site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डका छ महिना– कहाँ पुग्यो अनुसन्धान ? अझै भेटिएन हत्यारा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिहीबार छ महिना पूरा भएको छ । तर हत्याराको अझै पहिचान हुन सकेको छैन । गत साउन १० मा साथीको घरमा निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 

साउन १० मै निर्मला अबेरसम्म घर नफर्किएपछि आमा दुर्गादेवी पन्तले प्रहरीलाई खबर गरेपनि प्रहरीले भोलि खोजौँला भन्दै टारेको थियो ।

गृह मन्त्रालयदेखि प्रहरीका भिन्नाभिन्नै टोलीले घटनाको अनुसन्धान र अध्ययन गरेपनि बलात्कार र हत्यामा संलग्नको पहिचान भने हुन सकेन । हत्याकाण्डको ६ महिना बितिसक्दा पनि नतिजाकै पर्खाइ छ । निर्मलाको शव भेटिएपछि पछिल्लो ६ महिनामा के–के भयो त ?

Prabhu Bank
Agni Group
NIC Asia

दिलिप पहिलो अभियुक्त
माघ ११ गते निर्मलाको शव भेटिएपछि स्थानीय प्रदर्शनमा उत्रिए । स्थानीयले निर्मला हत्या अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट हुनुपर्ने माग अघि सारे । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डीएसपी अंगुर जिसीको नेतृत्वमा टोली कञ्चनपुर पठायो । साउन १३ गते कञ्चनपुर पुगेको सीआईबीको टोलीले घटनाको अनुसन्धान सुरु गर्यो । त्यो बीचमा कयौं शंकास्पदसँग सोधपुछदेखि डीएनए विकासका लागि नमुना काठमाडौं पठायो । 

झण्डै एक महिनाको अनुसन्धानपछि सीआईबी र कञ्चनपुर प्रहरीले भदौ ४ गते भीमदत्तनगर–१९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गर्यो । दिलिपलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेपछि स्थानीयको आन्दोलन चर्कियो । प्रहरीले मुख्य अभियुक्तलाई लुकाउन खोजेको आरोप लाग्यो । आन्दोलन उग्र बन्दै गएपछि भदौ ८ गते प्रहरीले गोली चलायो । गोली प्रहारबाट स्थानीय शनि खुनाको ज्यान नै गयो भने अर्जुन भण्डारा अझै अचेत अवस्थामा उपचाररत छन् । दिलिपको डीएनए म्याच नभएपनि थुनामुक्त भए । 

Global Ime bank

गृहको छानबिन समिति गठन
आन्दोलन चर्किँदै गएपछि घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते  गृह मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्यो । समितिले असोज ९ गते गृहमन्त्री रामबहादुर थापालाई  घटनाबारेको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनले प्रहरी अधिकारीबाट छानबिनका क्रममा गम्भीर त्रुटि र लापरबाही भएको निष्कर्ष निकाल्दै उनीहरुमाथि विभागीय कारवाहीको सिफारिस गर्यो ।

प्रहरीलाई हराएको बेला जानकारी हुँदा पनि घटनास्थल नजानु, घटनास्थलको संरक्षण नगर्नु, प्रमाण नष्ट गर्नु लगायतका आरोप समितिले लगाएपनि हत्यारा को हो भन्ने पहिचान भने गर्न सकेन । 

समितिकै सिफारिसका आधारमा अनुसन्धानमा जोडिएका प्रहरी अधिकारी कारबाहीमा परे भने तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्तीमै परे । यो बीचमा प्रहरी अधिकारीमाथिनै अनुसन्धान गर्न भदौमै एसएसपी उत्तम सुवेदी नेतृत्वमा समिति गठन गरिएको थियो । 

पछि त्यही समितिको आकार बढाउँदै एआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन भयो । त्यो समितिले पनि प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । 

प्रदीप र विशाल पक्राउ
भदौमा दिलिपलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको प्रहरीले मंसिर २० गते काठमाडौंबाट प्रदीप रावल र कञ्चनपुरबाट २१ गते विशाल चौधरीलाई पक्राउ गर्यो । उनीहरु दुवैलाई सीआईबीले काठमाडौंस्थित आफ्नै हिरासत कक्षमा राखेर अनुसन्धान गर्यो । प्रहरी अधिकारीले विशाल र प्रदीपले नै निर्मलाको बलात्कारपछि हत्या गरेको दाबी गरेका थिए । प्रदीप र विशालको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा परीक्षण गरिएको थियो ।  तर उनीहरुको पनि डीएनए ‘भेजिनल स्वाब’ सँग नमिलेपछि छाडियो । दिलिपअघि प्रहरीले स्थानीय चक्र बडुलाई समेत पक्राउ गरेको थियो । उनको पनि डीएनए म्याच नभएपछि छाडिएको थियो । 

९ हजार ‘कलडिटेल’ देखि ‘पेचकस’ समूहसम्मको खोजी

केन्द्रमा अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्लामा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।  सुरुवाती चरणमा तत्कालीन प्रहरी नेतृत्व र समूहबाट अनुसन्धानमा भएको कमजोरीका कारण अनुसन्धानमा जटिलता थपिएको अनुसन्धान अधिकृतहरुको दाबी छ । 

तर तत्कालीन समयमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भने कुनै कमजोरी नभएको दाबी गर्दै आएका छन् ।  यो बीचमा प्रहरीले अनुसन्धानका क्रममा ९ हजार बढी ‘कलडिटेल’ हेरेको छ । स्रोतका शंकास्पद ९ हजार सिमकार्डको ‘सीडीआर एनालाइसिस’ गरिएको हो । ५०० जनासँग सामान्य सोधपुछ मात्र गरिएको छ भने १ सय ५० जनाको कागज गरिएको छ । शंकास्पद फेसबुक, इमो, भाइबरमाथि अनुसन्धान गरिएको छ । प्रहरी स्रोतका अनुसार आपराधिक कार्यमा संलग्न रहँदै आएको स्थानीय गुण्डाहरुको समूह ‘पेचकस’ लाई

विशेष निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ । ‘पेचकस समूह’ मा ४ जना छन् । ३ जना चन्द थरका र एकजना पाल थरका युवा ‘पेचकस’ समूहमा रहेको प्रहरी निष्कर्ष छ । उनीहरु निर्मलाको शव भेटिएको स्थान, खोला किनारलगायतका क्षेत्रमा विभिन्न समयमा लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । योबाहेक प्रहरीले अन्य शंकास्पदलाई पनि निगरानीमा राखेको बताउँदै आएको छ । 

अनुसन्धान जारी छ – प्रहरी प्रवक्ता
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी अनुसन्धान जारी रहेको बताउँछन् । ‘‘हामी सुक्ष्म अनुसन्धानमै छौं । प्रमाणमुखी अनुसन्धानमा जुटेका छौं । ढिलोचाँडो नतिजा अवश्य आउँछ,’’ एसएसपी सुवेदीले भने ।  प्रहरीले पछिल्लो समय पनि शंकास्पदको डीएनए परीक्षणका लागि नमुना संकलन, सोधपुछलगायतकै काम गर्दै आएको छ । 

सादा पोशाकका प्रहरी परिचालन गरिएको र प्रविधिको पनि प्रयोग गरिएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीले अनुसन्धानमा परिवारकै सहयोग नभएको अप्रत्यक्ष रुपमा बताउँदै आएको छ । प्रहरीले गोप्य रुपमा छिमेकी र आफन्तमाथि पनि अनुसन्धान गरिरहेको छ ।

‘‘अनुसन्धानमा कतिपय कानुनी र प्राविधिक जटिलता पनि छन् । प्रमाणको अभावमा त्यसै समात्न सकिने अवस्था छैन । स्थानीयको पनि जति आवश्यक पर्छ त्यति सकारात्मक सहयोग पाइएन । तर पहिलेको तुलनामा भने स्थानीयको सहयोग केही मात्रामा छ,’’ एक प्रहरी अधिकारीले भने । 

प्रहरीले पछिल्लो समयको अनुसन्धानलाई ‘मौन’ अनुसन्धानको रुपमा लिएको छ । 

निर्मलाको परिवारमै कलह
पछिल्लो समय निर्मलाको परिवारभित्रै किचलो देखिन्छ । आन्तरिक रुपमा रहेको किचलो २ साताअघि सकडमै देखियो । निर्मलाको बुबा यज्ञराज पन्तले आफूले भनेको नमाने र राहत रकम बुझे आत्महत्या गर्ने चेतावनी निर्मली आमा दुर्गादेवीलाई दिए ।  यज्ञराजले आफूलाई हातपात समेत गरेको दुर्गाले बताइन् । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ राहत राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

उनीहरुले हालसम्म राहत बुझेका छैनन् । यज्ञराजले कान्छी श्रीमतीको रुपमा लक्ष्मी भट्टलाई भित्र्याएपछि १२ वर्षदेखि छुट्टै घरमा बस्दै आएका थिए । मजदुरी गरेर दुर्गाले छोरीहरुको व्यवस्थापन गर्दै आएकी थिइन् । राहतकै रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको परिवारमा विवाद चुलिएको हो । 

परिवारको आन्तरिक विवादको पछाडि अधिकारकर्मी भनिएकाहरुको भूमिका भएको चर्चा छ । आन्तरिक पारिवारिक विवाद सडकमै पोखिएपछि निर्मलाको न्यायको संघर्ष कमजोर हुँदै गएको अडकल पनि गर्न थालिएको छ ।  गत भदौ २५ गतेबाट निर्मलाकी कान्छी आमा लक्ष्मी र यज्ञराज २४ घण्टे धर्नामा छन् । राति पनि यज्ञराज र लक्ष्मी धर्नामा हुन्छन् भने निर्मलाकी आमा दुर्गादेवी घरमा जान्छिन् ।

प्रहरी पनि अनुसन्धानमा आमाको सकारात्मक भूमिका भएपनि बाबुको सहयोग भने नपाएको गुनासो गर्दै आएको छ । २ साताअघि मात्रै प्रहरीले निर्मलाको डीएनए म्याच गर्न आमाबुबाको रगतको नमुना माग्दा आमा दुर्गादेवीले मात्रै दिएकी थिइन् भने बाबुले प्रहरीले हालसम्म क–कसको डीएनए परिक्षण गरियो सबै जानकारी आफूलाई दिनुपर्ने बताएका थिए । 

महिलाका गुटैगुट
निर्मलाको न्यायका लागि भन्दै नागरिक समाजदेखि महिला अधिकारकर्मी, संघ–संस्था सक्रिय छन् । न्यायका लागि संघर्षरत महिला समूह नै एक अर्काकालाई आरोप लगाउनमै व्यस्त देखिन्छन् । न्यायका लागि भन्दै हेलन श्रेष्ठ नेतृत्वको समितिले आन्दोलन सुरु गर्यो । आन्दोलन चर्कँदै गएपछि आन्दोलनमा अधिकारकर्मी शारदा चन्द पनि सहभागी भइन् । त्यतिबेला अधिकारकर्मी माया नेगी, निर्मला भट्ट, लक्ष्मी मल्ललगायतको समूह चन्दसँगै जोडियो । 

यो समूहमा फाटो आयो । माया नेगी लगायतले त्यो समूह छाडे । शारदा चन्द नेतृत्वको समिति र हेलन श्रेष्ठ नेतृत्वको समितिले कञ्चनपुरमा छुट्टाछुट्टै आन्दोलन गर्नुपर्ने स्थिति आएपछि नागरिक समाजले आन्दोलनको अगुवाई गर्यो । त्यो बीचमा श्रेष्ठ नेतृत्वको समितिले निर्मलाको न्यायका लागि केही महिला अधिकारकर्मीले डलरको खेती गर्न खोजेको आरोप लगाउँदै विज्ञप्ती जारी गर्यो । अहिले माया नेगी र मिना भण्डारीहरुको छुट्टै समूह छ । निर्मलाकै न्यायका लागि भन्दै सावित्री सुवेदी काठमाडौंबाट कञ्चनपुर पुगिन् । उनले वम दिदीबहिनी वविता र रोशनीलाई काठमाडौं ल्याइन् ।

निर्मला हत्याको विषयलाई लिएर प्रतिपक्षी कांग्रेसले राजनीति गरेको स्थानीय सत्तारुढ दलका नेता कार्यकर्ताको आरोप छ भने कांग्रेसले भने ठूलै अपराधी जोगाउन सरकार लागेको आरोप लगाउँदै आएको छ । कांग्रेसले त निर्मला हत्याको स्थलगत अनुसन्धान गर्नका लागि केन्द्रीय सदस्य बीरबहादुर बलायर र दिलेन्द्रप्रसाद बडुलाई खटाएको थियो । उनीहरुले स्थलगत अध्ययनपछि पार्टीलाई प्रतिवेदनसमेत बुझाएका थिए । 

डीएनए परीक्षण नै शंकाको घेरामा
प्रहरीको भनाइलाई आधार मान्ने हो भने हालसम्म पक्राउ परेका दिलिप, प्रदीप, विशाल र चक्रले आफूले नै निर्मलाको बलात्कारपछि हत्या गरेको साविती बयान दिएका थिए ।  उनीहरुले अभियोग स्वीकार त गरे तर निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’ सँग डीएनए मेल खाएन । प्रश्न उठ्छ– अपराध स्वीकार गर्नेको डीएनए किन मिल्दैन ? निर्मला हत्या प्रकरणमा सकसमा रहेको प्रहरीभित्र पछिल्लो समय डीएनएबारे फरक–फरक तर व्यक्तिगत धारणा चर्चामा छन् ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी अभियुक्तको डीएनए नै अन्तिम कुरा नभएको दाबी गर्छन् । ‘‘घटनासँग मिल्ने अन्य प्रमाणका आधारमा पनि अनुसन्धान अगाडि बढ्छ । डीएनए नै सबै कुरा भने होइन,’’ सुवेदीले भने । निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’ बाट डीएनए परीक्षणका लागि प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा भएको थियो । जसबाट निर्मलाको बलात्कार एकजनाबाट मात्रै भएको देखिन्छ । तर राष्ट्रिय विधिविज्ञान प्रयोशाला नाष्टका डीएनए विज्ञ जीवन रिजाल डीएनए नै अचूक प्रमाण भएको दाबी गर्छन् ।
उनले भने, ‘‘डीएनए विज्ञानबाट पुष्टि भएको कुरा हो । विज्ञानलाई मान्दिनँ भन्न पाइन्नँ ।’’ 

निर्मलाको योनीबाट महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले ‘भेजिनल स्वाब’ झिकेको थियो । त्यही संकलित स्वाबलाई प्रहरीले काठमाडौंस्थित आफ्नो ल्याबमा पठाएको थियो ।  निर्मलाको शरीरबाट स्वाब संकलन र परीक्षणमा चिकित्सक र प्रहरीको विधिविज्ञान प्रयोगशालामा केही कमजोरी त भएन कि भन्ने चर्चा पनि प्रहरीभित्रै छ । 

कतिपय अवस्थामा मानवीय त्रुटिका कारण पनि डीएनएको रिपोर्ट नमिल्न सक्ने तर त्यसलाई पटक–पटक परीक्षण गर्नुुपर्ने विज्ञको सुझाव छ ।

‘भेजिनल स्वाब’ परीक्षण गरिएको ‘इलोक्ट्रोफेरोग्राम’ आवश्यक परेको अवस्थामा अन्य स्वतन्त्र प्रयोगशालामा पनि पठाउनुपर्ने अवस्था रहेको विज्ञको सुझाव छ ।  ‘‘यो घटना संवेदनशील छ । यस्तो बेला प्रहरी र सरोकारवाला निकाय ‘इलोक्ट्रोफेरोग्राम’ चेकजाँचका लागि अन्य निकायमा पठाउन तयार हुनुपर्छ । नत्र सरकारले विज्ञ समूह गठन गरेर यसको निक्र्योल गर्न पनि सक्छ,’’ एक प्रहरी अधिकृत भन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC