मेरा वरिपरीका नारीवाद

चेतना शर्मा

मेरा वरिपरीका नारीवाद

नारीवादले समाजमा महिला समानता र सशक्तीकरणका लागि  बहुआयामिक ढंगबाट पैरवी गर्छ । त्यसैले नरीवाद व्यापक र गतिशील  अवधारणा मानिएको हो । समयको अन्तरालसँगै नारीवादका विभिन्न आयाम, धार  र आन्दोलन सामुन्ने आइरहे ।  महिलाका जीवनका सबै कोणलाई समाज र राज्यका सबै संयन्त्रले सम्बोधन गरी महिला र पुरुषबीचको सबै विभेद मेटाउनुपर्छ भन्ने ध्येय नारीवादले बोकेर हिँडछ ।  नारीवाद प्रत्यक्षरूपमा महिलाका पीडाको पहिचान गरी त्यसको  निवारण गर्नेतर्फ पनि  सरोकार राख्छ र समाजमा विद्यमान लैंगिक विभेदमा पितृसत्तालाई मुख्य कारक मान्छ । महिलाका जीवनका कतिपय सन्दर्भमा नारीवादको झल्को  कुनै न कुनैरूपमा  आफ्ना वरपर सामान्य जीवन बाँचिरहेका  महिलामा भेटेको अनुभव हुन्छ ।  यस्ता नारीले नारीवाद के हो भन्ने बुझेका त नहोलान्  तर व्यवहारका माध्यमबाट महिला हुनुको सार्थकता र महिला सशक्तीकरणको आनन्द लिइरहेका छन् ।  यसरी नारीवादलाई थोरबहुत बुझ्दै गर्दा यसका कतिपय झिल्का वरपरका महिलामा पनि भएको अनुभव गर्न सकिन्छ । 

एकजना मेरी फुपु नाता पर्ने छिन्  । उनका पतिले  अर्की महिलालाई विवाह गरेर ल्याए । पहिलेकी भन्दा दोस्री पत्नीलाई राम्ररी र सुखसँग पनि राखे । नितान्त एक्ली अक्षर पनि नचिन्ने ती फुपुले ४ जना सन्तानको जिम्मेवारी गाई र भैसीको दुध बेचेर पूरा गरिन् । अहिले तिनलाई सक्षम बनाउने क्रममा छिन् । लोग्नेको हिंसाबाट आजित बनेकी तिनमा रमाउने कला बडा बेजोडको देख्छु । आफनो विवाह सफल नभए पनि  चिनेजानेका विवाहमा गएर रमाउनमा सबैभन्दा अग्र पंक्तिमा हुन्छिन् र उत्सवको भरपूर आनन्द लिन्छिन् । कहिले काहीँ म मजाक गरेर सोध्छु – तपाईँ कसरी  यति मस्त रहनु हुन्छ ? जबाफमा भन्ने गर्छिन् – मान्छेको स्वभाव बदलिन नसक्ने रहेछ । ऊ पनि बदलिँदैन भने  म पनि परिवर्तन हुन्न । एउटै जीवनमा कति त्यसको दुखेसो पोख्ने र दुखी हने ? त्यसैले मैले जे जानेको छु त्यही गर्छु र जीवन जिउँछु । मैले तिनमा एकप्रकारको नारीवाद नै देखे ।  

मेरी एकजना माइजु नाता पर्ने छिन् । क्यान्सर रोग लागेर केही वर्षअघि मामा ३ जना बच्चालाई माइजुको जिम्मा छाडेर बिते । जसोतसो जीवनका कठोर चरणहरुलाई पार गर्दे ३ वटै बच्चालाई आफनो खुट्टामा उभिन सक्षम पनि बनाइन् । माइती पक्षको मद्दतलाई स्वाभिमानी तर कसैको चित्त नदुख्ने गरी अस्वीकार गर्थिन् । आफू स्कुलमा शिक्षिकाका रूपमा कार्यरत थिइन् । अहिले आफनो क्षेत्रमा सक्षम र बौद्धिक महिलाका रुपमा चिनिन्छिन् । जतिसुकै कमजोर धरातल भए पनि उनले आफना पाइला मजबुतीका साथ चालेको प्रत्यक्ष देखेँ ।  मैले उनीभित्र पनि गजबको नारीवाद देखेको छु ।

एक जनाा दिदीको  ठेलामा पानी पुरी  खान जान्छु । तिनलाई सँधै एक्लै र भ्याई नभ्याई काम  गरेको देख्छु । धेरै पटक जाँदा ती दिदीसँग एकप्रकारको आत्मीय सम्बन्ध बनेको छ । एकदिन सोधेँ – दिदी तपार्इँका पति कता हुनुहुन्छ ? तपाईँ ससाना बच्चाहरुसँग कसरी भ्याउनुहुन्छ यो व्यापार ? उनको उत्तर थियो जतिबेला पनि रक्सी खाइरहने, जिम्मेवारी पूरा गर्न नखोज्ने भएपछि उनले मै काम गर्छु तिमी जति सक्छौ घुम र थप प्रत्येक महिना रक्सी खानलाई पैसा पनि छुटयाई दिने गरेकी बताइन् । धेरै थकित हुन्छु घर पसल र बच्चाहरुको जिम्मेवारी पूरा गर्दा तर पनि मानसिक यातना निकै कम छ । किनभने पहिले कुटपिट गर्ने लोग्ने उनको क्षमताबाट डराउँछ रे । कतै पैसापानी बन्द होला भनेर खासै केही बोल्दैन रे । ती महिलाको काम गराई र निर्णय क्षमतामा  पनि मैले एक प्रकारको नारीवाद देखेँ ।  

यी प्रतिनिधि नारी पात्रहरुमा म जे जस्तो अवस्था छ त्यसैमा सुधार गरी महिलाले अगाडि बढनुपर्छ भन्ने कुरामा जोड दिने उदार नारीवाद (लिबरल फेमिनिज्म) को झल्को पाउँछु । समाजका महिलाप्रतिका मान्यतालार्ई चुनौती दिएर पुरुषबाट कुनै अपेक्षा नराखी परम्परागत संरचनाहरुलाई थाती राखेर पुरुषले गरेका हिंसाविरुद्ध आफ्नै तरिकाले चुनौती दिदैँ आफ्नो स्तर उकास्न तम्सेका यस्ता कतिपय महिलामा पूर्ण नारीवाद (रेडिकल फेमिनिज्म)को छनक देख्छु । । आर्थिकरुपले सक्षम बनी “माकर््सवादी नारीवादलाई” पनि संगसंगै लगेजस्तो लाग्छ । पुरुषले दिएको पीडामा पनि महिलाको अस्तित्वमा गर्व गरेर  रमाउन सक्ने कलामा सांस्कृतिक नारीवाद (कल्चरल फेमिनिज्म)को झल्को देख्छु । 
आफूले भोगेका हिंसा बहोर्नु नपरोस् भनेर छोरीलाई सकेजति अवसर सृजना गर्ने केही महिलामा भएको चेतनालाई त सबै प्रकारको नारीवादले समेटेकै हुन्छ ।

यी केही प्रतिनिधि उदाहरण हुन् । वरिपरि यस्ता थुप्रै महिलाभित्रको नारीवाद देखिन्छ जसमा प्रमुखरुपमा  जिउने कला उद्घाटित भएका हुन्छन् । बाँच्नका लागि पुरुषरुपी खम्बा सँधै आवश्यक हुँदैन भन्ने तिनले दर्शाएका छन् । हुनत, उनीहरु जानीबुझीकन वा रोजेर नै त्यसो गरेका त होइनन् तर आइपरेका समस्यालाई आफूलाई सक्षम भएर समाधान गरेका छन् ।

तिनले पितृसत्तात्मक संरचनालाई नजानिदो पाराले सामना गरेका छन् । महिला हुनुको आनन्दको वैकल्पिक उपायको खोजी गरेर अगाडि बढेका देखिन्छन् । महिला अक्षम छैनन् भनेर यिनका आवाज त सुनिदैनन् । त्यो अवसर र शिक्षा पनि पाएनन् । तर, जेजस्तो परिस्थितिमा पनि आफूलाई सक्षम बनाएर बाँच्न भने छाडेका छैनन् । खुसीका लागि पुरुषको मुख पनि ताकेका छैनन् । 

प्रारब्ध वा भाग्यको पीडालाई शक्तिमा बदलेर लोग्नेको महिला भनेको भोग्ने वस्तुनै हुन् भन्ने सोचलाई नजानिदो पाराले चुनौती दिएर आफैँमा रम्ने र कर्तव्यलाई भाग्यसँगै डोर्याउँदै जान सिकेका छन् । निरक्षर, सीमान्तकृत भएर पनि लोग्नेभन्दा बढी जिम्मेवार भएर परिवारको जिम्मेवारी निर्वाह गरी पुरुषको अभाव ÷ प्रभाव सबैलाई एउटा आकार दिएर गन्तव्य पहिचान गरेका छन् । 

यस्ता अशिक्षित अन्य महिलाले नारी अधिकारका औपचारिक पक्षका बारेमा त के जानेका होलान् र ? तर, पढेलेखेकाले भन्दा तिनले बढी जीउने कला जानेका छन् जस्तो लाग्छ । भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको एउटा पुस्तक पढ्दै थिएँ । त्यसमा उनले महिलालाई प्रेरित गर्ने विभिन्न उदाहरण दिँदै महिलाले आफ्नो प्रगतिका लागि विशेष कुनै अवसरको पर्खाइमा बस्नु हुदैन बरु आफनो जुन अवस्था छ, जस्तो स्थानमा बसिएको छ त्यहीँबाट उठ्ने जमर्को गर्नुपर्छ भनेका छन् । यो कुरा सारै घत लाग्यो ।  

मानव भएका नाताले प्रत्येकको जीवन पनि बेग्लै प्रकारको हुन्छ र जिउने शैली पनि । तर, महिला हिंसाविरुद्ध महिला अधिकारसँग सरोकार राख्ने विभिन्न दस्तावेज र आन्दोलनहरुबाटे समाजमा निसन्देह धेरै परिवर्तन पनि देखापरेका छन् ।

समाजमा महिलाका जीवनमा देखिएका परिवर्तन म्हिला अधिकारका लागि गरिएका विभिन्न प्रयासहरुले नै ल्याएका हुन् । तर, जीउने कला त प्रत्येकको नितान्त व्यक्तिगत हुन्छन् । त्यस्ता कला प्रस्तुत केही महिलाबाट बेजोडरुपमा प्राप्त गर्न सकिन्छजस्तो लाग्छ । जीवनका  उतार चढावहरुलाई कसरी सहने भन्ने जीवनप्रतिको बुझाइ र सामुन्ने देखिएका चुनौती तथा अवसरलाई कसरी हतियार बनाउन सकिन्छ भन्ने पनि व्यक्तिपिच्छे फरक हुन्छन् । यस्ता नारीहरु ध्ोरै छन् जसलाई पढ्न किताबमा भएका परिभाषाभन्दा बढी मजा लाग्ने गर्छ ।

शारीरिक थकानमा पनि उन्मुक्तताको आनन्द लिनसिकेर आइलाग्ने घटनालाई चुनौतीहरु जीवनका पाटा हुन् भनेर निर्वाधरुपमा सक्षमताको छाप लगाउँदै गएका छन् । आफूलाई सक्षम बनाउन पुरुषको काँधसँग काँध मिलाउने सपना त देखेका छैनन् तर आफनो काँधलाई चौडा बनाउने अठोट चाँहि बराबर गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस
ad