site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समाज चिनाउने पाइला
Sarbottam CementSarbottam Cement

– अक्षर काका


 

निकै चञ्चले स्वभावका छन्, पर्वत फलेवासका आदित्य पौडेल । उनको चञ्चलता र चुलबुलेपन नै सिर्जनामा सिद्धहस्त बन्ने साधन बनेका छन् भन्दा हुन्छ । र त, प्रकृतिको विहङ्गम क्यानभासमा खाइखेली हुर्किएका आदित्य र कुची एक–अर्काका पर्यायजस्तै बनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फलेवासका पाखामा दृष्टि घुमाउँदा जे चित्रमा आँखा अडिन्थ्यो, उनी त्यसलाई कापीमा हुबहु उतार्थे । रङ संयोजन र चित्रछटा बडो बान्कीपूर्ण देखिन्थ्यो । त्यसैले हुनुपर्छ, बाल्यकालले चित्रकारितालाई डोर्‍यायो या चित्रकार्यले बाल्यकाल डोर्‍यायो, यसै भन्न सक्दैनन् उनी ।

बाल्यकुचीले शैशव क्यानभासमा परिपक्व चित्र रंगाएका होला, माध्यमिक तहमै पश्चिमाञ्चल उछिन्ने मेधावी छात्र बने उनी ।

Global Ime bank

“त्यतिबेला १६ जिल्लाबाट पाँच–पाँच वटाका दरले ८० चित्र प्रतिस्पर्धाको दौडमा थिए, ती सबै चित्रकारितालाई उछिनेर श्रेष्ठ ठहरिएँ,” झन्डै ६ वर्षअघि फर्कन्छन् उनी ।

तर, समयसँगै उनको कुची फेरियो । चेतना र चित्रछटामा जमिन–आकाशकै भिन्नता आयो । मनोगत आग्रह हिजोको सौन्दर्यचेतलाई उछिनेर अघि बढ्यो । “प्रकृतिकै विचित्र छटामा बरालिएर बस्ने फुर्सद सदैव कहाँ हुँदो रहेछ र ! समाजका विचार र भावना रङमा घोलेर क्यानभासमा पोत्नुपर्दो रहेछ,” ओठमाथिका झुसिला रौं मुसार्दै विमुग्ध हुन्छन् आदित्य ।

चित्रकला आजको तृष्णा होइन । यसको इतिहास मानव सभ्यताजत्तिकै जेठो र पुरानो छ । फरक यत्ति हो– हिजोको चित्रकारिता ‘स्वान्त सुखाय’को अंग थियो । आजको चित्रसिर्जनामा समाजका मुद्दा मुखरित हुन थालेका छन् । यो अभिव्यक्ति र विद्रोहको नूतन हिस्सा बनेको छ । खबरदारी र सामाजिक चेतनाको रखवारी गर्ने दुवै दायित्व पाएको छ आजको चित्रकार्यले । र, आजका क्यानभास समाज चिहाउने बहुआयामिक आँखीझ्याल बनेका छन् ।

बबरमहलस्थित नेपाल कला परिषद्को ग्यालरीमा टाँगिएका सय थान चित्रशिल्प यसैको दृष्टान्त हो, जहाँ ललितकला क्याम्पसको स्नातक तहअन्तर्गत दोस्रो वर्षमा अध्ययन गरिरहेका २७ जना नवीन चित्रकारहरूको चित्र–सौन्दर्यसँग आह्लादित हुन पाइन्छ । ग्यालरी हलमा प्रदर्शित ‘पहिलो पाइला’मा समाजको प्रतिच्छाया भेटिन्छ ।

० ० ०

सात दशकयता मुलुकमा चार ठूला क्रान्ति भए । सबै क्रान्तिले महिलालाई अधिकारसम्पन्न बनाउन चिताएजत्ति भूमिका पनि खेले । शासन–सत्तामा महिलाको पद सुनिश्चित पनि भयो । राजनीतिक व्यवस्था परिवर्तनको आँधीले स्त्री जातिलाई सत्ताको शीरमा त पुर्‍यायो तर उनीहरूको भाग्य बदलेन । महिलासम्बन्धी नीतिमा फेरबदल आयो तर उनीहरूको नियति जहाँको तहीँ छ । पिपलको जराझैं समाजको पिँधभागसम्मै गाडिएर रह्यो । त्यसैको अभिव्यक्ति हो, कला परिषद्को दोस्रो तलाको भित्तामा झुन्ड्याइएको– ‘टाइटल इट’ ।

जहानियाँ, घरानियाँ राणाशासनताका दासताको साङ्लोमा बाँधिएका थिए, आमा–हजुरआमा । सतीलगायत अनेकन कुप्रथाले निमोठोको थियो उनीहरूको जीवन । समाजमा नारी जातिको कुनै मूल्य थिएन ।

\"\"

सती प्रथा हट्यो । मृत लोग्नेको चितामा ज्युँदै बल्नुपर्ने नियतिबाट पार त पाए तर समाजमा उनीहरूको मूल्य स्थापित भएन । न समाजले बोध नै गर्‍यो । राज्यव्यवस्थाको फेरिँदो आकाशले पनि उनीहरूको अमानवीय जीवनबाट मानवीय जीवनमा पदोन्नति गर्न सकेन । समाजको गति त बदलियो तर महिलाको दुर्गति झनै टिठलाग्दो बन्दै गयो ।

“समाजमा विद्यमान महिलाको यस्तै दयनीय स्थितिको व्रिदूप चित्रण हो– टाइटल इट,” उनी आफ्नो मूर्त चित्रकला बारे अर्थ्याउँछन् ।

महिलाहरूका लागि हिजो पनि देश सुरक्षित थिएन । सती, बोक्सी, दाइजो, बालविवाह छाउपडीलगायत अनेक प्रथाले उनीहरूको जीवन निमोठेको थियो । त्यसमा आज रत्तिभर पनि कमी आएको छैन । बरु दिनदहाडै, अभिभावकको छानामुन्तिर नै बलात्कृत भएर मृत्युवरण गर्न अभिशप्त छन् ।

\"\"

देशको यही कारुणिक अवस्थालाई उनले क्यानभासमा उतारेका छन्, जहाँ गर्भभित्र रहेकी छोरी गलपासो उनेर आत्महत्याको बाटो रोज्दै छिन् ।

“यी छोरी बाहिर आइन् भने समाजका अनेकौं विषालु सर्पहरूले फणा उठाइहाल्छन्, महिलाका लागि देश असुरक्षित छ भन्ने जान्दाजान्दै अब छोरीहरू जन्मन किन मन गर्छन् ?” प्रतीकात्मक प्रश्न गर्छन् आदित्य ।

० ० ०

प्रदर्शनीमा आँखा खिच्ने अर्को चित्र हो– ‘एम्प्टिनेस’ अर्थात् रित्तोपन । क्यानभासमा मुटु र मस्तिष्क झिकिएकी महिला स्वतन्त्रापूर्वक हावामा हात फिँजाइरहेकी छन् ।

रञ्जु पुलामी मगरकृत ‘एम्प्टिनेस’ले आजका नारीहरूको मनोदशा बोकेको छ, जो अनेकौं संवेग र उद्वेगको बोझले थिचिएर जीवनको मूल्य चुकाइहेका छन् ।

\"\"

“मुटु संवेगहरूको घर हो, मस्तिष्क तर्कहरूको टोकरी हो, यी दुवै नहुँदा वास्तवमा जीवनले आफ्नोपनको अनुभूत गर्न पाउँछ,” उनी आफ्नै चित्रभित्र जीवनको मनोदशा खोजिरहेकी छन् । “जीवन सरल र सरस छ तर यसलाई हामीले दिनहुँ निरस बनाइरहेछौं,” जीवनप्रतिको यही अभिव्यक्ति उनको चित्रकलामा मुखर भएका छन् ।

नारी मनोदशा प्रतिविम्बित गर्ने यस्तै अर्को क्यानभास हो– ‘लेडिज लाइफ’ । क्यानपासमा पोतिएका अनेकन राता–नीला, पहेँला, हरियादि इन्द्रधनुष थोप्लाले नारीको वास्तविक जीवन अथ्र्याउँछन् । तर, चित्रको बीचबीचमा काला धर्साहरू महिलाको स्वतन्त्रताको चुनौति बनेर खडा भएका छन् । जसले प्रगतिलाई पाइलापाइलामा व्यवधान खडा गर्छन् ।

“परिवार र समाजका केही जडता र पुरातन दृष्टिकोणले नारीहरूको जीवन श्यामश्वेत बन्दै छ, यो जडतालाई पन्छाउने हो भने महिलाहरूको जीवन इन्द्रधनुषजत्तिकै रंगीचंगी हुनेछ,” चित्रकारितामार्फत नारीमूल्यको खोजी गर्दैछिन्, काठमाडौं वाफलकी उमाकुमारी घिमिरे ।

\"\"

\"\"

\"\"

\"\"

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC