site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टेम्पो, शायरी र भायोलिना
Ghorahi CementGhorahi Cement

— राजन केसी ‘प्रमोद’


काला रातहरूमा म आफूलाई बर्खामासको नदीजस्तै पाउँछु । बेफिक्री । मनमौजी ।

कालो रात । सुनसानप्रायः गल्लीहरू । कानमा मनपर्ने गीत ।  यसमा पनि आजको रात अझै खास छ । खास किनभने— आफ्नै क्याम्पस ग्राउन्डमा भर्खरै आफ्नो मनपर्ने शो ‘नेपाल आइडल’को ‘ग्य्रान्ड फिनाले’ हेरेर फर्किंदै थिएँ ।

Agni Group

तर, खास सँगै म केही निराश पनि थिएँ । कारण— विक्रम बराल । रवि ओडले जितेकोमा भन्दा पनि विक्रमले जित्न नसकेकोमा एकदमै दुःख लागिरहेको थियो । फ्यानको नाताले हल्का सेन्टी पनि भइयो ।

खैर ! होम ग्राउन्डको धुमधडाका भने खुबै रहरलाग्दो बन्यो । फ्रि–पासमा छिरे पनि भीआईपी जोनमा बस्न पाएका हामी पुल्चोकियनहरू अझ उत्साहित देखियौं । क्यामेरामै देखिनका लागि पनि केटाहरू खुब जोस्सिए । डान्स हान्ने, कुर्सी भाँच्ने, चिच्याउने, कराउने, धक्कामुक्का त अब सामान्य नै भइहाले ।

Global Ime bank

रीमाको नाम त केटाहरू मानौं गायत्री मन्त्रझैं पुकार्दै थिए । थिए नि के भन्नु, थियौं । म नि कहाँ चुप बस्न सक्नू ! हुन पनि राम्री उस्तै के ! बोली नि कति मीठो हुन सकेको ! कुरा नि कति मीठा गर्न जानेकी ! कुरकुरे इन्जिनियरहरूको दिलमा त रीमाले आगो झोसेरै गइन् ।

पुलचोक क्याम्पस यसै पनि म्युजिकल प्लेस हो । शिरीषका कलिला पातहरू भएर बहने चिसो हावाको तालमा यहाँ हरेक गोधुली साँझ सयौं चराहरूको ‘फ्लाइङ डान्स’ले महफिल जम्ने गर्छ । झन् अब त्यसमाथि ‘नेपाल आइडल’ले एक्स्ट्रा बिट थपेर गइदियो । मलाई थाहा छ— चराहरू पनि शायद आज बुर्कुसी मारिरहेछन् होला ।

फिनाले लगभग ९ बजेसम्म चल्यो । क्याम्पस गेटबाट निस्किँदा झन्डै साढे ९ भइसकेको हुँदो हो । म सरासर हिडिरहेको थिएँ, आफ्नै हाउडे अन्दाजमा । किनकिन रातको प्रहर मलाई फुटपाथ एरियाबाट हिँड्न साह्रै झ्याउ लाग्छ । कताकता आफैंमा संकुचित महसुस गर्छु । त्यसैले आज पनि म बीच बाटोबाटै लमकलमक हिँड्दै थिएँ ।

लबिम मलअगाडिको पुलनेर के पुगेको हुँदो हुँ— पछाडिबाट आइरहेको एउटा गाडीले कर्कस स्वरमा हर्न ठोस्यो । मेरो रिसको पारो स्वात्तै बढिहाल्यो । किनकिन मलाई पछाडिबाट हर्न बजाउने महाशयहरूलाई क¥याम्मै खाइदिऊँ जस्तो लाग्छ । फेरि अर्काेपल्ट नि बजाएको भए म बजाइदिन्थें शायद । बच्यो ।

यसो पछाडि फर्किएँ, टेम्पो रै’छ । बाटो छोड्दिएँ । गयो हुत्तिँदै । टेम्पो कृष्ण मन्दिरतिर देब्रे लाग्यो । ल्याम्प पोस्टको उज्यालोमा टेम्पोको साइडमा केही शायरीका पंक्ति देखिए । म उत्साहित भएँ । अक्सर यस्ता ‘रोड साहित्य’ले मलाई खुबै आकर्षित गर्छन् । हल्का दौडिँदै शायरीतिर नजर कुदाएँ । शायरीका दुई पंतिहरू कताकता मैले पहिल्यै देखे–देखेजस्तो लाग्यो । कहाँ देखें ? देख्न त पक्कै देखें । फेसबुकमा ? हैन । ट्वीटर ? नो वे । यूट्युब ? नो नो । कतै यस्तै अरू गाडीमा ? हैन हो हैन ।

कहाँ देखे त यार ? मेरो टाउको रन्थनियो । टेम्पो गायब भइसकेको थियो । म भने अझै रणभुल्लमा परिरहें । हिडिरहें, सोचिरहें । कहीँ त पक्कै देखेको हो । पत्ता लाउनै सकिनँ ।

धोबीघाट जाने चोकमा के पुगेको थिएँ, म अचानक झल्याँस्स हुन पुगें । मेरो टाउको अचानक घरमाथिको झुप्याभीरले थिचेजस्तो हुन थाल्यो । मेरो नसाभित्रको सारा रगत बाहिर निस्केला निस्केला जस्तो हुन थाल्यो । म बीच बाटोमै थचक्क बसें । टेम्पोको एउटा शायरीले नै मेरो पुरानो–गहिरो सम्झनाको पोखरीमा उल्कापात बर्साइदियो ।

शायरी त्यस्तो केही खास पनि होइन । खास शब्द र असीम भावले भरिभराउ साहित्य त झन् यो फिटिक्कै होइन । नपत्याए, तपाईं आफैं हेर्नुस् त—

“बिछड्ते हुए भी तुम, हँस्ते हँस्ते जाना 
कभी याद आए तो, मंगलबजार आना !!”

केही खास लाग्यो र तपाईंलाई ? लागेन न नि है ? म पनि यदि तपाईंको ठाउँमा भएको भए पक्कै यस्तै लाग्दो हो । तर, यसले कोट्याएका यादहरूको पुरानो घाउले गर्दा मेरो लागि निकै खास छ यो । झन्डै दुई वर्षपछि, कुनै समयको मेरो खोजी आज यसरी अचानक एउटा फुच्चे टेम्पोमा भेटिएको थियो । कहाँ–कहाँ मात्र पु¥याएनन् मलाई यी पंक्तिले । मलाई एक्लो पार्दै केवल यी पंक्तिहरू सुम्पिएर गायब भएकी मिस भायोलिनाकै खातिर । मंगलबजारका कुन–कुन गल्लीमा मात्रै पुगिनँ होला म, उसलाई खोज्दै ! क–कसलाई मात्र सोधिनँ होला र मैले, उसको बारेमा ! तर अहँ, कतै केही नामोनिशान भेटिएन ।

भायोलिना ! शहरकी ‘बोल्ड एन्ड स्विट’ केटी उर्फ ‘मिस भायोलिना बज्राचार्य’ । जसले तपाईंलाई पहिलो भेटमै चकित पार्दिन सक्छे । घरिघरि त तपाईंलाई ऊ देखेर रिस पनि उठ्न सक्छ । तर, ऊ मान्छे खास छे । उस्तै बिन्दास पनि ।

टेम्पोले मेरो दुई वर्षअघिको भायोलिना खोजलाई फेरि जीवित पारिदियो । म फेरि उसैगरी हौसिए । घरमा फोन गरेर भन्दिएँ, “आज म यतै साथीकोमा बसें ल । रुम आउन ढिला हुने भो ।” टन्टै साफ ।

हतारहतार म अघि टेम्पो छिरेको गल्लीतिर लागें । मलाई जतिसक्दो छिटो त्यो टेम्पो भेटाउनु थियो । टेम्पोमा कुँदिएका भायोलिनाका अन्तिम शब्दहरूको रहस्य भेटाउनु थियो । कसरी आए यी पंक्ति यो नाथे टेम्पोमा ? म बेचैन हुँदै दौडिरहें ।

रि–कलिङ पहिलो भेट !

‘नाइट वाक’का क्रममा मध्यरात धोबीघाटको पहिलो भेटमै ऊ मेरो मन जित्न सफल भइसकेकी थिई । बोल्ड अन्दाज । पिठ्यूँमा सुतिरहेको भायोलिन । हट्टाकट्टा जिउ । अनि पहाड फोरेर आएजस्तो उसको स्वर । राम्री ठीकठाककी तर मान्छे अजीव । ‘तँ’, ‘तिमी’ र ‘तपाईं’को कुनै ठेगान थिएन । जे बोल्थी, मनबाट बोल्थी ।

त्यस दिन हामी धोबीघाट हुँदै पुलचोकको पुलसम्म गफिँदै आयौं । जे बोल्थी, ऊ नै त बोल्थी । म त बस् ‘अँ’, ‘हो’, ‘अहँ’ बाहेक के पो बोल्नू र ! उसको भायोलिन सुन्नलाई जति कर गरे पनि सफल हुन सकिनँ । उसले ‘अर्काे कुनै दिन’ भनेर टारिदिई । हामी छुट्टिने भयौं । ऊ मंगलबजारतिर, म पुलचोक क्याम्पसतिर ।

कसोकसो जाने बेलामा उसको फोन या फेसबुक आईडी माग्ने हिम्मत जुटाएँ । यसपल्ट ऊ सामान्य भई । फेसबुक त चलाउदिन रै’छे तर फोन नम्बर भने दिएर गई । छुस्स मिस्कल दिएर मेरो नम्बर नि उसलाई दिएँ ।

जिन्दगीमा पहिलोपल्ट कोही राम्री केटीको नम्बर फुत्क्याएकोमा म भित्रभित्रै खुब हस्किएको थिएँ । मक्ख हुँदै शीर ठाडो पारेर कोठातिर लागें ।

दोस्रो भेट

नम्बर त पाएँ तर जहिल्यै स्विच्ड अफ । जति प्रयास गर्दा नि टेलिकमवाली आफ्नो एकोहोरो कर्कश आवाजमा कराइरहिन्, “तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ ।”

‘एउटी दामी केटीको नम्बर पाएँ’ भनेर केटाहरूलाई दिएको गफले आफैंमाथि मजाक गर्न थालिसकेको थियो । म लगभग हार खान थालिसकेको थिएँ ।

यस्तैमा ठ्याक्कै एक हप्तापछि मोबाइलमा एउटा म्यासेज आयो । सुत्ने तरखरमा थिएँ । रातको यो बेला पक्कै एनसेलले त पठाको होला जस्तो नि लाग्यो । तर, त्यतिबेला म बुरुक्क उफ्रिएँ, जब देखें— म्यासेज मिस भायोलिना बज्राचार्यको थियो ।

“हेल्लो मिस्टर फुच्चे प्रमोद ! दिलको ढोकामा चुकुल लाएर कहाँ गायब हँ ? नो भेटघाट, नो गफगाफ ! यो त फिटिक्कै सुहाएन हो, कान्छु । आऊ, भेटौं तिम्रो क्रिकेट ग्राउन्डको भित्ताबाहिर । म कफी लि’राख्छु ।”

लौ ! देख्नुभो नि तपाईंले उसको पारा ? यस्तै छे ऊ । अजीवकी । गायब ऊ छे एक हप्तादेखि, दोषचाहिँ मलाई लाउँदै छे । दिलमा चुकुल त के, ढोकै नभाको मान्छे म । अनि हेर्नु त त्याँ लेख्या पारा । दोस्रो भेटमै ‘कान्छु’ रे अझ ! जस्तै सोझो मान्छे किन नहोस्, फस्दैन त यस्तो देखेपछि ? म बबुरो झन् के उम्कन सक्थें र !

“ओके ! विल बी दियर इन फाइभ मिनेट्स, डियर ।”

म नि के कम । हल्काफुल्का डराएरै भए पनि पुछारमा ‘डियर’ झुन्ड्याइदिएँ । जने त पर्ला ।

१५ मिनेटजतिको बाटो जोशमा आएपछि ५ मिनेट पनि लाग्दो रहेनछ । झन् ‘स्त्रीवाचक जोश’मा । शायद आइन्सटाइनको ‘सापेक्षतावादको सिद्धान्त’ले भन्न खोजेको मूल कुरो नि यही होला !

कालो हुडी, कालो जिन्स र कालो मफलरमा सजिएकी ‘मिस लेडी इन ब्ल्याक’ लास्टै दामी देखिरा’थी । म नि कम त कहाँ थिए र ! थर्माेकोट, सर्ट र स्वीटरबाहिर एउटा ज्यांगो ज्याकेट पनि लाएर आफ्नो लुते ज्यानलाई पूरै ज्यांगो र खाइलाग्दो बनाएर गएको थिएँ । म पूरै ढुक्क थिएँ— यति गरिसकेपछि केटीले चाल पनि पाउनेछैन कि म लुरे छु भनेर । देख्नु भो त मेरो आइडिया ?

“ओहो ! साह्रै दौडेर आयौ क्या हो हँ ? लुरे मान्छे पूरै फुलेर फर्सी भएछौ त ! सब लुगा आजै लाइदेको, कान्छु ?”

देख्नु भो नि ? ऊ यस्तै छे । म जति स्मार्ट हुन खोजे पनि उसले पकडिहाल्छे । थर्काउँछे पनि, पुछारमा ‘कान्छु’ झुन्ड्याउँछे पनि । अर्थात् स्विट एन्ड बोल्ड एट द सेम टाइम ।

हातमा कफी बोकेर हामी पुलचोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट ग्राउन्ड पछाडिको भित्ताबाट चढेर भित्र छि¥यौं । रातमा क्याम्पस पूरै चीरशान्तिमा थियो । देब्रेतिरको गल्र्स होस्टेलका कोठाबाट आइरहेको बत्तीको प्रकाश निकै सुन्दर लागिरहेथ्यो । शायद पढिरहेका हुँदा हुन् केटीहरू । उता बोइज होस्टेल पनि आफ्नै अन्दाजमा मनमगन देखिन्थ्यो । घरिघरि त कसैले देख्ला कि भनेर भित्रभित्रै साह्रै डराइरहेथें म । तर, बाहिर भने सक्दो नर्मल बन्ने प्रयास गरें ।

हामी चुपचाप ग्राउन्डछेउको स्विमिङ पुलतिर लाग्यौं । स्विमिङ नगरे पनि हामीकहाँ पुल भने थियो । झन् शान झार्दै मैले ‘पहिले पहिले हामी याँ पौडी खेल्थ्यौं नि’ समेत भन्न भ्याएँ । ऊ छक्क परी । म मक्ख परें ।

खुट्टा पानीमा डुबाउन मिल्ने गरी हामी सो कल्ड स्विमिङ पुलको डिलमा गएर बस्यौं । पुलको पानीले थोरै चिसिएर होला, ऊ बिस्तारै स्विट हुँदै गई— फ्रम बोल्डनेस टु स्विटनेस ।

त्यत्ति नै बेला उसले आफ्नो पिठ्यूँको भायोलिन झिकी र आँखा बन्द गरी । शुरुमा आफ्ना, त्यसपछि मेरा । मेरा आँखामा उसका औंलाहरूले पहिलोपल्ट स्पर्श गर्दै थिए । सारा शरीरमा काँडा उम्रिएझैं भयो । एकछिनको हमिङपछि उसले बिथोविनको ‘कन्सर्ताे इन डी मेजर’ बजाउन शुरु गरी । कालो रातको चीर शून्यतामा उसको भायोलिन निकै रहस्यमयी लाग्दै गयो । कम्प्लिटली अ म्युजिकल जर्नी टु हेभन । एक मन त लागिरहेथ्यो— यो पल यहीँ रोकिरहोस् । सदा–सदाका लागि हामी दुई र यो भायोलिन यस्तै गुन्जिरहोस् । स्ट्याचु !

० ० ० 

पाटन दरबार स्क्वायर पुगिसक्दा पनि टेम्पोको कुनै नामोनिशान भेटिएन । म अत्तालिँदै थिएँ । मनमा अनेक सवालहरूको डरलाग्दो सुनामी चलिरहेथ्यो ।

— के भायोलिनाले टेम्पो किनेकी हो त ?

— हैन होला । त्यति व्यवहारिक केटी त थिइन क्यारे !

— के उसले टेम्पोवालासँग बिहे गरी होला र ?

— हैन होला । केटी त खान्दानी लाग्थी क्यारे !

— होइन भने कसरी उसले पठाएका अन्तिम पंक्तिहरू हुबहु यो टेम्पोमा हुन सकेका त ?

— आखिर के छ भायोलिना, उसको लापत्ता हुनु र यो शायरी अनि टेम्पोबीचको सम्बन्ध ?

कुतूहलताले मनमा ढ्वांग्रो बजाउन थाल्यो । दरबार स्क्वायरलाई देब्रे पार्दै म सरासर ग्वार्काेतिरको बाटो लागें । केही अगाडि पुगेपछिको दाहिने गल्लीतिर केही चिज घरछेउमा रोकिएजस्तो लाग्यो । म हतारहतार उतैतिर लागें । नजिक पुग्दा उही टेम्पो रै’छ ।

वरिपरि हेरें, कोही थिएन । गल्ली पूरै सुनसान थियो । सब सुतिसकेका जस्ता लाग्थे । म झन् अधीर हुन थालें । मसँग विकल्प थिएन । त्यहीँनेरको एउटा पेटीमा बसेर रात कटाउनु पर्ने भयो । चिसो स्याँठले लगातार चिस्याइरहेथ्यो । सँगै याद आइरहेथ्यो, भायोलिनासँगका क्रिमसन यादहरू ।   

० ० ०

दोस्रो भेट । तेस्रो भेट । चौथो अनि पाँचौं ।

ऊ उस्तै रही । हप्ताको एक दिन भेटिन्थी, ६ दिन हराउँथी । मोबाइल उस्तै अफको अफ । मलाई पुगेकै थियो । हरेक दिन भेटेर, कुरा गरेर म उसको गरिमा घटाउन चाहन्नथें । उसको यो हल्कारा अन्दाज नै उसको करिज्मा थियो । ऊ रहस्यमयी थिई र त खास थिई । सजिलै भेटिने चिजहरू कहाँ आकर्षक लाग्छन् र मान्छेलाई !

प्रत्येक भेटमा ऊ केही न केही सुनाइरहेकै हुन्थी । उसको भायोलिनबाट बिथोविन, मोजार्ट, शोस्ताकोविच हरसप्ताह गुञ्जिरहे । जानी–नजानी भायोलिन म्युजिकको क्लासिकल लत लगाएरै छोडी उसले ।

बदलामा म उसलाई मेरा केही कविता पनि सुनाइरहन्थें । उसलाई मेरा कविता कहिल्यै चित्त बुझेनन् । कसैको शुरुवात, कसैको अन्त्य, कसैको भाव मिलेन रे ! उसको चित्त बुझाउन मैले कहिल्यै सकिनँ । बरु छोडिदिएँ कविता लेख्न ।

यस्तैमा हामी छैटौंपल्ट भेट्दै थियौं । उसैगरी म्यासेज आयो । यसपल्ट लोकेसन फरक थियो । बागमती किनारको यूएन पार्क ।

म ढिला नगरी पुगे । लगभग साढे ९ बजेको हुँदो हो । एउटा रुखमुन्तिर ऊ बसिरहेकी थिई । उही मन्द मुस्कानसँगै उसले छेउमा बस्न लगाई । छिटो–छिटो मेरा आँखा बन्द गरिदिँदै उसले नभनुन्जेल नखोल्न आदेश दिई । केटीको सप्र्राइजले मलाई खुलदुली दिइरह्यो । एकछिनको स¥याकसुरुकपछि उसले मलाई आँखा खोल्न अनुमति दिई ।

ओहो ! मेरा आँखा धिरमिराए । एकाएक झिलिमिली भएको महफिलले मेरो मुख पछिसम्म पनि आँऽऽऽ भइरह्यो ।

‘ब्ल्याक एन्ड ह्वाइट’ ल्याम्पसेडमा टलक्क चम्किएको एउटा भर्जिन क्यानभास । छेउमा केही थान पेन्टिङ ब्रसहरू । अर्काेतिर स–साना प्यालेटमा चिटिक्क सजिएका तरल रंगहरू पनि । वाउ ! माइ ड्रिम सप्र्राइज, फ्रम माई ड्रिम गर्ल ।

“हेल्लो, मिस्टर फुच्चे प्रमोद ! कस्तो लाग्यो त तिम्लाई मिस भायोलिनाको सप्र्राइज ?”

“निःशब्द ! लाग्दै छ, म यूएन पार्क हैन, त्यो अलौकिक अशोक बाटिकामा भएको महसुस गर्दै छु । बस् । थ्यांक्स यार ।”

“त्यत्तिले पुग्दैन नि मिस्टर । यु ह्याब टु डु अ फेबर फर मी । म तिम्रो काखमा, तिम्रा कविता सुन्दै एउटा पेन्टिङ बनाउन चाहन्छु । मेरो समयको एक असामयिक पेन्टिङ ।”

म के नाइ भन्न सक्थें र !

उसका निर्मल÷निश्छल औंलाहरू ब्रस र रंग हुँदै क्यानभासमा पोतिन थाले । मेरो काख उसको स्पर्शले बिस्तारै लजाउँदै गयो । जसै–जसै उसका औंलाहरू क्यानभासमा रंगिदै गए, उसै–उसै मेरा औंलाहरू उसका केशराशिमा हराउँदै गए । उसका प्रत्येक केशका राशिहरू मानौं कलकल झरनाका लहरजस्तै लागिरहे । क्यानभासका औंलाहरू जरा हुँदै रुखका हाँगाहरू बनिरहेथे भने यता केशराशि हुँदै आँखाहरू ।

उसका मुलायम कानका सामु मन्द–मन्द केही कविताका पंक्तिहरू पनि सुनाइरहेथें म ।

अँध्यारा मेरा छायाहरूमा
रंग सजाउँदै हिँडेकी,
ए मेरी रंगीन चित्रकार !
आऊ !
तिम्रा सबै रंगहरूको
लालित्य लिएर आऊ !
आऊ !
अनि रंगाइदेऊ यो
ओसिलो क्यानभास
छमछम ती कुचीहरूमा
लतपत तिम्रा रंगहरूले !!

कसैको सामीप्यता र स्पर्श यतिसम्म पवित्र र अलौकिक हुन सक्ला भनेर मैले कहिल्यै सोचेको थिइनँ । यस्तो लाग्दैथ्यो कि मानौं त्यहाँ ओठहरू होइन, रंगहरूको लालित्य साटासाट भइरहेछ । मानौं धरती र आकाशको पवित्र मिलन उत्सव हो यो । मन त भन्थ्यो— समयको क्रूर सुइँ यहीँनेर आएर ठिंग उभियोस् र हेरिरहोस् यो स्वर्गीय दृश्य । स्ट्याचु !

० ० ०

टेम्पोछेउमा रुङ्दारुङ्दै रात कट्यो । बिहानै सबैतिर चहलपहल शुरु भो । म बस्– टेम्पो चालकको प्रतीक्षामा थिएँ ।

कुर्दाकुर्दा बल्ल एउटा ३५–४० वर्ष हाराहारीको मान्छे आयो र टेम्पो पुछपाछ पार्दै भित्र छिर्न थाल्यो । म सरासर ऊ भए ठाउँ पुगें र ढिला नगरी सोधिहालें, “दाइ ! हजुरको यो टेम्पोको शायरी त गज्जब लाग्यो नि मलाई त । हजुरले नै लेख्नुभा’को हो ?”

“के चाहियो भाइ तिम्लाई ?”

दाइले क्वारक्वार्ती मेरो हुलिया नियाले र खिस्स हाँसेर सिधै टार्दिए ।

“हैन दाइ, यस्तो राम्रो शायरी कसले लेखेछ भनेर नि !”

रिस त उठिसकेको थियो मलाई तैपनि अलि संयमित भएर बोलें ।

दाइले निकै लामो सास फेरे र भने, “कोही निष्ठुरीको नासो हो भाइ । मायाको न्यानो डोरीमा गाँसेर, फलाएर, फुलाएर, पछि एक्लै छोडेर बेपत्ता भएकी मिस भायोलिनाको नासो । उफ ! लामो छ भाइ कथा । कुनै दिन सुनाउँला । अहिले मलाई काममा जानु छ । गएँ है त ।”

म निःशब्द भएँ । भावविहीन भएँ । स्थिर भएँ । लाग्यो— म त्यहीँ उभिएको उभियै मरिसकें ।

टेम्पो गल्लीको बाटो हुँदै हरायो । र, जाँदाजाँदै देखिए उही क्रिमसन पंक्तिहरू ।

“बिछड्ते हुए भी तुम, हँस्ते हँस्ते जाना 
कभी याद आए तो, मंगलबजार आना !!”

स्ट्याचु !!
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC