प्रसारणमा छन् । ती रेडियोले बाटो बिराएको गुनासो उनको छ ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC