site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटी बागी न्यायाधीशको न्याय
Sarbottam CementSarbottam Cement

 

 

– शिव प्रकाश

Prabhu Bank
Agni Group
NIC Asia


पापी सत्ताका लागि सधैंको पसारो ! एउटा सत्यागह्री सोह्रौ पटक भुइँमा लडिरहेको थियो । 

एउटी नारी सडकमा देखिइन् । ती नारी, त्यही सडकबाट न्याय माग्दै थिइन् । त्यही सडकबाट सत्यको खोजी गर्दै थिइन् । न्याय र सत्यका लागि सत्याग्रही डाक्टर गोविन्द केसीले लडेको लडाइँको एक योद्धा बनेकी थिइन्, ती नारी ।

Global Ime bank

धेरै चरित्रका धेरै नारी सडकमा देखिन्छन् तर विरलै देखिन्छन् यस्ता नारी । लगभग सेताम्मे भइसकेको कपाल । सिँगारपटारबिनाको सादा अनुहार । उस्तै सादा ओठ । ती ओठमा सक्कली मुस्कान । घाँटीमा पोतेको एक लुर्को । खाइलाग्दो जिउडाल । साधारण सुतीको सारीचोलो । खुट्टामा सजिला जुत्ता । सादगीकी एक साधिका– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की !

विडम्बना थियो, अझै छ । अदालतमा न्याय दिइँदैनथ्यो, न्याय बेचिन्थ्यो । सुशीला कार्की न्याय दिन चाहन्थिन तर दिनका लागि त्यहाँ न्याय थिएन, बेच्नका लागि मात्र थियो । न्याय दिनका लागि न्याय खोज्नु पर्ने बाध्यता थियो ।

स्वयं न्यायाधीश, त्यो पनि राष्ट्रको सर्वोच्च न्यायालको प्रधानन्यायाधीश ! तर, प्रधानन्यायाधीशको त्यो अग्लो कुर्सीबाट पनि न्यायशील सुशीला सधैं न्याय खोजिरहन्थिन् ।

सम्माननीय प्रधानन्यायधीशबाट पूर्वप्रधानन्यायाधीश बनिन्, सुशीला कार्की । त्यो कुर्सीसँगको उनको साइनो बदलियो तर स्वभाव बदलिएन । पेशा बदिलियो तर पृष्ठभूमि बदलिएन । मुकाम बदलियो तर मान्यता बदलिएन । सधैं हिँड्ने बाटो बदलियो तर जीवनको बाटो बदलिएन ।

सधैं न्याय र सत्यको खोजीमा हिँड्ने न्यायपरायण सुशीला न्यायालयबाहिर पनि त्यसैको खोजीमा छिन् । अहिले उनी सडक र सामाजिक मञ्चबाट सत्य र न्याय खोज्दै छिन् । सत्य र न्यायका लागि सर्वसाधारणसँगै सडकमा हिँड्दै छिन् ।

प्रधानन्यायाधीशको कुर्सीमा बसेर न्यायका लागि आफ्नै न्यायालयसँग विद्रोह गर्थिन्,  सुशीला कार्की । कुर्सी छोडिन् तर विद्रोह छोडिनन् । अहिले विद्रोह नै उनको अर्को नाउँ हुन पुगेको छ । न्याय बेचिने ठाउँमा न्याय दिएर विद्रोह गरेकी यी विद्रोही–बागीले अर्को एउटा विद्रोह गरिन्– ‘न्याय’ लेखेर । 

हालै प्रकाशित ‘न्याय’ को ३६० औं पाना पनि छिचोलेपछि मेरो आँखा अगाडि एउटा बडेमाको चित्र उभियो । अदालती जीवनभरि न्यायका लागि विद्रोह गर्ने एउटी बागी न्यायाधीश सुशीला कार्कीको चित्र !

यद्यपि धारणा आ–आफ्नै हुन्छन् । दृष्टिले धारणाको निर्माण गर्छ । कुन आँखाले हेरिन्छ– आफ्ना वा अरूका ? कुन मस्तिष्कले पढिन्छ– आफ्नो कि अर्काको ? 

आत्मकथाका भीडमा ‘न्याय’ के हो ?

आत्मकथाका बारेमा दुई चरित्पात्र छन्, जसलाई म आत्मकथाको एक उत्कृष्ठ मानक–मान्यता ठान्छु । आत्मकथा त्यति सत्य पनि नहोस्, जति महात्मा गान्धीको छ । आत्मकथा त्यति झुटो पनि नहोस्, जति जवाहरलाल नेहरुको छ । तर ‘गान्धी नेक्ड एम्बिसन’मा ब्रिटिस इतिहासकार जेड एडम्सले लेखेका छन्, “गान्धी पनि ढँटुवा हुन् । धेरै ढाँटेका छन् ।”

एउटा आम मान्छेका आँखाले पढ्दा र एउटा आम पाठकका मस्तिष्कले बुझ्झा आत्मकथाभन्दा बढी न्यायको कथा हो, ‘न्याय’ । न्यायिक विद्रोहको गाथा हो, ‘न्याय’ । न्यायालयभित्र न्याय र सत्यको खोजीको कथा पनि हो, ‘न्याय’ । एउटा कालखण्डको उत्खनन् हो, ‘न्याय’ । नेपालको न्यायिक र राजनीतिक नेतृत्वको ‘क्रिमिनल नेक्सस’को दुरुस्त कथा पनि हो, ‘न्याय’ ।

यो एक आमसत्य हो– नेपाली आत्मकथामा इमान्दारीको कमी छ । आत्मकथा अर्थ भएको छ– आत्मकेन्द्रीयता ! ईश्वरले गर्न नसक्ने काम पनि आफूलाई गराउँछ, आत्मकथामा लेखकले । आफूलाई ईश्वरभन्दा बलशाली देखाउन कुनै स्वर्गवासी पात्रलाई केहीक्षण आफूभन्दा बलियो बनाइदिन्छ । दुईबीच लडाउँछ । अन्तमा हिन्दी फिलिमको हिरोजस्तै आफूलाई जिताउँछ । नेपाली आत्मकथासँग जोडिको ज्यादै बलियो कमजोरी हो, यो ।

धेरै आत्मकथाले मरिसकेका पात्रलाई मज्जाले पछार्छन् । ती पात्रलाई फेरि मार्छन्, अर्को अन्याय गर्छन् । ‘न्याय’ले कसैलाई अन्याय गरेको पाइदैन । ‘न्याय’को इजलासले धेरै पात्रलाई नैतिक दण्ड सुनाएको छ, जो सबैप्रायः जीवितै छन् । तिनलाई नैतिकताको कसीमा खोटो सावित गरिदिएको छ । चुनैती दिएको छ, अस्वीकार गर्न ।

नैतिक दण्डको पहिलो भागिदार छन्— लोकमानसिंह कार्की । कार्कीसँगै पुष्पकमल दाहाल (प्रचण्ड) पनि छन् । लोकतन्त्रमा एकछत्र लोकमानतन्त्र चलाउन सफल थिए, लोकमान । त्यसको प्रमुख सहयोगी थिए, तत्कालीन प्रधानमन्त्री प्रचण्ड ।

‘लोकमान नियुक्तिविरुद्ध मुद्दाको पुनरावलोकन गर्नू’ भनी प्रधानन्यायाधीश सुशीला कार्कीले आदेश दिन्छिन् । त्यो आदेशसँगै लोकमानतन्त्र हल्लिन्छ । सबैभन्दा ठूलो झट्का प्रधानमन्त्री प्रचण्डको कुर्सीलाई लाग्छ ।

प्रधानन्यायाधीशसामु देशका प्रधानमन्त्रीले यो हदसम्मको निरीहता र लाचारी देखाउँछ, “तपाइँले गर्नसम्म गर्नुभो । तपाईंको आदेशले त बितायो । उनी (लोकमान) भयंकर रिसाएका छन् । के–के भने, के–के भने । मेरो पालामा फैसला गर्नु भएन । मेरो कार्यकाल सात महिना बाँकी छ । जसरी भए पनि मेरो कार्यकाल टारिदिनुपर्‍यो ।”

यो ‘लोकमान प्रकरण’मा उल्लेख छ ।

जिउँदै छन् लोकमानसिंह कार्की, पुष्पकमल दहाल र जिउँदै छन् पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली । जिउँदै छन् भर्खरै अवकाशप्राप्त पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्र ।

बिदाइको एक घण्टाअघिसम्म पनि चलखेलमा व्यस्त भएका ओमप्रकाश मिश्र र गोपाल पराजुलीले नै लोकमान नियुक्तिविरुद्धको मुद्दालाई खारेज गरिदिएका थिए । ‘न्याय’ले यी दुबैलाई मज्जाले कुरीकुरी गरेको छ । यी दुईलगायत सन्तको वेशमा न्यायालयको अस्तित्व लुट्ने दामोदरप्रसाद शर्मा र अन्य केही ‘लोभीपापी’ न्यायाधीशका कर्तुतबारे धेरै ठाउँमा बलियो गरी बोलेको छ, ‘न्याय’ । ‘न्याय’ले यस्ता धेरै पात्रको वस्त्र उतारेको छ । यी सबै जिउँदै छन्— नैतिक रूपले हैन, शारीरिक रूपले मात्र ।

“अपहेलनाको मुद्दामा शेरबहादुर देउवालाई सुशीला कार्कीले जेल हाल्दै छिन् रे !” कसैले शेरबहादुरका कान फुकिदियो । अब प्रधानन्यायाधीश सुशीला कार्कीलाई शेरबहादुर देउवा मान्छे हैन, बाघ देख्छन् । देउवालाई मनको बाघले निल्छ । बुद्धिले बाटो बिराउँछ । महाभियोग दर्ता हुन्छ ।

धेरैले सोध्छन्, “तपाईंलाई किन महाअभियोग ?”

सजिलो, सीधा र स्पष्ट उत्तर दिन्छिन्, “म सरकार चलाउनेहरूको मतियार बनिनँ ।”

महाभियोग उनका लागि आकस्मिक र अप्रत्याशित पनि थिएन । सत्ताधारी राजनीतिक दलका नेताहरू सधैं उनीविरुद्ध लागिपरेका थिए । यस्तै देशका कतिपय नेता, जो शारीरिक रूपले अझै जिउँदै छन्, ती सबैलाई ‘न्याय’ले मर्नु न बाँच्नु बनाइदिएको छ ।

किताबको पृष्ठ ७७ मा ‘बनारस, बीपी र बीएचयू’ छ । बनारसको बसाइ, बीएचयू (वाराणसी हिन्दू विश्वविद्यायल)को पढाइ । बीपी कोइरालाको बनारस निर्वासन । सुशीलाका पिता डिल्लीबहादुर पनि बीपीका मित्र । बनारसमा पनि आउजाउ थियो । तर, एक्कासि रोकियो ।

“तिमी त कता हो, कता ! आजभोलि दिल्लीमा नेपाली राजदूतावास धाउँछ्यौ रे ! हामीले त हाम्री छोरीजस्तै गरी विश्वास गरेका थियौं । तिमीले धोका दियौ । यस्तरी धोका दिने मान्छे यहाँ किन आउनू ? तिमी अबदेखि यहाँ नआऊ । हामीविरुद्ध काम गर्ने हामीकहाँ किन आउने ?” उनी लेख्छिन्, “सान्दाजुका कुरा सुनेर म छाँगाबाट खसेजस्ती भएँ ।”

सान्दाजुको डेरामा जान छोडिन् । यस्ता आरोह–अवरोहका अनेक प्रसंग छन्, ‘न्याय’मा । आफूजस्तै राम–लक्ष्मणलाई पनि पञ्चायतको जाजुस ठानेको प्रसंग पनि छ । यी दुई प्रसंगले मेरोजस्तै धेरैको मनमा एउटा प्रश्न उम्रिन सक्छ– के बीपी यति शंकालु स्वाभावका थिए ?

यी अनेक घटनासँगै अदालतमा कजलिस्ट (पेसीसूची) कसरी मिलाइन्छ, मुद्दा कसरी सारिन्छन्, मुद्दा र न्यायाधीशको सेटिङ कसरी गरिन्छ, किन फैसला हुँदैनन् ठुल्ठूला भ्रष्टाचारका मुद्दा, ठूला राजनीतिक भ्रष्टाचारका मुद्दा कहिलेदेखि थन्किएर बसेका छन्, दलाल माफियाको चंगुलमा अदालत कसरी फसेको छ, देशका प्रमुख नेताले पालेका यी दलाल र माफिया कति शक्तिशाली छन्, भ्रष्ट नेताका ढाकर बोक्ने महान्यायाधिवक्ताबाट न्यायविरुद्धका कस्ताकस्ता अपराध भए, बार एसोसिएसनका नाममा दलीय चलखेलहरू के–के भए— यी प्रसंगमा ‘न्याय’ पहाडझैं उभिएको छ ।

एक सेवाग्राहीले कानुन व्यवसायीलाई भगवानसरह मानेको हुन्छ भन्ने सुशीलाको आनन्ददायी जीवनको व्याख्या पनि सरल छ । दिनभरि कर्म गरेर साँझ खाना रुच्यो, सजिलै निलियो अनि राति चैनको निद्रा सुत्न सकियो भने त्यो नै सरल, सफल र आनन्ददायी जीवन हो भन्ठान्छिन् उनी ।

बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको ‘न्याय’मा सुशीलाका पति दुर्गा सुवेदीबारे पनि रोचक प्रसंगहरू छन् । दुर्गा सुवेदी स्वयं पनि प्रशंसा गर्न लायकको सादगी जीवनका सारथि हुन् ।

‘न्याय’ले पाठकलाई पक्कै अन्याय गर्दैन । यद्यपि यो समीक्षा हैन, पाठकीय प्रतिक्रियामात्र हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC