site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्याकाण्ड : अधिकारका लागि गुटैगुट, डलरको खेतीदेखि राजनीतिको आरोपसम्म !
Ghorahi CementGhorahi Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगेको छ । प्रहरीले अनुसन्धान साँघुरिँदै गएको बताएपनि हत्याराको पहिचान हुन सकेको छैन । प्रविधिको प्रयोगदेखि अन्य प्रक्रियाबाट अनुसन्धान जारी छ । सरकारदेखि विभिन्न निकायले निर्मला हत्याकाण्डबारे आ–आफ्नै अध्ययन रिपोर्ट सार्वजनिक गरेका छन् । 

कतिपय रिपोर्ट विवादको घेरामा पनि तानिए । तर कुनै पनि रिपोर्टमा हत्याराको संकेत भने हुन सकेन । अनुसन्धानमा लापरवाही भएको भन्दै प्रहरी अधिकारी नै कारबाहीमा परे । तर नयाँ अनुसन्धान टोलीले पनि चित्तबुझ्दो उपलब्धी हात पार्न सकेको छैन । पछिल्लो समय निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’ को संकलन र परीक्षण प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । चर्चाको केन्द्रमै रहेको निर्मला हत्याकाण्डबारे विभिन्न समयमा फरक–फरक प्रसंग पनि उठ्ने गरेका छन् । निर्मला हत्याकाण्डको अनुसन्धानबारे सत्तापक्ष र प्रतिपक्षका पनि आ–आफ्नै टिप्पणी र आरोपहरु पनि छन् । 

अधिकारका लागि महिलाका गुटैगुट
गत साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी निर्मला पन्तको न्यायका लागि भन्दै नागरिक समाजदेखि महिला अधिकारकर्मी, संघसंस्था सक्रिय छन् । ती सबै संस्थाले निर्मलाकै न्यायको कुरा गर्छन् । तर खासमा न्यायका लागि संघर्षरत महिला समूह नै एकअर्काकालाई आरोप लगाउनमै व्यस्त देखिन्छन् । निर्मलाको न्यायका लागि सुरुमा हेलन श्रेष्ठ नेतृत्वको समितिले आन्दोलन सुरु गर्यो । विस्तारै आन्दोलन चर्कँदै गएपछि आन्दोलनमा अधिकारकर्मी शारदा चन्द पनि सहभागी भइन् ।

Agni Group

शारदाले न्यायका लागि भन्दै निर्मलाका आमाबुबालाई काठमाडौंसम्म ल्याइपुर्याइन् । शारदा चन्द स्थानीय स्तरमा महिला अधिकारका लागि काम गर्दै आएकी अधिकारकर्मी हुन् । उनले कञ्चनपुरमै महिला तथा वृद्धवृद्धा सेवा केन्द्र चलाइरहेकी छन् । निर्मला हत्याकाण्डसँग जोडेर कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसँग उनले म्यासेज गरेको कुरालाई राससमा कार्यरत पत्रकार राजेन्द्र विष्टले सार्वजनिक गरेका थिए । चन्दले भने विष्टले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै आएकी छिन् । 

काठमाडौंमा उनीहरुले पत्रकार सम्मेलन गर्नेदेखि माइतीघरमा प्रदर्शनसम्म गरे । त्यतिबेला अधिकारकर्मीहरु माया नेगी, निर्मला भट्ट, लक्ष्मी मल्ललगायतको समूह पनि सँगै थियो । तर विस्तारै यो समूहमा फाटो आयो । माया नेगी लगायतले त्यो समूह छाडे । शारदा चन्द नेतृत्वको समिति र हेलन श्रेष्ठ नेतृत्वको समितिले कञ्चनपुरमा छुट्टाछुट्टै आन्दोलन गर्नुपर्ने स्थिति आएपछि नागरिक समाजले आन्दोलनको अगुवाई गर्यो । त्यो बीचमा श्रेष्ठ नेतृत्वको समितिले निर्मलाको न्यायका लागि केही महिला अधिकारकर्मीले डलरको खेती गर्न खोजेको आरोप लगाउँदै विज्ञप्ती जारी गर्यो । 

Global Ime bank

निर्मलाको हत्या भएपछि स्थानीय हेलन श्रेष्ठको नेतृत्वमा आन्दोलनका लागि संघर्ष समिति गठन भयो । समितिले विभिन्न चरणका कार्यक्रम अघि सारेको थियो । केही समयपछि अधिकारकर्मी शारदा चन्दको नेतृत्वमा पनि आन्दोलन सुरु भयो, महेन्द्रनगरमा । 
हेलन श्रेष्ठको समूहले आन्दोलनलाई शान्तिपूर्ण रुपमा चर्काउने आवाज उठाए भने अर्को समूहले सशक्त आन्दोलनको नारा अघि सारे । 

आन्दोलन चर्कंदै जाँदा अनियन्त्रित बनेको आन्दोलनमा निर्मलाको न्याय माग्दा स्थानीय शनि खुनाले ज्यान गुमाउन पुगे । अन्य कैयौं घाइते भए । तर आन्दोलनको नेतृत्व कसले गर्यो, खुलेन । लामो समयको कर्फ्युपछि महेन्द्रनगर शान्त त बन्यो तर निर्मलाको न्यायको आन्दोलन जारी रह्यो, शान्तिपूर्ण रुपमा  । 

हेलन श्रेष्ठ नेतृत्वको दबाबमूलक संघर्ष समितिले विज्ञप्ती नै जारी गरेर भन्यो, ‘‘दबाबमूलक संघर्ष समिति सुरुदेखि नै निष्पक्ष रुपमा न्यायको पक्षमा रहेको जानकारी गराउँदछौं । न्यायका नाममा केही व्यक्तिले डलरको खेती गरिरहेकाले न्याय प्रभावित भएको हाम्रो ठहर छ ।’’ 

यद्यपि डलरको खेती कसले गर्न खोजेको हो, विज्ञप्तीमा खुलाइएको छैन । हेलन श्रेष्ठ स्थानीय व्यवसायी हुन् ।  माया नेगी नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य हुन् । पूर्वमाओवादी पृष्ठभूमिकी नेगी सुरुदेखि नै निर्मला हत्या प्रकरणको आन्दोलनमा सहभागी हुँदै आएकी छिन् । मायाले निर्मलाको परिवारमा राहत रकमको विवादबारे पत्रकार सम्मेलन नै गरेकी थिइन् । 

अहिले माया नेगी र मिना भण्डारीहरुको छुट्टै समूह छ । निर्मलाकी कान्छी आमा लक्ष्मीले पटक–पटक मिडियामा दिएको अन्तरवार्तामा पनि जेठी आमालाई माया र मिनाले उचालेको आरोप लगाउँदै आएकी छन् ।  निर्मलाकै न्यायका लागि भन्दै सावित्री सुवेदी काठमाडौंबाट कञ्चनपुर पुगिन् । हाल उनले बम दिदीबहिनी वविता र रोशनीलाई काठमाडौंस्थित आफ्नै डेरामा बसाउँदै आएकी छिन् । 

कञ्चनपुर पुगेर निर्मलाको न्यायका लागि छातीमा गोली थाप्न तयार छु भन्दै भाषण गरेकी सावित्रीले न्यायका लागि वम दिदीबहीनीलाई काठमाडौं ल्याएकी हुन् । 

सावित्रीले उनीहरुलाई काठमाडौं ल्याएको विषयमा पनि बजारमा सकारात्मक र नकारात्मक दुवै चर्चा छ । सावित्री केही समयअघि बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै अर्धनग्न प्रदर्र्शन गरेर चर्चामा आएकी थिइन् । उनी आफूलाइै महिला अधिकारकर्मीको रुपमा चिनाउन चाहन्छिन् । 

अन्यायमा परेकालाई राज्यले न्याय दिनुपर्छ तर त्यसका लागि बम दिदीबहिनीले सावित्रीको सहयोग किन मागे त भन्ने प्रश्न पनि उठ्न थालेको छ । खासमा सबैजसो अधिकारकर्मीले एकले अर्कालाई डलरको खेती गरेको आरोप लगाउँदै आएका छन् । निर्मला हत्याको विषयलाई लिएर प्रतिपक्षी कांग्रेसले राजनीति गरेको स्थानीय सत्तारुढ दलका नेता कार्यकर्ताको आरोप छ भने कांग्रेसले भने ठूलै अपराधी जोगाउन सरकार लागेको आरोप लगाउँदै आएको छ । 
सोमबारमात्रै कञ्चनपुरस्थित निर्मला पन्तको घरमा पुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको हत्यारा पत्ता नलगाए देशै ठप्प पार्ने चेतावनी दिए । 

निर्मला पन्तको घरबाट कांग्रेस प्रवक्ता शर्माको चेतावनी– हत्यारा पत्ता नलगाए देशै ठप्प पार्छौं

यज्ञराजको गोजीमा विष भेटिएकै हो कि हल्लामात्रै ?
निर्मलाको न्यायका लागि भन्दै बुबा यज्ञराज धर्नामा बसे । तर बीचमा एकाएक धर्नामा बसेका यज्ञराजको गोजीमा विष भेटिएको चर्चा चल्यो महेन्द्रननगरमा । तर त्यो विष कसैले देखेन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले त्यतिखेर भनेका थिए, ‘‘विष भेटिएको जानकारी प्रहरीमा आएको छैन ।’’ केही महिला अधिकारकर्मीले यज्ञराजको गोजीमा विष भेटिएको दाबी गरेका थिए । स्थानीय माया नेगीले भनिन्, ‘‘एक अधिकारकर्मीले विष पाइएको बताएपछि मैले खोइ कहाँ छ त विष ? प्रहरीलाई खबर गरौं भन्दा मैले त जलाइदिएँ भनिन् ।’’ यो हल्ला हो कि वास्तविकता रहस्यको गर्भमै छ । यदि विष भेटिएको हो भने किन प्रहरीलाई खबरै नगरी जलाइयो ? यसको जवाफ कसले दिने ? 

राहत रकमको किचलो 
निर्मला पन्तका परिवारलाई सरकारले दिएको राहतमा विवाद भएको छ । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए । परिवारले हालसम्म राहत बुझेको छैन । राहतकै विषयलाई लिएर यज्ञराजले श्रीमती दुर्गादेवीमाथि हातपातसमेत गरे । निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले दिएको राहत रकम बुझे दुर्गादेवीको घरको दैलोमा गएर आत्महत्या गर्ने चेतावनीसमेत दिए । यज्ञराजले सडकमै सबैको अगाडि दुर्गादेवीलाई धम्की दिएको भिडियो सार्वजनिक भएको थियो ।

निर्मलाका बुवा यज्ञराजको चेतावनी– आमा दुर्गाले राहत बुझे आत्महत्या गर्दिन्छु (भिडियोसहित)

यज्ञराजले कान्छी श्रीमतीको रुपमा लक्ष्मी भट्टलाई भित्र्याएपछि १२ वर्षदेखि छुट्टै घरमा बस्दै आएका थिए । मजदुरी गरेर दुर्गाले छोरीहरुको पालनपोषण गर्दै आएकी थिइन् । राहतकै रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको परिवारमा विवाद चुलिएको छ । स्थानीयले भने कान्छी आमा र बावुले राहत रकममा भाग खोजेपछि विवाद चुलिएको बताउँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC