खट्केको श्रम श्रध्दा र रित्तिएको नेपाल

एकप्रसाद दुवाडी 

खट्केको श्रम श्रध्दा र रित्तिएको नेपाल

गत साताका तीनवटा घटनाको चर्चाबाट यो लेख सुरु गरौँ । पहिलो, एउटा चित्र जसमा एकजना वृध्द आफ्नो खुट्टा मिच्दै गरेका छोराप्रति गुनासो गर्दै थिए –अरु दुई छोराहरुप्रति गर्व छ । किनभने उनीहरु राम्रो पेसामा लागेर विदेशमा बस्छन् । यो मोरो भने रद्दीको टोकरीमा गयो । यसले केही असल काम गर्न सकेन । 

दोस्रो, एउटा भाइरल बनेको पोस्टमा एकजना पातला युवके निराश भंगीमामा गाडी हाँक्दै थिए । अनि त्यसको शीर्षक थियो – ‘एमए पास गरेर पनि ड्राइभर’ । 

तेस्रोे,  सधैँ झँै एकाबिहानै बिहान अफिसतिर लाग्दा बाटोमा पर्ने श्रमविभागमा विदेश जाने स्वीकृति लिन बिहानैदेखि उभिएको सयाैं युवाको पंक्ति । त्यो पार गर्दागर्दै कोही नयाँ एजेन्टले दिनहुँजसो मलाई सोध्छन्  ‘‘श्रम गर्ने हो ?’’ सुरुमा त नबुझेर म रनभुल्लमा पर्थे ।  उनीहरुको आशय के हो ? म कामकाजी हो कि हैन भनेर सोधेका हुन् कि ? त्यसैले एकदुई पल्ट पढाउने काम गर्छु पनि भनेको थिएँ । तर, पछि थाहा भयो त्यहाँ उनीहरु नयाँ मानिस देख्नेबित्तिकै सोही प्रश्न तेस्र्याउँदा रहेछन् । किनभने त्यहाँ विदेशिन ठिक्क परेका हजारांै मानिसहरु ओइरिने भएकाले आफ्नोतिर बीमा गराउन उनीहरुको चहलपहल बढ्छ र यसो गरेबापत केही कमिसन पाउछन् ।  मेरो मन ढक्क फुल्छ र मनमा प्रश्न उठ्छ – के नेपालमा काम छैन त? फेरि अर्काे मनले भन्छ – किन काम नहनु? जति पनि छ । 

यहाँ बाबुले कुन सन्तानले सही काम गर्दै छ भनेर चिन्न सकेनन् । नत्र आफूलाई अहोरात्र सेवा गर्ने सन्तानलाई निकम्मा पक्कै ठान्दैन थिए । यस्तै, पढेलेखेकाले गाडी चलाउने पेसा गर्नु हुँदैन भन्ने रुढीगत मान्यता उचित होइन । किनभने पढाइसँग ठ्याम्मै मिल्ने काम विदेश पनि बिरलै पाइन्छ । आफ्नो कारखाना, व्यापार वा खेती छोडेर अत्यन्त ठन्डी तथा गर्मी ठाउँमा ठूलो जोखिम मोलेर रोजगारीमा हान्निनेको भिड पनि सही  होइन । 

यही भन्दा एकजना युवकले भने – ‘‘दाइ काम गर्न मलाई लाज लाग्दैन राम्रो तलब छ भने । मैले कोसिस गरेको हो । तर, कम्प्युटरमा स्नातक मलाई बोसले तलब पाँच हजारमात्र दिन्थे । अनि कसरी म यहाँ टिक्न सक्छू?’’
विगत केही दशक यता यस्तै भइरहेको छ। किन भइरहेको छ त ?

तीनवटै परिदृश्यले एउटै कुरा भनिरहेका छन् – नेपाली समभाजमा श्रमप्रति श्रध्दा छैन । पहिलोे त यहाँ सित्तैमा काम लाउने प्रवृत्तिको बोलवाला छ । दोस्रो, कामको पारिश्रमिका दिँदा पनि अत्यन्त कम दिने गरिन्छ । तेस्रो, व्यवस्थापकीय अक्षमताको जगजगी हो र चौथोे जागिरे मनोवृत्ति । यसले रोजगारी सिर्जना गर्नभन्दा पनि जागिर खोज्न तल्लीन प्रवृत्ति बढाएर ठूलो धक्का पुर्याएको छ हाम्रो सामाजिक, राजनीतिक र आर्थिक उन्नतिमा । 

खेताला, हली, रोपारको अभावले गाउँका खेत बाँझिएका छन् । राम्रा चालक सहचालकको अभावले यात्रुको अवश्यकताअनुसार यातायातका साधन नचलेर छोटो दूरी पार गर्न पनि घन्टौं लाग्ने गरेको छ । फोहोर मैला व्यवस्था गर्ने मानव स्रोतको कमीले सहरहरु आक्रान्त छन् । प्राविधिकको कमीले धारा, बत्ती र मेसिनरी सम्बन्धी काम गर्ने मिस्त्रीको पालो कुर्नुपर्छ । मूर्तिकार, चित्रकारदेखि गहना बनाउने कारिगर, सिकर्मी, डकर्मी र अरु कर्मीहरुको अभावले निर्माण कार्य ढिलो र महँगो हुने गरेको छ । सूचीकारदेखि कुचीकारसम्म अनि भरियादेखि कारिन्दासम्म जताततै अभाव छ । दरबन्दीअनुसारका डाक्टर, इन्जिनियर पनि पाइँदैन । कृषि र पशु स्वास्थ्यका प्रविधिक जनशक्ति पनि न्यून छ मागको तुलनामा । फलस्वरूप, सरकारले जतिसुकै पकेट एरिया बनाए पनि त्यो किसानमुखी हुनसकेको छैन । 

लाग्छ, नेपालमा लाखाैं होइन करौडौ दरबन्दी आवश्यक छ । तर, बर्सेनि लाखाैं युवा यहीँ बेरोजगार भएको ठान्दै बाहिरिन्छन् । केही तार्तम्य त नमिलेर पो यस्तो हुदैँ छ कि ? कामदारले काम नपाउने अनि कामले कामदार नपाउने । 

यसका धेरै कारण होलान् । प्रमुख भने नेपाली समाजमा श्रमप्रति श्रध्दा नहुनु नै हो । हाम्रा बाआमा र गुरुगुरुमाले दिने शिक्षामा पक्कै केही खोट छ । किनभने हामीलाई मेहनत गरेर सफल बन्नेभन्दा र जसरी पनि पैसावाल हुन प्रेरित गरिन्छ । अनि यस देशमा भन्दा बाहिर नै गए भलो हुन्छ भन्ने भान पारिन्छ । समाजमा असलभन्दा पनि पैसावाल मान्छे, ठूला बंगाला, गाडी र संभ्रान्त आफन्तहरुको जयजयकार गरिन्छ । दसनङग्रा खियाएर परिश्रम गर्ने किसानको भन्दा बढी सम्मान बिचौलिया र धाँधली गरेरै पनि जितेर मन्त्री हुनेको हुन्छ । 

अझ श्रम गर्नु भनेको भगवानको पूजा हो भन्ने त सिकाउन खोजिएकै छैन । घरमा कुनै बच्चालाई काम लगाए उसले हेपिएको ठान्छ । यही कारण नेपालमा काम पाएकाहरुमा पनि अधिकांश कामचोर प्रवृति छ । जागीर खानु भनेको ठग्नु वा पैसा कमाउनु हो भन्ने मानसिकता बलियो  छ ।   

श्रमप्रति श्रध्दा कसरी पैदा गर्ने त ? हामीले सबै कामप्रति उत्तिकै सम्मान र प्राथमिकता दिनुपर्छ । कुनै पनि काम ठूलो र सानो नहोस् । राम्रो पारिश्रमिक र इज्जत खेतमा काम गर्ने खेतालाले, उध्योगमा काम गर्ने मजदुरले, गाडी चलाउने चालकले, सडकमा काम गर्ने श्रमिकले र घाँसदाउरा गर्ने गोठालाले पनि पाउने हो भने नेपाल नै विदेशजस्तो भैहाल्थ्यो । सायद उनीहरु विदेशिन मोहित हुने नै थिएनन् । यो अविभावक, शिक्षक, राजनीतिक दल तथा सरकारले सोच्ने बेला भयो । 

त्यसो हुनसके माथिका तीनवटै परिदृश्यमा व्यापक उलटपलट हुन्थ्यो र हाम्रो देशको मुहार फेरिनसक्थ्यो । एमए पढेको मान्छेले गाडी चलाउँदा अपमान बोध गर्नुपर्ने थिएन । छोराछोरी बाबुआमाको स्याहार गरेर बस्दा नालायक हुने थिएनन् । न त मेरो घर अगाडिको लाइनमा बस्ने युवाको यौवन र ऊर्जा अरूकै नाफामा खेर जाने थियो । त्यो पो हामीले कल्पना गरेको नयाँ नेपाल हुनेथियो !

(प्राध्यापन, काठमाडौं विश्वविद्यालय)

प्रतिकृया दिनुहोस