site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साथ
Sarbottam CementSarbottam Cement

– सानु शर्मा


“कस्तो छ तेरो घरकाको व्यवहार ? सासूससुरा कस्ता रै’छन् ? ज्वाइँ कस्तो स्वभावको हुनुहुन्छ ?” आमाले पहिलो फुर्सदमा सोध्नुभयो ।

मैले अलि पर बस्नुभएका बाबातिर हेरें । उहाँको अनुहार अर्कातिर फर्केको भए पनि कान यतै थिए । केही महिनाअघि मात्रै अन्माएर दूरदराज पठाएकी छोरीका सबै कुरा जान्न उहाँ पनि आमाजत्तिकै उत्सुक हुनुहुन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“सबै बेस छ, आमा !” मैले बिस्तारै भनें ।

हुन त केही महिनामै मैले पो सबै राम्रो–नराम्रो कसरी बुझ्थें र ! तर पनि सासूससुरा बेसै लागेका थिए । दुई जना देवर स्कुल पढ्दै थिए । दुइटी नन्दको बिहेबारी भैसकेको थियो । घरमा हामी दुई जनाबाहेक सासूससुरा र देवरहरू । मप्रति सबैको व्यवहार राम्रै थियो, त्यतिन्जेल ।

Global Ime bank

बिहेपछि लगालग गाउँमै बसेकी मलाई त्यस दिन माइतमा छोड्दै श्रीमान् काठमाडौंतिर लागेका थिए । जागिर त्यतै थियो । हिँड्ने बेला मेरो हातमा केही पैसा राखिदिँदै उनले भनेका थिए, “नजिकको कुरो होइन, ओहोरदोहोर गरिरहन; त्यसैले आएको बेला तीजसम्म बस्नू ।”

मलाई बडो सुखद लागेको थियो श्रीमान्को कोमल, स्नेहपूर्ण स्वर । सोचें— भाग्यमानी नै हुँ म यस्तो समझदार श्रीमान् पाउने !

० ० ०

टाढाका नातेदारको पहलमा आमाबाबुले खोजेको केटासँग, केवल एकपटक मात्रै भेटेर बिहे गर्न राजी हुँदा मेरी बालसखा, एउटै मात्र साथी, मेरी मितिनीले मलाई ‘मूर्ख’को उपाधि दिएकी थिइन् ।

हामी दुवैको नाम— माया । एउटै स्कुलमा पढ्ने हामीलाई एक–अर्काको नाम काटेर बोलाउन अप्ठ्यारो लागेकाले हामीले ‘मितिनी’ सम्बोधन गर्न थाल्यौं । यस्तो सम्बोधनले सम्बन्धमा प्रगाढता थपिदियो, आफसे आफ । स्वभावमा धरती–आकाशको फरक भए पनि स्कुलमा हाम्रो सारा समय सँगै बित्थ्यो । छुट्टीको बेला पनि म त कतै जान्थिनँ; उनै आइपुग्थिन् आफ्नो घरमा झगडा गरेर । मेरा बाआमा पनि खासै केही भन्नुहुन्थेन । बरु मलाई अप्ठ्यारो लाग्थ्यो, त्यसरी हाम्रो घरमा आइरहँदा । तर, मितिनीलाई केही फरक पर्थेन । ज्याद्री पो थिइन् त !

उनै मितिनीले व्यंग्य गरेकी थिइन्, “आजसम्म आमाबाबुको औंलो समा’र हिँड्यौ; कहीँ कतै बरालिइनौ; अब लोग्नेको औंला समाउने भयौ । तिमीले बीबीएस ग¥या के काम ? जिन्दगीमा एकैपटक गर्ने बिहे पनि अर्काले खोजिदिया मान्छेसँग गरेर कसरी खुशी हुनू ? मोरी, तिमी त सय वर्षअघि जन्मनुपथ्र्यो !” 

० ० ०

मोटरबाटोले छोएपछि गाउँ अब गाउँजस्तो थिएन । केटाकेटी शहरिया हुने होडमा ठूलो शहरका केटाकेटीलाई पछि पार्ने स्वाङ गर्न थालेका थिए । तर, मेरो माइतीमा त्यस्तो वातावरण थिएन । बाबा वर्षौंदेखि दुइटा गाउँको सिमानामा रहेको स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो । धीर–गम्भीर उहाँलाई दुवै गाउँमा बडो सम्मान गरिन्थ्यो । म उहाँहरूकी एउटै सन्तान ।

आमा प्रायः भन्नुहुन्थ्यो, “तँपछि अर्को जायजन्म नभएकोले घर, परिवार, नातेदार सबैले तेरो बाबालाई अर्को बिहे गर्न खुब जोड दिया थिए । तर, उहाँले ‘मेरो छोरो पनि यही, छोरी पनि यही, मलाई अब अर्को सन्तान चाहिन्न’ भनेर अर्को बिहे गर्नुभएन । ग¥या भए कल्ले रोक्ने ? त्यसैले माया, यस्तो–उस्तो केही नगरेस् । बाबाको बोलीको मान राखेर एउटा होइन, अनेक छोराछोरीको इज्जत राखेर देखाएस् । बाबालाई कहिल्यै अरूको अगाडि सानो र गलत हुन नदिएस् ।”

मैले सास फेरेभन्दा धेरै पटक आमाले मेरा सामुन्ने दोहो¥याउनुभएका यी कुरा मेरो मनमस्तिष्कमा घनले ठोकेको कीलाझैं गाडिएका थिए । आमाबाबाले मलाई केही सिकाउनु वा सघाउनु नै परेन । म आफैंले आफूवरिपरि यस्तो अभेद्य पर्खाल खडा गरेकी थिएँ, त्यसलाई भेदेर, लडाएर कोही मेरो छेउमा आउनै सकेन । बाबाले हामी आमाछोरीमाथि लगाएको गुनको मूल्य मैले बडो इमानदारीपूर्वक चुकाएँ । खुशीखुशी । उहाँले जे–जस्तो दिनुभयो, त्यस्तै खाएँ । जेजस्तो दिनुभयो, त्यस्तै लगाएँ । उहाँहरूको साथमा बाहेक एक रात कहीँ कतै गएर बसिनँ । बाबाले रोजेका स्कुल–कलेजमै पढें । जुन विषय पढ् भन्नुभयो, त्यही पढें । कुनै पिकनिक, कुनै शैक्षिक भ्रमणमा गइनँ । र, उहाँले रोजेको केटासँग बिनाकुनै विरोध खुशीखुशी अन्मिएँ ।

मेरो शील–स्वभावका कारण गाउँघर र नातेदारमा समेत मेरो तारिफ हुन्थ्यो । प्रायः आमाबाउ घरघरमा छोराछोरीलाई मेरो उदाहरण दिन्थे ।

अन्मिएर जाँदा आमाले भन्नुभएको थियो, “माया, तैंले मेरो कोख उज्यालो बनाइदिइस् । बाबाको बोलीको मान राखेर उहाँको कद बढाइदिइस् । अब लोग्नेको घरमा पनि सबैको मन जितेर, सबैलाई रिझा’र घर गरी खाएस् ।”

मैले आमाको त्यो कुरा पनि घोटेर पिएँ । त्यसैले नै शायद आमाबाबाले खोजेको केटासँग सहजै मन बाँध्न सकें ।
श्रीमान्को घरमा अलिअलि परेको साह्रोगाह्रोलाई स्वाभाविकतासाथ अपनाएँ ।

माइतमा पाएको आमाको शिक्षालाई नै अनुसरण गरिरहें । सबैलाई सम्मान दिएँ । मनले, मायाले स्वीकारें । म खुशी थिएँ । परिवार, रहनसहन र परिवेश फरक भए पनि मलाई एकदिन यो सब आफ्नो अनुकूल बनाउँछु भन्ने विश्वास थियो ।

० ० ०

“कस्ता रैछन् त तिम्रा पोइ ?” म माइत आएको थाहा पाएर भेट्न आएकी मितिनीले एकान्तमा सोधिन् ।

लजाएर मैले टाउको झुकाएँ । मितिनीले शायद मेरो टाउको झुकाउनुको अर्कै अर्थ लगाइन्; भनिन्, “भन्या थें मैले, त्यो पाको केटोसँग ... ।”

“आऽऽऽ तिमी पनि !” मैले उनको कुरा काटें, “बेसै छन् क्या ! फेरि, केको पाको–पाको भनिरा’ ? बाह्रै वर्षले त जेठो हुनुहुन्छ नि !”

उनले एकैछिन मेरो धपक्क बलेको अनुहारमा केही खोजेझैं गरी हेरिन् अनि अलि सानो स्वरमा भनिन्, “बाह्र–बाह्र वर्ष सानो फरक हो त ? तिमी यहाँ शहरमा हुक्र्या मान्छे ! यति राम्री ! पढेलेखेकी । हुनेखानेकी छोरी । त्यो अनकन्टार गाउँमा कसरी बिताउँछ्यौ मोरी, सारा जीवन ?”

उनको स्वरमा मप्रति सहानुभूति थियो । मैले उनको हात समाएर कोमल स्वरमा भनें, “चार–पाँच वर्षदेखि मोटरबाटो खुल्या छ; काठमाडौंबाट नजिक छ । तर, शहरै त कहाँ हो र यो गाउँ पनि ? हुनेखाने भन्दैमा कामै नगरी त कहाँ बस्या हुँ र यहाँ पनि ? घाँसपात, वस्तुभाउ, अर्मपर्म त यहाँ पनि गरेकै हुँ । बाँकी रह्यो सारा जीवन बिताउने कुरा, त्यो अहिल्यै के भन्न सकिन्छ र ? उहाँ काठमाडौंमा राम्रै पोस्टमा काम गर्नुहुन्छ । के थाहा, भोलि हामी सबै उतै बसाइँ सर्छौं कि ?”

उनले एकैछिन मेरो आत्मविश्वासलाई मनन गरिन् अनि भनिन्, “सलाम छ तिम्रो साहसलाई, मितिनी ! ईश्वरले गरेर तिमीले चाहेकै जस्तो होस् ।” उनी एकैछिन अडिइन् अनि उत्साहित हुँदै थपिन्, “यसो गर, लोग्नेलाई रिझा’र सँगै काठमाडौंमा राख्न राजी गर । कमसे कम त्यो दूरदराज गाउँ र सासूससुराबाट पिछा त छुट्छ !”

मैले टाउको दायाँबायाँ हल्लाएको देखेर उनले उदेक मान्दै सोधिन्, “किन ? तिमीलाई शहरमा लोग्नेसँग बस्न मन छैन र ?”

“मन नभा’ त कहाँ हो र ? तर, म उहाँलाई जबर्जस्ती मलाई आफूसँग राख्न भन्दिनँ ।”

यो सुनेर मुख बाइहालेकी उनलाई रोक्दै मैले थपें, “पहिले मेरो कुरा सुन । एक त मलाई पहिल्यै थाहा छ, उहाँ मान्नुहुन्न भनेर । तिमी नै भन, जो मान्छे दुइटी बहिनीको बिहे नभएसम्म आफ्नो उमेर भैसक्दा पनि बिहे नगरी बस्छ, जो मान्छे तेत्तीस–चौंतीस वर्षको उमेरमा पनि बाउआमाले खोजिदिएकी केटीसँग आँखा चिम्लेर बिहे गर्छ, उसले स्वास्नीको कुरा सुन्छ कि बाउआमाको सजिलो हेर्छ ? त्यसमाथि मै पनि चाहन्नँ आफ्नो नाउँ बिगारेर उनको पछि लाग्न । मेरो दाइ भा’ भए र उसले मेरा बूढा आमाबाउलाई एक्लै छोडी भाउजू टिपेर हिँडे कति नजाती लाग्थ्यो होला मलाई ? तिमी नै भन न; तिमी र तिम्रो दाइ नङ र मासुजस्तै छौ; तिनै दाइले बिहे ग¥या तीन महिनामा तिमीहरूलाई यहीँ छोडेर स्वास्नी लिएर शहर पसे के गछ्र्यौ ?”

“चिर्पट लिएर लघार्छु बजियालाई,” उनले मुख बिगार्दै भनिन् ।

म हाँसें ।

“हो, उहाँका भाइबहिनीले पनि मेरो बारेमा त्यस्तै नसोचून् भन्ने चाहन्छु म । अब त बुझ्यौ ?” मैले समाइरहेको उनको हात हल्लाएँ ।

“मितिनी, यत्रो वर्ष तिम्रो संगत गरेर पनि म किन तिमीजस्तो हुन सकिनँ नि !” उनले भावुक स्वरमा भनिन्, “कति जाती हुन्थ्यो सबै स्वास्नीमान्छेले यस्तै सोच्न सके ! म भगवान्सँग प्रार्थना गर्छु— तिम्रो लोग्नेलाई तिम्रो साँचो कदर होस् । तर ... ,” उनी अगाडि बोल्न हिचकिचाइन् ।

“तर के ?”

“भैगो, छोड ।”

“भन न मोरी, अब त मेरो पेट बटारिइर’न्छ तिमीले नभनेसम्म । तिमी यसरी कुरा चपाउने मान्छे नै होइनौ ! भनेपछि, कुरा पक्कै गहकिलो हुनुपर्छ । भन न,” मैले जिद्दी गरें ।

“हुन त म तिमीसँग यही कुरा भन्छु भनेर आ’ थें, सबैभन्दा पहिले । तर, तिम्रो कुरा सुनेपछि भन्न मन लागेन,” उनी एकैछिन रोकिइन् अनि हिच्किचाउँदै बोलिन्, “हुन त सुन्या, सुना’को कुरो, तर पनि सुनिराख ।” उनले मेरो हात फेरि समाइन् र सानो स्वरमा भनिन्, “तिम्रो लोग्ने पहिले जुन घरमा भाडामा बस्थे, त्यो घरकी साहुनीको लोग्ने धेरै वर्षदेखि कोरियामा छ रे ! यता स्वास्नी एक्लै । तिम्रो लोग्ने वर्षौंदेखि उसैसँग लाग्या थे रे ... !”

“नचाहिँदो कुरा !” मैले आक्रोशपूर्वक उनको कुरा काटें ।

“मेरो कुरा त सकिन देऊ, मोरी !” उनी फेरि बोलिन्, “तिम्रो लोग्ने त उसैलाई लिएर हिँड्न ठिक्क प¥या थे रे ! तर आठ–दश महिनाअघि साहुनीको लोग्ने अपर्झट आ’र उसलाई साथमै लिएर कोरिया फर्कियो रे ! त्यसैले त तिम्रो लोग्ने यो उमेरसम्म बिहे नगरी बस्या भन्ने हल्ला छ यता त ! मीतबा र मीतआमाले पनि सुन्नुभा’ होला यो ... ।”

मेरो आक्रोश अझै मत्थर भएन, “भन्नेले त जे पनि भन्छन् ! त्यति भलादमी छन्, त्यत्रो ठूलो पोस्टमा काम गर्ने, त्यत्रो विधि पढेका, अब केही नपा’र अर्काकी स्वास्नीसँग लाग्छन् होला नि ! नचाहिने कुरा !”

“मसँग के झोक्किन्छ्यौ ? मैले त सुन्या कुरा तिमीलाई सुनाइदिएँ ।” उनले विनम्रतापूर्वक भनिन्, “अब छोड यो कुरा । तिमीले नपत्याएपछि अरुले पत्या’र के भो ? मितिनी, सबैभन्दा ठूलो कुरा तिम्रो विश्वास हो । त्यही नभत्कोस्, यति नै चाहन्छु म ।”

उनको कोमल स्वर सुनेपछि मलाई उनीसँग व्यर्थै झोक्किइछु भन्ने लाग्यो । सम्हालिन कोसिस गरें । तर, उनको भनाइले शूल बनेर छातीमा घोचिरह्यो ।

“अब भन, तीजको जात्रामा हाम्रो गाउँ जान्छ्यौ कि जान्नौ ?”

मितिनीको गाउँमा प्रसिद्ध शिव मन्दिर थियो, जहाँ तीज, शिवरात्रि, साउनमा जात्रा लाग्थ्यो । मानिसहरू कहाँ–कहाँबाट दर्शन गर्न र जात्राको रमाइलो हेर्न आउँथे । तर, म एकाध पटक आमासँग साउन महिनामा बाहेक अरू बेला त्यहाँ गएकी थिइनँ ।

“आमाबासँग सोध्नपर्छ,” मैले भनें ।

“अब पनि ? अब त बिहे भैगो तिम्रो । अब त आफूलाई मन लाग्या गर्न सक्छ्यौ तिमी !”

“कुरा मेरो मनको होइन, उहाँहरूको मनको हो । म यत्रो वर्ष त कहिल्यै कहीँ गइनँ; अब यो एक वर्ष नजानाले के फरक पर्छ ? टाढाको कुरो मितिनी, म आफैंलाई पनि गैहाल्न ... ।”

“त्यही टाढाबाट तिमी आ’को सुनेर म सास नफेरी भेट्न आएँ । आइरा’ छु सधैंभरि । तिमी भने ... ।”

“नरिसाऊ न त्यसै !” मैले उनलाई फकाउन खोजें, “तिम्रो कुरो बेग्लै ।”

“मेरो कुरो किन बेग्लै छ ?” उनी झन् रिसाइन्, “म छोरीमान्छे होइन ? मेरा आमाबाउ छैनन् ? मलाई अप्ठ्यारो हुन्न एक्लै ह्वाँदेखि याँसम्म आउन ? कि तिमी मात्रै छ्यौ एकजना यी सात गाउँभरिमै ?”

“हरे ! मैले भनें नि, बाबाआमासँग सोध्छु भनेर ! किन फ्वाँक्कैमा रगत उमालिरा’ ? अचम्मै छ्यौ तिमी पनि ! तिम्रो गाउँसम्म मोटर नपुग्दा दिनभरि हिँडेर आउँथ्यौ र पनि कहिल्यै गुनासो गरिनौ । अहिले चाहिँ कहाँकहाँको रिस पोख्दै छ्यौ !”

० ० ०

आमाबाबासँग मैले केही भन्नै परेन । मितिनीले दुई दिन धर्ना कसिन् । अनेक थरी गरेर दर खाईवरी व्रत बस्ने दिन नुहाइ, धुवाइ, सिँगारपटार गरेर मलाई लिएरै आफ्नो गाउँ फर्किन् ।

सधैं मलाई कहीँ पठाउन मन नगर्ने बाबाआमाले, बेमनले नै सही— मलाई पल्लो गाउँमा लाग्ने जात्रामा जान अनुमति दिनुभयो । म जीवनमा पहिलोपल्ट मितिनीको पछि लागेर उनको गाउँमा बास बस्ने गरी गएँ । हुन त मेरो मन खासै उत्साहित थिएन तर मितिनी खुशी थिइन् । एक त मितिनीले मेरा लोग्नेका बारे भनेका कुराले मन आन्दोलित थियो; अर्को— मलाई आफ्नो घरबाहेक अर्को कुनै ठाउँ सुविधाजनक लाग्थेन ।

आधा दिनमा मितिनीको गाउँ पुगेका हामी बाँकी आधा दिन नाचगानमै व्यस्त रह्यौं । साँझ मीतआमाले साथै राखेर पूजाआजा गराउनुभयो र केही खान चाहे खान भन्नुभयो । तर, मैले केही खान मन गरिनँ । यो मेरो पहिलो तीजको व्रत थियो, मेरा लोग्नेको नाउँको । म पूरै निष्ठाका साथ यसलाई पूरा गर्न चाहन्थें ।

केहीबेर सुस्ताएर, बाबाआमा र श्रीमान्सँग फोनमा कुरा गरेपछि म मितिनी र उनको परिवारसहित फेरि मन्दिरतिर लागें, नाचगान हेर्न ।

रातको १० बजेतिर मलाई अचानक टाउको दुखेर वाकवाक लाग्न थाल्यो । शायद भोकले गर्दा कमजोरी अनुभव हुन थाल्यो । उभिन कठिन लाग्न थालेपछि मैले अलि पर उभिएको एउटा युवकसँग आँखाले दोहोरी खेलिरहेकी मितिनीलाई कोट्ट्याएँ । उनको पाखुरा समाउँदै मैले भनें, “सारै गाह्रो भयो । हिँड, घर जाऊँ ।”

उनले अविश्वासपूर्वक मलाई हेर्दै भनिन्, “अहिल्यै ? बल्ल त रमाइलो शुरु भा’ छ !”

“मलाई थाहा छ, तिम्रो रमाइलो बल्ल शुरु भा’ छ,” मैले अलि पर उभिएर हामीतिरै हेरिरहेको त्यो युवकतिर इशारा गर्दै भनें, “तर मलाई एकदमै गाह्रो भयो । उभिनै सक्दिनँ जस्तो भैसक्यो ।”

बोल्दाबोल्दै म लड्खडाएँ । उनले झटपट मलाई सम्हालिन् र आत्तिँदै भनिन्, “म आमाबुवालाई खोज्छु । दाइ पनि यतै ... ।”

मैले बीचैमा भनें, “भो, तिमी कसैलाई केही नभन । केही नखा’कोले गाह्रो भा’ हो मलाई । आराम गरेपछि ठीक हुन्छ । तिमी मलाई घर पु¥याइदेऊ । म सुत्छु ।”

“पक्का हो ?”

“पक्का ! तर, हामी दुई जनामात्रै जान सक्छौं के, यो राति ?” मैले भनें ।

“बाटोमा मन्दिर आउनेजानेको ताँती छ; सकिहालिन्छ नि !”

मितिनी मेरो हात समातेर अघि बढिन् ।

“सरी मितिनी ! मैले तिम्रो रमाइलो बिथोलिदिएँ,” मैले बिस्तारै भनें ।

“तिमी चिन्ता नगर; मेरो रमाइलो मेरो पछि लागेकै छ ।”

उनले पछाडि इशारा गरिन् । त्यही युवक हाम्रो पछिपछि आउँदै रहेछ । म केही डराएँ ।

“नडराऊ न, मोरी ! म चिन्छु क्या त्यसलाई । कोरियाबाट छुट्टीमा आ’ हो । कलेजमा क्या त हाम्रो सिनियर थियो नि ? मलाई कलेजदेखि नै मन पराउँथ्यो । बाहुन हो तिमीहरू जस्तै; त्यसैले घरकाले मानेनन् हामी क्षेत्रीको घरमा बिहे गर्न त्यति बेला । तर अहिले त कमाउने भा’ छ; भगा’र लैजाने आँट गरिहाल्छ कि ? त्यसैले भाउ दि’रा मैले पनि !”

उनी हाँसिन् । मैले आश्चर्यपूर्वक उनलाई हेर्दै भनें, “तिमी भाग्छ्यौ, उसले भगायो भने ?”

“किन नभाग्नू ? मन त मलाई पनि पर्छ ऊ । अब आमाबाउले खोजेको चिन्नु–नजान्नुको मान्छेसँग बिहे गर्नुभन्दा त यसैसँग भाग्न जाती, होइन र ?” उनले उल्टो मैलाई सोधिन् ।

उनको प्रश्नको उत्तर मसँग थिएन । त्यसैले चुपै रहें । घर पुगेपछि मैले पछाडि फर्केर हेरें । त्यो युवक केही परै अडियो । मितिनीले ढोका खोलिन् । हामी भित्र पस्यौं । कोठामा पसेपछि उनले सोधिन्, “तिमी केही खान्छ्यौ ?”

“अहँ, सुत्छु ।”

“केही खाइहाले पनि तिम्रो लोग्नेले देख्दैनन् क्यारे !” उनी हाँसिन् ।

“उहाँलाई देखाउन नखा’ होइन मैले,” मैले नराम्रो मान्दै भनें, “उहाँको नाममा भोकै बस्नु मेरो आफ्नै चाहना हो । म अबको सारा जीवन यो एकदिन उहाँको नाममा भोकै बस्छु । वर्षमा एकदिन उहाँको नाममा निराहार रहेर उहाँसँग जोडिन चाहन्छु । मनले उहाँकी हुन चाहन्छु । र, परापूर्वकालदेखि चलेर आ’ परम्परालाई सम्मान गर्न चाहन्छु । यो अन्धविश्वास होइन, मितिनी ! यो माया हो । समर्पण हो । साथमा नरहेर पनि साथै हुनु हो । यो भोक, यो तिर्खाले मलाई कमसे कम यो एकदिनको हरेक पलमा उहाँसँग, उहाँको यादसँग जोडिराख्छ ।” बोल्दाबोल्दै मेरा आँखामा आँसु रसायो । मैले मुन्टो अन्तै फर्काएँ ।

“सरी !” मितिनीले मलाई अँगालिन् । मैले आँसु पुछें ।

“अब म जाऊँ ?” उनले सोधिन् ।

“तिमी फेरि जात्रामै फर्कन्छ्यौ ?”

“अनि ? तिमी मलाई आफूलाई कुरेर बस्न त भन्दिनौ ?” उनले भनिन्, “घरमा कोही छैन । यसै पनि तिमी त सुतिहाल्छ्यौ । ऊ मलाई कुरेर बस्या छ त्यहाँ । म जाऊँ ? म ढोका राम्ररी लगा’र जान्छु; तिमी ढुक्कसँग सुत ।”

त्यसपछि मैले उनलाई चाहेरै पनि रोक्न सकिनँ । उनी निस्केर गएपछि मेरो मनमा निकै बेर नाना थरी कुरा खेले । कुन्नि कति बेला निदाइछु, पत्तै पाइनँ ।

० ० ० 

आफूमाथि कोही खप्टिएको चाल पाएपछि राति एक्कासि म कहालिएँ । तर, मन्दिरको जात्रामा बजेका मादल, खैंजडी र घन्किएका गीतका कारण मेरो चिच्याहट त्यति टाढा पुग्न पाएन । लामो संघर्ष गरे पनि मैले भोक र तिर्खाले लखतरान शरीरलाई गिजोलिनबाट बचाउन सकिनँ । शायद त्यसैको अफशोच र वेदनाले म बेहोश भएँ । लाशजस्तै लडिरहेको शरीरसँग जाँडले मातेर संसार बिर्सिएका मीतदाइले मनलाग्दी गरिरहे ।

भोलिपल्ट झिसमिसेमै, कसैलाई केही नभनी म मितिनीको घरबाट बिस्तारै निस्किएँ । बाटाभरि डाँको छोडेर रोएँ । आत्महत्याको ख्याल पनि बारम्बार आयो । तर, हिम्मत गर्न सकिनँ । अस्तव्यस्त हालतमा सुन्निएका आँखा र अनुहारकी मलाई बेला न कुबेला मलाई घरमा देखेर आमाको सातोपुत्लो उड्यो । उहाँलाई अँगालेर मैले बेलीविस्तार लगाएँ । उहाँ मप्रति सहानुभूति देखाउनुभन्दा मैलाई दोषी ठह¥याएर आफू पनि रुन थाल्नुभयो । मेरो दुखिरहेको मन झन् बेस्सरी दुख्यो । एउटा नशाको दासले मेरो शरीरलाई जबर्जस्ती भोग्यो, यसमा मेरो के दोष ? तर, मेरी आमाले निकै बेर मैलाई धारेहात लगाइरहनुभयो र बाबा घर नआइपुग्दै, केवल खबर छोडेर मलाई लिएर आफ्नो माइततिर हिँड्नुभयो ।

म त प्रहरी चौकी गएर मीतदाइका विरुद्ध रिपोर्ट लेखाउन चाहन्थें । तर, आमाले मलाई आफ्नो इज्जतको, जोरीपारीको, नाताकुटुम्बको, सारा संसारको डर देखाएर रोक्नुभयो । कहिल्यै त्यसरी माइत नजाने मेरी आमा मलाई लिएर १२ दिन माइत बस्नुभयो । बाबा लिन आउनुभएपछि हामी घर फर्कियौं । त्यही दिन आमाले भ्याई–नभ्याई सेल, अनरसा र फिनी बनाउनुभयो । तिनलाई आफ्नो माइतीले दिएका कोसेलीपात र उतैबाट ल्याएको किनमेलमा मिसाएर मेरा लागि पोको पारिदिनुभयो र भोलिपल्ट झिसमिसेमै हामी बाउ–छोरीलाई घरबाट बिदा गर्नुभयो ।

म सग्लो देखिने शरीर र धुजाधुजा मन लिएर श्रीमान्को घर पुगें । शुरुशुरुमा मनले जति विद्रोह गरे पनि यो अब डराएर सातो गएको बच्चाजस्तो भयो । पहिले प्रहरीमा रिपोर्ट गर्न जान जुर्मुराएको हिम्मत अब दुनियाँले थाहा पाएपछि हुने बेइज्जती, श्रीमान् र घरपरिवारले थाहा पाएपछि हुने दुर्गति अनि छिःछिः, दूरदूरको कल्पना गरेर त्राहिमाम् भयो । हो त, आमाले भनेको नमानी प्रहरीमा उजुरी हालेको भए शायद प्रहरीले मीतदाइलाई समातेर केही महिना, केही वर्ष थुन्थ्यो होला तर मेरो के हुन्थ्यो ? के यो घर, जहाँ मलाई आज मेरा बाबाले ल्याएर जिम्मा लगाउनुभयो, मेरो रहन्थ्यो ? मेरा श्रीमान् मेरै रहन्थे ? मेरा सारा इष्टमित्र, जो आज मेरो तारिफ गरेर थाक्दैनन्, उनीहरूका आँखामा मेरो उही इज्जत र मान रहन्थ्यो ? जति सोच्यो, त्यति डर लाग्न थाल्यो ।

कुनै पल आफ्नै चिच्याहटले कान बज्न छोडेनन् । हरेक रात अँध्यारोमा ती अदृश्य हातहरू शरीरमा रङ्मगाउन छोडेनन् । शरीर जति माडेर नुहाए पनि आफूलाई फोहोर र दुर्गन्धित पाउन छोडिनँ । रात–बिरात तर्सिएर उठ्थें र बिनाकारण रुन थाल्थें ।

त्यही हप्ता श्रीमान् काठमाडौंबाट फर्किए । म झन् डराएँ । कतै उनले थाहा पाउने त होइनन् यो शरीर अरू कसैले भोगेको कुरा ? मैले भगवान् भाकिरहें; आफूले गर्दै नगरेको अपराधका लागि क्षमा मागिरहें ।

मेरो उदास, शिथिल अनुहार देखेर उनले कैयौं पटक त्यसको कारण सोधे । तर, म के कारण बताउन सक्थें र ? सुक्सुकाएरै टारिरहें । उनलाई लाग्यो होला— म गाउँमा रमाउन सकिनँ । त्यसैले मलाई साथै शहर लैजाने कुरा पनि गरे, घुमाउरो पाराले । म झनै अपराधबोधले भरिएँ ।

६ हप्तापछि मलाई वाकवाकी शुरु भयो । सासूले म गर्भवती भएको घोषणा गरिदिइन् । यो सुनेर मेरा श्रीमान् गदगद हुँदै फेरि घर आए । तर, म खुशी हुन सकिनँ । टाउकामाथि झुन्डिएको बलात्कारको तरवारले मलाई फेरि कहिल्यै खुशी, सुखी हुन दिएन ।

९ महिना पुगेपछि छोरो जन्मियो । सारा घर–माइती दुवैतिर उल्लास छायो । म फेरि पनि खुशी हुन सकिनँ । मेरो मानसपटलबाट तीजको त्यो रात मेटिन सकेन । त्यस रात मेरो अन्तरात्माको त्यो घाउ बनिदिएको थियो, जसबाट निरन्तर पीप बगिरहन्थ्यो र मेरो सम्पूर्ण अस्तित्वलाई दुर्गन्धित बनाइरहन्थ्यो ।

त्यो घटनापछि दोहो¥याएर म माइत गइनँ । आमा पनि सकभर मलाई त्यता आउनै नपर्ने स्थिति सिर्जना गरिदिनुहुन्थ्यो । बरु बाबा मलाई भेट्न आइरहनुहुन्थ्यो । मितिनीले चाहिँ मसँग सम्पर्क गर्न खुब कोसिस गरिन् तर मैले उनलाई सफल हुन दिइनँ । त्यसपछि उनी पनि मन परेको केटासँग बिहे गरेर काठमाडौंतिरै भासिइन् र अचानक सम्पर्कविहीन भइन्, जुन मेरै हकमा थियो ।

० ० ०

२० वर्ष बिते ।

सानैदेखि बाउसँग काठमाडौंमै बसेर पढेको मेरो लायक छोरो इन्जिनियरिङ पढ्ने तरखरमा लाग्यो । यी दुई दशकमा मैले धेरै कुरा गरें । जस्तोसुकै स्थितिमा पनि अडिग भएर घरपरिवारका साथ उभिएँ । सासूससुराको स्याहारसुसारमा कुनै कमी हुन दिइनँ । देवरहरूको शिक्षादीक्षा सकेर बिहेदानको जिम्मेवारी कुनै अभिभावकले झैं पूरा गरें । नन्दहरूका जायज–नाजायज सबै खाले इच्छा पूरा गरिदिएर उनीहरूको मन जित्न खोजें । गाउँटोलमा एउटी आदर्श आइमाई र बुहारीमा गनिएँ । सबै मुक्तकण्ठले मेरो प्रशंसा गर्थे ।

आमाबाबा फेरि धन्य हुनुभयो, मेरो छवि गरिमामय बनेको देखेर । तर, मैले श्रीमान् र छोरोलाई मनले माया गर्न सकिनँ । जतिजति मेरो तारिफ गरिन्थ्यो, त्यतित्यति मभित्रको डर बाक्लिन्थ्यो । म यस्ती मनोरोगी भएकी थिएँ, जो कसैलाई माया गर्न, अपनाउन डराउँथें, त्यस रातको वास्तविकता खुलेपछि मबाट यी सबै कुरा खोसिने त होइनन् भनेर ।

कसैले आफ्नो विकृत मनोवृत्ति वा क्षणिक आवेगमा गरेको मनमानीको सजाय सारा जीवन भोग्नु कति कष्टकर हुन्छ, यसको अनुमान मात्र गर्न सके शायद पुरुषहरू बलात्कार गर्न हिच्किचाउने थिए । बलात्कार गर्नेहरूलाई के थाहा, एकपल्ट भोगेको बलात्कारको पीडा जीवनभर झेलिन्छ भनेर ! हरेक रात आँखा बन्द गरेपछि त्यही सन्त्रासबाट गुज्रिनुपर्छ स्वास्नीमान्छेले । आफ्नै छायासँग डराउँदै सारा जीवन बिताउनुभन्दा हजार पटक मर्न सजिलो हुन्छ । तर, यो कसैले बुझ्दैन ! बुझाउनै सकिन्न कसैलाई । मुख खोल्नु पनि सजाय, चुप रहनु पनि सजाय ! यस्तो मार बनिदिन्छ त्यो पल, जसले न च्वाट्ट छिनाएर मारिदिन्छ न बाँच्न दिन्छ ! आधा सेरिएको जनावरझैं बनाएर छोडिदिन्छ, जिन्दगीभरका लागि ।


श्रीमान्को नजरमा म सधैं विशेष थिएँ । उनी मेरो तारिफ गरेर थाक्थेनन् । आफ्नो सफलताको सारा श्रेय मैलाई दिन्थे । चिनेजानेका हरेकसँग एउटै कुरा भन्ने गर्थे, “माया मेरो जिन्दगीमा नआ’की भए म आज यहाँ हुन्थिनँ । उनी मेरो जिन्दगीको यस्तो यौटा पिलर, सपोर्ट हुन्, जसमा मेरो सारा परिवार र मेरो जिन्दगी अडिएको छ ।”

यस्तै भावातिरेक क्षणहरूमा उनले आफू र ती घरबेटी साहुनीसँगको ८–१० वर्ष लामो सम्बन्ध स्वीकारे र माफी पनि मागे । तर, मैले गुनासोसम्म गर्न सकिनँ । अपराधबोधले मेरो मुख टालिदियो । लाग्यो— उनको त्यो सम्बन्ध क्षमायोग्य छ किनकि उनले त्यसलाई ढिलै सही, स्वीकार्न सके; माफी माग्न सके । मैले किन सकिनँ प्रभो, निरपराध हुँदाहुँदै अपराधबोधको भारीले थिचिएर मर्नै लाग्दा पनि यो भारी बिसाउन ? मनले भन्यो— भनिसकेपछिको सजाय झनै भयावह हुनेछ ।

बीस वर्ष कुनै कठोर सजाय जस्तो जीवन बाँचेर, सासूससुराको मृत्युपछि, म पनि श्रीमान् र छोरासँगै काठमाडौंमा बनाएको घरमा सरें । मसँगसँगै मेरो अपराधबोध र डरको भारी पनि बसाइँ स¥यो ।

कतै निस्कन नमान्ने मलाई श्रीमान्ले एकदिन जबर्जस्ती पशुपति लगे । त्यहीँ, मैले जोगिन, तर्किन लाख कोसिस गर्दागर्दै पनि अतीतसँग जम्काभेट भयो । मेरी मितिनी सामुन्ने थिइन् ।

मैले देखेको नदेख्यै गर्न कोसिस गरें र मलाई उनले पनि त्यस्तै गर्न खोजिन् भन्ने लाग्यो । तर, बिहेमा त्यति धेरै झ्याम्मिएकी, जिस्किएकी, जुत्ता लुकाएर पैसाका लागि मोलतोल गरेर हैरान पारेकी मेरी मितिनी मेरा श्रीमान्को मस्तिष्कबाट पुछिएकी थिइनन् । उनैले बोलाए मितिनीलाई । मितिनी अप्ठ्यारो मान्दै मुस्कुराइन् । मेरो हंसले ठाउँ छोड्यो । त्यसपछि श्रीमान्ले मितिनीलाई आफ्नै गाडीमा जबर्जस्ती घर ल्याए ।

केहीबेर हालखबर साटासाट भयो । मेरा श्रीमान्ले मेरो तारिफमा आकाश–पाताल जोडे । छोरो कति लायक र संस्कारी छ, त्यो सुनाए ।

मितिनीले पनि आफ्ना छोराछोरीका बारेमा सुनाइन् । लोग्ने र उनको फैलँदो कारोबारका बारेमा बेलीविस्तार लगाइन् । चियाको एक राउन्ड सकिएपछि मेरा श्रीमान् क्षमायाचना गर्दै उठे र छोरालाई क्याम्पसबाट लिएर कतै पुग्नुपर्ने बाध्यता बताउँदै निस्किए ।

हामी निकै बेर केही बोल्न सकेनौं । निसासिने मौनतामा धेरै बेर छटपटाएपछि मितिनीले अवरुद्ध कण्ठले भनिन्, “मलाई माफ गर, मितिनी !”

मैले पुलुक्क उनीतिर हेरें । उनको अनुहारमा त्यही भाव थियो, जुन ममा यत्रो वर्षदेखि थियो । अपराधबोध । मैले मन थाम्न सकिनँ । म उनलाई अँगालेर डाँको छोडेर रोएँ । त्यो घटनापछि म आमासामु मात्रै यसरी रोएकी थिएँ । त्यसपछि एक्लै । कसैका सामु रुन पनि डर लाग्थ्यो । कारण सोधियो भने ?

“डाका आफू त अल्पायुमै गयोगयो, तिमीमाथि यति ठूलो बज्रपात गरेर गयो ! मलाई माफ गर मितिनी, तिम्रो त्यो दुर्गतिको जिम्मेवार म पनि हुँ । मैले तिमीलाई त्यसरी एक्लै छोडेर जानै हुन्थेन ।” मितिनी मसँगसँगै रोइन् ।

यत्रो वर्ष कसैसामु झर्न डराएको मेरो आँसु सहानुभूतिका दुई शब्द पाएर झनै वेगले वर्षियो । रुँदारुँदा मेरो हिक्का छुट्यो । मितिनीले मलाई अँगालोमा बेरेर सविस्तार वर्णन गरिरहिन्, मैले गाउँ छोडेदेखिको कहानी ।

० ० ०

मैले भेट्न आनाकानी गरेको देखेर छक्क परेकी मितिनीलाई आफ्ना दाइको व्यवहार पनि अनौठो लाग्न थालेछ । उनले जाँड झन् बढी धोक्न थालेछन् र मितिनीसँग तर्कन थालेछन् । एकदिन उनले अगाडि राखेर थर्काएपछि दाइले जाँडको झोकमा आफूबाट गल्ती भएको स्वीकार्दै मसँग माफी मागिदिन भनेछन् । यो सुनेपछि उनले दाइको यति बेइज्जत गरिछन्, भोलिपल्ट बिहान मीतदाइ घरपछाडिको बकाइनोको रुखमा झुन्डिएको भेटिएछन् । त्यसपछि मितिनीले मसँग सम्पर्क गर्नै हिम्मत गर्न सकिनछिन् ।

मलाई मीतदाइको मृत्युको कुरा थाहा थिएन । आक्कलझुक्कल गाउँ पुग्दा पनि मैले कसैबाट यो कुरा सुनिनँ । अहिले थाहा पाएर किनकिन मेरो मन अलि हल्का भयो । मैले मितिनीको अँगालोबाट टाउको उठाएँ ।

अचानक ममाथि चट्याङ खसेझैं भयो । ढोकामा मेरा श्रीमान् र छोरा उभिएका थिए ! मेरो अनुहारको भाव देखेर मितिनीले पनि ढोकातिर हेरिन् ।

“आफूमा खोट रै’छ र पो यो गुणी र जातीको मुकुन्डो ओढेकी रै’छ !” मेरा श्रीमान्को स्वरमा विष मिसिएको थियो ।

म एकैछिन जति कहालिए पनि उनको यस्तो उद्घोष सुनेछि शान्त भएँ । लाग्यो— यत्रो वर्ष मभित्र कहालिएर बसेको डर अचानक बाहिर निस्कियो । २० वर्षसम्म मैले जुन लोग्नेको मुखमा राम्ररी हेर्न सकेकी थिइनँ, उनैसँग आँखा जुधाउने हिम्मत पलायो । एकछिनअघिसम्म आफैंले भगवान्को दर्जा दिएका श्रीमान्मा यति बेला कुरूपता देखें मैले । मितिनी रुँदैरुँदै मेरा श्रीमान्लाई सम्झाउने, मेरो कुनै गल्ती नभएको बुझाउने प्रयत्न गर्न थालिन् । तर, श्रीमान्का कान बन्दै रहे ।

“मलाई अरु केही थाहा छैन । यसको मनमा खोट नभए यसले उत्तिखेरै मलाई किन केही भनिन ?” सधैं सभ्य, सौम्य भाषा बोल्ने मृदुभाषी मेरा श्रीमान् तँतँ–मममा उत्रिए मेरी मितिनीसँग पनि ।

मैले श्रीमान्का आँखैमा हेर्दै सोधें, “उत्तिखेरै भनेको भए मलाई उत्तिकै इज्जतका साथ आफ्नी स्वास्नीको दर्जा दिनुहुन्थ्यो, जति एक छिनअघिसम्म दिनुहुन्थ्यो ?”

“कमसे कम तँजस्ती बिटुलिएकी आइमाईलाई आफ्नो घरपरिवारको अभिभारा सुम्पिन्नथें । अर्काले गिजोलेको शरीरलाई मेरो भनेर गर्व गर्थिनँ । घोक्र्याएर निकाल्थें घरबाट र अहिलेसम्म बिर्सिसक्थें तेरो कालो कर्तुत ।”

श्रीमान्को स्वरमा मप्रति जुन अपमान थियो, त्यो सुनेपछि मलाई लाग्यो— मबाट धेरै ठूलो गल्ती भएको रहेछ, उनलाई भगवान्को दर्जा दिएर । उनी त साधारण मान्छे पनि थिएनन् । भएको भए साथमा भएको छोराको सम्म त ख्याल गर्थे, एउटी आमाको त्यसरी अपमान गर्नुअघि !

“अब यो सबै सुनिसकेपछि तँसँग कुनै सम्बन्ध राख्ने त कुरै आउँदैन । त्यसैले चाहेको जेजति पोको पार् र अहिल्यै निस्की यहाँबाट । मलाई तेरो उपस्थितिले दिगमिग लागिरा’ छ,” उनले मेरो अनुहारमा घृणायुक्त दृष्टि फ्याँक्दै भने ।

मैले छोरोतिर हेरें । ऊ किंकर्तव्यविमूढ थियो ।

“यसलाई तँ चाहिन्छ भने यो पनि तँसँगै निस्किए हुन्छ । मलाई यो पनि चाहिन्न ।”

छोराले पालैपालो हामी दुवैलाई हे¥यो अनि लुसुक्क बाउतिर स¥यो । मेरा ओठमा व्यंग्यात्मक मुस्कान छरियो । मैले बिस्तारै भनें, “बस् ? मेरो यत्रो वर्षको माया, निष्ठा, समर्पण र साथलाई यौटा यस्तो कुराले धूलोमा मिलाइदियो, जसमा म सहभागी पनि थिइनँ ?”

“थि’स् कि थि’नस् के थाहा ?” श्रीमान्को स्वरमा उपेक्षासिवाय केही थिएन ।

अब निश्चित भइसकेको थियो— बालुवा निचोरेर प्यास मेटिनेवाला छैन । मैले मितिनीलाई समाएर जबर्जस्ती उठाउँदै श्रीमान्लाई भनें, “मलाई केही चाहिन्न ! तपाईं ढुक्क हुनुस् । बरु मेरो एउटा प्रश्नको इमानदारीपूर्वक उत्तर दिनुस् ।”

श्रीमान्को दृष्टि मतिर सोझियो ।

“तपाईंले स्वेच्छाले लगातार ८–१० वर्ष एउटी विवाहित महिलासँग सम्बन्ध राख्नुभयो, त्यो सही थियो तर जाँडको नशामा होश हराएको नराधमले मैले विरोध गर्दागर्दै, मेरो इच्छाविपरीत मलाई ८–१० मिनेट गिजोल्यो त गलत कसरी भयो ?”

“म लोग्नेमान्छे । तँ मसँग बराबरी गर्छेस् ? फेरि कसलाई थाहा छ त्यो मिलोमतो थियो कि जबर्जस्ती ? को साक्षी छ ? पोल खुलेपछि जे भन्दा पनि भयो । त्यसमाथि यो त एउटा झुट हो तेरो, २० वर्ष पुरानो । म कुन आधारले विश्वास गरूँ तेरो जीवनमा यस्ता अरू कैयौं झुट छैनन् भनेर ?” जवाफ दिन श्रीमान्लाई एक मिनेट पनि लागेन ।

यो त एउटा पुरुषको जवाफ थियो, जसका लागि मैले आफ्नो अस्तित्व मेटाइदिएँ, उसलाई गुमाउने त्रासले कैयौंकैयौं पटक मरिरहें, तर अब मैले यस्ता कैयौं जवाफको सामना गर्नुपर्नेछ, प्रश्न गर्न हिँडें भने, सफाइ दिने कोसिसमात्रै गरें भने । शायद त्यसैले बलात्कारको शिकार हुनेहरू प्रश्न उठाउन डराउँछन् । जवाफ झेल्नभन्दा आत्महत्या गर्न रुचाउँछन् या मजस्तै मनोरोगी बनेर पलपल मर्दै बाँच्छन् ।

मैले मितिनीलाई आफूतिर तानें । उनी आँखामा आँसु र याचना बोकेर मेरा श्रीमान्तिर हेर्दै मसँगै तानिइन् । हामी छेउ पुगेपछि श्रीमान्को मुन्टो अर्कारित फर्कियो । उनको देखादेखी छोराले पनि मुन्टो फर्कायो । मैले संघार काटें । फर्केर हेरें— छोरो मैतिर हेर्दै रहेछ । बितेका २० वर्षमा मैले उसको अनुहारमा मीतदाइ खोजिरहें । तर, यति बेला मेरो मनले यकिनका साथ भन्यो— ऊ त ठ्याक्कै मेरा श्रीमान् जस्तै देखिन्छ ।

(भर्खरै सांग्रिला बुक्सबाट प्रकाशित शर्माको कथासंग्रह ‘एकादेशमा’बाट साभार)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC