राणाहरूको जहानियाँ हुकुमी शासनविरुद्ध आवाज उठाउनेमध्ये चार जनालाई विसं १९९७ सालमा मृत्युदण्ड दिइयो । विसं २००७ को जनक्रान्तिले राणा शासन अन्त्य गरेपछि ती चार जना वीर सपुतहरूलाई ‘सहिद’का रूपमा सम्मान दिइयो । पञ्चायत कालमा थुप्रै नेपालीले राजाको अधिनायकवादी शासन विरुद्धको संघर्षमा प्राण आहुति दिए । तर, तिनलाई सहिद मानिएन । विसं २०६३ पछि भने सहिद शब्दलाई निकै सस्तो बनाइयो । माओवादी सशस्त्र विद्रोह र त्यसपछिका आन्दोलनमा मरेका, मारिएका सबैलाई सहिद भनियो । अन्ततः सरकारले सशस्त्र विद्रोहका क्रममा मारिएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई पनि सहिद घोषणा गरेको छ । त्यस क्रममा मारिएका माओवादी लडाकुलाई त पहिले नै सहिद घोषणा गरिसकिएको छ ।
पञ्चायत व्यवस्थामा राजनीतिक स्वतन्त्रता थिएन । आआफ्नो सिद्धान्तअनुसारको राज्य स्थापनाका लागि त्यतिबेला प्रतिबन्धित वा भूमिगत रहेका राजनीतिक दलहरूले सशस्त्र र शान्तिपूर्ण दुवै प्रकारका आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा धेरै राजनीतिक कार्यकर्ता सरकारी सुरक्षाकर्मीका हातबाट मारिए । विसं २०४६ को जनआन्दोलनले राजाको अधिनायकवादी शासन अन्त्य गरेपछि पहिलेको आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा भने गरिएन । कारण, उनीहरू सर्वस्वीकार्य शाश्वत मान्यताभन्दा निश्चित राजनीतिक सिद्धान्तको विजयका लागि संघर्षरत थिए । राणा शासनको अन्त्यमा लागि जीवनको आहुति दिने सहिदहरू भने नेपाली सबैका साझा थिए । यसैले सहिदको साँच्चै नै सम्मान हुन्थ्यो र तिनका सामु सबै नतमस्तक हुन्थे । तर, २०६३ पछि घोषणा गरिएको सूचीमा भएका नामहरू भने साझा र सबैको सम्मानका पात्र हुनसकेको देखिँदैन ।
कुनै विश्वास वा सिद्धान्तका लागि जानीजानी जीवन सुम्पनेलाई सहिद भन्ने गरिन्छ । नेपालमा भने सहिद घोषणा गर्दा खासै मापदण्ड अपनाइएन । भिडमा रमिता हेर्दा प्रहरीको गोलीले मरेको मानिसलाई पनि सहिद घोषणा गरेर सरकारले क्षतिपूर्ति दिने गरेको छ । सुरक्षाकर्मी र माओवादी लडाकुलाई सहिद घोषणा गर्नु सहिदको अवमूल्यन हो । माओवादी लडाकुमध्ये धेरैको ज्यान सुरक्षाकर्मीसँगको दोहोरो मुठभेडमा गएको हो । यस्तै माओवादीसँगको भिडन्तमा वा झुक्याएर गरिएको आक्रमणमा सुरक्षाकर्मीहरू मारिएका हुन् । माओवादी लडाकुमध्ये अधिकांशले स्वेच्छाले राज्यका विरुद्ध बन्दुक उठाएका थिए । सुरक्षाकर्मीलाई पनि राज्यले बलजफ्ती जागिर खुवाएको हैन यद्यपि, सुरक्षाकर्मी भने राज्यले खटाएका कारण माओवादीसँग भिड्न गएका हुन् । उनीहरूलाई कर्तव्यपरायण वीर भन्न सकिएला तर सहिदको संज्ञा दिन मिल्दैन ।
माओवादी लडाकु त झन् कैयौं निर्दोष नागरिकको हत्या र राज्यको सम्पत्ति विध्वंश गर्ने कार्यमा समेत संलग्न भएका थिए । तीमध्ये मरेका, मारिएका र बाँचेकामा पनि कति जनामाथि त मानवताविरुद्धको अपराधमा संलग्न भएको आरोप लागेको छ । यसैले तिनलाई सहिदको संज्ञा र सम्मान दिनु वास्तविक सहिदको अपमान गर्नु हो । राज्यको सञ्चालन विधि र विवेकमा नभई सनक र तजबिजमा आधारित भएकाले यस्तो विसंगति पटकपटक देखापरेको हो ।
सहिद दिवस २०७५ का अवसरमा साँच्चैका सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली !