site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँको चन्दा : घाँटीमा फन्दा

अस्ट्रेलियाले एक जना चिनियाँ व्यवसायीलाई नागरिकता दिन अस्वीकार गर्दै उनको स्थायी बसोवास अनुमति पनि खारेज गरी देशभित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।  चीन सरकारसँग सम्बद्ध रहेका हुवाङ सिङमो नाम गरेका घरजग्गा व्यवसायी सन् २०११ देखि अस्ट्रेलियाको सिडनीमा बस्दै आएका थिए ।
अस्ट्रेलियाको राजनीतिमा चिनियाँ प्रभाव बढाउने प्रयासमा लागेको आरोपमा हुवाङको स्थायी बसोवास अनुमति रद्द गरिएको समाचार ७ फरबरीको द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित भएको छ । समाचारअनुसार हुवाङ चिनियाँ विदेश नीतिको प्रवर्धन गर्ने संस्थाको नेतृत्व गरेका बेला अस्ट्रेलियाका प्रमख राजनीतिक दलहरूलाई लाखौं डलर 'चन्दा’ दिएका थिए । यस्तै, अस्ट्रेलियाका एक जना पूर्व विदेशमन्त्रीले सञ्चालन गरेको चीन समर्थक ‘थिन्क ट्यांक’लाई पनि उनले चन्दा दिएका थिए । अस्ट्रेलियन काउन्सिल फर दी प्रमोसन अफ दी पिसफुल रियुनिफिकेसन अफ चाइना’सँग उनको संलग्नतालाई पनि सन्देहका दृष्टिले हेरिएको छ । (नेपालमा पनि केही यस्ता संस्था छन् कि?) 
अस्ट्रेलियामा वैदेशिक चन्दा अवैध छैन । तर, हुवाङका क्रियाकलापले अस्ट्रेलियामा चीनको प्रभाव बढाउन खोजेमा आपत्ति प्रकट हुँदैआएको थियो । हुवाङले भने आफूले दिएको पैसा चीन सरकारको नभएको भन्दै अस्ट्रेलिया सरकारको आरोप अस्वीकार गरेका छन् । 
गार्जियनमा ८ फ्रेबुअरीमा प्रकाशित समाचारअनुसार सिङमोले आफूलाई अस्ट्रेलिया फर्कन लगाइएको प्रतिबन्धलाई ‘विडम्बनापूर्ण अन्याय’ भनेका छन् । उनले राजनीतिक दलहरूलाई दिएको पैसा गलत थियो भने फर्काउन माग गरेका छन् । उनले अस्ट्रेलिया सरकारको व्यवहारप्रति निराशा पनि प्रकट गरेका छन् । 
समाचारअनुसार हुवाङले २७ लाख डलर अस्ट्रेलियाका दुईवटा प्रमुख राजनीतिक दलहरूलाई चन्दा दिएका थिए । हुवाङले आफूले राजनीतिक दलहरूको अनुरोधमा मात्रै पैसा दिएको दाबी पनि गरे । उनले आफूले पैसा दिनु अनुचित थियो भने पैसाको साँबामात्रै भए पनि पार्टीहरूले फर्काउनुपर्ने माग गरेका छन् । उनले त्यस्तो पैसा अस्ट्रेलियाकै परोपकारी संस्थाहरूलाई चन्दा दिने पनि घोषणा गरेका छन् । हुवाङले आफू एक चीन नीतिको समर्थक भएकाले सताइएको दाबी गरेका छन् । यद्यपि, अस्ट्रेलिया पनि एक चीनको नीतिप्रति प्रतिबद्ध छ । 

नेपाल सन्दर्भ
हुवाङ प्रकरणले एकताका निकै हल्ला गरिएको लुम्विनी विकास योजनाको सम्झना हुन्छ । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ सहयोगमा लुम्विनी क्षेत्रको विकासका लागि ठूलो धनराशि जुटाएको प्रचार व्यापकरूपमा गरिएको थियो । तत्कालीन सरकारले ‘‘उच्चस्तरीय लुम्विनी विकास राष्ट्रिय निर्देशक समिति संयोजक तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई परियोजना अध्ययनका लागि अमेरिकाको न्युयोर्क पठाउने निर्णय गरेको’’ समाचार अहिले पनि इन्टरनेटमा भेटिन्छ । 

केपी ओली पहिलोपटक प्रधानमन्त्रीका रूपमा चीन जाँदा गेजुवा कम्पनीको प्रधान कार्यालयमा तीन घन्टा बिताएका थिए । उनी दोस्रोपटक प्रधानमन्त्री हुनेबित्तिकै नेपालका कालोसूचीमा रहेको त्यही गेजुवालाई दुई खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण गर्ने दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । हुनत, यसअघि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छँदा गेजुवालाई विनाप्रतिस्पर्धा आयोजना निर्माणका लागि दिने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । तर, माओवादी र एमाले मिलेर चुनाव लड्ने घोषणा भएपनि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले बूढीगण्डकी जलविद्युत् परियोजना नेपालले आफैँ बनाउने निर्णय गरेको थियो । त्यही योजना गेजुवालाई नै विनाप्रतिपस्र्धा दिने निर्णय कसरी गरियो ? के बूढीगण्डकी जलविद्युत् परियोजना बनाउने ठेक्का दिनुभन्दा पहिले नै कुनै हुवाङको चन्दा राजनीतिक नेताहरूलाई प्राप्त भइसकेको त छैन ? 

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारको प्रतीक्षा
नेपालका राजनीतिक दलहरूले कहाँबाट र कसरी पैसा लिन्छन् भन्ने अहिलेसम्म पारदर्शी भएको छैन । यस्तै, सरकारले गर्ने कतिपय निर्णयमा यस्ता दानचन्दाको प्रभाव छन् कि छ्रैनन् भन्ने खोतल्न न सञ्चारकर्मी वा राज्यको अरू संस्था नै प्रयत्नरत देखिन्छन् ।  
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेकेदारहरूमाथि मुद्दा दायर गरेको छ । यिनमा बहालवाला सांसद र पूर्वमन्त्रीहरू पनि छन् । ‘ठूलो माछा’ पनि बल्छीमा पर्न थालेका हुन् भने त आशालाग्दो अग्रसरता हो । तर, नक्कली लडाकुका नाममा भएको खर्चदेखि एअरबस खरिदसम्मका महालेखा परीक्षकले औँल्याएका अनियमिततामा कारबाहीको चालचुल छैन । तिनमा कम्युनिस्ट नेताको नाम मुछिएकाले कारबाहीका लागि अर्को पार्टीको सरकार पर्खिएको हो कि ?

भेनेजुएला : बोल्नुपर्ने त मानवीय संकटमा थियो ! 
भेनेजुएला संकटकोे परकम्प नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत देखापरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले भेनेजुएला प्रकरणबाट पाठ सिकेको बताए पनि उनका शीर्ष नेताहरू एकअर्काको तेजोबध गर्ने ’मुड’मा देखिएका छन् । पहिले दाहालले अमेरिकाविरुद्ध शीतयुद्धकालका कम्युनिस्टहरूकै शब्दावली प्रयोग गरेर चर्को वक्तव्य दिए । अनि सरकारले अलि नरम भाषामा दाहालकै वक्तव्यको सारसँग मिल्दो विज्ञप्ति जारी गर्यो । त्यसपछि प्रधानमन्त्री ओलीले सार्वजनिकरूपमै दाहालको वक्तव्यलाई ‘चिप्लिएको’ भने । कूटनीतिक प्रतिनिधिसँगको सामूहिक भेटमा घुर्की लगाएर अनुपस्थित अमेरिकी राजदूतसँग पनि भेटेर स्पष्टीकरण दिए । प्रधानमन्त्री ओलीले ‘चिप्लिएको’ भनेपछि अध्यक्ष दाहालले ओलीको कथनलाई आधिकारिक नभएर व्यक्ति विशेषको भनाइको संज्ञा दिए ।

Global Ime bank

ओली र दाहालको जुहारीबाट एक अर्काको तेजोबध त भयो होला देश र जनताका निम्ति निराशाको खेतीमात्र भयो । ओली दाहालको सम्बन्ध कस्तो छ भन्ने नेपाली जनताको सरोकारको विषय हैन । तर, तिनका क्रियाकलापले जनताको दैनिक जीवन र देशको छविमा पर्ने प्रभावप्रति भने मुलुक निस्पृह हुनसक्तैन । 

मानवीय संकटमा मडुरोको बाँसुरी 
नेपालमा भेनेजुएला प्रकरण मत्थर भए पनि त्यहाँको संकट भने झन् चुलिएको  छ । भेनेजुएलामा भोकमरी हुन थालेको छ । औषधि नपाएर मानिस मर्न लागेका छन् । संयुक्त राष्ट्रसंघले पनि त्यहाँ मानवीय संकट भएको बताएको छ । तर, भेनेजुएलाको सेनाले भने शासकको इसारामा छिमेकी कोलम्बियाबाट आउने बाटो मानवीय सहयोग आउनसक्ने देखेर बाटो थुनिदिएको छ । गत बुधवार सैनिकहरूले भेनेजुएलाको उत्तरपश्चिमी सीमास्थित टिएन्डिटास पुलमा ट्रकका ट्रेलर जहाजका कन्टेनर तेर्स्याएर बाटो बन्द गरे ।\"\"  कोलम्बियाको कुकुटास्थित भेनेजुएलाको सीमाको अवरुद्ध टिएन्डिटास पुल । तस्बिर – एएफपी

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भेनेजुएलाका जनतालाई ‘मानवीय सहायता अति आवश्यक’ भएको टिप्पणी गरेपछि राष्ट्रपति निकोलस मडुरोले जबाफ दिइहाले – हामीलाई कसैको सहयोग चाहिएको छैन । 
विभिन्न समाचार माध्यमका अनुसार औषधि र खाद्यान्न भेनेजुएलाको सीमामा पुगे पनि भित्र छिराउन दिइएको छैन । भेनेजुएलाका जनताले भोग्नु परेको मानवीय संकट राष्ट्रपति मडुरो र संसद्का अध्यक्ष तथा अन्तरिम राष्ट्रपति घोषित हुवाँ गुवाइदोको जुधाइले अझ बढाएको छ । समाचार संस्था एपीका अनुसार अमेरिकाले उद्धार सामग्री कोलम्बियामा थुपारेको छ । तर, मडुरोले त्यसलाई राजनीतिक प्रचारवाजी भनेका छन् । 

नेपालले बोल्नुपर्ने त मानवीय संकटमा पो हो । तर, त्यहाँका जनताले नेपालका कम्युनिस्टलाई बोलाएर स्वागत सत्कार र सैरसपाटा गराउँदैनन् । औषधि र खानेकुरा नपाएर प्याकप्याक भएका जनताका पक्षमा को बोल्ने ? रोहिंग्याका बारेमा को बोलेको थियो र ? नेपाली जनताले नाकाबन्दी भोग्नुपर्दा कोही बोलेनन् । त्यतिबेला कोही बोलिदिएको भए नेपालीलाई कति ढाडस हुन्थ्यो ? के नेपालीले नाकाबन्दीको पीडा यति चाँडै बिर्से ?

भेनेजुएला विवादको परकम्प
मदुरोको ‘नुनको सोझो’ (वक्तव्य दिलाउनेहरू भेनेजुएला भ्रमणमा बढी नै जाने गरेको समाचार सार्वजनिक भइसकेकै छ ।) गर्दा यति चर्को विवाद होला भन्ने सायद वक्तव्य दिनेबेलामा कसैले सोचेको पनि थिएन होला । सत्तारुढ दलका अध्यक्षहरूको सार्वजनिक ‘दन्तबझान’ भेनेजुएलाको जनताका पक्ष वा विपक्षमा नभएर मानवीय सहायताबाट पनि आफ्ना नागरिकलाई वञ्चित गर्ने क्रूर तानाशाहका पक्ष लिँदा सुरु भएको छ । भेनेजुएलामा अमेरिकी ‘हस्तक्षेप’को विरोध गर्ने कि नगर्ने विषयमा भएको छ । सायद, विवादको अन्तर्य सायद अर्कै छ ।

द्वन्द्वकालीन घटनामा एकमुष्ट उन्मुक्ति दिने कि नदिने विषयले ‘बेला न कुबेला भेनेजुएला’ गरिएको हुनसक्छ । 
पश्चिमी राष्ट्रहरू माओवादी हिंसात्मक विद्रोह कालमा भएका मानवताविरुद्धको अपराधमा उन्मुक्ति दिन नहुने अडानमा छन् । देशभित्र पनि मानवअधिकारकर्मी र पीडितहरू उन्मुक्तिका पक्षमा छैनन् । नेकपा (नेकपा)का पूर्व माओवादी नेतामध्ये धेरैमाथि कारबाही हुनसक्छ । यसैले प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष दाहाल    सशंकित भएका हुनसक्छ । ओलीले पनि दाहालले दलभित्रका अरू विरोधीसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको भनक पाएजस्तो छ । यसैले संक्रमणकालीन न्यायलाई ओलीले माओवादी नेता तहलगाउने नथ्थी ठानेका हुनसक्छ । अर्थात्, पश्चिमी मुलुकहरू र ओलीको स्वार्थ र सोच यस मामिलामा मिलेको हुनसक्छ । 

कांग्रेस कता ?
नेपाली कांग्रेसका नेताहरूले संक्रमणकालीन न्यायका सम्बन्धमा स्पष्ट धारणा प्रकट गरेका छैनन् । उनीहरू यस मामिलामा पनि ओली र दाहालको खेमामा बाँडिन बेर छैन । यसै पनि केही नेता हिन्दु राष्ट्रका पक्षमा पुगेकै छन् भने केहीले ओलीको रिसले दाहाललाई काँध थाप्ने गर्दैआएका छन् । विशेषगरी झापाली कांग्रेसका लागि दाहाल ‘साख’ र ओली ‘कुसाख’ हुनेगरेको बेलाबखत देखिएको छ । यस्तोमा कांग्रेसका नेता यता र उता बाँडिएर अन्ततः ‘यता न उता‘ हुन बेर लाग्नेछैन । 
कांगेसका लागि दाहाल साख र ओली कुसाख हुनुपर्ने कुनै कारण भने देखिँदैन । दुईवटा कारणले कांग्रेस प्रधानमन्त्री ओलीको सरकार ढाल्न लाग्नु हुँदैन । पहिलो, तर्क जे दिए पनि नेपाली जनताले केपी ओलीलाई पत्याएर कम्युनिस्टहरूलाई बहुमत दिएका हुन् । यसैले ओलीका विरुद्ध अर्कोलाई समर्थन गर्नु २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई हटाउनुजस्तै हो । कांग्रेसले अर्को पाप नगरोस् । अर्को, ओली नै प्रधानमन्त्री भइरहे कम्तीमा विदेश जाँदा उतै पक्राउ पर्लान् कि भन्ने डर त हुँदैन । वा पश्चिमी देशहरूमा जानै नसक्ने अवस्था त हुँदैन । नेपालको इज्जतकै लागि पनि कांग्रेसले ओलीविरुद्ध दाहाललाई साथ दिनु हुँदैन ।  

र, अन्त्यमा 
अरूण–३ जलविद्युत् आयोजना स्थलमा विस्फोट गराइएको समाचार अन्तर्राष्ट्रिय माध्यमबाट पनि सार्वजनिक भइसकेको छ । भारतको सरकारी स्वामित्वको कम्पनीले यो आयोजना बनाउन लागेको छ । तर, बन्छ नै भनेर ढुक्क हुनसक्ने अवस्था भने देखिँदैन । कतै अरूण – ३ को विस्फोट आयोजना नबनाउने वा बन्न नदिने षड्यन्त्र त हैन ? चीन र भारत दुवै मुलुकका सरकारी कम्पनीहरूले आयोजनामा हात हाल्ने र समयमात्र बिताइदिने गरेका छन् । पश्चिम सेती र अरूण नै पनि । यसैले पनि बूढीगण्डकी आफैँले बनाउनु उचित दखिन्छ । श्रमबाट हुने जति काममा श्रमिक प्रयोग गर्ने हो भने रोजगारीको पनि ठूलो अवसर त्यसबाट सिर्जना हुनेछ । तर, चक्कर चन्दाको छ र गेजुवाले पनि हुवाङलेजस्तै पैसा फिर्ता माग्लान् कि भन्ने डर पनि छ कि? 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC