site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
डरलाग्दो बायाँ फन्को

बायाँ पक्ष भनेको शरीरमा दायाँभन्दा कम क्रियाशील मानिन्छ । शारीरिकरूपमा भन्नुभन्दा पनि यो सांस्कृतिकरूपमा कमजोर पक्ष हो । संस्कृति नै राजनीतिको आधार हो । राजनीतिले सबैभन्दा पहिलो सर्तका रूपमा शक्तिको सन्तुलनलाई अगाडि सार्छ । शक्तिशाली पक्ष दायाँ होस् दिशाका हिसाबले भन्ने हो भने बुज्रुकहरू दक्षिण मान्छन् यसलाई । दक्षिणपन्थी झुकाव र बायाँपन्थी अडान निकै रोचक हुन्छन् –– राजनीतिक हिसाबले हेर्दा । मानिसहरू जीन्दगीभर बायाँमार्गी भनेर चिनिए पनि शक्तिको अभ्यासमा पुगेपछि दक्षिण पन्थको सेवामा विलीन हुन पुग्छन् । समाज नै सर्वोेपरी हो भनेर जीवनभर जपेको मन्त्र पुँजीवादको एउटा सानो झोकाले खाइदिन्छ । अनि मानिसहरू आफ्नो एउटा घन्टा बोकेर बजाउन थाल्छन् : उपदेश र नैतिकताको बेसुरा गीत जसको संगीत केही थान लाजका खन्युका पातले धान्न सकिरहेको हुँदैन ।

नेपाली समाजमा गोपालप्रसाद रिमालका कविता सधैँ मलाई डरलाग्दा लाग्छन् । उनको काव्यिक अभिव्यक्ति नै यति बेजोड छ जसले उनलाई चिर विद्रोही साबित गरिदिन्छ । उनी कहिले पनि सत्ताका मानिस हुनै सक्दैनन् । रिमालले एक जुगमा एक दिन एकचोटि आउने घटनाको यसरी परिकलल्पना गरेका छन् जसले सत्ताको सुखमा परेकालाई सदैव तर्साउँछ । उनको काव्य कल्पनाको उडान अत्यन्तै चर्काे छ । समाजमा भएका रीतलाई उनी पूर्णरूपमा चुनौती दिन्छन र समूल परिवर्तनको कामना गर्छन् । त्यसैले कवितामा एउटा भाव उत्पन्न हुन्छ : ‘‘लाटा–सुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् र गए भनी नदेखिएका फर्कीफर्की आउँछन् ।’’ कुनै समूह आज पनि रिमालको ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ भनेर शक्तिकेन्द्रको ढोका अगाडि लयबद्ध गाउँदै हिँड्छ भने त्यो वामपन्थीकै सरकार भए पनि अत्तालिने अवस्था सिर्जना हुन्छ । हो, यो प्रगतिशीलता नै सही अर्थमा चिरस्थायी बायाँ अवस्थिति हो । यो बायाँ फन्को नै सबैभन्दा मुटु कपाउँने शक्तिजडित हुँदोरहेछ । त्यसैले त रिमाल भन्छन् – ‘‘मरे भनी फ्याँकिएका जुरूजुरू उठ्छन्, खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्छ, कायर पनि वीर हुन्छन्, वेग चल्छ जोसको ।’’ 

दबाइएका, स्वरहीन र शक्तिकेन्द्रसम्म पहुँच नभएकाहरूको तर्फबाट बोल्नु र आफूलाई सधैँ त्यही वर्गको सेवामा प्रस्तुत गर्नु नै बायाँतर्फबाट लड्नु हो । हुन त हाल ‘प्रचण्ड’ बहुमतयुक्त ‘ओली नेतृत्व’को आफूलाई वामपन्थी भन्ने कम्युनिस्ट सरकार नेपालमा छ तर यसले आफ्नो बायाँतर्फको चिन्तन पूर्णरूपमा समाप्त परिसकेको छ । पूर्णरूपमा आफूलाई दायाँतर्फबाट वा दक्षिणी सुविधाको भूगोलबाट सोच्न अभ्यस्त भइसकेको सरकारका लागि गोपालप्रसाद रिमालको गीत सबैभन्दा ठूलो विरोधको स्वर हो । रिमालको गीत माइतीघर मण्डलामा बसेर आधा घन्टा गाउने हो भने देशको सुरक्षा व्यवस्थाको सबैभन्दा ठूलो चुनौती बनिन्छ । यसरी बायाँ फन्को मार्ने कवि हुन् वा अन्य सामाजिक अभियन्ता सबै सरकारको टाउको दुखाइका विषय बन्छन् । त्यसैले बायाँ फन्कोमा जोखिम छ, चुनौती छ ।

Agni Group

रिमालको बायाँ फन्कोले उनको जीवनमा जस्तै राजनीतिक र समाजिक जीवनमा पनि प्रभाव पारेको थियो । सम्रगमा हेर्ने हो भने रिमालको जीवन सहज थिएन र बायाँ फन्कोले दक्षिणपन्थी सुविधाको संसारबाट धेरै टाढा लैजान्छ भन्ने दृष्टान्त उहाँकै जीवन हो । केही वर्षदेखि चिकित्सा शिक्षाको क्षेत्रमा रिमालकै शैलीमा बायाँ फन्को मार्ने डा. गोविन्द केसीको सत्याग्रह यथार्थमा सबैभन्दा ठूलो, सौम्य विरोध हो । आफ्नो क्षेत्रमा लगन र इमानसाथ काम गरिरहेका बौद्धिक, पाका व्यक्तिबाट आफ्नो समाजमा आफूले अभ्यास गरेको विद्याको सन्दर्भमा राज्यले के कस्ता नीति लिएमा भोलिको दिनमा सबै नागरिकको अनिवार्य पहुँमा हुनुपर्ने स्वास्थ्य सेवा भरपर्दाे र प्रभावकारी रूपमा नियमन गर्न सकिन्छ भनेर डा. केसीले अवलम्बन गरेको सत्याग्रहको मार्गले देशमा दुईओटा गम्भीर प्रश्न खडा गर्न पुगेको छ । पहिलो, बायाँ फन्कोको गीत र भजन गाउने व्यक्तिहरूका लागि नै पनि वास्तविक बायाँ फन्को भने झिजो लाग्दो हुँदो रहेछ भन्ने हो ।
वाममार्ग सहज मार्ग भने होइन । 

हेपिएका, दबाइएका र उत्पीडनमा पारिएका व्यक्तिहरूको पक्षबाट बोल्नका लागि रिमालले ७० वर्ष अगाडि प्रदर्शन गरेको साहस डा. केसीले आजको दिनमा जसरी देखाएका छन् त्यसले यस समाज विकासको परिकल्पनामा देखापरेका समस्या समाधान गर्न उनले आफ्नो विश्वासका लागि म प्राणको आहुति दिन सक्छु भन्दा ‘हेरौँ न त !’ भन्ने शैलीमा सदनले नागरिकप्रति गरेको व्यवहारले बायाँ फन्को कति शक्तिशाली हुँदो रहेछ भन्ने थप पुष्टि गरेको छ । त्यस्तै यसको अर्काे, चिकित्सा शिक्षामा व्यापक सुधारको राज्यको दायित्व भए पनि सरकार त्यसलाई आफ्नो जिम्मेबारी मान्न तयार देखिएको छैन । व्यक्तिहरू बायाँ फन्को लिन सक्छन् तर जति नै क्रान्तिकारी मार्ग हिडेर सत्तामा पुगे पनि युग परिवर्तनका आकांक्षीहरू सत्ताको समूल चरित्रलाई नै बायाँ मोड दिन तयार छैनन् । हो, हजुरबाको युगमा गोपालप्रसाद रिमालले आमाको सपनाको व्याख्या गर्दै बहुलाउनु परेको थियो । मेरो युगमा डा. गोविन्द केसी खाना पानी बहिष्कार गरेर सुतेका छन्, आफ्नो अडानमा स्पष्ट भएर ।

Global Ime bank

बायाँ फन्को लिनु भनेको न्यायको पक्षमा समाजको परिकल्पनाको गन्तव्य पहिचान गर्नु हो । यस्ता गतिशील आत्माहरू समाजमा एक युगमा एकपटक जन्मिन्छन् र समाजको आधारभूत गति र दिशा पहिचान गर्छन् । नेपालको संविधानको मूलभूत अभीष्टअन्तर्गत समाजवादी गन्तव्य पर्छ । त्यसको भावना डा. केसीले हालको स्वास्थ्य शिक्षाको अभ्यासबाट हासिल हुन सक्तैन भन्ने बुझेका छन्् । स्वास्थ्य शिक्षाको सुधारका लागि आफ्नै ज्यानको बाजी लगाउन तयार चिकित्साशास्त्रका प्राध्यापकको भित्री लक्ष्य के हुन सक्छ? यी पंक्तिहरू लेख्दैगर्दा संसदबाट चिकित्सा शिक्षा विधयेक परित गरिएको छ । विसं २०७५ पौष २५ गतेदेखि सुरु भएको डा. केसीको सत्याग्रह पनि चलिरहेको छ । सत्याग्रहको इतिहासले पनि देखाउँछ सत्याग्रहीको नैतिक तागत । त्यसका लागि गान्धीलाई हेरे पुग्छ । सत्याग्रही हुनु भनेको भित्री हृदयको आवाजलाई पहिचान र त्यसलाई समाजमा प्रवाहित गर्ने हैसियतमा पुगेर जीवनका आधारभूत आवश्यकतालाई बहिस्कार गर्नु हो । 

नेपाल गणराज्यमा एउटा चिकित्सकसँग सम्पूर्ण सरकारको शक्ति यसरी नजुधाएको भए हुन्थ्यो । यो देश हामी सबैको हो । देशको हित भनेको केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा शेरबहादुर देउवाले मात्र सोच्नुपर्ने त होइन । उनीहरूले सोचेको जस्तोमात्र हुनुपर्ने भन्ने पनि होइन । यहाँ तर्क प्रधान कुरा भएको भए चिकित्सा शिक्षा विधयेकामा बहस गर्न डा. केसीलाई सदनमा नै बोलाएको भए पनि हुन्थ्यो । तर, यस्तो कल्पनासम्म पनि अस्वीकार्य हुनपुगेको छ । शक्तिको उन्माद सबैभन्दा मादक हुन्छ र त्यसले आफूले बोकेका जनहितका विषय र मुद्दालाई नै कसरी हानी गर्छ भन्ने सबैभन्दा पछिल्लो उदाहरण चिकित्सा शिक्षा विधयेक हुनपुगेको छ । 

रोमन क्याथोलिक मत पुनर्जागरणको समयमा युरोपमा एकदमै शक्तिशाली रूपमा स्थापित भएको थियो । हुनत मध्ययुगीन समाजबाट विज्ञानको बाटो पहिचानमा पुनर्जागरणलाई एउटा महत्त्वपूर्ण प्रस्थान विन्दुको रूपमा लिने गरिन्छ । सोह्रांै शताब्दीमा कलाकार, मूर्तिकारहरूले बनाएका महत्त्वपूर्ण कलाकृतिमा भएको शारीरिक नग्नता ढाक्न रोमन क्याथोलिक चर्चले खन्युको पातको प्रयोग गर्दथ्यो । मानिसको गुप्तांगलाई यस्तो पातको प्रयोग गरेर ढाकिन्थ्यो । सन् १५०४ मा अनावरण गरिएको माइकल एन्जेलोको डेभिडलाई यसैगरी चर्चको आदेशानुसार पित्तलको खन्युको पातले लाज ढाक्ने काम गरिएको थियो । समाजको नौतिक मानकलाई कायम राख्न त्यसो गरेको दाबी अधिकारीहरूले गर्थे । 

चिकित्सा शास्त्र विधयेक संसद्बाट जसरी पास गरियो त्यो हेर्दा यो सरकारमाथि दयाको भाव उब्जिन्छ । रोमन क्याथोलिक चर्चले जस्तै यसले पनि आफ्नो नैतिक मानकलाई कायम राख्न खन्युको पात खोज्नुपर्ने देखिन्छ । तर, समाजवादी यात्रामा निस्किरहँदा खन्युको पातले मात्र यसको लाज जोगाउँला त ?

आफूलाई जनताको भावनाको रक्षा गरेको दाबी गर्ने यस सरकारका लागि डा. केसीको सत्याग्रह अत्यन्तै महंगो पर्नेछ । उनले उठाएका मागको राजनीतिक अर्थलाई गम्भीरतापूर्वक नलिई गरिएको संसद्को निर्णय अझै पनि सच्याउने समय छ । हुन त विधयेक संसद्ले पास गरेर राष्ट्रपतिको कार्यालयमा पठाइ सकेपछि पनि पुनर्विचारका लागि राष्ट्रपतिले संसद्लाई नै फर्काउन सक्ने व्यवस्था पनि छ । कानुनी रूपमा संभव संवैधानिक व्यवस्था र विवेकको समुचित प्रयोग गरेर डा. केसीको बायाँ फन्को सरकारले समयमा नै बुझ्न सकेन भने अत्यन्त निर्मम अवस्था बेहोर्नु पर्ने हुनसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC