काठमाडौं । एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्रालि (सन)सँग ऊर्जा खरिद सम्झौता (पीपीए) गरेको छ । सम्झौतासँगै ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य–ऊर्जा प्यानल बैंकको केन्द्रीय कार्यालय छतमा राखिने भएको हो ।
यस ऊर्जा खरिद सम्झौताअन्तर्गत सनले छानामा सौर्यऊर्जा स्थापना–जडान, स्वामित्व ग्रहणसहित १५ वर्षका लागि सञ्चालन गर्नेछ । एनएमबी बैंकले ऊर्जा उत्पादन–सञ्चालनका लागि कुनै लगानी नगरी यो छानामुखी सौर्यऊर्जा (सोलार रुफ–टप) बाट उत्पादित विद्युत्, राष्ट्रिय प्रशारण लाइनबाट उपलब्ध हुने विद्युत्को खुद्रा महसुल दर भन्दा कम दरमा खरिद गर्ने जनाएको छ ।
“यस पहलले बैंकको नेपालमा नवीकरणीय ऊर्जाको विस्तार एवं त्यसका लागि वित्तीय लगानी गर्ने एनएमबी बैंकको प्रतिवद्धतालाई पुष्टि गरेको बैंकको दाबी छ । बैंकका प्रमुख कार्यकारी कार्यकारी अधिकृत सुनील केसीले भने, “यसले हाम्रो आफ्नो विद्युत् आवश्यकताको एउटा हिस्सा सौर्य ऊर्जाबाट पूरा मात्र हुँदैन, नेपालभरि छानामा राखिने सौर्यऊर्जा प्रणालीको विस्तारका लागि लगानी विस्तारका लागिसमेत हामी यसको उपयोग गर्नेछौं ।”
एनएमबीको छानामुखी सौर्य प्रणालीको आयु २० वर्षभन्दा लामो समयावधि रहेको छ, उक्त अवधिमा बैंकले प्रशारण लाइनबाट प्राप्त विद्युत्भन्दा कम दरमा प्रतियुनिट भुक्तानी गर्नेछ । यो ५० किलोवाटको सौर्यऊर्जाले २० लाख किलोवाट घण्टा (किलोवाट आवर) बराबरको विद्युत् आयात कम गर्नमा तथा आयोजना अवधिभरिमा २ करोड रुपैयाँभन्दा बढीको आयात लागत घटाउन सहयोग पुर्याउनेछ ।
नेपाल विद्युत् प्राधिकरणले पनि नेट मिटरिङ प्रणाली अपनाउन खुला गरिसकेको छ । यो यस्तो प्रणाली हो, जसका माध्यमबाट विद्युत् उपभोक्ताले आफ्नो सौर्य ऊर्जा प्रणालीलाई प्रशारण लाइनमा आवद्ध गर्न दिन्छ र बढी भएको विद्युत् प्रशारण लाइनमार्फत् निर्यात गराउँछ । नेट मिटरिङले नेपालको विद्युत् उत्पादनका आधारहरू विविधीकरण गर्ने, उपभोक्तामाथि विद्युत्को लागत र आयात घटाउने तथा अझ बढी विश्वसनीय विद्युतीय प्रशारण लाइन (ग्रिड) सहितका व्यापक अवसरहरू विस्तार गर्न ढोका खोलेको छ ।
एनएमबी बैंक र सनबीचको सम्झौताले नेपालभरि नै यस्तो छानामुखी सौर्यऊर्जामा लगानी बढाउने उद्देश्यलाई पनि समेटेको सरल ऊर्जा नेपालका प्रबन्ध निर्देशक विशाल थापाले बताए ।
एनएमबी बैंकमा जडान गरिने सौर्यऊर्जा प्रणाली यस्तो विशिष्ट प्रणाली हो, जहाँ ग्राहकले जडान र सञ्चालनका लागि लगानी नगरि नै ऊर्जा उपभोग गर्न पाउने छन् र उपलब्ध सौर्य विद्युत्मा नेपाल विद्युत् प्राधिकरणको महसुल दरभन्दा कम भुक्तानी गरे पुग्छ ।
यो प्रणालीबाट आउँदो पाँच वर्षभित्रमा ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सक्ने सनका प्रमुख कार्यकारी अधिकृत आशिष चालिसेको विश्वास छ ।