site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दरबारले सोध्यो–महेन्द्रको मृत्युको समाचार प्रचण्डमानले किन नपढेको ?
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


शायद प्रचण्डमान सिंह बोल्नकै लागि जन्मिएका थिए । रेडियो नेपाल पुगे । पहुँच र रहर भए राज्यका विभिन्न पद र ठाउँमा गएर अवसर लिन पाइन्थ्यो । तर, त्यो चाह उनमा कहिल्यै पलाएन । रेडियो नेपालभन्दा कयौं गुणा ठूला मिडिया उनको स्वरमा लोभिए । उनलाई अफर गरे । तर, उनले रेडियो नेपाल छोडेनन् । दरबार उनको स्वरको भोको थियो । आफ्नो समाचार अरूले पढे प्रश्न गथ्र्यो, “किन प्रचण्डमानले समाचार पढेन ?” शायद यस्तै–यस्तै कुराले उनलाई रेडियो नेपाल छोड्न मन लागेन । तर, उम्दा स्वरका धनी प्रचण्डमानका लागि २०४६ सालको प्रजातन्त्र भने अशुभ समाचार लिएर आयो ।

राजनीतिक दलले अगुवाइ गरे । जनताले साथ थिए । ३० वर्षे दलविहीन पञ्चायती व्यवस्था ढल्यो । जनताले गुमेको प्रजातन्त्र फिर्ता पाए । पुनः एकपठक खुला वातावरणको शुरुआत भयो । शहरमा विजय जुलुसहरू निस्किरहेका थिए । सभा र भाषणबाजी भइरहेका थिए । अबीरजात्रा चलिरहेको थियो । शुभकामना र बधाई साटासाट भइरहेको थियो । व्यक्तिका अनुहारमा हाँसो देखिन्थ्यो । समग्रमा जनता हाँसे । देश हाँस्यो ।

Agni Group

तर, त्यही प्रजातन्त्र प्रचण्डमान सिंहका लागि खाइपाइ आएको सुविधा खोस्न आएजत्तिकै भयो । प्रजातन्त्र पुनः प्राप्तिको समाचार उल्लासका साथ प्रसारण गरे प्रचण्डमानले । रेडियो नेपालमार्फत जनताका घरघरमा पुर्‍याए । जनताले गुमेको अधिकार पाएको सूचना सम्प्रेशण गरे । तर उनको जागिर भने खोसियो ।

कारण देखाइयो— किन समाचार झिकेको ?

Global Ime bank

०४६ चैत २६ गते दरबारले शाही घोषणा गर्‍यो । घोषणा थियो— प्रजातन्त्र पुनर्बहालीको । तत्कालीन राजा वीरेन्द्रले गरेको घोषणा रेडियो नेपालले बिहानै प्रसारण गर्‍यो । व्यवस्था नै परिवर्तन भएको थियो, त्यसैले बिहानैबाट प्रसारण भएको शाही घोषणा रेडियो नेपालको त्यस दिनको अन्तिम बुलेटिनसम्म नै बजायो । भोलिपल्ट बिहान पुरानो भयो भनेर प्रचण्डमानले त्यसलाई बजाएनन् । त्यही आरोप लगायो सरकारले । उनको जागिरको घाँटी निमोठियो ।

“जतिसुकै ठूलो घटना भए/घटे पनि त्यो दिनमात्रै समाचार दिने चलन थियो । त्यसैले नियमअनुसार नै मैले त्यो समाचार हटाएँ,” ८३ वर्षीय प्रचण्डमान २९ वर्षपछि पनि केही असन्तुष्ट सुनिए, “बजाइराख्नू भनेर कि निर्देशन दिनुपर्‍यो । होइन भने रेडियो नेपालको आफ्नो नियमअनुसार चल्दा चार्ज लगाउन पाइन्छ ? त्यही विषयमा खटपट भयो । राजीनामा मागियो ।”

बेथितिप्रति मात्रै उनको असन्तुष्टि रहेछ । व्यवस्था परिवर्तन भएसँगै रेडियो नेपाल, नेपाल टेलिभिजन, ‘गोरखापत्र’ र ‘रासस’का समाचार प्रमुख र समाचारसँग प्रत्यक्ष सरोकार राख्नेहरू रहँदैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले प्रचण्डमानले ‘माइन्ड मेकअप’ गरिसकेका थिए रे ! तर, आफूमाथि लगाइएको आरोप उनलाई पचेको थिएन । तर, राज्य नै लागेपछि व्यक्तिको के लाग्थ्यो र ! उनले रेडियो नेपालाई विदाइको हात हल्लाए । लाखौं स्रोताको मन चोरेका प्रचण्डमान गह्रौं मन बोकेर रेडियोबाट बिदा भए । रेडियोले उनको ठाउँमा अर्को व्यक्ति त पायो तर उनले झैं स्रोताको मन जित्न सकेन ।

“व्यस्वस्था परिवर्तन भएपछि व्यक्ति रहन्छ भन्ने कुरै थिएन । म तयार भइसकेको थिएँ । प्रजातन्त्र पुनस्र्थापनाको पाँच दिनपछि मलाई छोड्नुस् भने । मैले छोड्दिएँ,” उनले सुनाए ।

रेडियो प्रवेश

तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचत सरकारलाई गलहत्याएर दलविहीन पञ्चायत लागू गरे । शायद नयाँ व्यवस्थामा रेडियो नेपाललाई कसरी नयाँ ढंगले लैजाने सरकारको सोच थियो । त्यसका लागि दक्ष जनशक्तिको खोजी भइरहेको थियो । दाइ गणेशमान सिंह रेडियो नेपालका निर्देशक थिए । रेडियो नेपाललाई विश्वासिलो र त्यत्तिकै बफादार मान्छे चाहिएको थियो । ०१९ सालको मध्यतिर प्रचण्डमान रेडियो नेपाल पुगे । नेपालको एकमात्रै प्रसारण संस्था । जिम्मेवारी थियो– अंग्रेजी समाचारलाई नेपालीमा अनुवाद गर्ने । तलब थियो रु. ४७५ । (तत्कालीन शाखा अधिकृतको तलब बराबर)

‘बीबीसी’, ‘भ्वाइस अफ अमेरिका’लगायतका रेडियो सुनेर त्यसलाई नेपालीमा अनुवाद गर्नुपथ्र्यो । एएफपीलगायत केही समाचार समितिको ग्राहक थियो रािष्ट्रय समाचार समिति (रासस) । ‘रासस’को ग्राहक थियो रेडियो नेपाल । ‘रासस’ले पठाएका समाचारलाई प्राथमिकता निर्धारण गरेर प्रचण्डमान अनुवाद गर्थे । त्यही समाचार प्रसारण हुन्थ्यो । घरघरका सिगौरामा झुन्ड्याइएका रेडियोबाट स्रोता त्यही समाचार सुन्थे । आफूले बनाएका समाचार रेडियोमा सुन्दा पनि आनन्द लाग्थ्यो रे ! भलै त्यो समाचार उनले बनाएको भनेर सुन्नेलाई थाहा हुँदैनथ्यो ।

०२३ मा एउटा त्यस्तो अवसर पाए, जुन उनलाई विश्वास गर्ने हो भने उनी नेपालको पहिलो व्यक्ति हुन्, जसले प्रसारणका तर्फबाट बेलायत पुगेर ‘बीबीसी’को तालिम लिएको थियो ।

“मलाई थाहा भएसम्म लन्डन पुगेर प्रसारण विषयमा ‘बीबीसी’को ६ महिने तालिम लिने म पहिलो व्यक्ति हुँ,” ०२३ सालतिर फर्किन्छन् प्रचण्डमान, “त्यसपछि रेडियोबाट त्यो तालिम लिन जाने थितिजस्तै बस्यो । नेपालबाट धेरै पत्रकार ‘बीबीसी’को तालिम लिन लन्डन गए । त्यो अवसरले मलाई पत्रकारिताको अभ्यासमा ठूलो सहयोग पुर्‍यायो ।”

रेडियो नै भरपर्दो स्रोत

समाचारको स्रोत रेडियो नेपालमात्रै थियो । सूचना र समाचार जनताले थाहा पाउँथे भने त्यसको भरपर्दो स्रोत रेडियो नेपालमात्रै थियो । ‘गोरखापत्र’ र केही पत्रिका त थिए तर त्यो समय पत्रपत्रिका पढ्न सक्ने जनताको संख्या ठूलो थिएन । पत्रिकाको सर्कुलेसन सानो थियो र त्यसको वितरण पनि भरपर्दो थिएन । त्यसैले रेडियो नेपाल नै भरपर्दो र सजिलो माध्यम थियो सूचना र समाचारका लागि । तर, त्यतिबेला रेडियो हुनु सम्पन्नताको सूचक हुन्थ्यो । महँगो उत्तिकै पर्ने । धनीका घरमा मात्रै रेडियो हुन्थ्यो ।

त्यसैले समाजमा रेडियो नेपालमा काम गर्नेको छुट्टै शान थियो, मान थियो । अझ रेडियोमा बोल्नेको कुरै नगरौं । ठूला सेलिब्रिटी हुन्थे । प्रचण्डमानलाई पनि रेडियोमा बोल्ने रहर थियो । तर, उनको काम अंग्रेजी समाचारलाई नेपालीमा अनुवाद गर्नुमात्रै थियो ।

त्यो दिन पनि आयो । रेडियोमा बोल्ने दिन । घरघरमा झुन्ड्याइएका रेडियोभित्र पसेर समाचार सुनाउने दिन ।

साल ०२० हो । महिना उनलाई याद छैन । समाचार पढ्न आउनुपर्ने मान्छे आइपुगेनन् । उपाय नलागेपछि सम्पादक भोग्यप्रसाद शाहले प्रचण्डमानलाई दिउँसो साढे २ बजेको समाचार पढ्न दिए ।

थोरै डर, धेरै उत्साह अनि जिम्मेवारीको भारी बोकेर प्रचण्डमान स्टुडियो पसे । “केही डरको फिल भएको थियो बेला । पहिलो पटक भएकाले जिब्रो चिप्लेला कि भन्ने चिन्ता थियो । तर, केही भएन त्यस्तो । र, पनि समाचार पढिरहेका बेला मलाई लाखौं स्रोताले सुनिरहेका छन् भन्ने कुराले केही नर्भस भने हुँदो रहेछ,” पहिलो पटक समाचार पढ्दाको अनुभव साटे प्रचण्डमानले ।

‘रेडियोमा काम गर्नेहरू बिग्रन्छन्’

रेडियोमा बोल्नेहरूको क्रेज थियो । बोली सुनेर कयौं फ्यान हुन्थे । टाढा–टाढाबाट चिठ्ठी आउँथे । नजिकै हुनेहरू रेडियोको गेटमै आइपुग्थे भेट्न ।

त्यसको अर्को प्रभाव पनि थियो । रेडियोमा काम गर्‍यो भने छोरोछोरी बिग्रिन्छन् भनिन्थ्यो । “नजाने गाउँको बाटै नसोध्नू भन्ने उखान छ । त्यसैले म त्यो बाटोमा कहिल्यै लागिनँ । रेडियोमा बोल्ने मान्छेलाई विपरीत लिंगीले पछ्याउँछन्, त्यसैले रेडियोमा काम गरे बिग्रिन्छन् भन्थे,” प्रचण्डमान सुनाउँछन् ।

समाचार आफैं आउँथे

अहिलेको जस्तो समय थिएन । समाचारका लागि रिपोर्टिङ गर्ने चलन नै थिएन त्योबेला । रेडियो नेपाल समाचार खोज्दै स्रोतसम्म पुग्नु पर्दैनथ्यो । समाचारको स्रोत नै रेडियो नेपालको समाचार कक्षसम्म आइपुग्थ्यो । कि आकाशवाणी थियो कि रेडियो नेपाल थियो समाचार र सूचनाका लागि । “राष्ट्रिय पञ्चायतको बैठक बोलाउनु पर्दा पनि रेडियो नेपालबाट यति गते बैठक बस्दै छ, यसैलाई सूचना मानेर यति गते आउनुहोला भन्ने चलन थियो,” उनी सम्झिन्छन्, “कतिपय ठाउँमा आकाशवाणी पनि नभएकाले रेडियो नेपालबाटै राष्ट्रिय पञ्चायतको बैठक बस्ने सूचनासमेत दिनुपथ्र्योे । समाचारका लागि सूचना आफैं आउँथ्यो रेडियोमा ।” 

दरबारको समाचार

बेलायतमा बीबीसीले दिएको तालिमले उनलाई पत्रकारिताको सिद्धान्तमात्रै सिकाएन, व्यवहारिक ज्ञानमा पनि अब्बल बनायो । तालिम लिएर फर्किएको एक वर्षपछि ०२५ सालमा उनी सम्पादक भए ।

दरबारबाट आएका समाचार निकै सतर्कताका साथ पढिन्थ्यो । पढ्दा गल्ती भए माफी माग्ने चलन त थियो तर सकेसम्म गल्ती नै हुन नदिऊँ भन्ने चाहना हुन्थ्यो । कारण— दरबार कडा थियो । संवाद सचिवहरू तुरुन्तै रियाक्ट गरिहाल्थे । स्पष्टीकरण दिनुपर्ने हुन सक्थ्यो ।

दरबारबाट आएको वक्तव्य, शुभकामना, घोषणा तथा मन्त्रीमण्डल हेरफेरका महत्वपूर्ण समाचारहरू अक्सर नियमित बुलेटिनमा प्रसारण गरिँदैनथ्यो । ‘विशेष बुलेटिन’ भनेर पढ्ने चलन थियो ।

विशेष बुलेटिनमा पढिसकेपछि त्यो समाचार नियमित बुलेटिनमा जान्थ्यो । विशेष बुलेटिन कसले पढ्ने भनी कुनै विशेष व्यक्ति तोकिएको थिएन । तर, सामान्यतः प्रचण्डमान आफैं पढ्थे । समय यस्तो पनि आयो— विशेष बुलेटिन प्रचण्डमानले किन पढेनन् भनेर दरबारबाट सोधनी हुन्थ्यो ।

चितवनमा राजा महेन्द्रको निधन भयो । दरबारबाट विज्ञप्ति आयो । प्रशासनिक पृष्ठभूमिका रेडियो नेपाल प्रमुख रामराजा पौडेलले समाचार पढे । दरबारबाट सोधनी भयो, “किन प्रचण्डमानले समाचार नपढेर रामराजा पौडेलले पढेको ?”

“त्यसपछि डाइरेक्टर आफैं दरबारबाट आएको समाचार तपाईं आफैंले पढ्नुपर्छ भन्न थाले,” प्रचण्डमान भन्छन्, “त्यसपछि थितिजस्तै बन्यो । दरबार र राष्ट्रिय पञ्चायतका समाचारहरू विशेष बुलेटिनमा मैले पढ्नुपर्छ भन्ने जस्तो भयो ।”

समकक्षीहरू प्रचण्डमानलाई ‘कडा’ सम्पादक भन्छन् । कति त दरबारका समाचार अरुलाई पढ्न दिँदैनथे पनि भन्छन् । तर उनी भन्छन्, “मैले नै पढ्नुपर्छ भनेर नियम बनाइएको थिएन । दरबारबाट फलानोले किन नपढेको भनेर सोधिने भएकाले म भएका बेला म पढ्थें । प्रायः बिहान साढे ६ बजे पढेर त्यसपछिका नियमित बुलेटिनमा पढ्ने चलन थियो । म बिहानै पुग्ने भएकाले पनि म पढ्थें । अरूलाई पढ्नै नदिने भन्ने होइन । मैले त निर्देशन पालना गर्नेमात्रै हो । भएको आचारसंहिता पालना गर्ने मात्रै हो । मेरो इन्ट्रेस्टमा मैले पढेको होइन नि !” प्रचण्डमानले स्पष्ट पारे ।

ओजपूर्ण आवाज अनि मीठो लवज उनको पहिचान थियो । त्यसैले समाचार वाचनमा उनी रेडियो नेपालका बाघ थिए । सबैले मन पराउँथे । जिम्मेवारीको सधैं बोध हुन्थ्यो उनलाई त्यसैले त अनुवादकका रूपमा प्रवेश गरेका प्रचण्डमान सम्पादक हुँदै महानिर्देशकसम्म भए ।

त्यो शाही घोषणा

०३६ सालमा प्रचण्डमानलाई दरबारमा बोलाइयो । टेप रेकर्डर लिएर आउन भनिएको थियो । प्रचण्डमान आफैं गए । राति १० बजे दरबार पुगेका उनी वेटिङ रुममा बसिरहे । कति बजे राजाको वक्तव्य आउने हो, कति बजे बजाउने हो, केही थाहा थिएन ।

बिहान साढे ३ बजे राजाको वक्तव्य उनको हात पर्‍यो । वक्तव्य लिएर उनी सिधै रेडियो आए र साढे ६ बजे प्रसारण गरे । त्यो वक्तव्य थियो— जनमत संग्रह घोषणाको ।

त्यसअघि दलहरू प्रतिबन्धित थिए । उनीहरूको समाचार प्रसारण गर्दा पनि अगाडि ‘प्रतिबन्धित’ भनेर पढ्नुपथ्र्यो । प्रतिबन्धित भएकाले दलका शीर्ष नेताहरूसँग उनको भेट कहल्यिै भएन ।

सरकारी रेडियो । सरकारले बनाएको नीति–नियमभित्र रहेर काम गर्नुपथ्र्यो । “नेताहरूलाई भेटेर के गर्नू ! भेटेर आफ्नो हिसाबले समाचार, अन्तर्वार्ता बजाउन पाइँदैनथ्यो,” पञ्चायतकालमा सरकारी सञ्चारमाध्यमको अवस्था कस्तो थियो, प्रचण्डमानका कुराबाट स्पष्ट हुन्छ, “बजाउन नपाएपछि भेट्नुको कुनै अर्थ हुँदैनथ्यो । गृह मन्त्रालयबाट आएको स्टेटमेन्टमा जे छ, त्यही पढ्नुपथ्र्यो ।”

बीबीसी, सीएनएन र भ्वाइस अफ अमेरिकाको अफर

रेडियोबाट प्रचण्डमानको जिन्दगीको करिअर शुरु भयो र त्यहीँबाट अन्त्य पनि । स्वरमा ओज थियो । गज्जबको लवज थियो । अंग्रेजी र नेपाली दुवै भाषामा निपूर्ण थिए । साथमा नेतृत्व क्षमता पनि । प्रचण्डमानलाई ‘बीबीसी’, ‘सीएनएन’, ‘भ्वाइस अफ अमेरिका’ले पनि बोलाए । तर, उनले रेडियो नेपाल छोडेनन् । एकातिर सरकारले दिएको उच्च जिम्मेवारी, अर्कोतर्फ स्रोताको अगाध स्नेह । उनले छोड्नै सकेनन् रेडियो नेपाल । लत्याइदिए विश्वकै नामी रेडियो स्टेसनहरूको अफर । बसिरहे रेडियो नेपाल । पढिरहे आफ्नै देश र जनताका समाचार ।

अहिलेको पत्रकारिताप्रति कुनै टिप्पणी छ ? प्रचण्डमान शायद माइकअगाडि मात्रै खुल्छन् । अनौपचारिक कुराकानीमा उनलाई खुल्न समय लाग्छ । हत्तपत्ती उनी मनको भित्री तहको कुरा गर्दैनन् । त्यसैले उनले छोटोमा भने, “धेरै के भनौं, अहिले स्वतन्त्रता छ । खुला छ । अनि सबै तरिकाले सजिलो पनि छ ।”

उनले सम्झिए आफ्नो जीवनको कठिन कालखण्ड । त्यो समय प्रचण्डमानले पत्रकारिता गरे, जुन समय दुर्घटनाको समाचार महिना दिनपछि चिठ्ठीको सहारामा खाममार्फत हुलाक हुँदै समाचार कक्षसम्म आइपुग्थ्यो । अहिले नागरिक पत्रकारिताको अभ्यास शुरु भइसक्यो । पत्रकारले स्वतन्त्र व्यक्तिको फेसबुक र ट्विटरबाट पहिला सूचना पाउन थालिसके । सञ्चारमाध्यमबाट भन्दा सामाजिक सञ्जालबाट सूचना पहिला आउन थालिसक्यो । जिन्दगीको उत्तराद्र्धमा काठमाडौंको कुलेश्वरमा बसेर माघको ठिहीमा हिटरको छेउमा बसेर प्रचण्डमानले समय, प्रविधि र पहुँचको तुलना गरे ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC