काठमाडौं । सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धी चुनौती समाधान गर्न द्धिपक्षीय छलफल गर्ने भएको छ । दुई देशका पदाधिकारी बीच नेपाल–भारत व्यापार सन्धिमा दोस्रो समीक्षा वार्ता हुन लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न सरकारले रणनीति तय गरी भारतसँग आवश्यक छलफल गर्न लागिको जनाकारी दिए ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन सन्धि समीक्षा तथा संशोधन गर्नेगरी नेपालले पहल गर्ने बताए । भन्सार नाकाहरुमा सबै खालको सुविधा उपलब्ध गराउने प्रयास भईरहेको उनले जानकारी दिए ।
कार्यक्रममा ‘नेपाल–भारत व्यापार सन्धिः चुनौति र अवसरहरु’ विषयमका कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा दुई मुलुकबीचको व्यापारमा देखिएको समस्या समाधानका लागि जानकारहरुले आवश्यक सुझाव पनि दिएको थिए । विज्ञहरुको सुझाव भारतसँगको व्यापार घाटा कसरी कम गर्न सकिने र व्यारलाई कसरी सहजीकरण भन्नेबारे रहेको थियो । उनीहरुले व्यापार घाटा र अबरोध नै नेपालको सबैभन्दा ठूलो समस्या रहेको दाबी गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा उत्पादित वस्तुको भारत निर्यात गर्न सहज वातावरण बनाई दिन सरकारसँग आग्रह गरे । उनले भारतीय वस्तु नेपालमा सहज ढंगले आउने तर नेपाली वस्तु भारतमा जान नसक्ने अवस्थाको अन्त्य नभएसम्म भारतसँगको व्यापार घाटा कम गर्न नसकिने पनि स्पष्ट पारे ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सार नाकामा सबै खालको सुविधाको व्यवस्था नगरेसम्म नेपालको व्यापार घाटा कम हुन नसक्ने स्पष्ट पारे । उनले भारतसँगको व्यापार घाटा कम गर्न भन्सार नाकाहरुलाई सुविधा सम्पन्न बनाउन पनि सरकारसँग माग गरे । महासंघले गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको व्यवस्था सबै भन्सार नाकाहरुमा गर्न पनि सरकारसँग आग्रह गर्दै आएको छ ।