अक्षर काका
‘बर्बरिक’ महाभारतका मिथकीय पात्र हुन् । अभेद्य सस्त्रअस्त्र र युद्धकौशल हुँदाहुँदै पनि कुटिल कृष्णको फन्दामा परेर शिर कटाउन पर्यो । तीनै लोक जित्ने वीर्यवान् भीमका नाति, घटोत्कच र नागकन्यापुत्र ‘बर्बरिक’ पूरा आयु बाँच्न पाएनन् नै, सशस्त्र ज्ञाता हुँदाहुँदै पनि महाभारत युद्धको रणनीतिक दाउपेचको शिकार भए । युद्ध शुरू नै नभई रणचण्डीको पाउमा चढाइए ।
नेपाली राजनीतिका वाचाल र वाकपटू मदन भण्डारीको नियति तिनै मिथकीय पात्र ‘बर्बरिक’को जस्तै छ । अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शैशवकालीन पार्टी मालेको भूमिगत राजनीतिमा सक्रिय हुँदा ‘बर्बरिक’ नै उपनामबाट चिनिन्थे । तत्कालीन प्रशासनको आँखाको तारो भएकाले र अनेकौं गाउँबस्तीमा सेल्टर लिनु परेकाले पनि होला— उनी भीष्मका नामले पनि चिनिन्थे । यद्यपि उनी ‘बर्बरिक’ नामले नै विख्यात थिए ।
नेपाली राजनीतिका ‘बर्बरिक’ महाभारतकै जस्तै ‘बर्बरिक’ बन्न पुगे । नेपालको वाम आन्दोलनको स्पप्नद्रष्टा र भविष्यद्रष्टा हुँदाहुँदै पनि अनेक षड्यन्त्र र दाउपेचका कारण अल्पायुमै ज्यान गुमाउन पर्यो ।
३० को दशकसम्म ‘बर्बरिक’ उर्फ मदन भण्डारी नेपाली राजनीतिक वृत्तमा सुनिएको र चर्चा गरिराख्नुपर्ने नाम थिएन । तर, २०३५ सालमा को–अर्डिनेसन केन्द्र, मुक्ति मोर्चा, रातो झन्डा, सन्देश समूह एकता भई नेकपा माले गठन भएपछि कम्युनिस्ट आन्दोलनको नभमा ‘बर्बरिक’ नामको चम्किलो ध्रुवतारा देखापर्यो । र, त्यो अँध्यारोतिर अभिमुख भइरहेको नेपालको वाम र प्रगतिशील आन्दोलनको गन्तव्यद्रष्टा बन्यो ।
नेपाल राजनीतिको गोरेटोमा ‘बर्बरिक’ले छोटो समयमै लामो दूरी तय गरे । सोभियत युनियन खण्डीकरणपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनिरहेको थियो । पूर्वी युरोप, ल्याटिन अमेरिकालगायत विश्वका कैयन् भूखण्डमा कम्युनिस्ट सत्ता गल्र्यामगुर्लुम ढल्दै थिए । तर, ‘बर्बरिक’ नेपालको कम्युनिस्ट आन्दोलनको दिशा र दशा दुवै बदल्न सक्षम भए— कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक जडता चिर्दै माक्र्सवादको सिर्जनात्मक प्रयोग गरेर । तिनै ‘बर्बरिक’ले कार्यक्रमका रूपमा अघि सारेको जनताको बहुदलीय जनवाद (जबज)को ह्रश्व र दीर्घसमेत नबदली पानामात्रै पल्टाएर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)ले आफ्नो वजन र आयातन दुवै बढायो । सत्ताको स्वाद चाख्यो ।
विडम्बना ! मुर्झाउँदै गएको नेपालको कम्युनिस्ट आन्दोलनलाई प्राण दिने र आफ्नै राग र विचारले खुम्चँदै गएको वाम–प्रगतिशील आन्दोलनलाई सैद्धान्तिक प्राण दिने ‘बर्बरिक’ रहस्यमय जिप दुर्घटनामा परी दिवंगत भए, २०५० जेठ ३ गते ।
उनको निधनलगत्तै तत्कालीन नेकपा (एमाले)ले देशव्यापी विरोध प्रदर्शन ग¥यो । सरकारी जाँचबुझ समितिलाई अविश्वास गर्दै केपी शर्मा ओलीको नेतृत्वमा छानबिन समितिसमेत गठन गर्यो । तर, हत्याराको छेउसम्म पनि पुग्न सकेन ।
त्यसको एक वर्षमै अल्पमतको नेतृत्व गर्दै एमाले सत्तामा पुग्यो । दूरगामी महत्त्वका लोकप्रिय कामसमेत गर्यो । तर, त्यो लोकप्रिय कामभित्र मदन भण्डारीको निधनले मर्माहत बन्न पुगेका नागरिकलाई चोटको मल्हमपट्टी भने थिएन ।
०५१ पछि पनि एमाले चारपटक सत्तासीन भइसक्यो । मदनकी अर्धांगिनी विद्यादेवी भण्डारी दोस्रोपटक राष्ट्रपति पदमा बहाल छिन् । तर, वाम आन्दोलनका जाज्वल्यमान्, उदीयमान छवि ‘बर्बरिक’का हत्यारा खोज्नेतिर उनको ध्यान गएको छैन ।
यतिबेला इतिहासको गर्तमा विलय भइसकेको रहस्यम ‘दासढुंगा’को खाटा बसिकसकेको घाउ बोकेर झोराहाटका कलाकार राजधानीको कुञ्ज थिएटरमा आइपुगेका छन् । नेपाल कम्युनिस्ट आन्दोलनका तिनै बलशाली नायक ‘बर्बरिक’लाई रंगमञ्चमा पस्कँदै हत्यारा खोज्न झक्झक्याइरहेका छन्, मदनकै रगत–पसिनामा फस्टाएको दुईतिहाइको कम्युनिस्ट सरकारलाई ।
० ० ०
‘एक जुगमा एक दिन एक पटक आउँछ,
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ ।
कवि गोपालप्रसाद रिमालका यी गीति हरफ पञ्चायतकालभरि खेत–खलियान, पाखा–पखेरामा गुञ्जियो । पञ्चायतको सेपमा टाक्सिएका निमुखा–निम्छराको ओठमा झुन्डियो ।
जनताका हक, अधिकार, न्याय, स्वतन्त्रतालाई ठिँगुरामा ठोक्ने पञ्चायतविरुद्ध आन्दोलनको डँढेलो सल्काउन र क्रान्तिको चिराग जगाउन यो गीतले पनि खुब सघायो ।
बहुदलीय व्यवस्थाप्रतिको अगाध आस्था, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध चुलिँदो आक्रोश र बढ्दो रोषका कारण पञ्चायती व्यवस्थाले ०४६ सालको जनआन्दोलनसामु घुँडा टेक्यो । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । नारायणहिटीमा बन्धक बनेको शासकीय अधिकार आफ्नै हातमा फिर्ता ल्याए ।
तर, ०४७ सालको संविधान जारी गर्दा राजा कानुनभन्दा माथि हुन पुगे । जनताले भरेको मानामाथि उनलाई पाच्य भएन ।
र त, ०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट उमेदवार बनेका मदनले चावहिल गणेशस्थानको चौरबाट राजसंस्थाविरुद्ध चोर औंलो ठड्याए, “राजा ! यदि तिमी जनताको आधिकारमा गिद्धेदृष्टि लाउँछौ भने श्रीपेच खोल र चुनावमा आऊ, हामी तिमीलाई जनताको बलमा हराइदिन्छौं । नत्र टाट्नामा घाँस हालेको बाख्राजस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्धेदृष्टि नलगाऊ ।”
कुञ्ज थिएटरमा माघ १२ गतेसम्म मञ्चन हुने नाटकको मुख्य दृश्य नै यसैसँग सम्बन्धित छ । एमालेका तत्कालीन समयका जल्दाबल्दा र पूर्वमन्त्री भइसकेका नेता प्रदीप नेपालले मदन भण्डारीकै जीवन कथामा आधारित भएर लेखेको उपन्यास ‘बर्बरिक’ नै ‘बर्बरिक’ नाटकको गर्भगृह हो, जसलाई नाट्यरूपान्तरण गरेका छन् भरत गुरागाईंले । र, निर्देशकीय भूमिका निर्वाह गरेका छन्– जीवन बरालले ।
आम मनमस्तिष्कमा रहस्यमय दासढुंगा र मदन भण्डारीको मृत्युबारे अनेकन आशंका छन् । ‘बर्बरिक’को दृश्यस्वादनका लागि कुञ्ज थिएटरमा ओइरिएका दर्शकलाई मदनको झझल्को नमेटिएको र नियास्रो लागिरहेको अनुमान गर्न सकिन्छ । तर, मञ्चित ‘बर्बरिक’ले हत्याकाण्डको पहेली फुकाउँदैन । न यसले ‘बर्बरिक’को राजनीतिक फड्को र उनको विचार–संघर्षको चुरो नै पहिल्याउँछ । महासचिव चुनिएदेखि दासढुंगासम्मको अल्पसमयको कथामात्रै बोलेको छ– नाटकले ।
नाटक ‘बर्बरिक’ले दासढुंगा प्रकरणलाई दरबारतिरै शंकाको सुइँ तेस्र्याएको प्रष्ट हुन्छ । तत्कालीन जर्नेल र रानीको भूमिकामार्फत मुखरित भएको छ । उपन्यासकार पार्टीका जल्दाबल्दा र हत्याकाण्डबारे मिहिन अध्ययनसमेत गरेकाले सत्यका निकट होलान् भनेर अनुमान गर्न पनि गाह्रो भएन । तर, इतिहासका खलनायक भनिएकाहरूको पनि वंश नामेट भएकाले ‘बर्बरिक’को मृत्यु झनै रहस्यमयी प्रतीत हुन्छ ।
० ० ०
‘एउटा मान्छे हुन्छ, एउटा योद्धा हुन्छ;
मान्छे मर्छ– स्वास्नी विधवा हुन्छे, छोरोछोरीले बरखी बार्छन्
योद्धा मर्छ– देश विधवा हुन्छ, इतिहासले बरखी बार्छ ।’
साविकको एमाले र अहिलेको नेकपाले बरखी बारेको २५ वर्ष बित्यो । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गरेपछि भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद पनि लगभग टुहुरो बनेको छ । २५ वर्षयता एमाले दर्जनपटक सरकारमा पुगेर रजगज गर्यो । पाँच पटक सरकारको नेतृत्व सम्हाल्यो । प्रतिपक्षमा हुँदा ‘बर्बरिक’को ऐंठन पनि भयो उसलाई । सडकका रेलिङ, सरकारी सवारी र भवनका आङले पाउनु दुःख पाए । तर, सरकारमा पुगेपछि इतिहासको गर्तमा विलीन भइसकेको रहस्यमय ‘दासढुंगा’ एकपटक पनि उधिन्ने चेष्टा गरेन । न आफैंले तयार पारेको छानबिन प्रतिवेदनको धुलाम्य पोको फुकाउने जमर्को नै गर्यो ।
शुक्रबार नेकपाका प्रभावशाली नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मञ्चमा आसीन गराएर झोराहाटका कलाकारले ‘बर्बरिक’ मञ्चन गरे । नाटकको अन्तिम दृश्य पटाक्षेप भइसकेपछि मञ्चबाहिर ल्याएर खोर्याए पनि, “मदनका हत्यारा कहिले पत्ता लाग्छन् ?”
तीनपटक पार्टी प्रमुख र एकपटक प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग मूर्त जवाफ थिएन । केहीबेर घोसेमुन्टो लगाएर विषयान्तर गर्दै भने, “नाटकको अन्तिम दृश्य निकै निराशाजन भयो । अहिले नेकपामा पूर्व ‘बर्बरिक’ मात्रै छैनन्, पश्चिम, उत्तर, दक्षिण सबै बर्बरिक जन्मिइसकेका छन् । र, देशै बर्बरिक भएको छ ।”
तर, बर्बरिकमय बनेको देशबाट ‘बर्बरिक’ नै विलुप्त भइसकेको सुषुप्त नेतृत्वलाई शायद थाहा छैन । झोराहाटले एकपटक पुनः झक्झक्याइदिएको छ ।
कलाकारहरूः
१) सुदीपजंग कार्की
२) विमल सम्बाहाम्फे
३) अनु श्रेष्ठ
४) निराशा ढुंगेल
५) दीक्षा चौधरी
६) दीपा पोखरेल
७) दिव्या रेग्मी
८) प्रदीप नेपाल
९) विजय थारू
१०) सुरज माझी
११) लकेश राई
१२) सुलभ पाण्डे
१३) विजय नेपाल
१४) नमस्ते दिवाकर घिमिरे
१५) सुनिता कट्टेल
१६) प्रयाग न्यौपाने
१७) भरत गुरागाईं