रोहित शेट्टी
एक्सन र कमेडी विधामा लगातार फिल्म बनाउँदै आएका रोहित शेट्टी यतिखेर नयाँ फिल्म ‘सिम्बा’को बक्स–अफिस कमाइबाट दंग छन् । यो फिल्म २० दिनदेखि अहिलेसम्म हलहरूमा चलिरहेको छ । फिल्मको प्रशंसा बटुल्दै रोहित टिभी शो ‘खतरों के खिलाडी’को नवौं संस्करणमा पनि झुल्किँदै छन् । यिनै सेरोफेरोमा रहेर ‘नवभारत टाइम्स’ले रोहितसँग गरेको कुराकानीः
१) एकातिर तपाईंको ‘खतरों के खिलाडी–९’ लाई लिएर दर्शकमा उत्साह छ, अर्कातिर ‘सिम्बा’ले पनि तहल्का पिटिरहेको छ । मन त गदगद होला है ?
दर्शकलाई लागेको थियो— रोहित शेट्टी र रणवीर सिंह एकसाथ आउँदै छन् भनेपछि पक्का पारिवारिक मनोरञ्जनपूर्ण फिल्म आउँदै छ । उनीहरू नाचगाना, ड्रामा, एक्सन अपेक्षा राख्छन् र हाम्रो फिल्ममा यी सबै तत्व छन् । हामीले जस्तो फिल्म बनाउन चाहेका थियौं, त्यस्तै बनेको छ । यस्तो देखेपछि ठीक गरिएछ जस्तो लाग्छ । तर, पनि बेलाबेला नर्भस भइहाल्छु ।
२) त्यसो त तपाईंसँग ‘सिंघम’जस्तो ‘सुपर–कप’को शृंखला छँदै थियो । ‘सिम्बा’ बनाउने निर्णय कसरी लिनुभयो । ‘सिंघम–३’ पनि त बनाउन सक्नुहुन्थ्यो !
‘सिम्बा’ पुलिस त हो तर ऊ स्वार्थी छ । उसले आफ्नो बारेमा मात्रै सोच्छ । भ्रष्ट छ । त्यसको ठीक विपरीत सिंघम छ । ऊ इमानदार छ, अरूको बारेमा सोच्छ । यसबाहेक दुवै पात्रको बारेमा तुलना त हुन्छ नै । मैले ‘सिंघम’ बनाउने बेला मान्छे भन्थे, “दबंग’को चुलबुल पाण्डे छँदै छ, सिंघम किन चाहियो ?” तर, आज हेर्नुस् न, ‘सिंघम’ कति ठूलो ब्रान्ड बनेको छ । यसैगरी ‘सिम्बा’ पनि ब्रान्ड बन्न सक्छ ।
३) तपाईंसँग सिंघमजस्तो हिरो–पुलिस र सिम्बाजस्तो भिलेन–पुलिस दुवै छन् । यी दुवै आमनेसामने भए भने त गजब हुन्थ्यो होला, है ?
यो फिल्ममा हामीले यही प्रयास गरेका छौं । हामीले एउटा यस्तो प्रहरी संसार (कप वल्र्ड) निर्माणको प्रयास गरेका छौं, जस्तो हलिउडका मार्वल मुभिजमा देख्न पाइन्छ, जहाँ थुप्रै सुपरहिरोहरू एकसाथ आउँछन् । हामीले पनि ‘सिंघम’को संसारमा सिम्बालाई सहभागी गराएका छौं । ट्रेलरमै पनि देख्न सकिन्छ— हामीले सिंघम र सिम्बालाई आमनेसामने गराएका छौं ।
४) हलिउडको कुरा निस्किहाल्यो । अहिले पनि हामीले एक्सन फिल्मको कुरा गर्दा हलिउडको सन्दर्भ कसैगरी आइहाल्छ । हामी किन उनीहरूकै पछिपछि चलिरहेका छौं ?
हलिउड फिल्मको एक्सन हामीभन्दा धेरै उत्तम छ, यसमा कुनै शंका छैन । हलिउडजस्तै हामीले भारतमा हेलिक्यामबाट फिल्म शुट गर्न सक्दैनौं । यहाँ कुनै पनि शहरमा हेलिकप्टरबाट शट लिन सकिँदैन । हामीसँग त्यस्तो प्रविधि छैन किनकि फिल्मको बजेट धेरै हुँदैन । त्यहाँ पूरै देशमा फिल्म एकसाथ रिलिज हुन्छ किनकि उनीहरूको भाषा एउटै छ । यस्तोमा यदि कोही आफूभन्दा उत्तम छ भने त्यसबाट प्रेरणा लिनुमा कुनै खराबी छैन ।
५) तर, हलिउड फिल्मले अचेल भारतको बक्स–अफिसमा धेरै राम्रो व्यापार गरिरहेका छन् । फिल्मको व्यापारमा हलिउडले दिएको जबर्जस्त प्रतिस्पर्धा र चुनौतीलाई कसरी हेर्नुहुन्छ ?
हामीकहाँ वार्षिक सयौं फिल्म बन्छन् । तीमध्ये चल्ने भनेका २०–२५ वटा हुन् । यस्तो अवस्थामा उनीहरूसँग प्रतिस्पर्धा कहाँ छ र ? अघिल्लो वर्ष ‘जुडवा–२’ चल्यो, ‘गोलमाल’ चल्यो, ‘टाइगर जिन्दा है’ चल्यो । यो वर्ष कस्ता चले ? ‘अन्धाधुन’, ‘बधाई हो’, ‘स्त्री’ र ‘राजी’ चले । त्यसैले मलाई लाग्दैन— हलिउडसँग हाम्रो प्रतिस्पर्धा छ । फिल्म राम्रो भयो भने चल्छ, यसमा कसैले शंकै नलिए हुन्छ । राम्रो भएन भने पिटिन्छ । यसमा हलिउड र बलिउड भन्ने नै हुँदैन । स्तरीयताको सवालमा सबैको सबैसँग प्रतिस्पर्धा छ ।
६) तपाईंले जुन चार वटा हिट— ‘अन्धाधुन’, ‘बधाई हो’, ‘स्त्री’ र ‘राजी’को नाम लिनुभयो, ती साना बजेटका फिल्म हुन् । यसलाई आधार मानेर दर्शकले विषयप्रधान फिल्मतिर झुकाव राख्न थालेका छन् भन्न मिल्छ ?
त्यस्तो होइन । यो बकवास कुरा हो । १९६० को दशकदेखि यस्तै भइरहेको छ । त्यतिबेला फिल्मलाई ‘आर्ट’ र ‘कमर्सियल’ भनेर वर्गीकरण गरिन्थ्यो । अब सिंगल स्क्रिन र मल्टिप्लेक्स फिल्म भन्न थालिएको छ । त्यतिबेला पनि एकातिर बासु चटर्जी र ऋषिकेश मुखर्जीका फिल्म चल्थे भने अर्कातिर ‘शोले’ पनि चल्थ्यो । त्यतिबेला पनि कहिलेकाहीँ मूलधारबाहिरका फिल्म चलिदिन्थे भने धर्मेन्द्रका कमर्सियल फिल्महरू कुनै पनि चल्दैनथे । ‘ट्युबलाइट’ र ‘जब ह्यारी मेट सेजल’ नचलेपछि मान्छेले मलाई बारम्बार सुनाउँथे— ठूला फिल्म चलेनन् तर ‘जुडवा–२’ हिट भयो । ‘गोलमाल अगेन’ खुब चल्यो, ‘टाइगर जिन्दा है’ चल्यो । यो वर्ष पनि ‘सन्जु’ले राम्रो कमायो । ‘रेस थ्री’, ‘ठग्स अफ हिन्दोस्तान’, ‘जिरो’ले कमाएनन्, साना बजेटका फिल्म चले । यस्तो भइरहन्छ ।
७) अहिलेसम्म तपाईंले जहिल्यै स्थापित कलाकारसँग काम गर्नुभयो । तर, ‘सिम्बा’मा सारा अली खानलाई उनको कामै नहेरी लिनुभयो । उनमा तपाईंले के देख्नुभयो ?
साराले मलाई धेरैपटक म्यासेज गर्दै मेरो फिल्ममा काम गर्न इच्छुक रहेको बताइरहन्थिन् । पहिले लाग्थ्यो— सानी बच्ची हो, के काम गर्न सक्ली र ! तर, जब उनी मलाई भेट्न आइन्, म आश्चर्यचकित भएँ । मलाई लाग्थ्यो— सैफ अली खान, अमृता सिंहजस्ता स्टारकी छोरी, पक्कै पनि बडिगार्ड लिएर बडो ठाँटले आउँछिन् । तर, मसँग भेट्दा उनी एक्लै थिइन् । एकदम साधारण तरिकाले आएकी थिइन् । त्यसपछि मलाई गट्टु (साराको पहिलो फिल्म ‘केदारनाथ’का निर्देशक अभिषेक कपुर)ले फोन गरेर उनलाई फिल्ममा लिन भने । त्यसपछि ‘केदारनाथ’ नहेरेरै मैले अभिनय र कामप्रति साराको भोक देखेर ‘सिम्बा’मा लिएँ ।
८) तपाईंले अक्षय कुमारसँग फिल्म बनाउँदै हुनुहुन्छ । अघिल्लो वर्ष पनि तपाईं र अक्षय कुमारले आदित्य चोपडाको ब्यानरमा फिल्म बनाउने खबर थियो । यो त्यही फिल्म हो ?
होइन, यो फरक फिल्म हो । मेरो आफ्नै निर्माण कम्पनी छ । मैले त्यसकै ब्यानरमा बनाउँछु । यद्यपि अक्षय कुमारसँग अहिले कुराकानी चलिरहेको छ, केही निर्णय भएको छैन ।
९) रोहित शेट्टी भनिसकेपछि दर्शकलाई शुरुमै फिल्मबारे एक किसिमको अनुमान भइसक्छ । यो कुरा तपाईं आफैंले भनिरहनु पनि हुन्छ । यस्तो अवस्थामा तपाईं कुनै सीमाभित्र बाँधिएजस्तो लाग्दैन ? फिल्मका अरू विधातिर लाग्नुहुन्न ?
सीमाको कुरा केही छैन । मेरा दर्शक मबाट पारिवारिक मनोरञ्जन खोज्छन्, जहाँ नाचगाना, एक्सन, कमेडी हुन्छ । म उनीहरूलाई धोका दिन चाहन्नँ । म चाहन्न कि उनीहरू केही सोचेर फिल्म हेर्न जाऊन् अनि फिल्म अर्कै बनिदिएको होओस् । म तपाईंले भनेजस्तो अरु विधाको चान्स लिन सक्दिनँ किनकि मेरा फिल्मको बजेट पनि ठूलो हुन्छ ।
१०) तपाईंको कुरा सुन्दा लाग्छ— तपाईं कहिल्यै पनि यौनप्रधान फिल्म बनाउनुहुन्न । तपाईंका फिल्ममा हिरोइन कहिल्यै पनि बिकिनी र कामुक सिनमा देखिन्नन् । हो ?
हो । मैले जसरी र जस्ता प्रकारका फिल्म बनाइरहेको छु, भविष्यमा पनि त्यस्तै बनाउनेछु । मैले कहिल्यै पनि यौनप्रधान, बिकिनी वा कामुक दृश्यप्रधान फिल्म बनाउँदिनँ । मेरा फिल्मका दर्शक पूरै परिवार हुन् । दर्शकको ठूलो हिस्साले मेरा फिल्म हेर्छ । त्यसैले म त्यस्ता फिल्म बनाउँदिनँ । तर, सँगसँगै मेरो निर्माण कम्पनी पनि छ । अरू कोही निर्देशकले मेरो ब्यानरमा यौनप्रधान या कामुक तरिकाका फिल्म बनाउन खोज्छन् भने उनीहरूको रोजाइ र इच्छा हो । म त्यसमा खुला छु । म आफूले बनाउने फिल्ममा मात्रै यी विषयलाई छिराउँदिनँ ।
११) तपाईंले ‘खतरों के खिलाडी’का थुप्रै सिजन होस्ट गर्नुभएको छ । यसबाट तपाईंले के विशेष ‘किक’ पाउनुहुन्छ ?
स्टन्टमा मेरो शुरुदेखि नै रुचि हो । शायद यो मेरा बुवा (एमबी शेट्टी)को कारण पनि हुन सक्छ । उहाँ स्टन्ट निर्देशक हुनुहुन्थ्यो । १६ वर्षको उमेरदेखि मैले प्रशिक्षण लिन थालेको हुँ । त्यसमै काम गर्दै गएँ । मलाई यो शोको प्रस्ताव आउँदा लाग्यो— यसमा मैले इमानदारीपूर्वक आफ्नो अनुभव प्रयोग गर्न सक्छु । हुन त मलाई प्रस्ताव आउँदा शुरुमा डर पनि लागेको थियो । किनकि, मभन्दा पहिले अक्षय कुमार र प्रियंका चोपडाले होस्ट गरेका थिए । दुबै ठूला स्टार हुन्, जबकि म निर्देशक । तर मैले यसमा थुप्रै परिवर्तन पनि गरें । थोरै कमेडी जोडें । कारण— यो एक्सन शोमात्र नबनोस्, मनोरञ्जनपूर्ण होओस् । त्यसयता यो यसैगरी चल्दै आएको छ । दर्शकले मन पराइरहेका छन् ।