site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मन लेख्ने मसी
Sarbottam CementSarbottam Cement

– सन्तोष रिमाल


“ल तिम्रो लेखनयात्रा अविराम होस् !” पत्रकारिताबाट बिदा लिएको दिन कलम दिँदै उसले भनी ।

व्यंग्य हो कि उपहार— म अल्मलिएँ । तैपनि स्नेहपूर्वक उपहार दिएकाले खुशी हुँदै लिएँ, बदलामा धन्यवाद दिएँ ।

Prabhu Bank
Agni Group
NIC Asia

खासमा ऊ मेरो लेखाइको कटु आलोचक । लेखुन्जेल कहिल्यै ‘आहा कति राम्रो’ भनिन । एकदिन उसैले निन्दा र आलोचनाबीचको फरक बुझाइदिएपछि आलोचनासँग पनि मेरो प्रीति बस्न थाल्यो । त्यसैले त उसलाई भेटेर आफ्नो आलोचना सुन्न म नै मरिहत्ते गर्थें ।

उसलाई फिल्मकी हिरोइनको बान्की र हिरोको खान्कीबारे लेखेको कहिल्यै मन परेन । ‘प्रेम र सेक्सबारे के धारणा छ ?’ भन्नेजस्ता अन्तर्वार्ता छापिएको साता त अगाडि नपरे पनि हुन्थ्यो । नेता र राजनीतिले पाएको ‘स्पेस’को प्रतिक्रिया नाक खुम्च्याउँदै दिन्थी, “कागजको सत्यानास ।” आर्थिक समाचारलाई विज्ञापनको गुन र अनुभूतिजन्य लेखलाई आत्मरति नामकरण गरेर ऊ पत्रकारको हुर्मत लिन खोज्थी ।

Global Ime bank

लेखुन्जेल कलमको निब भाँचूँलाझैं गर्नेले लेख्ने जागिरै छोडेको दिन कलम उपहार दिई, बडो प्रेमका साथ । त्यो पनि अझ ‘अविराम लेखन यात्राका लागि’ रे !

उसका विरोधाभाष बुझ्न आर्ट फिल्मका कथा बुझ्नभन्दा बढी घोत्लिनुपर्छ ।

लेखुन्जेल उसका वचनले घोचे । लेख्न छोडेपछि त्यही कलमको निबले चस्स–चस्स ।

त्यो त्यत्ति महँगो कलम थिएन । त्यस्तै २० रुपैयाँखाले होला । तर, मलाई किन हो– अमूल्य लाग्न थाल्यो । यसो फुर्सदमा त्यो कलम समाउँछु, केही लेखूँ कि जस्तो लाग्छ तर आँटै आउँदैन । चुनौती र प्रेरणाको अमूल्य मसीले सस्तो चिज के लेख्नू, महँगो कसरी रच्नू ? नलेखी कसरी बस्नू ? अपहत्तेमा परेको छु म ।

यस्तै मनोदशामा रहेका बेला शिवप्रकाशसँग भेट भयो ।

“एउटा देउता थिए देशमा, तिनलाई पनि मार्ने भए अकोधारीहरूले,” कसैलाई साह्रै नराम्रो गाली गर्नुपर्‍यो भने उनी अकोधारी भन्छन्, लेख्छन् । त्यसको अर्थ शब्दकोशमा छैन, उनी बताउँदैनन् । त्यो दिन पनि सत्याग्रही डाक्टर गोविन्द केसीको अनशनमाथि सरकारले देखाएको उपेक्षाका कारण उनी निकै व्याकुल थिए । उनी जति व्याकुल बन्छन्, त्यति नै लेख्छन् ।

बाहिर बेतोडले हिउँ परिरहेको थियो । १२ देखि १८ इन्चसम्म पर्नसक्ने मौसम विभागको पूर्वानुमानका कारण ‘स्नो इमर्जेन्सी’ लागेकाले स्कुल, अफिस बन्द थिए ।

“विन्टरमा त बोस्टन झुरै हुँदो रहेछ है ?” तात्तिएको दिमाग लिएर हट लात्ते समाएका शिवप्रकाशलाई शीतल बनाउन खोजें ।

२० वर्षदेखिका यी बोस्टनबासीले डोरी जोडेको मोटो पावरवाला चस्मा गलामा झुन्ड्याए, लेखजस्तै मेहनत गरेर बनाएको बोकेदारी खेलाउँदै भने, “अँ, यहाँको रोचक कुरा के भने ६ महिना रुखहरू नांगिन्छन्, ६ महिना मान्छे । यो रुख नांगिने सिजन त कसलाई मन पर्छ र !”

“कस्तो लेख्नेजस्तो कुरा गर्नुभो !” म भरिलो मौसमको चर्चा गर्न खोज्दै थिएँ, उनले मौकै दिएनन् ।

“लेख्ने कुरा नसम्झाऊ यार,” फेरि भाउन्निए, “अमेरिकामा जे गर्न नि गाह्रो छ तर सबैभन्दा गाह्रोचाहिँ लेख्न नै हो ।”

पक्कै, सजिलो थियो भने लेख्न जान्नेजति सबै लेखक भइहाल्थे नि ! उनको कुराले लेख्ने चुनौती पूरा गर्न नसकेर थला परेको मनलाई सान्त्वना दियो ।

जतिसुकै कुशल मानिए पनि लेखकमा सीमा हुँदो रहेछ । उसले महसुस गरेको कुरा, महसुस गरेकै जसरी लेखेर प्रकट गर्नै सक्दैन । अनि ऊ दुःखी बन्छ । जो–जो लेखकको सान्निध्यमा म पुगेको छु, तिनमा त्यस्तै दुःख देखेको छु ।

उसै पनि लेख्नु अभिव्यक्तिको सरल माध्यम हो तर सशक्त हैन भनिन्छ । अभिव्यक्तिका अरू तरिकामा दुर्बलले मात्र लेख्ने÷बोल्ने गर्छन् भन्ने सुनेको थिएँ । हुन पनि नाच्न, गाउन, बजाउन र चित्र कोर्न जान्नेसँग लेख्न नजानेको गुनासो नहोला । अभिव्यक्तिका तमाम विधामा पछि परेर लेख्न ‘विवश’मध्ये पनि  ती मात्रै रुचाइएका छन्, जसका शब्द पानामा नाच्छन् । व्यक्ति नसके उसका अभिव्यक्ति नाच्नुपर्दो रहेछ रुचाइनका लागि ।

पाँच वर्षअघि जयपुरको साहित्य–मेलामा भेट हुँदा नेपालकी प्यानलिस्ट मञ्जुश्री थापाले भनेकी थिइन्, “एकलकाँटे नभई लेखक बनिँदैन ।”

कस्तो गजब छ भने, मान्छे एकांकीबाट हट्नलाई लेख्छ र लेख्नलाई फेरि एकलकाँटे हुनुपर्दो रहेछ । लेखकका दुःख पनि कति हुन् !

लेख्नुलाई लगाव, खुशी वा रचनात्मक आउटलेटको रूपमा व्याख्या गर्नेहरू पनि छन् । फेरि, यी सब ठूला कुरा हुन्, लेख्नु भनेको मस्तिष्कमाथि जबर्जस्ती हैकम जमाउनु हो पनि भन्छन् कोही । पत्रकारहरू प्रायः राम्रा लेखकलाई लेखन–सूत्र सोध्छन् । लेखकका सूत्र यस्ता हुन्छन् कि त्यसले समस्या हल गर्नेभन्दा उल्टै थप्छन् । लाग्छ— धनी हुने र लेखक बन्ने सूत्र एकैखालका हुन्, काम लाग्दैनन् । फेरि साहित्य गणित पनि त हैन ।

लेखभन्दा लेखकबारे धेरै पढ्ने बानीले मलाई के निष्कर्षमा पुर्‍यायो भने— लेखक हुनु सजिलो सपना हैन रहेछ ।

पत्रकार रहुन्जेल अरुले भनेका, गरेका र लुकाएका कुरा लेखियो । लेख्ने पेशाका रूपमा मेरो अन्तिम सामग्री थियो मनोज पाण्डेको प्रोजेक्टका लागि डकुमेन्ट्री स्क्रिप्ट । उनी अहिले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम चलाउँछन् । त्यो अन्तिम सामग्री मैले पहिलोचोटि डेडलाइनअघि बुझाएको थिएँ । पेशाका रूपमा यो मेरो अन्तिम काम हो भन्ने बोधले पहिलोचोटि मुटुमा गाँठो परेको थियो । अब मैले डेडलाइन र जीविकाको प्रेसरमा यसरी औंला चलाउन पर्दैन भन्ने आभाससँगै चुनौतीको प्रतिध्वनि सुनेको थिएँ, त्यसो भए के मैले लेखूँला त ! वा लेखें भने पनि त्यस्तो के लेखूँला ? खै, साँच्चै भन्दा पत्रकारिताका क्रममा जति लेखियो, त्यो उल्लिखित दुईखाले प्रेसर अर्थात् जीविका र डेडलाइनको प्रतिफलमात्रै थियो कि !

उसले कलम दिएको दिन त्यसलाई हातमा खेलाउँदै मैले यस्तै भाव सुनाएको थिएँ ।

त्यतिखेर भने उसको अनुहारमा हेय, उपेक्षा वा चुनौती देखिनँ, शायद पहिलो पटक । सामान्यतयाः यस्ता भेटमा म उसलाई प्रश्न गरेर हैरान पार्थें । उसलाई सही उत्तर दिन नपर्ने मेरा प्रश्नहरू मनपथ्र्यो । भन्थी, “तिमी प्रश्न गर्न स्वतन्त्र छौ र म जवाफ नदिन । एक–अर्काको स्वन्त्रतामा आँच नपुर्‍याई निस्फिक्री बात मारौं ।”

खासमा म पनि जवाफका लागि प्रश्न गर्दिनथें । मान्छेसँग प्रश्न गरीगरी जान्नु पर्ने त्यस्तो नयाँ कुरा के हुन्छ र ! फेरि सत्य त जवाफमा अटाउने चिज पनि हैन भन्नेसम्म मैले बुझेको थिएँ । तैपनि उसले जवाफ लुकाएको हेर्न, लुकाउने संघर्ष आँखामा छापिएको देख्न, कहिलेकाहीँ त्यो संघर्ष असफल बनेपछि अलमलिएको अनुहार पढ्न रमाइलो लाग्ने हुनाले म प्रश्न गर्थें । साह्रै झर्को लाग्दा ऊ रिसाएर हिँड्न खोज्थी, म त्यही ‘क्लाइमेक्स’को फ्यान थिएँ । र, पो आलोचकसँग पनि म आल्हादित थिएँ त !

“हो म तिमीबाट त्यस्तै लेखनको प्रतीक्षा गर्छु,” उसकै सामुन्ने, उसैमा डुबेको तर्कना खल्बल्याउँदै बोली ऊ, “तिमीलाई डेडलाइन छैन, रोजीरोटीको मजबुरी छैन, यसको मतलब पाठकले के चाहन्छन् त्यो लेख्नपर्छ भन्ने तिम्रो पूर्ववत् तर्क पनि राख्न पाउनेछैनौ । आगामी समय आफूले चाहेजस्तो लेख । त्यो दिन म तिम्रो पहिलो पाठक बन्न चाहन्छु ।” लेखुन्जेल पढेर कहिल्यै ‘आहा’ नभनेकी ऊ अब पहिलो पाठक बन्न तयार छे, मसँग लेख्ने शब्दै छैन ।

सधैं म उसलाई पढ्थें, त्यो दिन मलाई पढिछ उसले ।

‘अब अखबारका पानामा र प्रश्न गर्ने बहानामा तिमी मेरो अघिल्तिर हुनेछैनौ है’ भन्दा उसको पनि गला अवरुद्ध भएको मैले चाल पाएको थिएँ । तर, तुरुन्त आफ्नो भावना नियन्त्रणमा लिएर उर्दी जारी गरी, “अब तिम्रो खास परीक्षा शुरु भयो ।”

प्रश्नमात्र बोकेर हिँड्ने मजस्ताका लागि जवाफ दिने परीक्षा कठिन किन नहुनू ! अहिले पनि म प्रश्नोत्तरमै रुमल्लिएको छु । फरक के छ भने, अहिले प्रश्न गर्ने र जवाफ दिने अरू नै हुन्छन् । म तिनको पाठक, बस् । तैपनि लेखक–पाठक अन्तरंग चल्दा तरंगित हुने बानी हटेको छैन ।

पोहोर साल भारतीय लेखक अरुन्धती राय बोस्टन आएकी थिइन् । रत्नराज्य क्याम्पसमा पत्रकारिता पढ्दा राई सरले उनको खुब चर्चा गर्थे । विकासको ‘मोर्डनाइजेसन थ्योरी’की आलोचक र उपन्यास ‘गड अफ स्मल थिङ्स’की लेखकका रूपमा मैले चिनेकी ती ‘एक्टिभिस्ट’को २० वर्षपछि लेखेको दोस्रो उपन्यास ‘द मिनिस्ट्री अफ अट्मस्ट ह्यापिनेस’बारे बोल्ने कार्यक्रम थियो । निकै उत्सुक भए पनि म त्यो कार्यक्रममा जान सकिनँ । त्यहाँ जान लागेका मुकेश बराललाई भनें, “दाइ, उनलाई दोस्रो उपन्यास लेख्न २० वर्ष किन लागेछ मेरो तर्फबाट सोध्दिनू है ।”

उनले हाँस्दै ‘हुन्छ’ भने । लगत्तै ‘पोयट एन्ड राइटर्स’ म्यागेजिनमा उनको कभर स्टोरी छापियो । पढें, दोस्रो किताबका लागि दुई दशक किन लाग्यो भन्ने प्रश्नको सामना उनले सबैभन्दा धेरै पटक गर्नुपरेको रहेछ । यद्यपि गैरआख्यान रचना र अधिकारकर्ममा उनको सक्रियता घटेको थिएन । पाठकका जिज्ञासा टार्न उनले भन्नुपर्‍यो, “आख्यान त्यतिबेला लेख्छु, जब यसको आवश्यकता पर्छ । समयसीमा नहुने आख्यानमा म हतार गर्दिनँ ।”

पहिलो किताबबाटै ‘म्यान बुकर प्राइज’ पाएकी रायले ‘दोस्रो उपन्यास लेख्न किन ढिलो’ भन्नेबारे त्यति धेरै स्पष्टीकरण दिन परेको पढेपछि मैले हाम्रै नारायण वाग्लेलाई सम्झिएँ । उनले ‘पल्पसा क्याफे’ लेखेको केही वर्षमै ‘मयुर टाइम्स’ लेखे । तर, पाठकले उनकै पल्पसासँग दाँजेर त्यत्तिको भएन भने । उनी लेखन, सम्पादन र सम्पादकीय नेतृत्व दिन उत्तिकै सक्रिय छन् । तर, पाठकलाई त्यसले पुगेको छैन । अर्को उपन्यास त्यो पनि ‘पल्पसा क्याफे’ भन्दा राम्रो चाहिएको छ । त्यही गाल टार्न हो कि बीचमा फ्याट्ट ‘कोरियाना कफी गफ’ ल्याएका छन्, नभए उनी नयाँ उपन्यासको अन्तिम चरणमा छन् भन्ने निकै अघि सुनिएको हो । नारायण दाइलाई देख्दा के लाग्छ भने, लेखेर र लेखाएर मात्रै पनि नहुँदो रहेछ । राम्रो, त्योभन्दा राम्रो र झन्–झन् राम्रो लेखिरहनुपर्ने बाध्यतामा आफू परेको लेखकले चालै पाउँदैनन् ।

तर, लेखकहरू त्यसरी फस्न मन गर्छन् । एउटा किताब लेखेपछि विजयकुमारमा पनि त्यो भूत चढेको छ ।

फरक के भने, नारायण वाग्ले पाठकहरूसँग आफ्नो लेखाइजस्तै सरल व्यवहार गर्छन् । विजयकुमार अर्रो । वाग्ले पाठकको मनमा मात्र हैन, आँखामा पनि बिझाउँदैनन्, विजयलाई पनि पाठकको मन र आँखा दुवै चाहिएको छ तर सीधा हैन, मिडियममार्फत । शायद त्यसैले उनी पनि उपन्यास लेख्दै छन् ।

‘खुसी’ले मदन पुरस्कार पाउँदा वाग्लेको भनाइ सापटी लिँदै विजयकुमारले भनेका थिए, “म मनको आगो निभाउन लेख्छु ।”

फरक स्वभावमा रही उस्तै गन्तव्यमा लम्केका यी दुई आफ्नो आवेग बिसाउन लेख्दा रहेछन्, पाठकलाई तिनको आवेग पढ्ने तलतल हुँदोरहेछ र जति धेरैले पढिदियो, उनीहरू उति खुशी हुँदा रहेछन् ।

मैले संगत पाएका लेखक राजेन्द्र पराजुलीमा अघिल्तिर देखेका विषय र पात्रलाई कथामा उतार्ने अचम्मको खुबी छ । उनले विगतमा माया गरेर केही थान कथाका ‘फस्ट ड्राफ्ट’ मलाई पढ्न दिएका थिए । जस्तै, उनको ‘अघोरी’ कथामा संगृहीत ‘केमिस्ट्री’ । उनी जति सरल देखिन्छन्, त्यति नै सरल ढंगले कथा लेख्छन् । फेरि सरल बान्कीका ती कथा यति कठिन लाग्छन् कि आफैंलाई बुझ्न नसकेर मान्छे अलमलिएजस्तो । उनका कथामा जीवन हुन्छ र जीवन कति अप्ठ्यारो कृत्य हो जान्नका लागि राजेन्द्र पराजुलीका कथा पढ्नुपर्छ ।

जे होस्, उनी पनि लेख्छन् त आफ्नै आवेगको निकासका लागि ।

हरकोहीको मनभित्र आगो दन्किन्छ । लेखकले त्यही आगो ओकल्दा रहेछन्, भाँती पुर्‍याएर । मैले आफ्नै आगो अनुभव गर्न खोजें । हो, दनदनी दन्केको छ । बाहिरको —१७ डिग्री सेल्सियससँग मनको रापको कुनै तालमेल नहुँदो रहेछ । नभए, बाहिर त्यति चिसो भए पनि भित्र किन तातो बढ्छ त !

अचानक मलाई पनि मनको आगो निभाउन मन लाग्यो । कलम दिएर उसले गरेको भरोसा हो कि चुनौती, त्यसलाई निर्वाह गर्ने भूत चढ्यो । एउटा ‘सप्र्राइज्ड प्याकेज’ उसलाई प्रस्तुत गर्ने अभिलाषा चुलिँदै गयो । मनभित्र त एउटा महाकाव्य नै तयार भयो । शब्दका ताजमहल बने । आँखा चिम्लेको– एउटा सुन्दर आवरण पो देखें । मनका सबै आवेगलाई पानामा खन्याएर शान्त बन्न अधीर भएँ । हिउँको चिसो सिरेटोले नाक पोलेको थियो । तर, मेरा इन्द्रिय त्यतिबेला मनको उकुसमुकुसमात्र महसुस गर्न समर्थ थिए ।

अपेक्षा र उपेक्षाको संयुक्त मसी बोकेर बसेको त्यो कलम निकै गह्रौं लाग्यो आज । मन हल्का पार्नका लागि, आफूभित्रको राँको निभाउनका लागि म त्यो बोझ बोक्न तम्सिएँ । त्यसमार्फत निर्माण हुने सुन्दर कृतिको कल्पनामा रोमाञ्चित बनें । एउटा गहन अभिभारामा लम्कनुअघि सोचें, शीर्षकमा उसकै नाम किन नलेखूँ । त्यो नाम सम्झँदै अर्को नयाँ ऊर्जा थपियो । अघिसम्म गह्रौं लागेको कलम एकाएक हलुंगो भयो । पानामा कलम चलाउन खोजें, अहँ मरिगए सरेन । कोर्छु, लेख्दैन । घोट्छु लेख्दैन । खोलेर हेर्छु, मसी त जमिसकेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC