कुकुरका ‘भगवान्’

कुकुरका ‘भगवान्’

– अक्षर काका


दिनभर झरीले चुटेको वसन्तपुर गोधूली साँझमा छ्यास्स उघ्रियो– रोइरहेको बालक मुसुक्क हाँसेझैं । तर, उज्यालो धेरैबेर अडिन पाएन । अँध्यारोले लखेट्यो ।

बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म झरीले मनपरी गर्‍यो । झरीले बालहठ नछाडेपछि काले, भुन्टी, च्यान्टीले नगराघरमुनि ओत लागेरै चिहानको बाटो एकदिन छोट्याए ।

झरी थामिएको भए मुखमा माड लाग्दो हो । पेटले त्राण पाउँदो हो । हनुमानढोका घुम्न आउने बटुवाहरूले दया देखाउँदा हुन् । सहयोगको हात तेस्र्याउँदा हुन् । शत्रुभन्दा बढ्दा भयो– माघेझरी ।

मानिसहरूका पैतालाको आवाज पातलिँदै गएपछि च्यान्टी कालभैरवको मूर्ति नजिकै गई । क्वाक्वार्ती दर्शनार्थीलाई हेरी । दायाँ हातमा लड्डु र बायाँ हातमा मट्काको पाला बोकेको केही दर्शनार्थी भैरवको सन्ध्याकालीन आरतीमा ध्यानमग्न थिए । पीपलको पातझैं फर्फराइरहेका ओठ भैरवको स्तुतीमा लीन हुँदा हुन् ।

मान्छेको हातमा सुस्वादु लड्डु देख्नासाथ च्यान्टीको जिब्रोबाट र्‍याल निस्सृत भयो । सम्हाल्न खोज्दै थिई, तरर्र चुहिइहाल्यो ।

महाभारतमा वर्णित अर्जुनको दृष्टिझैं उसका आँखा लड्डुमा एकोहोरिए । आरतीको उपसंहार भएकै थिएन । कालभैरवको भीमकाय मूर्ति अघिल्तिर दर्शनार्थीको भव्य घुइँचो थियो । मानौं— कैवल्य प्राप्तिका लागि सिंगै सहरका मान्छे पाषाण–मूर्ति अघिल्तिर ठिंग उभिएका छन् । जन्ममृत्युको भवसागरबाट छुटकारा पाउन भगवानसँग याचना गरिरहेछन् ।

भीड निख्रेला र मिष्ठान्न खाउँला भन्ने ध्येयले निर्निमेष प्रतिमा हेरिरहेकी च्यान्टीका खुट्टा अचानक लड्खडाउन थाल्छन् । आँखामा अँध्यारो पर्दा लाग्छ । एकाएक निःचेष्ट बन्छ, दृष्टि ।

“तँलाई कुत्ता ! मेरो पूजा–सामग्री छुन्छस्, असत्ती !” भोकले भाउन्न भएका बेला कसैले ऊमाथि क्रोधको औजार उज्याउँछ । शीरमा भैरवका भक्तको इँट्टा बज्रिएको रहेछ ! टाउकाबाट रगतको भेल उर्लन थाल्छ । मान्छेको अहंकारसँग हारमान्नु भएर तीन हात पर पछारिन पुग्छे ।

“कुइँ....कुइँ... कुइँ...” ऊ भैरवसँग बडो विलौना गर्दै घन्टौं सुँक्सुकाइरहन्छे । यसरी कयौं गोधूलीसाँझ च्यान्टीको अनिर्वचनीय पीडाको साक्षी बस्छ ।

तर, चार वर्षअघि च्यान्टीले जुनी फेरि । शहरका कलुषित मान्छेहरूका लात्तीमुंग्रीको मार खेपेकी च्यान्टीले नारकीय जीवनबाट मुक्ति पाइएला भनेर सपनामा पनि चिताएकी थिइन । काठमाडौं, बांगेमुढाका रूपक दर्शन साक्षात् परमेश्वर बनेर आएपछि च्यान्टीको मात्रै होइन, शहरका सयभन्दा बढी ‘भुस्याहा’ कुकुरको चोला बदलियो । भोक, शोकसँग पौंठेजोरी खेलिरहेका कुकुरहरूको मुखमा दिन नबिराई मासु पर्न थाल्यो ।

० ० ०

असनछेउको थ्यामरु टोलको सांस्कृतिक वैभव अवर्णनीय छ । पछि यसको नाम बदलिएर बांगेमुढा भयो । काष्ठमण्डप निर्माण गर्दा शेष बसेको बांगोमुढालाई थ्यामरुमा थपना गरेपछि ठावैंको नाम बांगेमुढा रहन गयो भन्ने मिथकीय मान्यता छँदैछ ।

यही ठाउँमा जन्मिए– रूपक दर्शन । काठमाडौंका रैथाने नेवार । बाल्यकालमा दुःखसँग खासै चिनापर्ची भएन । तर, हुर्कंदै गएपछि दुःखको पहाड आफूभन्दा अग्लो हुँदै गयो । युवावस्थामा आइपुग्दा शिवपुरीभन्दा उच्च बन्न पुग्यो । नाघ्नै सकेनन्, रूपकले ।

“दाजु विदेश जाने चक्करमा फस्नुभयो । बैंकबाट लिएको ऋणको साँवा–ब्याज बढ्दै गएर घरै लिलाम भयो,” मनभित्रको दुःखको पहाड खन्न शुरू गर्छन् उनी । 

घर लिलाम भए पनि दुःख लिलाम भएन । बरु उसले इलम पायो । दुःखले अविच्छिन्न दपेटेपछि उनले पत्रिका बेचेर पन्छाउन खोजे । भूगोलपार्कबाट पत्रिका उठाएर तीन शहर परिक्रमा गर्दा हातमा सय–पचास बच्थ्यो । चुल्हो तताउन समस्या थिएन ।

“ए फलानाको छोरा त पत्रिका पो बेच्न थालेछ....,” छरछिमेकलाई आपत्ति भयो । तुच्छ नजरले हेर्न थाले । खिसिट्युरीका अनेक उपमा तयार भए । आफन्तले पनि हियाउनुसम्म हियाए ।

“कि पत्रिका बेच्न छाड् कि घर छाड्,” झनै कठोर भयो परिवार ।

ओठमा जुँगाका रेखी बसेका थिएनन् । स्कुलको अनुहार देखे पनि शिक्षाले मथिंगल मस्किएको थिएन । गन्तव्य पहिल्याउन अपर्याप्त थियो, स्कुलका कक्षा चहारेर आर्जेको ज्ञान । र त, घर छाड्न सक्दैननथे उनी । निरीह भएर उनले पत्रिका बेच्नचाहिँ छाडे ।

पत्रिका बेच्न छाडेपछि दुःख झनै बलशाली भएर आयो । ठाउँकुठाउँ साँपले झैं फणा उठाउन थाल्यो र निर्मम डस्न थाल्यो ।

असनका यस्ता गल्ली छैनन्, जहाँ रूपक नसुतेका होऊन् । भोकले नचोइटिएका होऊन् । दुःखलाई किलकिलेमा दबाएर नभौंतारिएका होऊन् । शहरका यस्ता पाटी छैनन्, जहाँ रूपक ओत नलागेका होऊन् । उनको आँसु नबगेको होस् । भोकको स्याँठले मुटु नकाँपेको होस् ।

जब भाग्यको सिक्का पल्टन्छ, दूरत्यय दुःख आफ्नोमात्रै थाप्लोमा बज्रन्छ । त्यस्तै भयो रूपकलाई ।

ऋणले थातथलो उखेलेपछि सडकमा आइपुगेका थिए उनी । जीजिविषाका लागि सडक नै रोज्नु बाध्यता भयो । तथापि सडक खुला शिक्षालयजस्तै भयो । मुखाग्र बनाइदियो, दुःखको कखरा ।

सडकको जीवन पशुवत् थियो । मानवीय मूल्यबाट कोशौं टाढा थियो जिन्दगी । र त, उनको पशुसँगै ज्यादा संगत भयो । मान्छे पशुभन्दा निम्नकोटिका भेटिन्थे अतः साथी पनि पशुलाई नै बनाए । र, उनका प्रिय सखा बने– गल्लीका कुकुर ।

“कुकुर मान्छेभन्दा निकै गुनिला हुन्छन् । पटकपटक गुन लगाएको मान्छे जीवनभर काम लाग्छ भन्ने छैन तर एकपटक गुन गरेको कुकुर जीवनभर काम लाग्छ,” सडक शिक्षालयबाट आर्जेको सबैभन्दा ठूलो जीवन दर्शन यही हो– रूपकको ।

झन्डै ४० हिउँद उमेर गुजारेपछि उनले सडक–व्यापार शुरू गरे । वसन्तपुरको आँगनमा । दिउँसोभर नगरप्रहरी र उनीबीच लुकामारी चल्थ्यो । साँझपख नगरप्रहरी लाखापाखा लाग्थे । उनी सडकमा प्लास्टिक ओछ्याएर व्यापार थाल्थे । यो सिलसिला एक वर्षसम्म चल्यो ।

काठमाडौं शहर धूवाँधूलोको साम्राज्य । अनेकानेक रोगले उद्योग खोलेका छन् । त्यसको सदस्य उनी पनि बने । चार दशक सडकमा व्यतीत गरेकाले जीवनबाट लोभ, माया, मोह टाढियो । दुःखमा दर्द पुरस्कार पाएकाले सामाजिक हुन अन्तरआत्माले दिएन । सामाजिक दायित्व, बन्धन जीवनको मूलप्रवाहबाट बाहिरै प¥यो । सडक–कमाइ सडक–आश्रितमै समर्पित गर्ने निधो गरे उनले ।

“सर्पलाई दूध पिलाए बरु विष त मिल्छ, मान्छेले त त्यो पनि गिराउँदैन,” मानिसप्रति यतिविघ्न कठोर छन्, रूपक ।

मान्छेप्रति मोह टुटेपछि उनी कुकुरको स्याहारमा जुटेका छन् । दिनभर हनुमानढोकाको सडकपेटी रुँग्छन् । सडक–व्यापारबाट आर्जेको दुई–चारसय पैसाले मासु किन्छन् । खुलामञ्चदेखि प्याफलसम्मका कुकुरलाई खुवाएर आनन्द बटुल्छन् ।

किन ?

कुकुरसँग साइनो सडकले जोडिदियो । कुकरको महत्त्व बालखदेखि नै बुझेका हुन् । घरबारविहीन भएर सडकमा आइपुगेपछि कुुकुरको महत्त्व झनै उजागर भयो ।

वास्तवमा शहरको रक्षक त कुकुर पो रहेछन् । मानिसहरू त दिनप्रतिदिन भक्षक बन्दै छन् । दिउँसो शहरको रक्षा उज्यालोले गर्छ । अँध्यारोमा रक्षा गर्ने कुकुर भएको छ । कुकुर जाग्राम नबस्ने हो भने शहरमा चोर–डाँकुको अधिपत्य चल्दो हो । फोहोर चिजबिजलाई आहारा बनाएर कुकुर सहर–सफाइको दूत बनेकै छन् । अन्यथा शहर दुर्गन्धसमेतको साम्राज्य बन्दो हो । र त, शहरका अनाथ कुकुरका ‘नाथ’ बनेका छन् र उनीहरूको जगेर्नामा मरिमेट्दै छन्, रूपक ।

० ० ०

शुक्रबार पुनः झरीले चुटेको छ– वसन्तपुरलाई । भूकम्पले भग्न तुल्याएको हनुमानढोका परिसर रुझेको बिरालोझैं निम्छरो देखिन्छ ।

मध्यमाघको चिसो ठिहिरोमा काम्दै आइपुग्छन् रूपक । प्लास्टिकको थैलोबाट मासु निकाल्छन् । च्यान्टीतिर तेस्र्याउँदै भन्छन्, “आजयस्तै फेला पर्‍यो, लौ खाऊ !”

आज्ञाकारी बालखजस्तै छे च्यान्टी पनि । शान्त स्वभावकी च्यान्टीको भागमा कुखराको एउटा फिला पर्छ । बडो कृतज्ञ देखिन्छे । एकैसासमा बुत्याउँदै रूपककै छेउमा लुटपुटिन्छे । एवंरीतले भुन्टी र काले पनि उनको समीप आउँछन् र आफ्नो भागको मासु बुझ्छन् ।

“यसरी मासु ख्वाउन थालेको चार वर्ष भयो, हेर्नुस् त कति हृष्पुष्ट छन् यिनीहरू,” पुलकित देखिन्छन् रूपक ।

प्याफलनजिकै डेरा छ रूपकको । राति अबेर कोठा पुग्छन् । सडकमा हृष्टपुष्ट कुकुरमात्रै छैनन् । कति त बालख कुकुर पनि छन् । रोगले जीर्ण तुल्याएका । सवारी साधनले ठक्कर दिएर रक्ताम्य तुल्याएका कुकुर पनि उनैले स्याहार गर्छन् । कति त भर्खर जन्मिएका नवजात छाउरा पनि छन् । तिनले हाड भएको मासु चपाउन सक्दैनन् । उनीहरूलाई मासु पकाएरै खुवाउँछन् रूपक ।

चार वर्षको अन्तरालमा थुप्रै गर्भिणी र सुत्केरी कुकुर स्याहारे उनले । उनीहरूबाट पैदा भएका अधिकांश नवजात छाउरा बचाउन सकेनन् ।

“कतिलाई रोगबाट, सवारीसाधनको ठक्करबाट त बचाएँ तर मान्छेहरूबाट जोगाउन सकिनँ । कुकुरका छाउरा देख्नै हुँदैन, मार्नै तम्सन्छन्, यी यस (च्यान्टी)को बच्चा पनि यहीँ पर मार्दिए,” उनको हृदय पग्लन थाल्छ । आँसु चुहाउँदै सुनाउँछन् उनी ।

आफ्नो गाँस काटेर हुर्काएका आधा दर्जन कुकुरलाई आफैंले चिहान खन्नु परेको छ । कुकुर मर्दा सन्तान गुमाएभन्दा ज्यादा पीडा हुन्छ । कुकुरको निधनमा उनले कयौं छाक छाडेका छन् । जुठो बारेका छन् ।

प्याफलको कोठामा उनी एक्लै बस्दैनन्, च्यान्टी र भुन्टी पनि साथै लागेर जान्छन् । च्यान्टी र भुन्टेलाई ‘जना’ भनेर सम्बोधन गर्छन् र मान्छेकै दर्जा दिन्छन् । “यिनीहरू चाहिँ हामीभन्दा उन्नत मान्छे !” आफ्नै तर्क छ उनको ।

४८ वर्ष उमेर भयो । तथापि रोगले थिल्थिलो छ अनुहार । बिहान घाम झुल्किएदेखि अबेर रातिसम्म कुकुरकै सेवामा खट्नुपरेकाले होला— कर्कलोझैं गलेको छ, शरीर ।

“जतिन्जेल बाँच्छु, कुकुरकै सेवामा समर्पित हुन्छु । नसकेका दिन मृत्युको बाटो छँदै छ,” उदेक लाग्दो अनुहार बनाउँदै कुराकानी टुंग्याउँछन् रूपक ।

प्रतिकृया दिनुहोस
ad