site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रतीक्षा
Ghorahi CementGhorahi Cement

—गणेश पौडेल



मैले म कहाँ आइपुगें भन्ने भेउ नपाउँदै उसले च्याप्प मेरो हात पकडेर स्वागत ग¥यो, “स्वर्गको पनि स्वर्ग प्रेम बगैंचामा तिमीलाई स्वागत छ । यो प्रेमीहरूको बगैंचा हो । आज फोर्टिन फेब्रुअरी— द दे अफ भ्यालेन्टाइन । धन्य छ प्रणेता तिमीलाई— आज मेरो वर्षौंदेखिको उद्देश्य पूरा भएको छ । वर्षौंदेखिको तपस्या आज साकार भएको छ । मेरो पर्खाइको समयसीमा सकिएको छ । प्रिय भ्यालेन्टाइन ! म तिमीलाई प्रेम गर्छु ।”

उफ् ! कस्तो लाजमर्दो ! एउटा पुरुषले पुरुषलाई नै प्रेम प्रस्ताव गरिरहेछ । मैले स्थितिलाई स्वीकार्न नसकेर आँखा बन्द गरें ।
 
ऊ फेरि बोल्यो, “प्रिय मेरो प्राण ! तिमीलाई पक्कै पनि लाग्यो होला— म एक पुरुष हुँ र एउटा पुरुषले अर्को पुरुषलाई प्रेम प्रस्ताव राखिरहेछ । तिमी भ्रममा नपर । वास्तवमा तिमी पुरुष हैनौ । म पनि पुरुष हैन । हाम्रा प्रणेताहरूलाई लागेको छ— प्रेमको लिंग हुँदैन । यतिबेला तिमी आफ्नो लिंग भए÷नभएको आफैं कन्फर्म गर्न सक्छौ ।”
 
मैले आफ्नो लिंगको अवस्था जाँचें । ला ! खै त मेरो लिंग ? ओहो ! कस्तो आश्चर्य ! मेरो त वास्तवमै लिंग रहेनछ ।

Agni Group

“चिन्ता नगर प्रिय, मेरो पनि लिंग छैन । स्वर्गका देवहरूले सबैको लिंग छेदन गरिदिएका छन् । स्वर्गमा नारी÷पुरुष हुँदैनन् । सबै आत्माहरूमात्र रहन्छन् । यी हेर त— खै मेरा स्तन ? खै मेरो योनि ? मेरो लामो कपाल पनि त छैन ।”

उसले आफ्नो समथर छाती देखायो । हैन, हैन देखाई । देखाई ? उफ् ! कस्तो असहज ! कस्तो दोधार ! मैले फेरि आँखा बन्द गरें ।

Global Ime bank

“प्रिय भ्यालेन्टाइन ! तिमी अलिकति पनि विलम्ब नगरी मेरो प्रेम प्रस्ताव स्वीकार गर । तिमीले स्वीकार्न जति ढिला गर्छौ, त्यति नै अनिष्ट हुनेछ । त्यति नै आश्चर्यको भुमरीमा फस्नेछौ तिमी । आँखा बन्द गरेर वास्तविकता लुक्दैन महाशय । दुनियाँ नेत्र नहुनेहरूले पनि उति नै देख्छ, जति नजरवानहरूले देख्छन् । विश्वास लागेन ? सम्झ त त्यो जेल, जहाँ तिमीलाई भेट्न म दिनकै मेरो क्रूर बाबा (जेलर)का आँखा छलेर आउँथें । तिम्रो समिपमा बसेर घण्टौं टोलाउँथें । तिमीलाई कत्ति पनि याद छैन— मेरा आँखा थिएनन् त्यतिबेला । म त अन्धी थिएँ । तिम्रै दायाँ हातको प्रेमिल स्पर्शले मैले ज्योति पाएकी थिएँ ।”

कस्तो श्वैरकल्पना ?

“पख, श्वैरकल्पना हैन । यो यथार्थ हो । तर, यथार्थमा पुग्न तिमीलाई समय लाग्नेछ ।”

हँ ? कसरी यसले मेरो मन पढ्न सक्छ ? आच्या ! सक्छे ? म बोलेकै छैन— मात्र कल्पना गरिरहेको छु ।

“प्रिय प्रेमी, स्वर्गमा कसैको पनि बोली हुँदैन । सबैले सबैको मन पढ्न सक्छन् । अहिले म बोलिरहेकी छैन, कल्पिरहेकी छु । तर, मेरो कल्पना तिमीले पढिरहेका छौ । सुनिरहेका छौ ।”

म मौन भएँ । मौन हुनु भनेको विकल्प नहुनु पनि हो ।

“प्रिय भ्यालेन्टाइन ! आऊ तिमीलाई म स्वर्गको पनि स्वर्ग प्रेम बगैंचा घुमाउँछु यतिबेला । अँ एउटा कुरा मनमा राख— तिमी यहाँका राजा हौ । प्रेम बगैंचाका निर्माता हौ । परिकल्पनाकार हौ । सबैले तिम्रो जयजयकार गर्नेछन्, स्वीकार गर्नू । आmउ, छिटोछिटो आऊ । ऊऽऽ परको त्यो रूखमा हेर त । के देख्यौ ?”

“एउटा मान्छे । तलतिर हेरेर रमाइरहेछ ।”

“त्यो मान्छे हैन, भगवान् कृष्ण हुन् । तिनको हातमा हेर त, बाँसुरी छ । अब तिनी चढेको रूखको फेदमा हेर, विशाल पोखरी छ । देख्यौ ? त्यहाँ गोपिनीहरू नुहाउँदै छन् । कति रमाइलो दृश्य छ है ?”

साँच्चै ऊ भगवान् कृष्ण नै हो त ? स्वर्गमा पनि धर्म र भगवान् हुन्छन् र ?

“हेऽऽहेऽऽ स्वर्गमा सबै प्राणी समान छन् । यहाँ जात, धर्म, भाषा, संस्कृति केही पनि छैनन् । सबैले सबैको भाषा बुझ्छन् । सबैले सबैको धर्म मान्छन् । सबैको समान अस्तित्व छ यहाँ । खासमा भन्नुपर्दा स्वर्गमा प्राणी छैनन् । आत्माहरू मात्र हुन्छन् । तिमी मान्छे हैनौ । म पनि मान्छे हैन । हामी आत्माहरू हौं ।”

हँ ?

“दोधारमा नपर । यी झिनामसिना कुराहरू हुन् । नअल्झ । शिखर चुम्नेले ढिस्काहरूमा अल्झिनु हुन्न । आऊ आऊ घुमौं । बगैंचा विशाल छ । समय कम छ हामीसँग ।”

“समय पनि छ यहाँ ?”

“खासमा समय छैन । यहाँ न दिन हुन्छ न रात नै । तर, तिमी यहाँको पूर्णकालीन सदस्य भइसकेका छैनौ । तिम्ले प्रेमको शपथ नलिएसम्म जतिबेला पनि तिमी फिर्ता हुन सक्छौ ।”
 
नजानेको विषयमा नबोल्नु नै बेस । म सरासर उसको पछि लागें ।

हातको इशाराले पर झाडीतिर देखाउँदै भन्न थाली, “हेर त, त्यो झाडीमा गाँजा तानिरहेका भगवान् शिव हुन् । सँगै बसेकी चैं पार्वती ।”

“अहो रमाइलो पो रहेछ त !”

“हो त नि ।”

“अरू को–को छन् यहाँ ?”

“संसारका राम्रा मान्छेजति मरेपछि सबै स्वर्गमा आउँछन् । तर, स्वर्गमा आएर मात्र हुँदैन, यो त स्वर्गको पनि स्वर्ग हो— प्रेम बगैंचा । यहाँ आउन स्वर्गबाट ७ नम्बर फ्लाइओभर चढ्नुपर्छ ।”

“लौ, यहाँ फ्लाइओभर पनि छ ?”

“बिलकुल । स्वर्ग हो, स्वर्गमा नभएको के पो हुन्छ र ?”

“कसरी चढ्ने फ्लाइओभर ?”

“सहज छ । तर, तिमी कहाँ जान चाहन्छौ ?”

“यसै ।”

“बिनागन्तव्यको यात्रा हुँदैन यहाँ । यहाँबाट स्वर्ग जान १ नम्बर मेट्रो चढे पुगिन्छ । नर्कमा जानचाहिँ २ नम्बर । भर्खर अघि तिमी ७ नम्बर फ्लाइओभरबाट अवतरण भएका त हौ । मैले तिमीलाई फ्लाइओभरकै ढोकाबाट रिसिभ गरेकी हुँ ।”

“तर मैले त केही थाहा पाइनँ ।”

“यात्रीले गन्तव्यको हेक्का राखे पुग्छ, बाटोको होइन । तिमी गन्तव्यमा आइपुगेका छौ । अब बाटो नखोज । यही बिन्दुबाट तिम्रो यात्रा सिद्धिएको छ ।”

“उसोभए हामी स्वर्ग पुगेर आऊँ न एकपटक !”

“सहज छैन । जाने टिकट त भेटिन्छ, आउने पाइँदैन ।”

“टिकट कहाँ पाइन्छ ?”

“स्वर्गको पनि स्वर्ग प्रेम बगैंचामा चाहिँ टिकटघर यात्रीको मन हो । यहाँ आइपुगेको आत्माले एक इच्छामै आफूले चाहेको ठाउँ जान पाउँछ । १ नम्बर मेट्रो चढ्नचाहिँ तिमीले एक जुनी राम्रो मान्छेको अवतार लिएर पृथ्वीमा जन्म लिनुपर्छ । तर, स्वर्गबाट यहाँ आउने ७ नम्बर फ्लाइओभर चढ्नको लागि चाहिँ अरू स्वर्गका राजाहरूको भर पर्नुपर्छ । उनीहरूले तोकिदिएको अवतार लिएर जन्मनुपर्छ । यसरी जन्मिँदा नराम्रो अवतार लिए नर्कमा जान पनि सकिन्छ । यदि झुक्किएर नर्कमा जाकिए ८३ हजार नम्बरको माइक्रो चढ्नुपर्छ । यसको लागि कम्तीमा ८३ हजार जुनी लिनुपर्छ । लाखौं, अर्बौं वर्ष लाग्न सक्छन् फर्किएर यहाँ आउन ।”

“ओहो ! कति भयंकर नियम ?”

“यो नियम अरूतिरको हो । यहाँको नियमको निर्माता तिमी हौ । तिमी आफ्नो नियम राख्न सक्छौ । तर, त्यसको लागि तिमीले स्वर्गलोकका देवहरूसँग युद्ध लड्नुपर्ने हुन्छ । वैचारिक लडाइँ ।”

“कसरी ?”

“पछि भन्छु । आऊ, पहिले बगैंचा घुमौं । तिमीलाई जापानी कृषि वैज्ञानिक हिदिसाबरो उनोको कुकुर हाचिको याद छ ?”

“कुन ? अँ... अँ... त्यो हराएको कुकुर ? जसले ९ वर्षसम्म आफ्नो मालिक कुरेको ?”

“हो हो, त्यही कुकुरको आत्मा हो ऊऽऽऽ त्यो परको चाहिँ । कयौं वर्षदेखि ऊ यहाँ उसको मालिकको आत्मा खोजिरहेछ ।”

“कहाँ छ त उसको मालिक ?”

“उसको मालिक भर्खर स्वर्गबाट ६ नम्बर फ्लाइओभर चढेको छ । यतिखेर ऊ पृथ्वीको नेपाल भन्ने देशमा एउटा डक्टरको अवतारमा छ । ऊ चाहन्छ— राम्रो काम गरेर मरौं र चाँडो यो प्रेम बगैंचामा आइपुगौं । ऊ बारबार जनताको निम्ति भनेर अनसन बसिरहेछ । यो राम्रो काम हो । यसले उसलाई स्वर्गको पनि स्वर्ग प्रेम बगैंचाको ढोका खोल्न सहयोग हुन्छ ।”

“अनि अरू को–को छन् त यहाँ ?”

“तिमीलाई रोमियो र जुलियट थाहा छ ?”

“तिनी त सेक्सपियरका नाटकका पात्र हैनन् र ?”

“हुन् । तर पात्रहरू मात्रै भए पनि आत्मा त सबैको हुन्छ नि । उनीहरू पनि यहाँ प्रेम बगैंचामा आइपुगेका छन् । यहीँ आएर भेट भएको हो उनीहरूको । कति खुशी छन् उनीहरू यहाँ । एक–अर्काको साथ कहिल्यै छाड्दैनन् ।”

“अरू को–को पात्रहरू छन् त यहाँ ?”

“देवकोटाको मुनामदन थाहा छ ? उनीहरूले त स्यानो झुपडी पनि बनाइसके । सधैं यहीँ बस्ने अरे । लैनामजनु पनि यहीँ छन् । किलोपेट्रा र मार्क एन्थोनी, लान्सलट र ग्युनिभेरा, पेरिस र हेलेना, निपोलियन र जोसेफ... सबै यहीँ छन् । सबैले तिम्रो प्रतीक्षा गरिरहेका छन् ।”

“मेरो ? किन ?”

“किनभने तिमी प्रेमको जननी हौ । स्वर्गको पनि स्वर्ग प्रेम बगैंंचाको निर्माता हौ । परिकल्पनाकार हौ ।”

“हँ ? कसरी ?”

“पछि भन्छु । आऊ पहिले बगैंचा घुमौं । तिमीलाई थाहा छ– एआर रहमान ? एआर रहिम ? उनीहरू पनि यहीँ छन् ।”

“तिनीहरू त स्लामिक धर्मगुरू हैनन् र ? तिनीहरू त प्रेमको विरोधी हुन् नि ! कसरी आए यहाँ ?”

“खासमा तिनीहरू नर्कमा थिए । नर्कको पनि नर्क पोन्ड्स अफ स्पर्ममा पौडिरहेका थिए । संसारभरका पुरूषहरूको लिंगबाट स्खलन भएको बीर्य भेला पारेर नर्कमा एउटा पोखरी बनाइएको छ, त्यहाँ प्रेमविरोधीहरूलाई डुबाइन्छ । उनीहरू त्यहाँ डुबेका थिए । तर, त्यहाँका राजाले यिनीहरूलाई प्रेमको महत्व सिकाउनू भनेर विशेष यानमार्फत यहाँ पठाएका हुन् । उनीहरू आजकल प्रेमकला सिक्दै छन् । उनीहरू यहाँ प्रेमको नवाज पढ्छन् । तिमीलाई थाहा छ— यहाँ आफ्नी पत्नी र यौन जीवन त्यागेका भगवान् बुद्ध पनि आफ्नी पत्नीसँग आइपुगेका छन् ।”

“हाहा... तिनी बूढाले त सबैथोक परित्याग गरेका थिए त, फेरि कसरी प्रेममा परे ?”

“रोचक छ कहानी । खासमा उनी जिउँदो हुँदा मोक्ष हैन, प्रेमको खोजीमा थिए । उनले केही पनि त्यागेका थिएनन् । उनले हरेक कुरालाई प्रेम गर्थे । हरेक कुरासँग भोग गर्थे । जस्तो कि— काटमार, हत्या–हिंसा नगर्नू भनेको प्रेम गर्नु हो । वास्तवमा उनी प्रेममा चरमोत्कर्ष खोजिरहेका थिए । खासमा मान्छेहरूले बुद्धलाई प्रेमका भगवान् भनेर पुज्नुपर्ने हो ।”

“यहाँ त जिजस पनि उनकी श्रीमतीसँग बस्छन् । तर, उनले उनकी श्रीमती गोप्य राखेका छन् । कतिले भन्छन्— उनकी आमा नै उनकी श्रीमती हुन् । तर, यहाँ श्रीमती हुनु र नहुनुसँग कुनै सरोकार छैन । यहाँ त प्रेममात्र गर्न छुट छ । स्वर्गलोकका देउताहरूको बुझाइ छ— प्रेम र यौन फरक कुरा हुन् । प्रेममा यौन हुनु हुँदैन । प्रेममा वासना हुनु हुँदैन । तर, यो तर्कसँग यहाँका सबै असन्तुष्ट छन् । यहाँका धेरै आत्माहरू यौन पनि गर्न पाउनुपर्ने आन्दोलनको तयारीमा छन् । खासमा उनीहरूले तिम्लाई पर्खनुको मुख्य उद्देश्य यही हो । तिमी यहाँका राजा हौ । तिमीले यहाँका प्रेमीहरूले यौनको सुविधा पनि पाउनुपर्छ भन्ने आवाज देउतालोकमा पु¥याउनेछौ भन्ने उनीहरूको विश्वास छ ।”

“उनीहरू आफैं देउता हुन् नि !”

“हो ! उनीहरू मानवलोक पृथ्वीका देउता हुन् । पृथ्वीका रचयिता हुन् । यिनीहरूले पृथ्वीमा मानवजीवनको निर्माण गरे । जीवन भन्नु मृत्यु पनि हो । बाँच्नु भनेको एकदिन मर्नु हो । उनीहरू पनि मरे । मरेपछि सबै आत्माहरू समान हुन्छन् । त्यसै भए ।”

“यो त बुझें तर म त प्रेममा यौन हुनु हुँदैन भन्ने पक्षमा छु ।”

“हँ ? किन ?”

“यौन त गृहस्थीको सूचक हो । यौन भएपछि सबैमा भोक जाग्छ । कामवासनाले स्वार्थी बनाउँछ । यहाँका सबैले मातापिता बन्ने स्वार्थ राखे भने ?”

“हेऽऽ हेऽऽऽ एउटा सेक्रेट भनौं ? यहाँका बगैंचामा गुलाव छैन । गुलाव नभएको प्रेमको के मजा ? खासमा म पनि आमा बन्न चाहन्छु । म एउटा सुन्दर फूललाई जन्म दिन चाहन्छु । प्रेमको फूल गुलावको । स्वर्गको पनि स्वर्ग प्रेम बगैंचामा प्रेमको प्रतीक गुलावको अस्तित्व चाहन्छु ।”

“एउटा कुरा सोधौं ?”

“सोध न ।”

“किन तिमी स्त्रीहरू प्रेमसँग विवाह जोड्छौ ? यौनसँग जन्म, जन्मसँग मृत्यु, भोक र यौन जन्म र मृत्युका लागि अनिवार्य छ । यदि यी सबै प्रक्रिया यहाँ पनि हुने हो भने यी त जीवन प्रक्रिया भैगयो नि, हैन र ? हामी आत्माहरू हौं भन्या हैन ? प्राणीको नियम नै आत्मामा लागू भए यसको के अर्थ त ? पृथ्वीकै नियम लागू भए स्वर्गको के महत्व ? फेरि हाम्रो लिंग पनि त छैन । मैथुनको लागि लिंग हुनु जरूरी छ ।”

“कति मीठो तर्क । एक तर्कले नै मेरो मन जित्यौ । प्रेमीहरू यस्तै हुन्छन् । हरेक कुरामा जित्न र हार्न सक्ने क्षमता राख्छन् । यो प्रेमको विशेषता हो । मलाई गुलाफ हैन, प्रेम भए पुग्छ । खासमा प्रेममा जित–हार हुँदैन । यो कुरा तिमी भोलिको तिम्रो सम्बोधनमा सबैसामु राख्न सक्छौ ।”

“तर म तिमीलाई के आधारमा प्रेम गरौं ? म त तिमीलाई चिन्न पनि चिन्दिनँ ।”

“खासमा प्रेमको परिचय पनि त हुँदैन । प्रेम त अनुभूति हो । यी हेर त, हाम्रो मन मिलेको । अघिदेखि हामी एक–अर्काको भावनासँग, तर्कसँग रमाइरहेका छौं । तिम्रो सोचसँग म मजा लिइराखेकी छु । तिम्रो समीपमा म हराइराखेकी छु ।”

“तर मलाई त त्यस्तो केही भएको छैन ।”

“रुक... यसको अनुभूति म तिमीलाई दिलाउँछु ।”

“कसरी ?”

मेरो जवाफ नदिइकन ऊ गायब भई । स्थितिले यू–टर्न लियो । ऊ हराएपछि म पूराका पूरा शून्य भएँ । बगैंचाका सबै रूख, बुट्यानहरू मेरै सामुन्नेमा आएर उभिए । अघिदेखि प्रेममा हराइरहेका प्रेमीहरू मेरै सामुन्नेमा आएर मलाई प्रणाम गर्न थाले । सबैले मेरो उपस्थितिको जयजयकार गर्न थाले । प्रेम बगैंचासम्म आउँदा बाटोमा कस्ता–कस्ता दुःख पाएको, कति जुनी मानव भएको, कुन जुनीमा कुन प्राणी भएको सोध्न थाले ।

उफ् ! कस्तो सन्नाटा ! यत्रो कोलाहल छ । यत्रा शुभचिन्तकहरू छन् । यत्रो हर्षबढाइँ भइरहेछ तर म किन मौन ? वास्तवमै मलाई कता–कता कहाँ–कहाँ खै के भएजस्तो, केही नपुगेजस्तो, कोही छुटेजस्तो अनुभूति हुन थाल्यो । म भीडमा त्यही एउटा आत्मा खोज्न थालें, जसले मेरो मन बुझ्न सक्छ । मेरा तर्कहरूको जवाफ दिन सक्छ ।

मैले कृष्ण–राधिकाको अनुहारमा खोजें, अहँ ऊ थिइन त्यहाँ । लैला–मजनु, रोमियो–जुलियट सबैको अनुहारमा हेरें तर ऊ कतै भेटिइन । बरू गोपिनीहरू भेटिए । सुयोगवीर र सकम्बरी भेटिए ।

मलाई कता–कता लाग्न थाल्यो— भीडभाडको बीचमा एक्लिन सक्नु प्रेमको गुण पो रहेछ । प्रेमी हुन सक्ने योग्यता पो रहेछ ।

म तड्पिएर चिच्याउन थालें, “ए आत्मा ! तिमी कता छ्यौ ? जो मेरी प्रेमिका भएको दावी गर्छ्यौ ? खासमा को हौ तिमी ? आऊ, यतिबेला मलाई तिम्रो जरूरी छ । आऊ...! प्रेम भन्नु नै आफ्नो मनलाई बुझ्नु हो । आफ्नै मनलाई अनुभूत गर्नु हो । तिमीले आफूलाई बुझ्यौ । आफूलाई बुझ्न सक्ने प्रेमीले कहिल्यै धोका दिँदैन । म तिमीलाई प्रेम गर्छु । म तिम्रौ सामुन्नेमा छु ।”

फेरि ऊ देखा परी । म हर्षले गदगद भएँ ।

“तर, म तिमीसँग प्रेम गर्नुअघि तिमीलाई चिन्न चाहन्छु । को हौ तिमी ?”

“शुरूमै भनेकी थिएँ त, म एक जेलरकी अन्धी छोरी हुँ ।”

“मतलब ?”

“मतलब म तिम्री प्रेमिका ।”

“मैले त अझै बुझिनँ नि !”

“तेस्रो शताब्दीको कुरा हो । तिमी एन्सियन्ट रोमको एउटा क्याथोलिक चर्चमा धर्मगुरू थियौ । एक सन्त थियौ । तिम्रो नाम थियो सेन्ट भ्यालेन्टाइन । त्यतिखेर रोमका शासक थिए क्लाउडियस द्वित्तीय । क्लाउडियस एकदमै खतरनाक शासक थिए । एकदिन उनलाई लाग्यो— ‘मेरो राज्यका सैनिकहरू स्त्रीका कारण कमजोर भएका छन् । यौनले उनीहरूको बहादुरीमा कमी आउन थालेको छ । यसरी त म हार्नेछु । शासकले मर्न जान्दछ, हार्न जान्दैन ।’ उनले तत्कालै आदेश दिए, ‘आजदेखि मेरो राज्ययका कुनै पनि सैनिकले विवाह गर्न पाउनेछैन । प्रेम गर्न पाउनेछैन । स्त्रीसँग भेट्न पाउनेछैन ।’ शासकको आदेश सुनेर एकाएक राज्य निराश भयो । राज्यका सबै निराश भए । सैनिकहरूमा ऊर्जा हरायो । यस्तो देखेपछि तिम्लाई बडो माया लागेर आयो । सैनिकहरूलाई गोप्य रूपले चर्चमा बोलाएर सुन्दर स्त्रीसँग विवाह गरिदिन थाल्यौ । तिम्रो यो चाला क्लाउडियसले थाहा पाइहाले । त्यसपछि तिमीलाई जेल चलान गरियो । थाहा छ ? तिमीलाई राखिएको जेलमा जेलरको काम मेरा बुबाले गर्नुहुन्थ्यो । म अन्धी थिएँ । जेलमा मेरो कोही साथी थिएन । म बिलकुल एक्ली थिएँ । तिमी जेलमा आएपछि मेरो साथी तिमी भयौ । म तिम्लाई दिनकै भेट्न थालें । हामी प्रेममा प¥यौं । एकदिन तिम्रा प्रेम भरिएका हातले मेरो आँखाहरूमा स्पर्श गर्दा मेरा ज्योतिहीन आँखाहरूमा ज्योति भरियो । म देख्न सक्ने भएँ । मेरा आँखाहरूमा ज्योति भरिएको केही दिनमै तिमीलाई मृत्युडण्ड दिइयो । र, भाया फ्लामिनिया भन्ने सडकको एउटा पुलछेउमा गाडियो । थाहा छ तिमीलाई, तिम्लाई मृत्युदण्ड दिएपछि त्यही दिन मेरो ठेगानामा एउटा पत्र आइपुगेको थियो । त्यो पत्रमा लेखिएको थियो, ‘योर भ्यालेन्टिन ।’ मैले थाहा पाइहालें— त्यो पत्र तिम्ले मेरो लागि लेखेका थियौ । यसरी त्यो दिन एउटा सन्तले प्रेमका खातिर आफूलाई बलिदान गरेको थियो । त्यो दिन थियो फोर्टिन फेब्रुअरी । यो कुरा म कहाँ बिर्सन सक्थें र !”

ऊ भन्दै गई, “अर्को कुरा पनि भन्छु तिम्लाई । मैले तिम्लाई कहाँ–कहाँ मात्र खोजिनँ, कति–कति मानव जुनीको अवतार लिएँ । मेरै भड्किएको आत्मा थियो जुलियटको आत्मामा, मेरै आत्मा थियो मजनुको आत्मामा । म नै हुँ मुना, म नै हुँ पागल वस्तीकी मार्था । तर, दुर्भाग्य ! ती मसँग प्रेम गर्ने कुनै तमाम प्रेमीहरूमा तिम्रो रूप थिएन । तिम्रो प्रतिछाया थिएन । त्यसैले कसैसँग मेरो दीर्घकालीन मेल भएन ।”

उसको कुरा सुनेर म मौन भएँ । मलाई कत्ति पनि उसको कुरामा सत्यता लागेन । तर, इतिहास भनेकै विश्वास हो । मैले मौन दृष्टिले उसलाई हेरिरहें । मौन हुनु भनेको विश्वास गर्नु पनि हो ।

“तिमी वास्तवमै बुद्धु छौ,” नजिकैको एक वृक्षबाट उसले एउटा पात टिपी र मतिर लम्काई । पातमा लेखिएको थियो, ‘योर भ्यालेन्टाइन ।’

हो त्यही पत्र थियो त्यो, जुन मैले जेलमा हुँदा लेखेको थिएँ ।

बल्ल सम्झना आयो । मेरा गह भरिए । तत्कालै मैले उसलाई अंकमाल गरें । ठूलो स्वरमा चिच्याएँ, “म तिम्लाई प्रेम गर्छु ।”

एकाएक बगैंचामा हर्षउल्लास छायो । सबैले विजयको झ्याली पिटे । हर्षबढाइँ गरे । आतिसबाजी गरे । पटाका पड्काए । उपहारहरू साटासाट गरे ।

संयोगले आज त्यही दिन रहेछ, जुन दिन सेन्ट भ्यालेन्टाइनको हत्या गरिएको थियो । अर्थात् फोर्टिन फेब्रुअरी— द डे अफ भ्यालेन्टाइन । आज फेरि हाम्रो मिलन भएको दिन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC