site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सत्याग्रही प्राध्यापक डा. गोविन्द केसीसँगको सम्झौता, उनको अनशन विपक्षी दलको विरोध सबैलाई अवज्ञा गरेर प्रतिनिधि सभाबाट चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित भएको घोषणा गरियो । हुनत, प्रतिनिधि सभामा सरकारको बहुमत छ तर सभामुख कृष्णबहादुर महराले शुक्रवार अपनाएको कार्यशैली हेर्दा त कुनै प्रस्ताव पारित गर्दा बहुमत आवश्यक पनि नहुने देखियो । संसदीय विधि र प्रक्रियामात्र हैन सत्याग्रहीको जीवनलाई समेत सरकारको इसारामा यसरी अवज्ञा गर्ने कार्यले सभामुख महराको मात्र हैन संसदीय प्रणालीकै साख गिरेको छ । साथै, डा. केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा १५ औं अनशनका बेला भएको सम्झौता उल्लंघन गरिँदा नेपाल सरकारकै पनि विश्वसनीयता संकटमा परेको छ । नेपालको राजनीतिका साथै समाजमा पनि यस घटनाको दूरगामी नकारात्मक असर पर्नेछ । 

चिकित्सा शिक्षामा रहेका विकृतिमा सुधारको माग राखेर डा. गोविन्द केसीले थालेको सत्याग्रह अहिले सोह्रौंपटकमा पुगेको छ । डा. केसीले पन्ध्रौं अनशनका क्रममा आफूसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिने संकेत देखेपछि डा. केसीले इलाममा सोह्रौं अनशन थालेका थिए । उनको स्वास्थ्य अवस्थाका कारण नागरिक अगुवाहरूको आग्रहमा डा. केसीलाई इलामबाट काठमाडौं ल्याइएको थियो । सरकारले यसपटक डा. केसीसँग वार्ताको प्रयाससम्म पनि गरेन । उनीसँग वार्ता नगर्न अनेकौं बहाना बनाइयो भने स्वयं प्रधानमन्त्री ओली आफूले गरेको सम्झौता पालन गराउन नसक्ने भनेर पन्छिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विधेयक पारित गर्न विधि र प्रक्रिया मिच्नेहरूले जति नै तर्क दिए पनि कम्युनिस्ट नेता र तिनका आफन्तहरूलाई व्यक्तिगत लाभ दिलाउन नै डा. केसीसँग गरिएको सम्झौताविपरीतका प्रावधान समावेश गरिएको हो भन्ने सबैले छर्लङ्गै बुझेका छन् । डा. केसीकै विरुद्ध अर्को व्यक्तिलाई अनशन गर्न लगाउनेदेखि उनको राक्षसीकरण गर्न राज्य संयन्त्रसमेत प्रयोग गरियो । यतिले नपुगेर सभामुख महराले संसदीय मूल्य मान्यता आफ्नालागि अर्थहीन रहेको सिद्ध गरिदिए । विपक्षीले सांसदहरू सबै आआफ्ना स्थानबाट उठेकै बेला उनीहरूलाई मर्यादापालक लगाएर छेकी मन्त्रीलाई रोस्ट्रममा लगियो । शिक्षामन्त्री र सभामुखले गरेको हतार र अपनाएको प्रक्रियाले विधि स्वयंले नैतिक वैधता गुमायो ।

एकातिर संसद्मा पञ्चायतकालको झल्को दिने अधिनायकवादी अभ्यास गरियो भने अर्कातिर सत्याग्रही डा. केसीले अनशन जारी नै राख्ने प्रण व्यक्त गरे । उनले आफूले गरेको सम्झौताप्रति इमानदार नभएकाले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्ने धारणा पनि प्रकट गरे । संसद् र सरकार दुवैले विधि र प्रक्रियामात्र हैन नैतिक मूल्यमान्यतालाई मिच्न पटक्कै हिचकिचाएनन् । विधेयक पारित गरेको घोषणा गरिएपछि मन्त्रीलगायत सरकार पक्षको अभिव्यक्तिले उनीहरूमा हठ, अहंकार र दम्भ चुलिएको स्पष्टै बुझिन्छ । सरकारको दम्भ र डा. केसीको अनशन हेर्दा क्रूर अत्याचारी राक्षसको राज्यमा कुनै ऋषिले तपस्या गरे झैँ देखिन्छ । नैतिकता व्यक्तिको विश्वासमा भर पर्ने विषय हो । यसैले प्रधानमन्त्री ओली वा सभामुख महराबाट नैतिकताका आधारमा राजीनामा दिइने अपेक्षा गर्नु पनि मूर्खता हुनेछ । 

Global Ime bank

सरकार डा. केसीको जीवन रक्षाका लागि पटक्कै गम्भीर देखिएको छैन । यसैले डा. केसीको जीवन रक्षाका लागि नागरिक समाजका अगुवाहरू अग्रसर हुनु जरुरी देखिएको छ । नागरिक समाज यसपटक अपेक्षाकृत डराएको वा हिचकिचाएको देखिएको छ । डा. केसीको अनशनकै क्रममा मृत्यु भयो भने नेपाली समाज कलंकितमात्र हैन आतंकित पनि हुनेछ । मुलुकमा डरको राज कायम भयो भने लोकतन्त्र र वैयक्तिक स्वतन्त्रता पाखण्ड बन्न पुग्नेछ । विपक्ष सदनबाट सडकतिर जान बाध्य भयो भने दुई तिहाइ बहुमतका भरमा राजनीतिक स्थिरता कायम हुनसक्तैन । प्रमुख विपक्षले सभामुखले धोका दिएको र सरकारले अल्पमतको अपमान गरेको ठानेको छ । विपक्षका नेताले सडक र सदन दुवैतिर संघर्ष चर्काउने घोषणा गरेका छन् । 

नेपाली कांग्रेसले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित हुन नदिन संसद् अवरुद्ध गरेको भने होइन । यसैले आफ्ना नेताहरूको नामका अस्पताल सम्बन्धमा सरकारसँग सम्झौता भयो भने कांग्रेसले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गर्ने क्रममा सभामुखले दिएको धोका र सरकारले गरेको अपमान बिर्सन सक्छ । यसै पनि कुनै न कुनै विन्दुमा संसदीय प्रक्रियामा कांग्रेस फर्कनै पर्छ । संसद् बहिष्कार गर्ने आँट त नेपाली कांग्रेसले पक्कै गर्नेछैन । प्रतिनिधि सभा कायम रहेका अवस्थामा सडकबाटै समाधान खोज्न प्रमभुख विपक्ष नै अग्रसर हुनु उचित पनि हुँदैन । त्यसमाथि नेपाली कांग्रेसजस्तो संसदीय प्रणालीको पैरवी गर्ने लोकतन्त्रवादी दलका लागि संसद् छाडेर सडकमा जानु शोभनीय पनि हुँदैन । 

प्रधानमन्त्री केपी ओली आफूले गरेको सम्झौताप्रति इमानदार हुने हो भने राष्ट्रिय सभाबाट चिकित्सा विधेयक सच्याउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेर डा. केसीलाई अनशन तोड्न आफैँले पहल गर्नुपर्छ । प्रधानमन्त्री ओली उनको दलका अरू नेताजस्तै अहंकार र दम्भमा रमाउने हो भने नागरिक समाजले दबाब सिर्जना गरेर सरकारलाई वार्ताका लागि बाध्य बनाउनुपर्छ । विपक्षले चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन राष्ट्रिय सभा बहिष्कार गरेर सरकारलाई स्पष्ट सन्देश दिन सक्नुपर्छ । डा. केसीको पराजय एक जना व्यक्तिको हारमात्र साबित हुनेछैन । चिकित्सा शिक्षा विधेयक जसरी पारित भयो त्यसले पनि भविष्यमा हुनसक्ने अनिष्टकै संकेत गरेको छ ।

नेपालको लोकतन्त्र निर्जीव यान्त्रिक प्रक्रियामा सीमित हुने कि जीवन्त एवं मानवीय हुने भन्ने पनि यसमा समाजले देखाउने प्रतिक्रियामा निर्भर हुनेछ । अहिले सरकारले देखाएको अधिनायकवादी शैलीले डा. केसी र केही हदसम्म नेपाली कांग्रेस हारेको देखियो । तर, यो नैतिकता, मूल्य मान्यता र विधि एवं प्रक्रियालाई अवज्ञा गर्ने प्रवृत्तिप्रति समाजले चर्को असहमति तथा प्रतिरोध देखाएन भने यस्तै अवस्था दोहोरिनेछ । व्यक्ति विशेषको लाभहानिका लागि सरकारले गरेको सम्झौता, संसदीय मूल्य मान्यता, विधि र प्रक्रिया तथा नैतिकतासमेतलाई अवज्ञा गर्ने प्रवृत्ति बढ्यो भने कुनै पेसा, व्यवसाय वा संगठनले आफूलाई सुरक्षित ठान्न सक्नेछैनन् । विधिको साटो भयको राज कायम भयो भने स्थिति अस्थिर र विस्फोटक हुनसक्छ । यसैले लोकतन्त्रवादीहरू डा. केसीको अत्याग्रहप्रति निस्पृह रहनु आत्मघाती हुनेछ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC