– शिव प्रकाश
अरे यार... नेता तिमी !
कति खान्छौ, कति तान्छौ
अझै तल कति झर्छौ ?
माटो खायौ, बाटो खायौ
इँटा खायौ, बालुवा खायौ
ढुंगा खायौ, सिमेन्ट खायौ
रङ खायौ, रड खायौ
रोडा खायौ, घोडा खायौ
चाँद खायौ, तोडा खायौ
घर हैन, महल बनायौ
अझै तिमी भोकै रह्यौ
घर–भाडासमेत आफैं बजायौ !
अरे यार...
कति खान्छौ, कति गन्छौ
अझै तिमी कति गिर्छौ ?
पुल खायौ, सडक खायौ,
मल खायौ, ढल खायौ
जल खायौ, नल खायौ
कर खायौ, घर खायौ
मोटर खायौ, जहाज खायौ
सुन खायौ, गुन खायौ,
माफियाको नुन खायौ
अझै तिमी भोकै रह्यौ
मार्सी चामलको भात बजायौ !
अरे यार...
कति खान्छौ, कति लान्छौ
जिउँदै तिमी कति मर्छौ ?
तलब खायौ, भत्ता खायौ
घूस खायौ, भुस खायौ
खाग खायौ, भाग खायौ
सलामी खायौ, दलाली खायौ
बन्डा खायौ, झन्डा खायौ
मूल खायौ, तुल खायौ
साला–साली सबै बनायौ
अझै तिमी भोकै भयौ
पाले–पिउनको तलब बजायौ !
अरे यार...
कति खान्छौ–कति हान्छौ
आफ्नै हत्या कति गर्छौ ?
शपथ खायौ, सत्य खायौ
इमान खायौ, जमान खायौ
नीति खायौ, नियम खायौ
विधि खायौ, विधान खायौ
कानुन खायौ, सिद्धान्त खायौ
सबुत खायौ, सत्व खायौ
विश्वास खायौ, आस्था खायौ
संस्था खायौ, संस्कार खायौ
पानी खायौ, तेल खायौ
मासु खायौ, आँशु खायौ
अझै तिमी भोकै भयौ
पेट्रोल पिएर साइकल चलायौ !
अरे यार...
कति खान्छौ, कति बाउँछौ
आफ्नै किन मलामी बन्छौ ?
बजेट खायौ, योजना खायौ,
नदी खायौ, नाला खायौ
स्कुल खायौ, कलेज खायौ
किताब खायौ, कापी खायौ
औषधि खायौ, अस्पताल खायौ
चुन खायौ, खुन खायौ
अड्डा खायौ, अदालत खायौ
मठ खायौ, मन्दिर खायौ
पाटी खायौ, पौवा खायौ
मोटर खायौ, कम्प्युटर खायौ
अझै तिमी भोकै भयौ
सिंगै वाइड–बडी बजायौ !
अरे यार...
कति खान्छौ, कति लुकाउँछौ
आफ्नै वस्त्र कति उतार्छौ ?
कमिसन खायौ, मिसन चलायौ
व्यवस्था खायौ, सखाप बनायौ
गुन्डा–दलाल, माफिया खेलायौ
राजनीतिलाई धन्धा बनायौ
देशलाई मन्द बनायौ
जति ठूलो नेता भयौ
उति शुद्ध झुट बोल्यौ
जति माथि तिमी पुग्यौ
त्यति औधि देश लुट्यौ
देश ठग्यौ, जनता ठग्यौ
आफूलाई समृद्ध बनायौ
कुकर्मलाई कर्म मान्यौ
खानुलाई नै धर्म ठान्यौ
अझै तिमी भोकै भयौ
विष्टा–निष्ठा एकै मान्यौ
सुँगुरलाई तिम्ले जित्यौ !
अरे यार... नेता तिमी
कति खान्छौ, कति धान्छौ
नांगै अझै कति हिँड्छौ ?