राज्यका साधन, स्रोत र जनशक्ति व्यक्ति विशेषको निम्ति कसैको तजबिजमा प्रयोग गर्नु गराउनु प्रकारान्तरले भ्रष्टाचार नै हो । नेपालमा भने पहुँच र प्रभावका भरमा सुरक्षाकर्मीसमेत व्यक्तिगत सहयोगीका रूपमा प्रयोग गरिएका छन् । तालिम प्राप्त सुरक्षाकर्मी कतिपय प्रभावशाली व्यक्तिहरूका घरमा घरेलु कामदारका रूपमा खटिएका छन् । सुरक्षाकर्मीको यस्तो दुरुपयोग रोक्नुपर्ने माग पटकपटक भए पनि अहिलेसम्म त्यसको सुनुवाइ भएको थिएन । हालै नेपाल प्रहरीले राजनीतिक नेता र प्रहरी अधिकारीको सुरक्षामा लागि भनेर खटाइएका २ सय ८० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । तिनलाई नेपाल प्रहरीकै बहालवाला र अवकाशप्राप्त अधिकारी तथा राजनीतिक नेताहरुको सुरक्षामा खटाइएको थियो । यसबाट नेपाल प्रहरी धन्यवादको पात्र बनेको छ ।
बहालवाला पदाधिकारीका लागि निश्चित मापदण्डअनुसार अंगरक्षकका रूपमा सुरक्षाकर्मी खटाउनु पनि अस्वाभाविक होइन । परन्तु, सेवा निवृत्त अधिकृत वा पदमा नरहेका राजनीतिक नेतृत्वको निम्ति पनि सुरक्षाकर्मीको समूह तैनाथ गर्नु भने उपयुक्त र न्यायोचित देखिँदैन । तालिम प्राप्त सुरक्षाकर्मीलाई व्यक्तिगत सेवाका लागि खटाउने चलन नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि छ । सेना र सशस्त्र प्रहरीका कतिपय अवकाशप्राप्त अधिकृतहरूको घरमा पनि सुरक्षाकर्मीहरू घरेलु सहयोगीका रूपमा कजाइएका छन् । बहालवाला अधिकृतहरूकै घरमा त झन् ठूलो संख्यामा सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा काममा लगाउने गरिएको छ । नेपाली समाजमा बन्दुक बोकेका प्रहरी अघिपछि लगाएर हिँड्दा व्यक्तिको रबाफ नै बढेको ठान्नेहरूको संख्या ठूलै छ । यसैले राजनीति गर्ने वा सुरक्षा अधिकारीहरूले अनावश्यकरूपमा सुरक्षाकर्मीको लस्कर लिएर हिँड्ने गरेको देखिन्छ । सेवा निवृत्त अधिकृतहरू र राजनीतिक नेताहरूकहाँ खटाइएका प्रहरी फिर्ता बोलाएजस्तै बहालवाला अधिकारीहरूले प्रयोग गर्ने सुरक्षाकर्मीको लस्कर घटाउन पनि ध्यान जानुपर्छ ।
सुरक्षाकर्मीका लस्कर अगाडिपछाडि लगाएर हिँड्दा आफ्नो रबाफ बढेको ठान्नेहरूलाई बाटामा भेटिने जनसाधारणले भने सरापिरहेका हुन्छन् । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरूले अगुवापछुवा मोटरको लाम लगाएर हिँडेको सुहाएको पनि छैन । यसैले विशिष्ट व्यक्तिको आवागमन सुरक्षाकर्मी खटाउने विषयमा पुनर्विचार गर्नु आवश्यक देखिन्छ । साथै सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि सुरक्षाकर्मीहरूको आत्मसम्मानको पनि हेक्का राखेर उनीहरूलाई घरेलु कामदार बनाइनबाट जोगाउनपर्छ । सरकारले केही समय पहिले सुरक्षाकर्मीलाई घरेलु सहयोगी बनाउन नदिने निर्णय गरेको प्रचार गरिएको थियो । तर, त्यसको कार्यान्वयन भने भएको देखिएन । अब अवकाशप्राप्त अधिकृत र राजनीतिक नेताहरूको व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सबै सुरक्षा निकायका प्रमुखहरू धन्यवादका पात्र बन्नुपर्छ । सुरक्षाकर्मी सुरक्षाका काममा मात्र खटाइनुपर्छ । लोकतन्त्रको अनुभव त सुरक्षाकर्मीले पनि गरून् न !