काठमाडौं । सरकारी तथ्यांकअनुसार देशमा युवा साक्षरता दर ९० प्रतिशतभन्दा माथि पुगेको छ । निरन्तर शिक्षाको अभावमा भने युवा साक्षरता दर तथ्यांकभन्दा कम हुने शिक्षाविद्हरुले बताएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ को अन्त्यसम्ममा १५ देखि ६० वर्ष उमेर समूहको प्रौढ साक्षरता दर ८२ प्रतिशत पुगेको छ भने १५ देखि २४ वर्ष उमेर समूहको युवा साक्षरता दर ९० प्रतिशतभन्दा माथि पुगेको दावी गरिएकोे छ ।
यद्यपि यस विषयमा शिक्षाविद्हरुले भने शिक्षा तथा मनव स्रोत विकास केन्द्रले साक्षरता अभियानको आधारमा त्यति संख्या भने पनि निरन्तर सिकाइको अभावले उक्त संख्या कम रहेको तर्क गरेका छन् ।
त्यस्तै, केन्द्रको तथ्यांकमा देशमा १ लाख २ हजार जनसंख्यामात्रै निरक्षर रहेको जनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर घोषणा हुन बाँकी ३० जिल्ला मध्येका पनि कठिन १८ जिल्लामा १ लाख २ हजार १०१ व्यक्ति निरक्षर रहेको तथ्यांक प्रस्तुत गरेको छ ।
महोत्तरी, धनुषा, हुम्लालगायतका १२ जिल्लामा चुनौती
केन्द्रका अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक गेहनाथ गौतमले हालसम्म ४७ जिल्ला साक्षर घोषणा भइसकेको बताउँदै बाँकी रहेका ३० जिल्लामध्येपनि १२ जिल्ला साक्षर भइसकेर घोषणा गर्नमात्रै बाँकी रहेको बताए ।
उनले काभ्रेपलाञचोक, उदयपुर, मोरङ, डडेलधुरा, बैतडी, कैलाली, डोटी, बाँके, काठमाडौं, कपिलवस्तु र ताप्लेजुङ साक्षर घोषणा गर्ने प्रकृयामा रहेको बताए । निर्देशक गौतमले बाँकी रहेका १८ जिल्ला मुगु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा रहेको जानकारी दिए ।
उनले ती जिल्लाहरुलाई साक्षर बनाउनु चुनौतीपूर्ण रहेको बताउँदै भने, “यी जिल्लाहरुमा साक्षरताको लागि थप प्रयास र कक्षा थप्नु पर्ने आवश्यकता रहेको छ ।”
उनले महोत्तरी, धनुषा, रौेतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा जिल्लालाई अलि बढी नै ध्यानकेन्द्रित गर्नुपर्ने बताए ।
उनले भने, “बाँकी रहेका जिल्लाको हिसाब गर्दा हामीसँग १ लाख २ हजार १०१ जना निरक्षर रहेको भनेका छौं तर यो अलि पुरानो तथ्यांक हो । त्यसैले यो तथ्यांक अलिकति बढ्ने अनुमान गरेका छौं ।”
केन्द्रले २०७१÷७२ सम्म साक्षर जिल्ला घोषणा अभियान चलेको र त्यसयता अहिले भने निरन्तर शिक्षा भन्ने कार्यक्रम चलिरहेको जनाएको छ । केन्द्रका अनुसार कार्यक्रमको दुई वटा तह छन् । जसमा तह १ ले बाँकी रहेका निरक्षरहरुलाई साक्षर गराउने कार्यक्रम विकास गर्छ भने तह २ ले साक्षर भइसकेकालाई सिकाइको थप अवसर दिन र सिकाएको कुरा उनीहरुले नबिर्सुन् भनेर अगाडिको सिकाइका लागि कक्षा संचालन गर्ने काम गर्दछ ।
किन साक्षर हुन सकेनन् यी जिल्ला ?
निर्देशक गौतमका अनुसार पहिलेपनि १० जिल्लाहरुमा साक्षरताका विभिन्न कक्षाहरु संचालन भइसकेका छन् । तर, ती जिल्लामा पढ्नै पर्छ र साक्षर नै हुुनुपर्छ भन्ने जरुरी नठान्ने व्यक्ति धेरै रहेकोले साक्षर बनाउनु चुनौति रहेको उनले बताए । उनले चेतना, आर्थिक समश्या तथा कक्षाको सुलभ पहुँच हुन नसकेर पनि समश्या भएको उल्लेख गरे ।