काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्यान्ह १२ बजे बस्ने भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले दर्ता गरेको सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैछ ।
सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढेको भन्दै सांसद संग्रौलाले गत संघीय संसद सचिवालयमा पुस २३ गते प्रस्ताव दर्ता गराएकी थिइन् । सडकलाई गुणस्तरीय बनाउनुपर्ने, सवारीसाधन सुरक्षित तरिकाले चलाउनुपर्ने र नागरिकको जीउ–ज्यानको सुरक्षा सरकारले गर्नुपर्ने माग गर्दै प्रस्ताव दर्ता गरिएको थियो ।
सडक विस्तार भइरहे पनि त्यसको गुणस्तर र सवारी साधन आयात बढिरहेपनि मुलुकको आवश्यक्ता निर्धारण हुन नसक्दा दुर्घटना बढ्दै गएको प्रस्तावमा उल्लेख छ । २०४९ मा बनेको सवारी तथा यातायातसम्बन्धी ऐन र २०५४ मा बनेको नियमावली अध्यावधिक गर्नुपर्ने उनको माग छ ।
सांसद संग्रौलाले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले नेपालले राष्ट्रसंघबाट तय गरिएको मापदण्ड कार्यान्वयन गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेकी छिन् ।