प्रेम सधैँ सर्वोच्च

डा. नम्रता पाण्डे 

प्रेम सधैँ सर्वोच्च

आफू भन्ने अहंकार मेटाएर कसैलाई महत्त्वपूर्ण स्थान दिनु र उसको ऊर्जामा आकर्षित हुनु प्रेम हो । प्रेम गर्छु या देखाउँछु भनेर सम्भव छैन । यो त अकारण, विनागणित कसैमा समर्पण हुने कला हो । आन्तरिक ऊर्जाशक्ति र त्यसमा समाहित हुने कला प्रेम हो । यसको लागि प्रेम दिवसमा प्रेमीप्रेमिका, पतिपत्नी, सन्तान जो भए पनि एउटा माध्यम बनेर प्रस्तुत हुने आयाम हुन् ।

गुलाबको फूलमा हुँदैन प्रेम, आफ्नै हृदयमा झंकृत भएर तरंगित हुन्छ । र, पनि त्यसलाई प्रस्तुत गर्न गुलाबको फूल आवश्यक पछृ । प्रेम दिवसमा मात्र कहाँ सीमित हुन्छ र प्रेम । यो त साससासमा समाहित छ । मेरोतेरोमा कहाँ बाँड्न सकिन्छ र प्रेम यो त अविभाज्य छ ।

कुनै उपहार, सम्बन्ध र स्थानसँग मात्र कहाँ प्रेम हुन्छ र प्रेमले ती स्थानसम्म पुर्याउन आकर्षित गर्छ । प्रेमले सम्बन्ध बन्छ, प्रेमले नै उपहार बर्साउँछ । सबैमा आफूजस्तै देख्न सक्ने गुण प्रेम हो । जहाँ कुनै द्वैत हुँदैन र भिन्नता छैन । तर, यस्तो अनुभूति र प्रस्तुतीकरण अझैसम्म कसैले गर्नसकेको छैन । यहाँ त प्रेम अंकगणितमा सीमित छ ।

दोस्रो मान्छेको अनुहार, शरीर, धन, पद, सम्पन्नता हेरेर प्रेम हुन्छ भने कारणवश भएको त्यस प्रेमलाई सच्चा प्रेमको परिभाषा दिँदा अन्याय हुन्छ । प्रेमको सच्चा अनुभूति त्यो हो जतिबेला व्यक्ति मौनमा मस्त हुन पुग्छ । एक अर्कासँग टाढा हुन्छ र पनि निकटताको अनुभूति गर्छ । कुनै आकर्षण र विकर्षण छैन । कुनै पागलपन छैन ।

बस्, भित्रैबाट एउटा शान्त, आनन्दको अनुभूति छ । म छैन, तिमी छैनौ, न त तिम्रो र मेरोबीचमा प्रेमले सम्बन्ध जोडेको छ । यो त पहिलेदेखि नै थियो भन्ने भाव हो प्रेम । कुनै शंका छैन, ईष्र्या होइन, दमन छैन, भय होइन, हिसाब छैन, चिन्ता होइन, विनाश होइन बरु विकास हो प्रेम । परम स्वतन्त्रतासहितको आत्मविकासको अनुभूति हो प्रेम । त्यसो हो भने प्रेमको स्थान सधैँ सर्वोच्च भएन त ? प्रेमलाई कुन स्थान दिने आफ्नै व्यवहारमा भर पर्छ । प्रेम आफ्नै प्रवृति हो । हामी जसरी यसलाई जीवनमा अपनाउँछौँ त्यसरी नै अनुभूतिमा रहने गर्छ ।

भय समाप्त भएपछि जीवन सुरु हुन्छ र त्यो जीवन नै प्रेमपूर्ण हुन्छ । प्रेम मनलाई स्थिर र दृढ बनाउने एउटा माध्यम हो । सबैप्रति समानताको दृष्टि राख्नु पनि प्रेम हो । तर, आजकल हामी कसैलाई पनि कि त अविश्वास गर्छौँ कि त अतिविश्वास ।

यी दुवैले हाम्रो जीवनमा प्रेम भाव जगाउन दिँदैनन् बरु घातक हुन्छन् । अविश्वासले भय र असुरक्षाको भाव विकास गराउँछ भने अतिविश्वासले आक्रोशको भावना बढाउँछ । अविश्वास र अतिविश्वासले संशय र दुर्बलता बढाउने काममात्र गर्छन् ।

बाहिरी सम्पन्नताको लागि भागदौड गर्दागर्दै, अझ भनौ आधुनिक जीवन शैली अपनाउने क्रममा प्रेमबाट टाढा भएका त छैनौ ? प्रेमविनाको जीवन कल्पना पनि गर्न सकिन्न । मुक्तिको आकाशमा मात्र प्रेम फक्रन सक्छ । जीवनको अनमोल सम्पदा हो प्रेम । प्रेमरुपी धन भित्रबाट जागृत हुनसकेको क्षणमा मात्र बाहिरी सम्पदाको औचित्य रहन्छ । त्यसैले प्रेम सधैँ उच्च स्थानमा छ । त्यो उच्च चेतनालाई जीवनभर प्रयोग गर्ने खुबी आफैँले बनाउनु जरुरी छ ।

प्रतिकृया दिनुहोस