जसको समाचारले विश्व तरंगित भयो

जसको समाचारले विश्व तरंगित भयो

– नरेश फुयाँल


इतिहास शिरोमणि बाबुराम आचार्य शिक्षक । उनका बुवा पनि शिक्षक । बाबुरामका छोरा पनि शिक्षक । शिक्षण पुस्तैनी पेशाजस्तै हुन लागेपछि बाबुरामलाई मन परेनछ । एकदिन नातिलाई बोलाएर भने, “बाबु, तिमीचाहिँ शिक्षक नहोऊ है । शिक्षक नभए पनि गर्नचाहिँ पढ्ने–लेख्ने काम नै गर्नुपर्छ । अंग्रेजी पढ्नुपर्छ । तिमीहरू नयाँ पुस्ताको भविष्य अंग्रेजी र शिक्षामा छ ।”

नाति माधव आचार्यले उनको बोली खेर जान दिएनन् । शिक्षण गरेनन् । हजुरबुवाले ‘शिक्षक नहुनू है’ नभनेको भए शायद माधवको जीवन पनि कालोपाटीमा चक र डस्टर घोट्दै बित्थ्यो । शिक्षणबाहेक हजुरबुवाले भनेजस्तै ‘पढ्ने–लेख्ने’ कर्म खोज्दै जाँदा पत्रकारितामा आइपुगे । त्यसैलाई पेशा बनाए । अनि लेख्न थाले समाचार ।

बुधबार अपरान्ह पशुपतिको पश्चिम ढोकाअगाडि खुला चौरमा भेटिँदा माधवको हुलिया रिपोर्टिङमा निस्किएभन्दा कम थिएन । उमेरले ७३ वर्ष लागे पनि पिठ्यूँमा झोला, कालो चश्मा अनि जिन्सको नीलो पाइन्टमा ठाँटिएका थिए । लाग्थ्यो— उनी पशुपति क्षेत्रमा रिपोर्टिङका लागि निस्किएका छन् । त्यहीँ सुनाए उनले देश–दुनियाँका कुरा । युवा वयदेखि बुढ्यौलीसम्मको आफ्नो पेशाका कुरा । अनुभव र भोगाइका कथा । उनले शुरुमै भने, “बाबु ! हाम्रो पालामा कि प्रेस भन्थे कि चौथो अंग भन्थे । अहिले त्यही प्रेस मिडिया भएछ ।”

० ० ०

पञ्चायतको प्रारम्भतिर पढेलेखेकाहरू शैक्षिक गतिविधिमा आबद्ध हुन्थे । त्यसमा पनि विशेषतः साहित्यमा । माधवले पनि कथा र कविता लेख्न थालेका थिए । ‘रूपरेखा’लगायतका पत्रिकामा साहित्यिक रचना छापिन्थे । केही साथीहरू मिल्ने र पत्रिका प्रकाशन गर्ने लहर नै थियो । त्यही लहरमा माधव, शिवशरण राजभण्डारीलगायत मिलेर अंग्रेजी दैनिक ‘हिमाली बेला’ प्रकाशन शुरु गरे (२०२१) ।

स्कुप समाचार भन्दै रिपोर्टरले ‘गोर्खाल्यान्ड आन्दोलनमा नेपालको सहयोग छ’ भनेर लेखे । ‘हिमाली बेला’मा छापियो । प्रकाशित भइसकेपछि थाहा भयो— समाचार गलत रहेछ । दरबारले स्पष्टीकरण माग्यो । सम्पादकलाई थुन्यो । पत्रिका बन्द भयो ।

२०२७ मा माधवले फेलोसिप पाए । पत्रकारिता अध्ययनका लागि पञ्जाव विश्वविद्यालय चण्डीगढ (भारत) पुगे । पत्रकारितामा डिप्लोमा गरे । दिल्लीमा पुगेर पत्रिका ‘दी स्टेट्समेन’मा तालिम लिए । पत्रकारिताको सैद्धान्तिक ज्ञान बटुले ।

चन्डिगढबाट फर्किएपछि उनी २०२९ मा रेडियो नेपाल पुगे । ‘बाह्य सर्भिस’ नामक कार्यक्रम थियो । पर्यटन प्रवद्र्धनमुखी अंग्रेजी भाषाको आधा घण्टे उक्त कायक्रमका लागि माधव स्क्रिप्ट लेख्थे । रेडियोमा चार वर्ष काम गर्दा उनले बोल्न भने कहिल्यै पाएनन् । माइकअनुकूल स्वर छैन भन्दै माधवलाई पढ्न दिँदैनथे । गौरी केसी, सहारा योञ्जनलगायत बोल्थे ।

लेखकका रूपमा माधव सूचना विभाग पुगे । उनीसँगै त्यो बेला सूचना विभागमा (हाल कांग्रेस नेता) वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र ‘कान्तिपुर’का संस्थापक सम्पादक योगेश उपाध्याय पनि थिए । सरकारको प्रचार विभागको काम गथ्र्यो सूचना विभागले । माधव चार वर्ष बसे ।

सूचना विभागपछि उनी फर्किए पत्रकारितामै । ०३३ मा राष्ट्रिय समाचार समिति (रासस) छिरे । काम रिपोर्टिङसँगै अंग्रेजी विभाग प्रमुखको जिम्मेवारी पनि थियो ।

एउटा संस्थामा मात्रै काम गरेर जीवन धान्न सकिँदैनथ्यो । बेलुकी ‘रासस’मा काम गर्ने माधव दिउँसो ‘मदरल्यान्ड’ पत्रिका जान्थे ।

त्यही समय (२०३५) चिनियाँ शासक देङ्ग सियाओ पेङ नेपाल आए । उनीसँगै जापानी पत्रकारहरूको एउटा टोली पनि नेपाल आयो । माधवसँग भेट भयो । उनीहरूले समाचार समिति ‘क्योदो’को नेपाल प्रतिनिधि खोजिदिन भने । माधव आफैंले काम गर्ने चाहना देखाए । त्यही समयदेखि माधव ‘क्योदो’का लागि समाचार लेख्न थाले । १० वर्ष ‘रासस’मा काम गरेपछि त्यो पनि छोडे । ‘क्योदो’मा मात्रै काम गर्न थाले ।

त्यो बेला मुख्यतः ‘क्योदो’ले जापानीहरूले नेपाल आएर हिमाल चढेका समाचारहरू रुचाउँथ्यो । दरबारको समाचार खोज्थ्यो । दरबारका कामकारबाही र राजपरिवारका गतिविधि पठाउँथे माधव । रानी ऐश्वर्यले जापानी भाषा पढ्न शुरु गरेको समाचार ‘क्योदो’ले खुब रुचाएको थियो । ‘क्योदो’मा उनले ३३ वर्ष काम गरे ।

दरबार हत्याकाण्डको समाचार ‘ब्रेक’

शुरुमा माधव छिरे— नारायणहिटी दरबार । भोलिपल्ट शनिबार थियो । गल्फका खेलाडी माधवले शनिबार साथीहरूसँग गल्फ खेल्ने योजना बनाएका थिए । त्यसैले उनी ८ बजे नै खाना खाएर सुते ।

राति साढे ९ बजे साथीले फोन गरेर भने, “रमाइलो भइरहेको छ अरे त !” 

“कस्तो रमाइलो ?”

“राजा वीरेन्द्रकी बहिनी शान्ति शाह (सिंह)लाई माओवादीले बम हाने रे भन्ने र्‍युमर छ !”

“कहाँ ?”

“सिमरामा ।”

खबर साँचो हो भने समाचार त पठाउनै पर्‍यो । उठेर स्टडी रुम पुगे । साथीभाइलाई फोन गरे । ‘नेपाल समाचारपत्र’को नाइट सिफ्ट इन्चार्ज राजेश बज्राचार्यलाई फोन गरे । राजेशसँग समाचार र सूचना आदानप्रदान भइरहन्थ्यो । त्यसपछि सिमरामा प्रहरीलाई फोन गरे । कतैबाट पुष्टि हुन सकेन । माधव हल्लामात्रै होला भनेर सुत्न गए । केहीछिनमा फेरि फोन आयो । त्यो फोनमा माधवलाई साथीले भने, “सिमरामा हैन रे ! काठमाडौंमा राजदरबारअगाडि नै माओवादीहरूले बम फालिरहेका छन् रे !”

माधवले राजेश र ‘कान्तिपुर’का नाइट डेस्कका साथीलाई माधवले कल गरे । घटनाबारे खोजी गर्न थाले ।

तेस्रोपटक माधवलाई फोन आयो, “म याक एन्ड यती होटलभित्र छु । दरबारबाहिर होइन, भित्र नै गोली चल्यो भन्ने सुनियो ।”

शुक्रबारको रात थियो । फोन गर्दा धेरै सम्पर्कमा कमै आए । सम्पर्कमा आउनेहरू कसैले ‘हो’ भनेनन् । सबै धमिलो कुरामात्रै सुनाउँछन् । सबै ‘रे’ मै अड्किएका ।

तत्कालीन शाही नेपाली सेनामा माधवको राम्रो समाचार स्रोत थियो । फोन त गरे तर सम्पर्क हुन सकेन । माधवको दिमागमा क्लिक भइन्— कांग्रेस नेतृ सुजाता कोइराला ।

करिब एक महिनाअघि कांग्रेसले सुजातालाई पार्टीको विदेश विभाग प्रमुख बनाइएको जानकारी दिन प्रेसलाई सुजाताकै घर (मन्डिखाटार)मा बोलाएको थियो । माधव पनि त्यहाँ पुगेका थिए ।

“फर्किने बेलामा मैले कहिलेकाहीँ तपाईंलाई फोन गर्नुपर्छ, नम्बर दिनुस् न भनेर मागेको थिएँ,” माधवले सुनाए, “कतै कल गर्दा पनि नभएपछि एकाएक सुजाता क्लिक भइन् र मैले उनैलाई कल गरें ।”

माधवले सुजातालाई भने, “सुजाता जी ! यस्तोयस्तो भएको भन्ने कुरा सुन्यौं । तपाईंलाई केही थाहा छ भने भन्नुस् न !”

“माधवजी वेट । ऊ मेरो सानोबुवा (सुजाताले बुवा गिरिजाप्रसाद कोइरालालाई सानोबुवा भन्थिन्) भर्खर तल आउनुभएको छ । मैले गाडीको ब्रेक लगाएको सुनिरा’छु । कल मी आफ्टर टेन मिनट्स,” सुजाताले फोन राखिन् ।  

माधवलाई लाग्यो— उठाएका बेला त केही भनिनन्, अब के जानकारी देलिन् र ! तर, पनि आशा मरेको थिएन । संशयका बीच उनले १५ मिनेटपछि कल गरे । सुजाताले फोन उठाइन् । उनले ‘युवराजले गोली चलाएको’ जानकारी दिइन् । गिरिजाप्रसादसँग पनि माधवले कुरा गरे । तर, उनले ‘समाचार नलेख्नू’ भने । सूचना आयो, समाचार पुष्टि पनि भयो तर पठाउने कि अझै कुर्ने ? अथवा दरबारकै कसैबाट पुष्टि गराउने ? अलमलमा परे माधव । त्यसपछि उनले ‘क्योदो’को केन्द्रीय कार्यालय टोकियोमा फोन गरे ।

‘हो र ?’ भन्दै कुरा सुने तर समाचार लिन मानेनन् । ‘डबल चेक’ गर्न भने ।

राजपरिवारको शुक्रबारे जमघटमा तत्कालीन क्रिकेट संघ अध्यक्ष जयकुमार नाथ शाह (राजा महेन्द्रका फुपाजु)का छोरा पनि थिए । माधवले उनको हातमा गोली लागेको थाहा पाए । बुझ्दै जाँदा उनलाई पनि उपचारका लागि छाउनी अस्पताल लगिएको सूचना पाएर माधवले फोन गरे । उनी अस्पतालमै रहेछन् । उनले आत्तिँदै माधवलाई भने, “माधवजी, कहाँ यहाँ अहिले फोन गरेको ?”

माधवलाई सूचना भेरिफाई गर्नु थियो । विनम्रतापूर्वक अनुरोध गर्दै सोधे, “एनिथिङ सिरियस ?”

“डिजास्टर ! डिजास्टर !! आई कान्ट टेल यु मोर,” यति भन्दै उनले फोन राखे ।

माधवले दरबारमा राजपरिवारको गोली हानी हत्या भएको समाचार लेखेर ‘क्योदो’मा पठाए । ‘क्वेदो’मा एकजना सम्पादकले मात्रै समाचार दिने या नदिने निर्णय गर्न सकेनन् । उनले अर्का सम्पादकलाई बोलाएर सल्लाह गरे । माधवले नेपाली कांग्रेसको विदेश विभाग प्रमुख सुजाता कोइरालाले जानकारी दिएको समाचारमै उल्लेख गरेर पठाए पनि ‘क्योदो’ले भने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले घटना पुष्टि गरेको भनेर समाचार प्रकाशन गर्‍यो । दरबारको हत्याकाण्डको समाचार ‘ब्रेक’ गर्ने ‘क्योदो’ भयो । ‘क्योदो’लाई कोट गरेर त्यसको केही समयपछि ‘बीबीसी’ले समाचार प्रसारण गर्‍यो ।

दरबार हत्याकाण्डको समाचार माधवले कसरी ब्रेक गरे ? जापानी पत्रकारहरूको टोली पठाएर ‘क्योदो’ले एक हप्तासम्म रिसर्च गर्‍यो । रिसर्चमा माधवले नै ब्रेक गरेको पुष्टि गरेपछि उनलाई ‘प्रेसिडेन्स अवार्ड’ दियो । “एसिया रिजनमा प्रेसिडेन्स अवार्ड पाउने अहिलेसम्म ममात्रै हुँ,” माधवले छाती चौडा बनाएर सुनाए ।

दलाई लामाको भ्रमण

३० वर्षे पञ्चायतलाई जनताले घुँडा टेकाए । अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) भए । नयाँ संविधान जारी गर्ने उनको मुख्य दायित्व थियो । ‘हट केक’ थिए उनी । समाचारको केन्द्र उनै थिए ।

प्रधानमन्त्री किसुनजीले प्रेसलाई बोलाए । माधव नजाने कुरै भएन । गए । अन्य सञ्चारमाध्यम पनि थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारमा ध्रुवहरि अधिकारी थिए । प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको थियो । केही चिनियाँ पनि थिए । केही समयपछि किसुनजी आइपुगे । तिब्बती प्रतिनिधिमण्डल आएको रहेछ । उनीहरूले प्रधानमन्त्रीसँग आग्रह गरे, “दलाई लामाले नेपाल भ्रमणको इच्छा गर्नुभएको छ । आउँछु भन्नुभएको छ । सरकारको अनुमति चाहिन्छ ।”

किसुनजीले भने, “वेलकम, वेलकम !”

प्रतिनिधिमण्डलले भन्यो, “सुरक्षाको कुरा उठ्छ । त्यसको पनि प्रबन्ध पनि हुनुपर्‍यो ।”

छेउमा गृहमन्त्री योगप्रसाद उपाध्याय थिए । उनीतिर हेर्दै किसुनजीले भने, “यो तपाईंको जिम्मेवारी हो ।”

गृहमन्त्रीले ‘भैहाल्छ’ सूचक टाउको हल्लाउँदै मुसुक्क हाँसे ।

दलाई लामाले नेपाल भ्रमण गर्ने समाचार ‘स्कुप’ भइहाल्यो । माधव र ध्रुवहरि सिंहदरबारबाट निस्किए । बाटैमा चिनियाँ दूताबास पथ्र्यो । ध्रुवहरिले भने, “माधवजी ! हामी दूताबासकै बाटो जाँदै छौं । एकपटक दूतावासको पनि प्रतिक्रिया लिने हो कि क्या हो ?”

माधवलाई पनि ठिकै त हो भन्ने लाग्यो । उनीहरू दूतावास छिरे । सहचारीसँग भने, “दलाई लामा नेपाल आउने भए । एम्बेसीको केही भनाइ छ ?”

उनले भने, “अहिले त हामीलाई केही थाहा भएन, एक घण्टापछि कल गर्नू न !”

घर आएर माधवले स्टोरी फाइल गरे । सनसनीपूर्ण समाचार थियो । छिनभरमै विश्वभर फैलियो । ‘बीबीसी’, ‘एएफपी’लगायत ठूला सञ्चारमाध्यम तथा समाचार संस्थाले त्यो समाचार छुटाए । ‘क्योदो’बाट समाचार आएपछि अरूले आ–आफ्ना संवाददातालाई परिचालन गरे । संवाददाताहरूले माधवलाई सोधे । उनले ‘प्रधानमन्त्रीले इन्फर्मेसन दिएको’ जानकारी दिए ।

“मैले र ध्रुवहरिजीले दलाई लामाको नेपाल भ्रमणबारे दूतावासको प्रतिक्रिया मागेपछि प्रवक्ता राजदूतकोमा पुगेछन् । दलाई लामा नेपाल आउने सूचना थाहा पाएपछि राजदूत काँधमा कोट हालेर दौडिँदै प्रधानमन्त्रीकोमा पुगेछन्,” माधव भन्छन्, “योगप्रसादजीले पछि मलाई सुनाउनुहुन्थ्यो— राजदूतले कोट लगाउन पनि भ्याएका थिएनन्, काँधमै थियो । उनले प्रधानमन्त्रीलाई भने, ‘यो गर्न नहुने काम हो । गर्नु हुँदैनथ्यो । हामी दिँदैनौं ।”

हरेक साँझ गणेशमान सिंहको निवास चाक्सीबारीमा जमघट हुन्थ्यो । समाचारको लोभमा माधव पनि प्रायः हरेक साँझ चाक्सीबारी पुग्थे । त्यसदिन पनि गएका थिए । सानोतिनो भीड थियो । किसुनजी हाँस्दै आए । उनी आउनेबित्तिकै ‘बीबीसी’का नेपाल संवाददाता केदारमान सिंह श्रेष्ठ र भारतीय समाचार समिति ‘यूएनआई’का नेपाल प्रतिनिधिले सोधे, “इज दलाई लामा कमिङ नेपाल ?”

किसुनजीले साँढेलेझैं घुरेर माधवलाई हेरे र भने, “हु सेज हि इज कमिङ ? नन्सेन्स !”

केदारमान र ‘यूएनआई’का प्रतिनिधिले साँझ समाचार पठाए, “प्रधानमन्त्रीले भने— दलाई लामा नेपाल आउँदैनन् ।”

अप्ठ्यारो पर्‍यो माधवलाई । गर्ने के ? ‘क्वेदो’का सम्पादकलाई फोन गरे । सम्पादकले सोधे, “कसरी यस्तो समाचार आयो ?”

माधवले भने “प्रधानमन्त्रीले भनेर नै मैले समाचार फाइल गरेको हुँ ।”

संयोगवश, माधवले क्यासेट बोकेका थिए । टेप गरेका थिए प्रधानमन्त्रीको आवाज । त्यही साउन्ड बजाएर सम्पादकलाई फोनबाट सुनाइदिए । त्यसपछि सम्पादकले माधवलाई भने, “बिहान स्टोरी गइगयो । अब नदिने । डोन्ट वरी ।”

धन्न क्यासेटले जोगायो माधवको जागिर ।

पुलिसको विद्रोह ?

कुपण्डोलस्थित भाञ्जाको घरमा बस्थे किसुनजी । माधव त्यहीँ पुगे । किसुनजीको सुरक्षामा खटिएका प्रहरी एकजना पनि थिएनन् । बाटोमा पनि कतै प्रहरी देखिएनन् । कार्यकर्ताको भीड थियो । गृहमन्त्री योगप्रसाद उपाध्याय पनि त्यहीँ थिए । प्रोस्टेटका रोगी किसुनजीलाई चाँडोचाँडो पिसाब फेरिरहनुपर्ने । शौचालय बाहिर भएकाले तल झर्नुपथ्र्यो । उनी भर्‍याङबाट झर्दै थिए, माधव र किसुनजीका आँखा जुधे । माधवले हात हल्लाए । किसुनजीले टाउको हल्लाए ।

शौचालयबाट निस्किएपछि किसुनजीले माधवलाई भेटे । माधवसँगै रहेका भारतीय पत्रकार मोजेजले सोधे, “पीएमज्यू ! पुलिसले विद्रोह गर्‍यो भन्ने हल्ला छ । बाटोमा पनि कतै छैनन् पुलिस । हो ?”

अंग्रेजी राम्रो बोल्ने प्रधानमन्त्री किसुनजीले भने, “एस । एन्ड दे अल्सो टुक अवे लट्स अफ आर्मस् ।”

माधवलाई ‘ल मिस्टर जापानी ! आजलाई यति नै’ भन्दै किसुनजी माथिल्लो तलामा उक्लिए । माधवले घर आएर समाचार फाइल गरिहाले । सधैंझैं त्यस दिन पनि साँझ चाक्सीबारीमा जमघट भयो । पत्रकारले सोधे, “प्रहरीले विद्रोह गरेको हो र ?”

किसुनजीले उसैगरी भने, “हु सेज द्याट् ? ननसेन्स ।”

फेरि उही समस्या । सम्पादकलाई स्पष्टीकरण त दिनै पर्‍यो । माधवले भने, “पीएमले आज बिहान भनेकै हुन् । मसँग टेप पनि छ । तर, उहाँले साँझ आफ्नो कुरा आफैं खण्डन गर्नुभयो ।”

सम्पादकले माधवलाई भने, “संक्रमकालीन अवस्थामा अपरिपक्व राजनीतिज्ञ हुँदा यस्तो समस्या देखिन्छ । अलि विचारचाहिँ पुर्‍याउनु पर्छ ।”

भर्खर ०४६ को जनआन्दोलन भएको थियो । संविधानले ‘संवैधानिक राजतन्त्र’ भनेर अधिकार सीमित गरिदिएकोमा दरबार छट्पटाइरहेको थियो । पञ्चहरू दरबारलाई उचालिरहेका थिए । कांग्रेस र कम्युनिस्टले आन्दोलन गरेर प्रजातान्त्र फिर्ता त गराएका थिए तर तिनमा परिपक्वता थिएन । पत्रकार र भीडका अगाडि उत्तेजनामा आएर बोलिहाल्ने अनि केही घण्टामै ‘कसले भन्यो ?’ भनेर उल्टै प्रश्न गर्थे । प्रेसलाई कसरी ह्यान्डल गर्ने, किसुनजीलाई थाहै थिएन । पञ्चायतको स्कुलिङबाट आएका कर्मचारीहरू सम्बन्धित निकायका पदाधिकारीसँग जानकारी लिन र पत्रकारको अगाडि पर्न रुचाउँदैनथे । प्रवक्ता तोकिएको थिएन । समाचारका लागि नेतैसँग सूचना लिनुपथ्र्यो । अनि तिनै नेता पनि अपरिपक्व भएपछि पत्रकारहरू बेलाबेलामा फस्थे ।

‘गोल्ड माइन्ड मनमोहन’

पाँच जना प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिए माधवले । बीपी कोइरालादेखि प्रचण्डसम्म । डा. बाबुराम भट्टराईसँग भूमिगत हुँदै बेला । माधवले आजसम्म भेटेका र नजिकबाट चिनेका मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रेस जगतलाई अत्यन्तै राम्रोसँग ह्यान्डल गर्ने क्षमता मनमोहन अधिकारीसँग मात्रै थियो । त्यही भएर माधवले मनमोहनलाई ट्याग दिए, ‘गोल्ड माइन्ड’ ।

पत्रकार तथा लेखकका लागि मनमोहन सधैं प्रेरक थिए । नेपाली कम्युनिजम, राजनीतिक विषय र अन्य आर्थिक, सामाजिक तथा धरातलीय स्वरूपलाई अन्तर्राष्ट्रिय जगतमा कसरी पुर्‍याउने भन्ने चेत मनमोहनमा जस्तो अरू कसैमा माधवले पाएनन् । “सोधेका प्रश्नको जवाफ सही, सटिक र तार्किक दिने प्रधानमन्त्री मैले मनमोहनबाहेक कोही पनि देखिनँ,” माधव भन्छन्, “त्यो हाइट नेपालको हिस्ट्रीमा कुनै प्रधानमन्त्रीले पनि लिन सकेनन् ।”

त्यसको विपरीत शेरबहादुर देउवा लाग्दा रहेछन् माधवलाई । पत्रकार, लेखक र कार्यकर्तालाई ह्यान्डल गर्ने क्षमता देउवामा निकै कमजोर रहेको माधवले आफ्नो पुस्तक ‘अ मेम्वायर’मा पनि लेखेका छन् ।

माधवले डा. बाबुराम भट्टराईसँगको अन्तर्वार्ता पनि भुलेका रहेनछन् । माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरिसकेको थिएन । माओवादी नेतृत्वसँग अन्तर्वार्ता गर्न ‘क्वेदो’ले निर्देशन दियो । माधवले पद्यरत्न तुलाधरलाई समाए । ‘क्वेदो’ले ६ वटा प्रश्न तयार पारेर माधवलाई पठायो । ६ प्रश्नमा माधवका पनि केही प्रश्न थिए । त्यसमध्ये एउटा थियो, “तपाईं राजनीतिक उद्देश्यप्राप्तिका लागि हिंसाको प्रयोग गरिरहनुभएको छ । यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?”

प्रश्न लेखिएको कागज माधवले तुलाधरलाई थमाए । तुलाधरले बारपाकमा रहेका भट्टराईसामु पु¥याए । भट्टराईले सबै प्रश्नको जवाफ हातैले लेखेर पठाए । तीमध्ये ‘तपाईं राजनीतिक उद्देश्यप्राप्तिका लागि हिंसाको प्रयोग गरिरहनुभएको छ । यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भन्ने प्रश्न बाबुरामलाई चित्त बुझेनछ । उनले लेखेछन्, “तपाईंले विश्वको इतिहास हेर्नुभएको रहेनछ । क्रान्तिको कथा थाहा रहेनछ । ठुल्ठूला राजनीतिक परिवर्तनहरू क्रान्तिबाटै भएका कुराहरू पढ्नुभएको रहेनछ । पढ्नका लागि आग्रह गर्छु ।”

बाबुरामले हातैले लेखेर पठाएको उक्त अन्तर्वार्ता ‘क्योदो’ले स्क्यान गरेर विश्वभरका आफ्ना सदस्य सञ्चारमाध्यमहरूलाई पठायो ।

बीपीको अन्तर्वार्ता

बीपी भारत निर्वासनबाट फर्किएर आएका थिए । सरकारले उनलाई विभिन्न मुद्दा लगाएको थियो । सिंहदरबारमा कचहरी बस्थ्यो । समाचार संकलनका लागि ‘रासस’बाट प्रमुख संवाददाता भैरव रिसाल र संवाददाता माधव जान्थे ।

सिंहदरबारमा सधैं भीडभाड हुन्थ्यो । भैरवले भने, “बीपी बाबु ! हजुरसँग कुराकानी गर्न पाए हुन्थ्यो ।” 

भैरवलाई राम्रैसँग चिन्ने बीपीले भने, “हुन्छ नि, घरमै आउनुस् न ।”

भैरव र माधव चावहिल पुगे, बीपीको अन्तर्वार्ता लिन । कार्यकर्ताको भीड थियो । निकैबेर कुरेपछि पालो आयो । बीपी बाहिरै आएर अन्तर्वार्ता दिन थाले । अन्तर्वार्ता दिँदादिँदै कार्यकर्ताको ठूलो भीड लाग्यो । त्यहीबीचमा अधैर्य भएर कोही भैरव र माधवलाई औंल्याउँदै करायो, “यिनीहरूसँग केही कुरा नगरौं । यी सब सरकारका सीआईडी हुन् । सबै बदमास हुन् ।”

भैरव र माधव अवाक भए ।  मेचबाट जुरुक्क उठेर बीपीले भने, “बाबु ! हामीले यो बुझ्नुपर्छ कि उनीहरूले आफ्नो काम र कर्तव्य गरिरहेका छन् भन्ने ।”

बीपीले त्यसो भनेपछि भीड फर्कियो । भैरव र माधवले सुरक्षाको अनुभूत गरे ।

योगनारायणप्रसाद श्रेष्ठ दरबारको वैदेशिक विभाग हेर्थे । राजाका सबै सम्बोधन उनैले तयार पार्थे । सम्बोधन मस्यौदा गर्ने बेलामा उनी सरकारका केही बुद्धिजीवीहरूबाट सहयोग लिन्थे । ‘राइजिङ नेपाल’का सम्पादक मनोरञ्जन जोशीको सहयोग लिन्थे ।

राजा वीरेन्द्र दिल्ली जाने भए । दिल्ली युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम तय भयो । वीरेन्द्रको सम्बोधन तयार गर्ने जिम्मा मनोरञ्जनलगायत केहीको सहयोगमा योगनारायणप्रसादले लिने भए । उक्त सम्बोधनको मस्यौदा तयार गर्नेमा एकजना माधव पनि थिए । वीरेन्द्रको अर्को एउटा सम्बोधन पनि उनले तयार गर्ने अवसर पाए । हजार शब्दको भाषण तयार पारेर बुझाएको माधवको सम्झनामा अझै छ ।

तस्बिरः सरिता खड्का

प्रतिकृया दिनुहोस
ad