स्वर्गका केटाकेटी

कृष्णप्रसाद सुवेदी

स्वर्गका केटाकेटी

हैदरावादको स्पोर्ट्स स्टेडियममा राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न चरणका प्रतियोगिताबाट प्रथम भएका १०–१२ बालिका सहभागी थिए । जित्नेलाई पुरस्कार, इज्जत, प्रतिष्ठा ठूलै थियो । सबै प्रतियोगी दौडको आरम्भ रेखामा उभिएका थिए । रेफ्रीले रेडी भन्दै खेलौना पेस्तोल ड्याङ्ग पड्काए । बालिका दौडिए । मुस्किलले २०–२५ पाइला के दौडिएका थिए एक बालिका नमज्जाले भुइँमा पछारिइन् । ‘त्यो त लडी ! हार्ने भई भन्न थाले ।’ उनको शरीर दरफराएको थियो । पीडा असह्य भयो ! सहन सकिनन् ! चिच्याएर रोइन् ।

दौडदैँ अगाडि पुगेका बालिकाहरूले रोएको सुने । ठिङ्ग उभिए । पछाडि फर्किए । लडेकी बालिकातिर दौडँदै आए । एक बालिकाले आफ्नो शरीर झुकाइन् । लडेकी बालिकालाई बिस्तारै अंकमाल गरिन् । मायालु हातले सुम्सुमाइन् । अनि भनिन् – अब त दुख्न कम भयो होला । उठ ! बालिकाले उनलाई बिस्तारै उठाए । दुई बालिकाले उनको एक एक हात समाए । बाँकी सबैले एक अर्काको हात समाए । सँगसँगै अगाडि बढे । ती बालिका पनि खोच्याङ्ग खोच्याङ्ग गर्दै सँगै हिँडिन् । सबैले सँगै समापन रेखा पार गरे । प्रतियोगिता पूरा गरे । 

आयोजक किंकर्तव्यविमूढ भए ! पहिलो, दोस्रो तथा तेस्रो छुट्याउन नपाएकोमा छट्फटाहट थियो उनीहरूमा । अन्योलमा थिए उनीहरू विजेतालाई माला पहि¥याउन नपाएकोमा । दुःखी थिए मेडल दिन नपाएकोमा । प्याराफिटमा बसेका हजारौं दर्शकले ताली बजाए । सबैका आँखा टिलपिल भए ! हर्षका आँसु बगे ! सायद जीवनमा नयाँ अद्भूत् दृश्य थियो तिनका लागि ! साँच्चै अनुपम थियो त्यो क्षण ! त्यहाँ न हार थियो न कसैको जित ! थियो त बरु सबैको हित !  

खेलको आयोजना नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ, भारतले गरेको थियो । सुस्त मनःस्थितिका बालिकाहरू दौडमा सहभागी भएका थिए । हो ! तिनीहरू हामीले भन्ने गरेका ‘मेन्टल्ली रिटार्डेड’ बालिका थिए ! तिनले विश्वलाई नवीनतम ज्ञान दिए । महत्वाकांक्षा, अभिमान, अहंकार तथा प्रतिस्पर्धालाई ओझेलमा पारिदिए । मानवता, करुणाले शिर उठाएको दिन थियो, त्यो ! अहंकार लज्जित भएको थियो । धर्तीमा स्वर्गीय आनन्दको अनुभव भएको क्षण थियो । धर्ती मुस्कुराएकी थिइन् । सलाम छ, धर्तीमै स्वर्गको अनुभूति गराउने ती नानीहरूलाई ! 

यी बालिकालाई अद्भूत क्षमताका भन्ने कि सुस्त ? 

कुन फूल राम्रो ? सयपत्री कि गुलाब ? ‘भ्यालेनटाइन डे’ को गुलाबजस्तै तिहारमा सयपत्रीको महत्त्व हुन्छ। दुवैका आआफ्ना विशेषता हुन्छन् । त्यसैले गुलाब र सयपत्री फूल, यो राम्रो, त्यो नराम्रो भन्नु सही हुँदैन । बालबालिका प्रकृतिका सुन्दर सृष्टि हुन् बगैँचाका विभिन्न प्रकारका सुन्दर फूलजस्तै । एउटा मात्रै फूलको बगैँचा हुँदैन बरु फसल हुन्छ । बालबालिका विभिन्न स्वभाव तथा क्षमताका हुन्छन् । बालबालिका आफैँ राम्रानराम्रा, जान्नेनजान्न वा असलखराब पनि हुँदैनन् । त्यो बनाउने हामी वयस्कले हो, समाजले हो । ‘‘प्रत्येक बालबालिका जन्मदा प्रतिभावान हुन्छन्’’ अलबर्ट आइन्स्टाइनको कथन सही हो ।

विशाल पिपलको वृक्ष तर सानो हुन्छ यसको बीज । बीजमा विशाल बृक्ष बन्ने गुण हुन्छ । पिपलको बीजलाई चाहिने खाद्य जब माटो, हावापानी तथा सूर्यबाट प्राप्त गर्छ । पिपलको बीज टुसाउँछ, हुर्कन्छ र विशाल वृक्ष भएर धर्तीमा खडा हुन्छ । बालबालिकाले उपयुक्त वातारणमा हुर्कन पाउने हो भने पिपलले जस्तै सागर ढाक्न सक्छन् । बुद्ध बन्छन् ।

प्रत्येक बालबालिका अद्भूत हुन्छन् । प्रतिभाशाली हुन्छन् । उनीहरूमा सम्भावनाका अनन्त स्रोत हुन्छ । पिपलको बीज जस्तै बालबालिकाले पनि उपयुक्त हेरचाह पाए निःसन्देह उनीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटित हुन्छ । बालबालिकाले आफूमा भएको अन्तरनिहित क्षमता उजागर गर्न पाएका छन् त?

आमाबाबुले जीवनमा सफलता नपाएका हुनसक्छन् । मनमा असफलताको कुण्ठा हुन्छ । अहम् हुन्छ । पूरा गर्ने उपाय के त? छोराछोरीले पूरा गर्दिउन् भन्ने चाहाना । भर्खरै बामे सर्दै गरेको नानीलाई सिकाउन थाल्छौँ – नानुु ठूलो भएर के बन्ने भन्न । सानी छोरी तोते बोलीमा डाक्टर बन्ने भन्छिन् । भलै, उनले डाक्टरको अर्थ बुझेको हुँदैन । घरमा आएका पाउनालाई नानी ठूलो भएर के बन्ने भन्दै सोध्न लगाउँछौँ । सानो बच्चाले डाक्टर बन्ने भन्दा आमाबाबा खुशीले गद्गद् हुन्छन् । 

सबै बालबालिका सृष्टिका सुन्दर फूल हुन् । कोही लालीगुराँस होलान् त कोही मखमली । बालिकामा लेखक बन्ने गुण छ या असल शिक्षिका तर आमाबुवाको दबाबका कारण उनलाई डाक्टर बन्न लगाइन्छ । सानी बालिकाले डाक्टर नबन्ने भनेमा के हुन्छ ? उनीमाथी दबाबदिइन्छ । डाक्टर बन्ने नभनेसम्म चीची पापा बन्द गरिन्छ । विद्रोह गर्न त सक्दिनन् उनले । डाक्टर बन्छु भन्न बाध्य पारिन्छ ।

ती बालिकामा मानौ सूर्यमुखी फूल्ने गुण छ । हामी, आमाबाबुले लालुपाते फूल्न बाध्य पार्छौँ । परिणाम के हुन्छ ? बिचरी बाध्य भएर सूर्यमुखी फूल्ने क्षमता लालुपाते फूलाउन लगाउँछिन् । अन्त्यमा तिनी लालुपाते फूल्न त सक्तिनन् नै उनीमा भएको सूर्यमुखी फुल्ने क्षमता पनि नष्ट हुन्छ । अर्थात्, असल लेखक बन्ने प्रचुर सम्भावना भएकी बालिका डाक्टर त बन्न त परै जाओस् उनीसित भएको लेखक बन्ने गुण पनि नष्ट भएर जान्छ ।    

पारस खड्का नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान । नेपालको क्रिकेटलाई विभिन्न प्रतिकूलता हुँदाहुँदै अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन सफल व्यक्तित्व । नेपालको क्रिकेट इतिहासमा यिनको योगदान अनुपम छ । पारस खड्कालाई आमाबाबुले क्रिकेट खेल्ने होइन भन्दै बलजफ्ती डाक्टर बन भन्दै पढाएको भए के हुन्थ्यो ? धुर्मुस सुन्तलीलाई क्रिकेटर र सोमपाल कामीलाई हास्यकलाकार बनाउन खोजिएको भए के हुन्थ्यो ? मदनकृष्ण र हरिबंशलाइ इन्जिनियर बन्न दबाब दिएको भए के हुन्थ्यो ?  

नायक राजेश हमाल सम्पन्न परिवारमा जन्मे, हुर्के । उनका दिदीबहिनी डाक्टर छन् । पेसामा दक्ष छन् । तर, तिनै परिवारका राजेश हमाल नेपाली फिल्मी क्षेत्रका सदाबहार नायक बने । नेपाली सिनेमाको इतिहासमा यिनको योगदान अमूल्य छ । आउने पुस्ताले फिल्म उद्योगमा यिनलाई नपढी धरै छैन । यिनलाई चाटर्ड एकाउन्टेन्ट वा वकिल वा निजामती कर्मचारी बन्न बाध्य पारिएको भए के हुन्थ्यो ? साहित्यकार पारिजातलाई फिल्मको अभिनेत्री बन्न बाध्य पारिएको भए के हुन्थ्यो ?  
हिटलर बाल्यकालमा चित्र कोर्न रमाउँथे । सोह्र वर्षको उमेरमा भिएना स्कुल अफ आर्ट, अस्ट्रियामा भर्ना हुन गए । उनलाई प्रवेशिका परीक्षामा फेल गरियो । दोस्रो वर्ष पुनः जाँच दिए र पुनः विफल भए । चित्रकारिता उनको रुचि थियो तर पढ्न पाएनन् । जीवन बाँच्ने आधार भएन । चित्र बनाउँदै बेच्न थाले । उमेर छिप्पिँदै गयो । जीवन जिउने उपायको खोजीमा भौँतारिए । सेनामा भर्ना भए । तानाशाह भए । दोस्रो विश्व युद्धका खलनायक बने । 

हिटलरले चित्रकारिता पढ्न पाएका भए ? उनी विश्व प्रसिद्ध चित्रकार बन्ने थिए कि थिएनन् त भन्न सकिदैन । तर पहिलो विश्वयुद्धको कालो बादल मडारिएको बेला उनले बनाएको चित्र हेर्दा चित्रकारिता पढ्न पाएको भए उनी सृजनमा रमाउँथे भने भन्न सकिन्छ । हिटलर सर्जक बन्ने थिए । प्रकृति प्रेमी हुने थिए । प्रकृति प्रेमी हिंसक हुन सक्तैन । चित्रकारिता पढ्न पाएको भए हिटलर सेनामा जाने नै थिएनन् होला । दोश्रो विश्य युद्ध पनि हुदैन थियो कि? 

तस्बिर विकीपिडिया


मानव इतिहास गजबको छ ! तीन हजार ४ सय वर्षको इतिहासमा २६८ वर्षमात्र शान्त रह्यो रे । त्यही २६८ वर्ष पनि शान्त थिएन होला कि ? युद्धको तयारी भएको हुनुपर्छ ।

बालबालिकालाई कसरी हुर्काउने सम्बन्धमा चर्चा गर्नु अगावै हामी कसरी हुर्कियौं ? मनन गरौँ । आजका हामी वयस्क हिजोका बालबालिका । हामीलाई हाम्रा आमाबाले हुर्र्काए, बढाए । आमाबाबाट जे सिक्यौँ त्यही छोराछोरीमा लागु गर्छौ हामी । सकिनसकी झोलाभरी पुस्तक बोकेर विद्यालय जान सिक्यौँ । गाली अनि कुटाइ खाँदै घोक्न सिक्यौँ । अहिले, रित्तै पनि राम्ररी हिँड्न नसक्ने छोराछोरीलाई त्यसैगरी विद्यालय पठाउँदै छौँ । आफू कक्षामा कहिल्यै प्रथम हुन सकिएन तर छोराछोरीलाई पहिलो किन नभएको भन्दै हकार्छौँ । आज विद्यालयमा के सिकेर आयौ भनेर सोध्छौँ । कुनै साथीलाई आपद पर्दा के सहयोग गर्‍यो भनेर कहिल्यै साध्दैनौ । कुनै साथीको अनुहारमा मुस्कान ल्याउन के मद्दत ग¥यौ भनेर कहिलै सौध्दैनौ । अरुलाई पछारेर आफू कसरी अब्बल हुनेमात्र सिकाउछौँ । 

बालबालिकालाई सहयोग होइन हेरचाहको खाँचो छ । बालबालिकामा प्राकृतिक प्रदत्त क्षमता अनन्त छ । अज्ञात छ । हामी वयस्क त्यसबारे जानकार छैनौ भने कसरी सही सहयोग गर्न सक्छौँ । शक्ति हुनेले निर्धोलाई हेप्छ । हामी आमाबुवाले छोराछोरीलाई सहयोगको नाममा उनीहरुको जीवनमा हस्तक्षेप गरेका हुन्छौँ । हस्तक्षेपले बालबालिकालाई आश्रित बनाउँछ । स्याहार तथा हेरचाहले बालबालिकालाई स्वायतत्ता दिन्छ । स्वतन्त्रता दिन्छ । स्वायत्तत्ता तथा स्वतन्त्रताले विश्वास जगाउँछ । आत्मविश्वास भएका बालबालिकाको अन्तरनिहित प्रतिभा अंकुरण हुन्छ । 

बालबालिकाको जीवनमा अत्यन्त प्रभाव पार्ने चार पक्ष छन् । पहिलो हो सुरक्षा – हरबखत बालबालिकाले आफूलाई सुरक्षित महसुस गर्न पाउनुुपर्छ । दोस्रो भरोसा – सुरक्षाले भरोसा दिन्छ । सुरक्षित भएमा बालबालिकाको आफ्ना आमाबासँग भरोसा हुन्छ । साथै आमाबाले पनि छोराछोरीप्रति भरोसा गर्नुपर्छ । तेस्रो सम्मान – बालबालिकालाई सधैँ सम्मान तथा आदर गर्नपर्छ । हाम्रो संस्कारमा ठूलालाई आदर गर्नुपर्छ भन्ने छ । ठूलालाई मात्र हैन सानालाई झन् बढी आदर गर्नुपर्छ ।  
गल्ती बालबालिकाले मात्र गर्दैनन् । वयस्कले पनि गर्छन् । गल्तीविनाको मानव जीवन कल्पना गर्न सकिन्न । गल्तीले सिकाउँछ । बालबालिकाले गल्ती गरेमा सम्झाउनु पर्छ । हकार्नु, पिट्नु हुँदैन । उनीहरुमा भएको प्रकृतिप्रदत्त  क्षमतालाई प्रोत्साहन गर्नुपर्छ । बालबालिकाको लागि नभई हुने चौथो  पक्ष माया वा प्यार हो । यी चार गुणले बालबालिकाको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्छन् ।  

छ वर्षकी बालिका भर्ना हुनका लागि विद्यालयमा परीक्षा दिँदैथिइन् । प्लास्टिकको हात्ती देखाएर के हो लेख भनियो । ती बालिकाले खेलौना लेखिन् । उनलाई प्रवेश परीक्षामा विफल गरियो । उत्तर गलत भयो रे ! सही उत्तर हात्ती लेख्नु पथ्र्याे रे ! बालिकाले हात्ती ठूलो हुन्छ, हिँड्छ, यो त हिँड्न सक्तैन भनिन् । तर, उनको तर्कको सुनवाइ भएन । जाँच लिनेसँग अख्तियारी थियो । चेतना तथा विवेक नभए पनि फरक पर्दैन । चाहिँदैन । अहिलेको विडम्बना यही हो ।

पंक्तिकार आफैँले भोगेको घटना । विदेशमा यात्रा गर्दैगर्दा ट्याक्सी ड्राइभरले सोध्यो कहाँबाट आएको भनेर । मैले नेपालबाट भने । नेपाल सानो देश हो पनि भने । उसले क्षेत्रफल र जनसंख्या सोध्यो । मैले बताएँ । अनि ऊ मसँग झर्किएर बोल्न थाल्यो । तँ त झुट बोल्दो रहेछस् भन्यो । म त ट्वाल्ल परे । 

असहजताको बीच कुराकानी हुँदै गयो । एक्छिन पछि थाहा पाएँ । उसको देशभन्दा मेरो देश निकै ठूलो रहेछ । सानो देश नेपाल भनेकोमा उसको विमति रहेछ । स्कुलमा मैले नेपाल सानो देश भनेर पढेको थिएँ । घोकेको थिएँ । जाँचमा त्यही लेखेँ । पास भइस् भनेर खोस्टो थमाइदिए । एमए पासको पगरी गुथुन्जेलसम्म पनि त्यो गलत हो भन्ने कहिल्यै हेक्का भएन । बाल मस्तिष्कमा परेको छाप ठक्कर नखाईकन मेटिँदो रहेनछ । नजाने बाल मस्तिष्कमा कति गलत सूचना सम्प्रेषण गरेका छौँ हामीले ज्ञानको नाममा ? ‘घोकन्ति विद्या धावन्ति’ खेती भनेर हामी केटाकेटी हुँदा सुनेका हाँंला । विद्या घोकन्ति होइन रहेछ भन्ने अहिले आएर बल्ल ज्ञान हुँदैछ ।  
 

प्रतिकृया दिनुहोस
ad