विराटनगर । सखुवाको तखताले बेरबार गरेको टहरोमाथि फुसको छाना हालियो । चारवटा जति कोठा तयार भए । उबेला रमाइलो चोक भनिन्थ्यो मोरङको अहिलेको रमाइलो बजारलाई । चोकबाट एक किलोमिटर उत्तर नयाँ संरचना तयार हुँदै थियो । धेरैलाई ‘के हुन लाग्यो ?’ भन्ने कौतुहल थियो । वि.सं २०२५ माघ १९ गतेको दिन दिन सरस्वती पूजा थियो ।
विद्यालय उद्घाटन भयो । नाम जुर्यो जनसेवा । हेर्नेहरुको लर्केताँत लाग्यो । ‘अब पढ्न पाइने भो’ भन्ने गाईंगुइँ पनि चल्यो । तत्कालीन शिक्षामन्त्री हिरालाल विश्वकर्माले विद्यालय खोल्ने इजाजत दिए । आफैं पनि आई विद्यालय निरीक्षण गरे । उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्दै जनतालाई सम्बोधन गरेर फर्किए । पछि २०२७ तिर छाना फेरियो । फुसको ठाउँमा जस्तापाता लाग्यो । बेरा तखताकै थियो । मास्तिर विद्यालयमा साँघुरो भएपछि तल रमाइलो बजार नै सारियो ।
आफ्ना बुबाबाट सुनेका कुरा जनसेवा मावि रमाइलोका २०३२ सालका विद्यार्थी राजकुमार बरालले सुनाए । उनले त्यही विद्यालयबाट २०३८ सालमा एसएलसी पास गरेका हुन् । ७० जनाले परीक्षा दिएकामा चारजना मात्र उत्तीर्ण भए । तिनै चारमध्येका एक थिए, बराल । ‘‘हामी पढ्दा पनि लामो टहरो थियो, फुसको छाना बर्खामा चुहिन्थ्यो, कक्षा नै रोकिन्थ्यो,’’ बरालले विगत सुनाए, ‘‘हिउँदमा स्याँठ बर्खामा कोठाभित्रै छिर्ने पानीले बडा दुःख हुन्थ्यो ।’’ बराल अहिले जनसेवा माविका शिक्षक हुन् । २०५४ देखि अध्यापन सुरु गरेका हुन् । स्थापनाको ५० वर्षमा स्वर्ण महोत्सव मनाउने तयारी भैरहँदा बराल पूर्व विद्यार्थीहरुको समूहको संयोजक छन् । ‘‘त्यो विद्यालय अब कहाँ छ र ?’’ विगत केट्याउँदै भने, ‘‘विद्यालयले पूर्वाधार र शैक्षिक गुणस्तरमा धेरै फड्को मारिसकेको छ ।’’
हुन पनि हो । ५० वर्षको यो अवधिमा जनसेवाबाट पाँच हजार ४ जना विद्यार्थीले त एसएलसी नै उत्तीर्ण गरिसके । करिब एक हजार विद्यार्थीले दश जोड दुई छिचोलिसके । अहिले पनि विद्यार्थीको चाप घटेको छैन । विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देल भन्छन्, ‘‘कक्षा १ देखि ५ सम्म विद्यार्थी अलि कम छन् । ७ देखि १२ सम्म चाप छ ।’’ उनका अनुसार कक्षा ९ र १० मा चार चारवटा सेक्सन छन् । सामुदायिक विद्यालयले निजीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नजिकैको भौंसाबारी, बुधबारे, राधानगर, जहदा र विहीबारेका विद्यार्थी पढ्ने आधार जनसेवा मात्र थियो । धेरै विद्यार्थी त्यतैबाट पढ्न आउँथे । अहिले वरपर सातवटा माध्यमिकस्तरकै विद्यालय खुलेका छन् । १० वटा अंग्रेजी विद्यालय थपिए । तर, पनि तल्ला कक्षामा केही विद्यार्थी घटेपनि जनसेवाको सान उस्तै छ । पढाइ मन पराएर विद्यार्थी आएकै छन् । अहिले पक्की संरचना बनेका छन् । ५ बिगाहा ६ कठ्ठा आफ्नै जमिन छ । विद्यालयमा हरेक घण्टीमा एकै पटक २९ वटा कक्षा चल्छन् । २१ पक्की कोठा र ११ जस्ताका कोठा निर्माण भएका छन् । बाली विज्ञान प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय, वाचनालय र व्यवस्थित कम्प्युटर ल्याबको विद्यार्थीले भरपुर प्रयोग गर्न पाएका छन् ।
अंग्रेजी नर्सरी, प्लस टुमा वाणिज्य शास्त्र, शिक्षा र बागवानी जनसेवाका आकर्षण हुन । कृषि पढ्नका लागि जनसेवाले विद्यार्थी तानिरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक अम्बिका प्रसाद अर्यालले भने, ‘‘भित्री मोरङको यो वस्तीमा खुलेको विद्यालयले आफ्नो विगतको साखलाई कायमै गरेको छ ।’’ विद्यालयले माघ २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भव्य समारोहबीच स्वर्ण महोत्सव मनाउन लागेको उनले सुनाए ।
२०४६ सालमा एसलसी उत्तीर्ण गरेका पूर्वविद्यार्थी दिपेन न्यौपाने अहिलेको भौतिक संरचना र पढाइको गुणस्तरले जनसेवाको परिचय फेरिंदै गएको बताउँछन् । उनले भने, ‘‘विगतदेखि अहिलेसम्म विद्यार्थी अड्याउन सक्नु र शैक्षिक गुणस्तरलाई खस्न नदिनु नै ठूलो उपलब्धी हो ।’’
स्वर्ण महोत्सवको अवसरमा जनसेवाले यहाँ पढेर स्वदेश र विदेशमा ख्याति कमाएका र विद्यालयलाई सहयोग गरेका तीनसय भन्दा धेरैलाई सम्मान गर्दैछ । स्वर्ण महोत्सवको भव्य तयारीसमेत सुरु गरिएको छ । यो अवसरलाई विद्यालयले आर्थिक स्रोत जुटाउन सदुपयोग गर्ने योजना पनि बनाएको छ । मूल समारोह समितिका सदस्य भोलाप्रसाद अधिकारले भने,‘‘विद्यालयको इतिहास सुरक्षित गर्ने र भविष्यको नयाँ मार्गदिशा तय गर्ने पनि तयारी गरेका छौं ।’’ खर्च १५ लाख हुने अनुमान गरिएको र विद्यालयका विद्यमान समस्या उजागर गर्दै दीर्घकालीन योजना बनाएर आफ्नो अबको यात्रा तय गर्ने तयारी गरेको अधिकारीले बताए ।
विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्ने वचन आउन थालेका छन् । शिक्षक खेमराज पौडेलले भने, ‘‘अहिले देशभित्र र बाहिर बस्ने हाम्रा पूर्व विद्यार्थीको सहयोग जनसेवाले खोजिरहेको छ ।’’