site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्पष्टीकरण
Sarbottam CementSarbottam Cement

– हरिभक्त कटुवाल


हो राधा ! एउटा सिंगो युगको हिँडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु, जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएको छ र यहाँ म जडवत् उभिएको छु । बितेको त्यो युगभरि मलाई लाग्थ्यो— म एक्लै एउटा किरमिर गोरेटो छोड्दै हिँड्न लागेको छु र अनन्त–अनन्तसम्म त्यसरी नै हिँडिरहनेछु । तर, आज मेरो मन भन्छ— अब अघि बढ्ने कुरो बिर्सेर फेरि पछि फर्कूं । आफैंले छोड्दै आएको त्यही गोरेटो मेट्दै–मेट्दै बिसाइदिऊँ जिन्दगीको गह्रुँगो यात्रा ।

उफ् राधा ! आज ज्यादै थकाइ लागेको छ । कसरी मैले एउटा युगभरि हिँडिदिएँ र आज एक्कासि गति हराएँ ? किन हिँडें, केले हिँडायो, कहाँ पुग्न हिँडें ? यस्तैयस्ता धेरै प्रश्नले मलाई ग्वाम्म छोपिदिएका छन् यसबेला र म असहाय छु । मसँग यी प्रश्नको कुनै उत्तर छैन । उत्तर दिनैपर्ने बाध्यताको अनुभव पनि गर्दिनँ र सधैंका लागि यी प्रश्न प्रश्नकै रूपमा रहून् र म तिनैभित्र हराइरहूँ !

Prabhu Bank
Agni Group
NIC Asia

तिमी कति अपराधी राधा ! सम्पूर्ण युगभरि मेरै हाराहारी हिँडेर पनि मलाई थाहा दिइनौ र आज नयाँ दिशातिर गति लियौ । शायद तिमी अत्तालियौ– मेरो हाराहारी हिँड्नबाट तिम्रो विश्वास हट्यो । तर, त्यति लामो यात्रामा एकपल्ट त तिम्रो उपस्थितिको आभास, तिम्रो उद्देश्य मलाई थाहा दिन सक्थ्यौ । केवल मेरै चेतनालाई पछ्याउँदै हिँडिरह्यौ र आत्तिएर आज तिमी हिँडेको गोरेटोमा एउटा घुम्ती बनाउँदै नयाँ दिशा रोज्न बाध्य भयौ । यो बाध्यता तिम्रो आफ्नो बाध्यता हो राधा— तिम्रो एकदम पेवा ! न तिमीसित मैले मेरो यात्राभरि हिँडिदिने आग्रह नै गरेको थिएँ न आज तिम्रो गति परिवर्तनमा बाधक नै बनें । हो, मसँगै हिँड्ने तिम्रो रहरको पूर्वाभास यात्रा थाल्नुभन्दा अघि हुँदो हो । मलाई लाग्छ, म तिम्रो हात समातेर, तिम्रा प्रत्येक पाइलामा फूलैफूल ओछ्याइदिएर अनन्त–अनन्तसम्म हिँडिरहन्थें । शायद त्यो आग्रह तिमी मबाट चाहन्थ्यौ र त्यही चाहनुले तिमीलाई एउटा युगभरि हिँडायो ।

अनि आज हा¥यौ । हो, साँच्चै हा¥यौ । यति लामो यात्राभरि थाहा नदिएर पनि तिमीले अहिले भर्खरै अघिल्तिरको शान्त पोखरीमा अनावश्यक एउटा ढुंगो फालिदियौ र गयौ । तिमीले जाँदाजाँदै आफूले गति परिवर्तन गरेको र हाराहारीमै यात्रा गरिरहेको बोध गराइदिएँ भनेर नै त्यसो ग¥यौ, मलाई थाहा छ । मलाई यो पनि थाहा छ, तिमीले पोखरीको शान्त जल नचलाइदिएकी भए यस बेलासम्म म त्यहाँ हेलिइसकेको हुन्थें । यहीँ तिमी हा¥यौ ।

Global Ime bank

के आवश्यक थियो त्यति गरिरहनुको ? हो, मेरै हाराहारीमा यात्रा गरिरहेको हुँदा तिमीले पनि त्यहाँ हेलिनुपथ्र्यो । के त्यसैले तिमी पोखरीको अथाह गहिराइसँग डरायौ ? शायद होइन । यो युगभरिको हिँडाइमा मैले कयौं यस्ता जलराशि, दुर्गम पहाड, अभेद्य अरण्य र उजाड मरुप्रान्त नाघिसकेको छु— तिमीले पनि शायद । त्यसैले तिमी निश्चय डराइनौ र केवल निरासियौ मबाट, मेरो जिन्दगीबाट । मैले थाहै नपाई तिमी गति फेर्दी हौ— मलाई कुनै दुःख हुने थिएन ! तर, छोड्ने संकल्प गरिसकेर पनि तिमीले मलाई बिथोलिदिनु नै तिम्रो हार्नु हो । भन त मलाई थाहै नदिएको भए के नोक्सान थियो ? आखिर तिमीले त मलाई छोड्नु नै थियो, छोड्यौ तर व्यर्थै किन मेरो गति खलबल्याइदियौ ? किन ?

कति जाती हुन्थ्यो राधा ! जिन्दगीको अनन्त यात्रापछि चरम बिन्दुमा पुगेर जहाँ तिमीले, मैले र अरु सबैले एकदिन पुग्नैपर्छ, म तिमीलाई भेट््थें एउटी निष्पाप नारीका रूपमा । मेरो समस्त अपराध, समस्त दुर्बलता र सम्पूर्ण आकांक्षासहित उत्फुल्ल हृदयले त्यसबेला आफैंलाई तिमीमा समर्पण गरिदिन्थें । तिमी पनि आफ्नो दुर्बलता लुकाएरै भए पनि मलाई स्वीकार गर्न सक्थ्यौ । तर...

तर राधा ! आज तिम्रो दुर्बलता थाहा पाएपछि एकतमासले म निरासिएँ । अब फेरि उही बाटोबाट फर्किन लागेको छु आफैंले छोडेर आएको गोरेटो मेट्दै–मेट्दै । पुनर्जन्ममा मलाई विश्वास थिएन र छैन पनि । तर तिम्रै लागि राधा, एउटा जुुनी पर्खिएर अर्को जुनीमा फेरि तिमीसँग हातेमालो गर्दै यो यात्रा थालूँ भन्ने रहर मभित्र टुसाएको छ ।

लाटी ! जुन कुरा एउटा युगभरि आफूभित्रै गुम्स्याएर मेरो हाराहारीमै हिँडिरह्यौ, छोड्ने बेलामा पोखरीभरि लहर किन ब्युँझाइदियौ ? तिमीले ब्युँझाइदिएका यी लहर जताततै ठोक्किने रहरले हेर कसरी कुदिरहेछन् ! थाहा छ तिमीलाई, डिलसम्म पुगेर यी लहर फेरि पोखरीको बीचमा पुग्छन् मुखामुख गर्न र फेरि कुद्छन् डिलमा ठोक्किन । म मेरा दुई कानभरि ती लहर डिलमा ठोक्किएर छचल्किँदा उठेका शब्दहरू सुनिरहेछु र मलाई विश्वास छ— तिमीले छोड्दै गए पनि ती लहरले तिमीलाई छोड्नेछैनन् । तिमीले टेकिरहेको डिलमा जब तिमीले ब्युँझाएका लहरहरू ठोक्किन्छन्, त्यस बेला तिमी फेरि आत्तिन्छ्यौ ।

मैले तिमीलाई मभन्दा बेग्लै कहिले ठानें र ? तिमीभित्र पनि ममा जस्तै मानसिक दुर्बलताहरू हुनु अस्वाभाविक के थियो र ? मजस्तै चुपचाप तिमी पनि हरेक अपराधलाई आफैंभरि सीमित राख्दै अनन्ततिर बढिरहेकी भए के हुन्थ्यो ?

तर, तिमी तिम्रो संस्कारबाट मुक्त हुन सकिनौ— मैले दुःख मान्नु त्यत्ति छ । गयौ, ठीकै छ तर मैले उचालेको पाइतालाको अघिल्तिर अनन्त लहरहरू ब्युँझाइदिएर गयौ, यहीँ तिमी हा¥यौ !

लौ, म गोरेटो मेट्दै फर्किंदै छु । शायद मेरो फर्कनुको गतिमा अर्को एउटा गोरेटो जन्मिन्छ तर त्यो पश्चाद्मुखी गोरेटो कसैको काम लाग्नेछैन । तिम्रा लागि जुन गोरेटो एक युगभरि बन्यो, त्यसलाई मेटिदिएर मात्र फेरि बिसाउँछु्ु । अवश्य, यो पनि हुन सक्छ, मभित्रको पुरुषले मलाई घच्घच्याइरहन्छ र म अनायास एउटा गोरेटो मेटिसकेर अर्को गोरेटो बनाउँदै गइरहनेछु— उही चरम बिन्दुतिर ।

(हरिभक्त कटुवालका आठ कथाहरु संगृहीत कथा संग्रह ‘स्पष्टीकरण’बाट साभार ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC