site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘परिस्थितिजन्य लोकतन्त्रवादी’ प्रधानमन्त्री ओली ! 

सत्याग्रही डा.गोविन्द केसी दुई सातादेखि अनशनमा छन् । सरकार उनको माग सुन्ने मानसिकतामै देखिँदैन । उनले आफ्नो माग मनाउन जीवनलाई बाजी थापिदिएका छन् । डा.केसीको आफ्नो कुनै निजी माग छन् र ? जे छन् जनताले राज्यका तर्फबाट पाउनुपर्ने स्वास्थ्यसेवासँग सम्बन्धित छन् । सरकार आफैँले गर्नुपर्ने काम उनले देखाइदिएका मात्र हुन् । 

डा.केसी हठी छन् । उनले कुनै एकदलको वा अहिले कम्युनिस्टको सरकार बनेपछि मात्र सत्याग्रह गरेका होइनन् । जुनसुकै दलको सरकार बन्दा पनि उनले चिकित्साशिक्षा सुधारको माग राखेर अनशन गरेका छन् र यो सोह्रौँपटक हो । उनको सत्याग्रहलाई समर्थन गर्दा कुनै राजनीतिक लाभ वा आग्रह राख्नु उचित हुँदैन । किनभने यिनको सत्याग्रह अघिल्तिर सबै दल उभिनुपरेको छ, आग्रहका सामु झुक्नु परेको छ । 

डा.गोविन्द केसीलाई समर्थन गर्नेहरूले जनताको पक्षमा सहयोग दिएको बुझेका छन् । उनका माग यस्तै छन्, त्यसैले । तर, सरकारमा रहेकाहरुले आफ्नो स्वार्थ अनुकूल उनको प्रयत्नलाई राजनीतिक रंग दिने कोसिस गरेका छन् । यस्तो कोसिस अहिलेको कम्युनिस्ट सरकारले संवेदनहीन शैलीमा गर्दैछ । जनताको लागि काम गरेको दुहाई दिएर नथाक्नेहरूले जनताकै पक्षमा माग राख्ने सत्याग्रहीलाई ‘मरे मरोस्’ भन्ने प्रकारको व्यवहार गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो कुनै आरोप होइन । कम्युनिस्ट सांसदहरुको कुरा सुन्दा प्रस्टै बुझिन्छ उनीहरू कति संवेदनहीन क्रूरता प्रदर्शन गर्दैछन् । यसको सबैभन्दा कठोर उदाहरण नेकपाको अध्यक्षभन्दा माथि उठेर सिंगो मुलुकको प्रधानमन्त्री बन्न नसकेका नेकपाका अध्यक्ष केपी ओली नै हुन्  । 

सरकारले पूरा गर्नै नहुने र नसक्ने माग सत्याग्रही केसीले गरेका छैनन् । उनको माग जनविरोधी पनि होइनन् र सरकार विरोधी पनि छैनन् । छन् भने जनपक्षीय छन् । जनताको पक्षमा काम गर्न यो सरकारलाई कुन चाहिँ स्वार्थले रोकेको हो ? 

Global Ime bank

केदारभक्त माथेमा कार्यदलको सुझावअनुसार नै उनको मागमा दस वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने समावेश गरिएको छ । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन नदिने विषय छ । डा.केसीको यस्ता र यिनै मागलाई पूरा गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री केपी ओलीले डा. केसीसँग सम्झौता गरेका हुन् । ती मागले न कलेज खोल्न पूरै रोकेको छ न सम्बन्धन पाउन नै । 

फरक, स्वास्थ्यसेवा उपत्यकामा केन्द्रित हुने सम्भावनालाई दस वर्षे रोकले चिकित्सा सेवामा लगानी गर्न चाहनेहरू मोफसलतिर आकर्षित हुनेछन् । अहिलेको क्षमतामा एउटा विश्वविद्यालयले सम्बन्धन दिइएका पाँच कलेजलाई तिनले निरीक्षण, अनुगमन गर्न पनि हम्मे छ । सबै प्रदेशमा कलेज खोल्न आग्रह गर्ने डा.गोविन्द केसीलाई संसदीय सर्वोच्चता देखाएर मृत्युको मुखतिर किन धकेल्नु किन परेको हो ? जनपक्षीय माग सुन्नै नहुने जब्बर के स्वार्थ जोडियो सरकारसँग ?

समस्या, त्रिवि र केयुले डबल संख्यामा सम्बन्धन दिइसकेका कलेज छन् । सरकारलाई आफ्ना नेता र कम्युनिस्ट लगानीकर्ताको अरू केही कलेजलाई सम्बन्धन दिएर स्वाथ्यसेवालाई पार्टी र नेताको अर्थ व्यापारको उपलब्धि बनाउनुपर्ने छ । समस्या यहीँ छ । 

तर, सरकारले चाह्यो भने स्वास्थ्य उपचार सेवामुखी र स्तरीय कलेज खोल्ने उपाय छ, जानकारहरु भनिरहेका छन् । जस्तै, बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको स्वरूप दिएर ‘मार्सी’ उपनामले चर्चित बी एन्ड सी अस्पताललाई सम्बन्धन दिलाई चलाउन सकिन्छ । यसकै सम्बन्धनमा पूर्वका महत्त्वपूर्ण ठाउँमा पाँच कलेज स्थापना गर्नसकिन्छ । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला जस्ता लोकतन्त्रवादी नेताको नाम जोडिएको अस्पताललाई संघीय मान्यता दिन नचाहने कम्युनिस्ट सरकारलाई बीपीको नाम जोडिएको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउँदा लोकतन्त्र बलियो हुन्छ भन्ने चिन्ता थपिएको हुनसक्छ । 

डा.केसीका अरु माग सबैले राखेजस्ता छन् । निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही र द्वन्द्वपीडितलाई न्याय । यी माग देखाएर कम्युनिस्टहरु डा.केसीमा राजनीतिक रंग भर्ने कोसिसमा छन् । नेकपाका अध्यक्षलगायत सरकारी मान्छेले नै बारम्बार पन्तका हत्यारा खोजेर कारबाही गर्ने प्रतिबद्धता सार्बजनिक गरेका छन् । उनीहरूकै प्रतिबद्धता पूरा गर्न डा.केसीले माग राखे त के राजनीति भयो ?

समाधान नभएको द्वन्द्वपीडितको आवश्यकतालाई सम्बोधन गर्ने बारे बोलेर उनले न कुनै नौलो माग गरेका हुन् वा ‘अनहोनी’ कुरा नै । समाधान भएको हुन्थ्यो त सरकार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोग किन बनाउँथ्यो वा म्याद थप र पुनर्गठनको माग किन भइरहन्थ्यो ? निहत्थाको हत्या, कथित ‘जनयुद्ध’ले पारेको गहिरो घाउमा आवश्यक वा उचित मल्हमपट्टीको माग के राजनीति भयो र ? तर, डा.केसीको मूल माग चिकित्सा शिक्षासँग जोडिएको छ । नेपालीलाई उपचार सर्वसुलभ होस् भन्नेमा छ ।   
यस्ता माग राखेर डा.केसीले राजनीति गरेका हुन् भन्ने ठहर सरकारको हो भने ती माग पूरा गर्दिए त राजनीति सकियो नि । माग पूरा गर्दा मुलुक र जनताले बेहोर्नुपर्ने क्षति केही भए सरकारले स्पष्ट पारे भयो । अन्यथा, संघीय संसद्मा जबर्जस्ती लगिएको सम्झौताविपरीतको स्वास्थ्य शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर माग पूरा गर्दिए कम्युनिस्टहरूले भन्ने  डा. गोविन्द केसीको नाममा कांग्रेसले गरेको राजनीति पनि त सिद्धिन्थ्यो । 

कुनैबेलाको अनशनमा डा.केसीलाई भेटेर समर्थन देखाउने कम्युनिस्ट नेताहरु अहिले उनकै अनशनलाई राजनीतिक ध्रुवीकरणको माध्यम बनाइरहेछन् । सरकारी पक्ष एकातिर डा.केसीको मागअनुसार नै विधेयक ल्याएको बताउँछ भने अर्कोतर्फ कुनै एकजना अनशन बस्दैमा सबै माग पूरा हुँदैन भन्ने दम्भी भाषा प्रयोग गर्दैछ । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा.केसीको माग र सम्झौता अनुसार नै विधेयक ल्याउनुपर्ने बताएर सम्झौताअनुसार विधेयक नरहेको पुष्टि गरिदिएका छन् । विरोधाभाषी  यस्ता भनाइले कसको स्वार्थ वा दबाबमा सरकार सम्झौताप्रति इमानदार हुनसकेन भन्ने प्रश्न खडा भएको छ ।    

आफूसँग स्वयं प्रधानमन्त्रीले गरेको सम्झौता पूरा होस् भन्ने डा.केसीको माग अनुपयुक्त छ भने किन प्रधानमन्त्रीले सम्झौता गरे ? सार्वजनिकरूपमा सम्झौता गरेपछि त्यसप्रति कुन प्रकारको नैतिक जिम्मेवारी लिनुपर्छ वा राष्ट्रिय, अन्तर्राष्ट्रिय कतिपय सन्दर्भमा सहमति,सम्झौता बाध्यकारी हुन्छ भन्ने प्रधानमन्त्रीले नै बुझ्ने हो । गरेको सम्झौताप्रति मुन्टो फर्काएर भाग्ने प्रवृत्तिले प्रधानमन्त्रीलाई अविश्वसनीय बनाएकै छ । 

आफूसँग गरेको सम्झौतालाई माग्दै सत्याग्रह बसेको एक सम्मानित नागरिकलाई कुनै प्रकारले सम्बोधन नगरी डाभोस भ्रमणमा निस्कनुले प्रधानमन्त्रीको संवेदनहीनता  देखाएको छ । डा.केसीलाई आफू फर्किएर नआउन्जेल अनशन नबस्न वा आफ्ना कार्यकर्तालाई संसद्मा विधेयक नलान प्रधानमन्त्रीले आग्रह गर्नसक्थे, गरेनन् । बरु, आफू नभएकै बेलामा विधेयक जबर्जस्ती पारित गर्न कार्यकर्तालाई निर्देश गरेजस्तो देखियो । कि त सम्झौताअनुसारकै विधेयक प्रस्तुत गर्न लगाउनुपथ्र्यो वा केही दिन थाती राखेर अन्य विधेयकतिर लागेको भए हुन्थ्यो । 

शब्दमा दुईतिहाइको व्यक्त हुने दम्भ अहिले आएर केही मत्थर सुनिए पनि व्यबहारमा दम्भ थप चर्किँदै गएको छ । त्यो दम्भ संसद्तिर पनि छिर्दैछ । उदाहरण सत्याग्रहीप्रतिको व्यबहारमात्रै होइन । लोकतन्त्रवादी नेताको नाममा स्थापित अस्पतालप्रति गरिएको व्यवहार पनि हो । कम्युनिस्ट नाममा स्थापित संस्थालाई दिइएको आर्थिक सहयोग र लोकतन्त्रवादी नेताका नाम जोडिएका संस्थालाई दिइएको सहयोगलाई तुलनात्मकरूपमा हेरियो भने सरकारी मनोवृत्तिको लुटतन्त्र र पक्षपात खुला देखिन्छ । 

यही कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् अवरुद्ध गर्न बाध्य  छ । एघार अस्पतालमध्ये गिरिजाप्रसाद कोइराला (तनहुँ)र सुशील कोइराला (बाँके) को नाममा प्रारम्भ अस्पताललाई सरकारले गरेको भेदभाव अत्यन्त खेदजनक छ । 

अन्त्यमा, प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताको दुहाइ दिएर डा. केसीसँग गरेको सम्झौता तोड्ने सगर्व घोषणा गरे । सम्झौता गर्दा नजागेको संसदीय सर्वोच्चताको माया अहिले आएर उनमा बल्ल जाग्यो,किन ? बताइरहनु पर्दैन, सबैले बुझेको आर्थिक लेनदेनको कुरा हो यो । ‘हस्’ भन्ने कार्यकर्ताले झन्डै दुईतिहाइ पुगेको संसद्मा कसको सर्वोच्चता छ, त्यो पनि नेपाली नागरिकले यी दस महिनामा देखिसके । कांग्रेसलाई प्रधानमन्त्री फर्केपछि उक्त दुई अस्पतालको कुरा मिलाउने आश्वासन केही कम्युनिस्ट (सरकारी) पक्षका सांसद्ले दिएका छन् रे !  भन्छन्– तर कांग्रेसले मानेन । कांग्रेसले मान्ने पनि कुन विश्वासमा ? प्रधानमन्त्री नै गरेको सम्झौता र दिएको वचन तोड्छन् भने उनका कार्यकर्ताले दिएको वचन लागु हुन्छ वा प्रधानमन्त्रीले ओलीले मान्छन् भन्ने के ‘ग्यारेन्टी’ रह्यो ?

प्रधानमन्त्री केपी ओलीले डा.केसीसँग गरेको सम्झौतालाई सार्वजनिकरूपमै परिस्थितिजन्य भनिदिए । कम्युनिस्ट अधिनायकवादको स्वप्नमोहमा बसेको चौधवर्षको जेल जीवनलाई लोकतन्त्रका लागि भजाउने प्रधानमन्त्री केपी ओली, के परिस्थितिजन्य लोकतन्त्रवादी हुन् वा हुनसके ? उनको परिस्थितिजन्य राजनीति अविश्वनीय धरातलमा टेकेको छ ? उनकै अभिव्यक्तिले निकालेको गम्भीर प्रश्न, संकेत वा उनको प्रतिबद्धताको पहिचान समेत हो । दीक्षा, अपेक्षा कम्युनिस्ट तर लोकतन्त्रसँग परिस्थितिजन्य सम्झौता ? भरपर्न नसक्ने अवसरवाद उद्घाटित गर्ने अभिव्यक्ति पनि हो कि डा.केसीसँगको सम्झौताप्रति उनको टिप्पणी  ? 
    
    
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC