site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'पूर्वएमाले\'को आँगनमा \'जनयुद्धको अविरजात्रा\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टीले सरकार सञ्चालन गरेयता सामसून्न छ, नेपाल कम्युनिस्ट पार्टीको धुम्बाराहीस्थित मुख्यालय । पार्टी नेतृत्वको कुुर्सीमा धूलो जमेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा बहाल छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि पार्टी कार्यालय आउजाउ गर्दैनन् । पार्टी कमिटीका बैठक नै बस्दैनन् ।  कदाचित बसिहाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै उपयुक्त ठहर्छ । धुम्बाराही पायक पर्न छाडेको छ– नेकपाका नेताहरूलाई ।

तर, बुधबार त्यहाँ फरक दृष्य देख्न पाइयो । पार्टी एकता भएयता नेकपाले पहिलोपल्ट ‘जनयुद्ध’ दिवस मनायो । र, पूर्वएमाले पनि पहिलोपल्ट ‘जनयुद्ध दिवस’को श्रद्धाञ्जली सभामा सरिक भयो ।

२०५२ साल फागुनमा नेकपा माओवादीले तत्कालीन राज्यसत्ताविरुद्ध हिंसात्मक सङ्घर्ष थाल्यो । ‘माओवादी जनयुद्ध’ नाम दिएको हतियारबन्द आन्दोलन २०६३ विसर्जन भयो । २०७५ जेठ  ३ गते नेकपा एमालेसँग विधिवत् पार्टी एकता गरेपछि माओवादी नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ इतिहासको कित्तामा उभिन पुगिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तथापि शान्तिपूर्ण राजनीतिको कोर्षमा आइपुगेपछि माओवादीले जनयुद्ध दिवस मनाउँदै आइरहेको छ । कुनै समय जनयुद्ध दिवस मनाउँदा माओवादीले खुलामञ्चमा ‘मानव सागर’ उताथ्र्यो । साताव्यापी कार्यक्रम गथ्र्यो । शान्तिपूर्ण राजनीतिको १३ वर्षे अवधिमा ‘जनयुद्ध’का हर्ताकर्ताहरू पटकपटक सत्तामा पुगेर परीक्षण भए । माओवादी आन्दोलन स्वयम् परीक्षण भयो । यस उपक्रममा नेतृत्व आन्दोलनको असली अभिभावक बन्न नसकेको र ‘जनयुद्ध’का उपलब्धि संकटमा पर्दै गएको गुनासो बढ्न थाल्यो । र, त्यसको असर ‘जनयुद्ध’ दिवसमा समेत देखियो ।

तर, यसवर्षको ‘जनयुद्ध’ दिवस सम्झन लायक रह्यो । ‘जनयुद्ध’ लाई ‘उग्र वामपन्थी भड्काव’को संज्ञा दिने पूर्वएमालेको आँगनमा ‘जनयुद्धको अविरजात्रा’ भयो ।

Global Ime bank

उग्रवामपन्थदेखि अंकमालसम्म
नेकपाका एक नेता भन्छन्– एमाले र माओवादी केन्द्रको सम्बन्ध निषेध र सहकार्यको हो । ‘जनयुद्ध’को हिंसात्मक कालखण्डमा एमालेले धेरै नेता कार्यकर्ता गुमायो । सांसद यदु गौतम, दोलखाली नेता बुद्धिमान पाख्रिनलगायत नेता कार्यकर्ता माओवादीबाटै मारिए । कैयन् नेता–कार्यकर्ता माओवादी भए । जबजको सैद्धान्तिक ठेली बोकेर शान्तिपूर्ण सङ्घर्षको बाटो समातेको एमालेका लागि ‘जनयुद्ध’ निकै टाउको दुखाइको विषय बनेको थियो ।

झापा विद्रोहको फिलिङ्गोमा फैलिएको एमालेका लागि राजनीतिमा हत्याको प्रयोग नौलो र नवीन थिएन । झापा–सङ्घर्षको दौरानमा प्रयुक्त ‘वर्गशत्रु खतम’ अभियानलाई ‘राजनीतिक भुल’को संज्ञा दियो, उसले । र त, एमालेका नेताहरू भन्थे– “उग्रपन्थको आयु दश वर्षको हुन्छ ।”

नभन्दै दश वर्षमै माओवादी आन्दोलनको स्वरूप फेरियो । हतियार क्यान्टोनमेन्टमा थन्क्याएर शान्तिपूर्ण राजनीतिमा अवतरित भयो । शान्तिपूर्ण राजनीतिमा आएपछि पनि एमाले र माओवादीबीच निषेधको राजनीति थामिएन । दुई पार्टीबीच शक्ति–संघर्ष चुइगमझैँ तन्किरह्यो ।

गत वर्षको असोज १७ गते तालमेल र चुनावी गठनबन्धनको घोषणा र जेठ ३ गते पार्टी एकतापछि सङ्घर्षका अलग कित्ताबाट आएका यी दुई शक्ति पार्टी कार्यालयको एउटै छानामुनि त छन् । तर, दुईबीचका अन्तविरोध किनारा लागेको छैन । सैद्धान्तिक र कार्यक्रमिक प्रश्न पनि निरुपण भएको छैन । र, अन्तरविरोधकै अंग बन्न पुगेको छ– ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणसमेत ।

जनयुद्ध ‘काउसोको माला’
नेकपाले माओवादी आन्दोलनको स्वामित्व ग्रहण गरिसकेकाले पूर्वएमाले जनयुद्धको उत्तरदायित्वबाट विमुख हुन सक्दैन । तर, बुधबारको ‘जनयुद्ध’ दिवसमा एमालेको ठूलो पंक्ति सहभागी भएन । जसमध्ये अधिकांश संस्थापन पक्ष (ओली समूह निकट) छन् । जनयुद्ध दिवस मनाउने कि, जनआन्दोलन र जनयुद्धका सहिदलाई समवेत स्वरमा श्रद्धाञ्जली भन्ने गजबको अन्तरविरोध देखियो उसमा ।

बुधबार बिहान ११ बजेका लागि कार्यक्रम तय भए पनि बिहान ९ बजेदेखि नै कार्यकर्ताको चहलपहल बढेको थियो । तर, धुम्बाराही पुग्ने अधिकांश पूर्वमाओवादी केन्द्रका नेता–कार्यकर्ता थिए । मञ्चमा पनि पूर्वमाओवादी केन्द्रका नेताकै वर्चश्व थियो । कार्यक्रम सञ्चालन गर्ने पनि पूर्वमाओवादीकै प्रह्लाद बुढाथोकी (पेरिसडाँडामा रहेको नेकपाको पार्टी कार्यालयका सचिव) थिए ।

पूर्वएमालेका नेता वामदेव गौतम पनि कार्यक्रममा त उपस्थित थिए । तर, कार्यक्रम शुरू हुनुपूर्व नै उनी लाखापाखा लागिसकेका थिए । माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेलगायत पूर्वएमालेका प्रभावशाली नेता पनि अनुपस्थित नै थिए, श्रद्धाञ्जलीसभामा ।

पूर्वमाओवादी केन्द्रका नेता निधारमा अबिर दलेर हिँडेका थिए भने पूर्वएमालेका नेता अबिर दल्ने कि नदल्ने द्विविधाग्रस्त मनोदशामा देखिन्थे । हातमा अबिर बोकेर हिँडेका कालीबहादुर मल्ल पूर्वएमालेका नेता निधारतिर हात बढाउँथे । उनीहरू भन्थे, “भैगो कमरेड !”

चुनावी गठबन्धन निर्माण भएपछि पनि माओवादी केन्द्रले ‘जनयुद्ध’ दिवस नमनाएको होइन । तर, गत वर्ष पेरिसडाँडामा आयोजित कार्यक्रममा केपी ओलीलाई पनि आमन्त्रण गरिएको थियो । तर, उनी गएनन् । अध्यक्ष ओलीमात्रै होइन त्यसबखत एमालेका कुनै पनि माथिल्लो तहका नेता गएनन् ।

यसपटक पनि बुधबार बिहान प्रचण्ड र महासचिव पौडेल बिहानै बालुवाटार गएका थिए । जुनकुरा अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली कार्यक्रममै खुलासा गरेका थिए । तर, अध्यक्ष ओलीबाट सरकार गठनको वर्षदिन पूरा भएको सन्दर्भमा जरुरी कार्यक्रम छ भन्ने खबर पाएपछि प्रचण्ड महासचिव पौडेलसँगै पार्टी कार्यालय आए । यसले पूर्वएमालेको संस्थापन समूहलाई ‘जनयुद्ध’ ग्रहण गर्न कठिन भइरहेको बुझ्न पर्याप्त हुने नेकपाका नेता बताउँछन् ।

“‘जनयुद्ध’ सफलता वा विजयमा टुंगिएको नभएर सम्झौता र शान्तिपूर्ण अवतरणमा टुंगिएको हो । संविधानसभा, लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनयुद्धका घोषित लक्ष थिएनन् । यी त समयक्रममा थपिएका वा स्वीकारिएका सशस्त्र हिंसाको अवतरणका माध्यम, निकास वा सह–उत्पादनमात्रै बन्न पुगेको स्पष्टै छ,” नेकपाका केन्द्रीय सदस्य सूर्य थापा भन्छन्, “यथार्थमा ‘जनयुद्ध’ कुति पुग्न हिँडिएको थियो, दश वर्षको सञ्चालनमा काशी (बनारस) पुगेर समापन भयो । जबकि ‘जनयुद्ध’ को घोषित लक्ष्य नौलो जनवादको स्थापना गर्ने थियो । चिनियाँ जनयुद्ध तियान मेन स्क्वायरमा क्रान्तिको सफलतामा टुंगिएकोजस्तो यहाँ भएको त किमार्थ होइन, ताकि हरेक वर्ष जनयुद्ध दिवस मनाइयोस् वा मनाउन परोस् !”

अतः पूर्वएमालेको ठूलो पंक्ति जनयुद्धलाई पार्टी एकताको सम्पत्ति बनाउने पक्षमा छैन । त्यसैले त, बुधबारको कार्यक्रम जनयुद्ध दिवस नभएर जनआन्दोलन र जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम भनेर उसले आफ्ना कार्यकर्तालाई थुम्थुम्याएको रोचक परिदृष्य इतिहास अध्ययन गर्नेका लागि चाखलाग्दो नै हुनेछ ।

पूर्वएमालेविहीन पेरिसडाँडा
केही दिनयता नेकपाका द्वि–अध्यक्षको सम्बन्धलाई लिएर अनेक अड्कलबाजी शुरू भएको छ । भेनेजुएला प्रकरण, पार्टी एकताको उल्झन, सरकार सञ्चालन प्रक्रियालाई लिएर दुई अध्यक्षबीच सम्बन्ध चिसिएको र पार्टी एकता संकटमा पर्न लागेको घाम जत्तिकै छर्लङ्ग भइसक्यो ।

‘पार्टी एकता संकटमा छैन’ भन्ने सन्देश दिन पनि धुम्बाराहीमा जनयुद्ध दिवस मनाइएको माओवादीका एक कार्यकर्ता बताउँछन्  । “जनयुद्धको उत्तरदायित्व बहन गर्न हिच्किचाउने, राजनीतिक प्रतिवेदनमा समेत जनयुद्ध शब्द लेख्न आनाकानी गर्ने, जनयुद्ध स्वीकार नै गर्न नसकेको पूर्वएमालेको संस्थापन दिवस मनाउन किन तयार हुन्छ ?,” पूर्वमाओवादी केन्द्रका एक नेता प्रश्न गर्छन् ।

यसलाई पुष्टि गर्छ– बुधबार बिहान पेरिसडाँडाको दृष्यले ।

बुधबार धुम्बाराहीस्थित पार्टी मुख्यालय र देशभरका प्रदेश र जिल्ला कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राख्न नेकपाका महासचिव विष्णु पौडेलले निर्देशन दिएका थिए ।

पूर्वमाओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडा (दुई पार्टी एक भइसकेपछि जनसंगठन र निकायहरूको कार्यालय बनाइएको छ) मा कुनै औपचारिक कार्यक्रम थिएन । 
“धुम्बाराहीमा कार्यक्रम राखेपछि पेरिसडाँडामा अलग्गै अर्को कार्यक्रम किन राख्नुपर्यो ? पर्दैन होला,” नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले मंगलबार बाह्रखरीसँगको कुराकानीमा प्रतिप्रश्न गरेका थिए ।

तर, बुधबार एकाबिहान नेकपासम्बद्ध युवा–विद्यार्थीले श्रद्धाञ्जली कार्यक्रम राख्यो । पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पणका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल त पुगे तर श्रद्धाञ्जली कार्यक्रममा पूर्वएमाले निकट युवा–विद्यार्थी देखिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC