ईर्ष्या र अहंकारले शाहरुख हुँदैछन् जिरो खान 

प्रसन्न भट्टराई

ईर्ष्या र अहंकारले शाहरुख हुँदैछन् जिरो खान 

मैले सन् २०१८  को सेप्टेम्बर महिनामा एउटा पोस्ट गरेको थिएँ फेसबुकमा “शाहरुख खान की ऐसी कि तैसी“ । त्यस पोस्टको अन्तिम वाक्य यस्तो थियो – “यस्तोमा यस वर्ष आउने फिल्म जिरो अलिकति यताउति भयो र चलेन भने ’किङ’ हैन जिरो खान कहलाउनेछ ।“ ठ्याक्कै त्यस्तै भयो । 

जिरो फिल्म पूर्णरुपमा जिरो भयो बक्स अफिसमा । उनको फिल्म ‘फ्लप’मात्र हैन, ’डिजास्टर’ नै भयो । हुन त ’डिजास्टर’ शाहरुखको जिरोको मात्र भएको थिएन, सलमानको रेस – ३ र आमिर खानको – ’ठग अफ हिन्दुस्तान’को पनि भयो तर गजब के छ भने ’डिजास्टर’ भएर पनि सलमानको रेस ३ ले १७० करोड कमायो, आमिर खानको ठग अफ हिन्दुस्तानले १४६ करोड कमायो तर जिरो ले ९७ करोडमात्र कमायो । मतलब ’डिजास्टर’मा पनि जिरो नम्बर एक ! 

शाहरुखको जिरोतर्फको यात्रा उनका डर, बाजिगर, करण–अर्जुन, दिलवाले दुल्हनिया ले जाएंगे जस्ता दुईचारवटा फिल्म खुब चलेकै बेला सुरु भइसकेको थियो । यी फिल्म चलेलगत्तै र आसपास उनका केही अन्तर्वार्ता आए । उनले प्रायःजसो सबै अन्तर्वार्तामा भनेका थिए – म दुनियामा दुईवटा ’किङ’ लाईमात्र चिन्छु कि चंगेज खान कि शाहरुख खान । उनले आफ्नो खाल्डो आफैँ खन्न यहीँबाट सुरु गरेका हुन् । उनले विभिन्न मंचमा चंगेज खान र आफ्नो तुलना बारम्बार गरे र ’किङ’ शब्दलाई धेरैपल्ट दोहोर्याए। 

संचारकर्मीलाई चाखलाग्दा समाचार चाहिने र शाहरुखलाई आफ्नो प्रचार चाहिने । दुवैको कुरा मिल्यो । उनी त्यसबेला धपधप बलिरहेको सूर्य थिए भारतीय सिनेमा जगतका । संचारकर्मीले उनको इसारा बुझे र उनलाई ’किङ’ खान भन्न र लेख्न सुरु गरे । भारतीय सिनेमा जगतलाई राम्ररी नियाल्ने हो भने शाहरुखमात्र एउटा यस्तो कलाकार हुन् जो आफैँले आफूलाई ’किङ’ भन्छन् र अरुले पनि ’किङ’ भनुन् भन्ने चाहना राख्छन् । 

अरुलार्ई संचारकर्मी (मिडिया) वा जनसाधारणले दिएको उपाधि हो । उदाहरणका रुपमा, दिलिपकुमार – ट्रेजेडी ’किङ’, देवदास, अभिनय सम्राट देव आनन्द – सदाबहार, राजेन्द्र कुमार – जुबली कुमार, राज कपुर – शो मेन, मनोज कुमार – मिस्टर भारत, राजेश खन्ना – सुपरस्टार पहिलोपल्ट कुनै भारतीय कलाकारलाई दिइएको उपाधि, धर्मेन्द्र – ही म्यान, अमिताभ बच्चन – एंग्री योङ म्यान, वन म्यान इन्डस्ट्री, शताब्दीका महानायक, बीग बी, शहंशाह, सरकार, आमिर खान – मिस्टर पर्फेक्सनिस्ट, सलमान खान – दबंग, सुल्तान, टाइगर, ऋतिक रोशन – ग्रीक गड, हेमा मालिनी – ड्रिम गर्ल, कंगना रनावत – बलिउडकी रानी । यस सूचीमा जब पछि आएर शाहरुखको बादशाह भन्ने फिल्म ठीकठाक चल्यो उनलाई बादशाह भन्न थालियो । र, यो नै सही अर्थमा संचारकर्मीले नै दिएको उपमा हो । अहिले थपिएको नयाँ नाम रणवीर सिंह हो जसलाई इन्डिया टुडे भन्ने समाचारपत्रले ‘द अल्टिमेट सोम्यान’ भनेको छ ।                

केही वर्षअगाडि अनलाइनमा कतै पढेको थिएँ शाहरुखले आमिर खानसँग एउटा छलफल गरेका थिए रे । छलफलको विषय थियो संचारकर्मीलाई कसरी आफ्नो हितमा प्रयोग गर्ने । संचारकर्मी कलाकारका बारेमा लेखेर समाचार बेच्छन् र पैसा कमाउँछन् भने कलाकारले पनि किन संचारकर्मीको प्रयोग आफ्नो हितका लागि नगर्ने ? किन उनीहरुको प्रयोग आफ्नो प्रचारको लागि नगने ? आमिर खानले कुरा सुनेपछि तर्क गलत हैन भन्दै वार्तालाप मै टुंग्याए रे । तर, शाहरुख आफ्नो सोच र योजनामा गम्भीर थिए । त्यही सोचलाई अगाडि बढाउँदै उनले निरन्तर चंगेज खान र आफ्नो तुलना र ’किङ’ शब्दको प्रयोग गरिरहे । उनी चाहन्थे संचारकर्मीहरु उनलाई ’किङ’ खान भन्न थालुन् । र त्यही भयो पनि । उतिबेला उनको भाग्य चम्कँदो पनि त थियो । 

त्यसताका शाहरुखका फिल्म अरु कलाकारका तुलनामा बढी चले । अरुका फिल्म पनि चल्दै नचलेको त हैन तर एउटा चल्ने अर्को नचल्ने हुन्थ्यो ।   शाहरुखका फिल्महरु भने असफलभन्दा सफल बढी भए । यसो हुनुका केही कारण थिए ।

जुनबेला शाहरुख सिनेमामा आए ठीक त्यहीबेला यस चोपडाका छोरा आदित्य चोपडा, जावेद अख्तरका छोरा फरहान अख्तर र यस जौहरका छोरा करण जौहर पढाई सिध्याएर आई बाबुको बिँडो थामे । भारतीय सिनेमा ‘एक्सन’ फिल्मबाट अघाएर राजेश खन्ना युगको रोमान्सतिर उन्मुख हुँदै थियो । यसै बेलादेखि महिला हकहितले पनि राम्रो सम्मान पाउँदै थियो । धेरै भारतीयले विदेशको भूमि टेक्ने चिन्ने अवसर पाएकोले मानिसहरुको सोचा आधुनिक हुँदै थियो । आदित्य चोपडा र करण जौहरले फर्किदो रोमान्स, मौलाउँदै गरेको महिलावादी समाज अनि आधुनिक मानसिकता राम्रोसँग महसुस गरे र सोही चित्रण हुने फिल्म बनाए । उनीहरुको फिल्ममा यसको छाप प्रशस्तै देखिन्छ र यिनका धेरै फिल्ममा शाहरुखले अभिनय गर्ने मौका पाए । 

शाहरुख नयाँ, आदित्य चोपडा नयाँ, करण जौहर नयाँ, फरहान अख्तर नयाँ र यसैमा अरु दुईजना नयाँ थपिएका थिए, फराह खान र संजय लीला भन्साली । यी सबै नयाँ निर्देशकहरुले धेरै कुरा नयाँ किसिमले हेरे र भारतीय सिनेमालाई केही ‘कोसेढुंगा’ मानिने सिनेमा दिए । यी प्रायःको सिनेमाको नायक नायिकालाई सकेसम्म सबै कुरामा सहयोग गर्छ । एउटा राम्रो सहृदयी साथीको रुपमा ऊ नायिकाको हरेकजसो क्रियाकलापमा संलग्न हुन्छ र दुःखसुखमा साथ दिन्छ । आफ्नो इच्छाको वास्ता नगरी प्रेमिकाको विवाह अरुसँग हुन दिन समेत पछि हट्दैन बरु सहयोग नै गर्छ । नायिका प्रधान कहानी भएर पनि नायक प्रधान लाग्ने यो नयाँ सोच नयाँ समाजलाई खुबै मन पर्यो । महिलाहरु त भुतुक्कै भए ! दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, मोहब्बतें, कभी खुसी कभी गम, कल हो ना हो, मै हुं ना, परदेश, दिल तो पागल है, वीरजारा, ओम शान्ति ओम, आदि केही यसका जमानाका उदाहरण हुन् । 

हाम्रो समाजमा महिला कहीँ पनि एक्लै जाँदैनन्, उनीहरुको एउटा समूह हुन्छ जहिले पनि । शाहरुखको फिल्ममा महिला लोभ्याउने प्रशस्त प्रसंग हुने भएकाले महिलाको त्यो समूहको चलनले धेरै ठूलो योगदान गरेको थियो फिल्म सफल गराउन । महिला भएको ठाउँमा पुरुष पनि छेउछाउ हुन रुचाउँछन् । यस्ता पुरुषले पनि निकै ठूलो योगदान गरे शाहरुखको फिल्मको सफलतामा ।  

कुनै जमानामा शाहरुख पनि आजका रणवीर सिंहजस्तै सबैलाई रिझाउने, खुसी पार्ने अवस्थामा थिए । सिनेमा जगतभन्दा बाहिरको व्यक्ति थिए र काम खोज्दै हिँड्नु पर्ने अवस्थामा थिए । यसै भएर उनले आदित्य चोपडा र करण जौहरलाई राम्रोसँग फकाए, रिझाए अनि यस चोपडाको यशराज फिल्म्स र करण जौहरको धर्मा प्रोडक्टसनमा राम्रैसँग प्रवेश पाए । यिनैले पछि शाहरुखको जीवनमा अधिकतम सफल फिल्म दिए । यस्तोमा फरहान अख्तर, संजय लीला भन्साली को साथले सुनमा सुगन्धको काम गरेको थियो । अर्थात् त्यसताकाको सिनेमा जगतको वातावरण सबै किसिमले उनको अनुकूल थियो । 

अमिताभ आफ्नो कम्पनीको असफलताले ऋणमा चुर्लुम्म डुबेका थिए । उनसँग उमेर सुहाउँदो कुनै फिल्म थिएन । आमिर खान आफनो अडानका कारणले सिनेमा जगतबाट निकै टाडिएका थिए । नत्र त डर, बाजीगर र दिलवाले दुल्हनिया ले जाएँगे सुरुमा आमिर खानलाई प्रस्ताव गरिएको थियो । सलमान खानको बजार जमिसकेको थिएन । संजय दत्त साथी भनेपछि हुरुक्कै हुने र “नाइ“ भन्न नसक्ने स्वभावका भएकाले कतिपय बेकारका फिल्महरु खेलेर आफ्नो आकासिएको लोकप्रियता गुमाउँदै थिए । अनिल कपुर उकालो लागीवरी ओरालो लाग्दै थिए । ऋषि कपुर ५० काटिसकेको रोमान्सको लागि फिट नहुने अवस्थामा पुगिसकेका थिए । अक्षय कुमार त्यसताका पैसा कमाउने अभियानमा भएकाले राम्रो नराम्रोसँग मतलब राख्दैन थिए र जस्तो पायो त्यस्तो फिल्ममा खेल्थे । मूलतः ‘स्टन्ट’ धेरै भएको एक्सन फिल्ममा देखा पर्थे । सन्नी देओल निकै सशक्त भए पनि फिल्म जगतको राजनीतिसँग तालमेल राख्न असमर्थ हुँदा बिस्तारै पन्छिदै गए । दिलिप कुमार, राज कुमार, जितेन्द्र, धर्मेन्द्र, मिथुन चक्रवर्ती, राजेश खन्ना, विनोद खन्ना सबै नै बूढाको श्रेणीमा परिसकेका थिए । 

अर्थात्, शाहरुखको लागि सबै दृष्टिबाट अनुकूल वातावरण थियो । उनी चतुर, वाक्पटु छन् । मान्छे ठीकठाक देखिन्छन् ।  काम ठीकसँग गर्न जानेका छन् । जे गर्छन् सुहाउँदो हुनेगरी गर्न निपुण छन् । व्यवसाय गर्न जान्दछन् । मान्छेलाई रिझाएर राख्छन् । त्यसबेलाका निर्माता र निर्देशकको लागि यसभन्दा राम्रो गुण अरु के चाहियो ? उनीहरुले आँखा चिम्लिएर शाहरुखमाथि लगानी गरे र केही अत्यन्त सफल फिल्महरुको निर्माण गरे  ।  

परन्तु, शाहरुखको एउटा अत्यन्त कुरुप पक्ष कसैले पनि थाहा पाएका थिएनन् । ठट्टामा होस् वा प्रचारको लालसामा उनी आफूलाई ’किङ’ भन्न र लेख्न रुचाउँथे । चाहनेमात्र हैन वास्तवमै आफूलाई त्यस्तै ठान्दा पनि रहेछन् । यस्तोमा उनका सफल फिल्म र साथी कलाकारका असफलताले उनलाई झन् हौस्याए । उनले साथी कलाकारहरुलाई होच्याउने कुरा र व्यवहार गर्न थाले । ठट्टाको बहाना बनाएर साथीहरुलाई अपमानित गर्न थाले । आफूभन्दा पाका कलाकारको इज्जत गर्न छाडे । यसपछि उनीसँग सबैजसो कलाकार टाढिन थाले ।  एक दुईवर्ष अगाडि फर्केर हेदा पनि सबै कुरा प्रस्ट हुन्छ । उनको प्रायः कसैसँग पनि राम्रो सम्बन्ध थिएन । अमिताभ बच्चन, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, सन्नी देओल, हृतिक रोशन, करण जौहर, आदित्य चोपडा, जुही चावला, फराह खान, रोहित शेट्टी यो सूची निकै लामो छ । 

आफ्नै कम्पनी रेड चिल्लीको स्थापना गरेर फिल्महरुमा लगानी गर्न थालेपछि शाहरुखको चोपडा र जौहरसँग सम्बन्ध बिग्रन थाल्यो उनी टाडिन थाले । उनलाई लाग्यो चोपडा र जौहरविना पनि उनको काम चल्छ । फराह खानका पति सिरीश कुंदरलाई त उनले गालामा थप्पडै हाने । यति हुँदाहुँदै पनि शाहरुख उनीहरुको १–२ फिल्ममा काम गर्न सफल भए । व्यक्तिगत दुस्मनीका कारण व्यवसाय खतम पार्नु हुँदैन भन्ने चोपडा, फराह  र जौहरभन्दा बढी कसले बुझेको होला र ?  

शाहरुख आफूलाई राजेश खन्ना र ऋषि कपुरभन्दा ठूलो रोमान्टिक हिरोे, दिलिपकुमारभन्दा ठूलो ‘ट्रेजेडी किङ’ अमिताभ बच्चनभन्दा ठूलो ‘यंग्री योङ म्यान र खँदिलो आवाज भएको व्यक्ति ठान्छन् । यस्तै हृतिक रोशनसँग ’सिक्स प्याक्स’ को शरीर छ भने उनको शरीर ’८ प्याक्स’ हो र अजय देवगन, सन्नी देओल र सलमान खानभन्दा ठुलो एक्सन हिरो पनि उनै हुन् भन्ने घमण्ड छ । उनलाई लाग्छ आफूप्रति जनताको आकर्षण माइकल ज्याक्सनभन्दा बढी छ । त्यसैले उनलाई हेर्न चाहने प्रशंसकको घुइंचो पनि माइकल ज्याक्सनलाई हेर्न आउने “मानव सागर“ सरह हुन्छ । आमिर खान र कमल हासनले प्रयोगात्मक फिल्म खेल्छन् र सफल हुन्छ भने उ पनि महानतम प्रयोगवादी हुन् ।  उनको निर्माण कम्पनी यसराज ब्यानर र धर्मा प्रोडक्सनभन्दा ठूलो हो । उनी दुनियाँमा आफूमात्रै उत्तम र अरु त सबै घासफुस हुन् भन्ने ठान्छन् ।            

यस चोपडाले दिलवाली दुल्हनिया ले जाएंगे, दिल तो पागल है र वीरजारा बनाए । फिल्म धुमधाम चल्यो  शाहरुखले आफूलाई राजेश खन्ना भन्दामाथि देख्न थाले । संजय लीला भन्सालीले ’देवदास’ बनाए । फिल्म  निकै राम्रो चल्यो उनले आफूलाई दिलिप कुमारभन्दा महान् ठान्न थाले । 

फरहान अख्तरले डन बनाए, सिद्धार्थ बसुले कौन बनेगा करोडपतिमा काम दिए ।  डन ठीकै चल्यो । “कौन बनेगा करोडपति ‘सुपरफ्लप भयो । तैपनि शाहरुखले आफूलाई अमिताभ बच्चनभन्दा माथि देख्न थाले । सलमान खानको सुडौल शरीरको, हृतिक रोशनको सिक्स प्याक्स को खूब चर्चा भयो । 

अमिताभ बच्चनको अग्निपथले उनलाई कति पिरोल्यो भने संघर्षको दिनमा काम दिने राकेश रोशनप्रति कृतघ्न हुँदै काबिलसँग एकदमै दुष्ट तरिकाले प्रतिस्पर्धा गरे आफ्नो फिल्म रइसबाट । उनलाई लागेको थियो उनको फिल्म रईस अग्निपथभन्दा पनि चर्चित हुन्छ र धेरै चल्छ । तर रइस काबिलसँग नराम्ररी हार्यो । काबिल हिट साबित भयो तर रइस औसतमा । 

शाहरुख सबैभन्दा बढी अमिताभ बच्चनको डाह गर्छन् । उनलाई अमिताभका फिल्महरु डन, दिवार, अग्निपथ, सिलसिला, कभी कभी, शहंशाह, सरकारको चर्चा भइरहेको पटक्कै मन पर्दैन । यी र यस्तै थुप्रै फिल्महरुमा अमिताभको खँदिलो व्यक्तित्व, उनको गहौं आवाज, उनको संवाद बोल्ने तरिका र कौशलता, उनको कवि व्यक्तित्व, उनमा देखिने भलादमीपन, उनको अभिनयको गहिराइको चर्चा हुँदा शाहरुख ईष्र्याले भुतुक्क हुन्छन् होला । अझ कौन बनेगा करोडपति पछि अमिताभको ठेट हिन्दी र कार्यक्रममा अमिताभले देखाउने सदाशय, माया र उन्मुक्त हाँसोले त उनको दिमागै रन्थनिएको हुनुपर्छ । अमिताभको आवाजको जादूको चर्चा भएको शाहरुखलाई मन पर्दैन र आफू पनि कम छैन भन्ने प्रमाणित गर्न उनले पनि बोल्दा आवाज निकै गह्रौं पार्ने प्रयास गर्छन् । विभिन्न मंचमा बोल्दा उनको आवाजमा सुनिने नाटकीयता यसैको उदाहरण हो ।   

अमिताभसँग दाँजिन उनले हरसम्भव प्रयास गरे । डन बनाए, कौन बनेगा करोडपति चलाए । त्यस्तै सिलसिलाजस्तै जब तक है जान, अग्निपथको टक्करमा रइस बनाए । उनले चलाएको २००७ को कौन बनेगा करोडपतिमा २ जना प्रतियोगीले शाहरुखलाई मंचमै निकै गतिलोसँग ‘औकात’ सम्झाएको स्मरणीय छ । यही कारणले कौन बनेगा करोडपति बीचमै रोकिएको थियो । प्रतियोगीले उनको हातबाट पुरस्कार पनि लिन इन्कार गरेका थिए । डन र कौन बनेगा करोडपतिमा विफल भएपछि उनले अमिताभले काम गरिसकेको कुनै फिल्म वा कार्यक्रम आफूले कहिल्यै नगर्ने घोषणा गरेका थिए । 

अभिनयमा अझ दुखान्तमा दिलिपकुमारलाई कसैले जित्न सक्दैन । अहिलेसम्म ८ वटा फिल्मफेयर पुरस्कार पाउने अभिनेता पनि दिलिपकुमारमात्रै हुन् । शाहरुखलाई यसमा पनि ठूलो डाहा थियो । त्यसैले उनले देवदास फिल्म खेले । जालझेल गरेर भए पनि ८ वटा फिल्मफेयर पुरस्कार लिए ।  उनको उद्देश्य ९ वटा ल्याउनु थियो । अर्थात्, दिलिपकुमारलाई जित्नु हो । यस कार्यमा यस चोपडा र यसराज स्टुडियोको उनले खुब प्रयोग गरे र ८ वटामध्ये २ वटा फिल्मफेयर पुरस्कार किन्न सफल भए । नत्र, उनका ती फिल्महरु त्यति सबल हैनन् । नकिनेको भए उनले सहजरुपमा पाउने फिल्मफेयर पुरस्कार जम्मा ६  वटामात्र हो – दिलवाले दुल्हनिया ले जाएंगे, दिल तो पागल है, देवदास, स्वदेश, कुछ कुछ होता है  र चक दे इन्डिया ।  शाहरुखले अन्य २ वटा पुरस्कार किनेका हुन् – बाजिगर र माई नेम इज खानमा ।  नत्र पाउनुपर्ने थियोसंजय दत्तको खलनायक र  हृतिक रोशनको गुजारिसले पाउनुपथ्र्यो । 

शाहरुख महान् अभिनेता हुन्थे भने राष्ट्रिय पुरस्कार (नेसनल अवार्ड) पाउनु पर्ने नि । अहिलेसम्म एउटा पनि पाएका छैनन् । राष्ट्रिय पुरस्कारमा भारतभरका फिल्ममा प्रतियोगिता हुन्छ ।  बरु अरुले जितेका छन – अमिताभ बच्चन – ४, अजय देवगन – २, अनिल कपुर – २, सैफ अली खान – १, आमिर खान – १, सनी देओल – १ आदि आदि ।    

यसराज स्टुडियोमा पसेर निजीरुपमा संचालित फिल्मफेयरमा जस्तो चलखेल राष्ट्रिय पुरस्कारमा गर्न सकिन्न । फिल्मफेयरमा त जसले थोरै पैसामा कार्यक्रम चलाई दिन्छ पुरस्कार उसैले पाउँछ भन्ने सबैले थाहा पाइसकेका छन् । फिल्मफेयर पुरस्कार किन्न पनि सकिन्छ भन्ने ताजा उदाहरण हालसालै ऋषि कपुरको आत्मकथा ‘खुल्लम खुल्ला’ बाट प्रष्ट भएको छ । सन् १९७३ मा ऋषि कपुरले सर्वोत्कृष्ट अभिनेतातर्फको फिल्मफेयर पुरस्कार बबी फिल्मका लागि ३० हजारमा किनेका रहेछन् ।  त्यसबेला पुरस्कारको सही हकदार अमिताभ बच्चन थिए फिल्म जंजीरका लागि ।    

अहिले सय करोडको कारोबार त सामान्य कलाकारको फिल्मले पनि गर्न थालिसक्यो – बागी १६५ करोड, जुडवा २ – १३८ करोड, सोनु के टिटु की स्विटी – १०८ करोड, राजी –  १२३ करोड, बद्रीनाथ की दुल्हनिया – ११६ करोड, बधाई हो – १६४ करोड । 

सन् २०१८ मा  रणवीर कपुर र रणवीर सिंह दुवैको फिल्मले ३०० करोडभन्दा माथिको कारोबार गरे, रणवीर सिंहको अर्को फिल्म “सिम्बा“ ले २३८ करोड कमाइसक्यो र फिल्म चलिरहेको छ ।  

भारतीय सिनेमाको २० वटा संसारमै बढी व्यापार गर्ने सिनेमा हेर्दा शाहरुखको अवस्था दयनीय छ । उनको स्थान ११ औंबाट मात्र सुरु हुन्छ । त्यसपछि अरु दुईवटा १४ र १५ औं स्थानमा ।  १.  दंगल –  १ हजार ८९९ करोड  २. बजरंगी भाइजान – ९१५ करोड  ३. सिक्रेट सुपरस्टार – ९०२ करोड ४. बाहुबली – २ – ८९३ करोड ५. पीके – ८३२ करोड ६. सुल्तान – ५८९ करोड ७. टाइगर जिन्दा है – ५६२ करोड ८. पद्मावत – ५६० करोड ९. धुम – ३ – ५५८ करोड, १०. संजु – ५४२ करोड, ११. चेन्नई एक्सप्रेस – ४२२ करोड, १२. प्रेम रतन धन पायो – ३९९ करोड, १३. थ्री इडीयट्स – ३९५ करोड १४. दिलवाले – ३९४ करोड १५. ह्याप्पी न्यु इयर – ३८५ करोड, १६. किक – ३७७ करोड १७. कृस – ३७४ करोड, १८. सिम्बा – ३७४ करोड, १९. बाजिराव मस्तानी – ३६७ करोड २० र ब्याङ ब्यांङ – ३४० करोड ।  

भारतीय सिनेमाको लेखाजोखाको साथै भारतीय फिल्म कलाकारहरुमा कसको कस्तो स्थान छ भनेर निरन्तर सूचना कोइमोइ भन्ने एउटा वेब साइट छ । कलाकारहरुको स्थान निर्धारणको मापदण्ड कसको फिल्मले कति व्यवसाय गर्यो (भारतभित्र मात्रै) त्यसको आधारमा गर्छ । जस्तै ५० करोड कमाएको छ भने ५० अंक, १००  करोड कमाएको छ भने १०० अंक, १५० करोड कमाएको छ भने १५० अंक, २०० करोड कमाएको छ भने २०० अंक, २५० करोड कमाएको छ भने २५० अंक र ३०० करोड कमाएको छ भने ३०० अंक । त्यो कोइमोइमा हेर्ने हो भने कलाकारहरुको स्थान यस्तो देखिन्छ :

१. सलमान खान – २२०० अंक,  २. आमिर खान – १४५० अंक,  ३. शाहरुख खान – १००० अंक ४. अक्षय कुमार – १००० अंक ५. अजय देवगन – ९०० अंक । शाहरुख र अक्षय कुमार बराबरीमा छन् । 

यस वर्ष शाहरुखको एउटा पनि फिल्म आउने छाँटकाँट छैन तर अक्षय कुमारको ५ – ७ वटा आउनेछ र अजय देवगनको ३ – ४ वटा । यसै वर्ष शाहरुखले नम्बर ३ को स्थान गुमाएर नम्बर ६ मा पुग्ने सम्भावना छ । शाहरुखको प्रतिस्पर्धा अब सलमान, आमिर, अक्षय, अजयसँग नभएर वरुण धवन, रणवीर सिंह, रणवीर कपुर, हृतिक रोशन आदिसँग हुने अवस्थामा पुगेको छ । यसमध्ये यसबेला वरुण धवन, रणवीर सिंह, रणवीर कपुर आदिको अवस्था निकै राम्रो छ ।  यस्तोमा हुनसक्छ अर्को वर्ष शाहरुखको प्रतिस्पर्धा वरुण धवन, रणवीर सिंह, रणवीर कपुर आदिबाट पनि झरेर राजकुमार राव, आयुष्मान खुराना, आदिसँग होस् । 

हिजोसम्म शाहरुखको पछि लाग्ने संचारकर्मी आज सलमान र आमिर खानको पछि लाग्दैछन् । भोलि वरुण धवन, रणवीर सिंह, रणवीर कपुर आदिको पछि लाग्न सक्छन् र पर्सी राजकुमार राव, आयुष्मान खुरानाको । यस्तै अवस्था रहे अभिमान फिल्ममा अमिताभले खेलेको भूमिकाजस्तो अवस्था शाहरुखको हुन बेर लाग्नेछैन । 

फिल्म असफल भैरहेका छन् । उमेर ५३ पार भइसक्यो । यस्तोमा शाहरुखले खेलिआएका शैलीका फिल्म अब उनको हैन वरुण धवन, रणवीर सिंह, रणवीर कपुर, राजकुमार राव, आयुष्मान खुरानाको झोलीमा जानेछन् र उनीसँग कामको अभाव हुनसक्छ ।  फिल्मको अभाव हुनेबित्तिकै जे जति फिल्मको प्रस्ताव आउनेछ सही चयन गर्न मुस्किल हुनेछ र अलिकति पनि चुक भयो भने शाहरुख राजेश खन्नाको बाटोमा लाग्न बेर लाग्नेछैन । जिरोको टिठलाग्दो असफलतापछि अर्को सुरु गर्न आँटेको फिल्म सारे जहाँ से अच्छा को सन्दर्भमा जेजति कुरा चर्चामा छन् तिनले पनि यसैको संकेत गरिरहेका छन् । जिरो खान राजेश खन्नाको बाटोमा अग्रसर भइसके जस्तो छ । अबको फिल्म चलेन भने उनको अहंकार र ईष्र्याले शाहरुखलाई जिरो नै बनाउन बेर लाग्नेछैन । भर्जिनिया 

प्रतिकृया दिनुहोस
ad