बीबीसी । विश्वव्यापी आलोचना पश्चात् जर्मनी पनि ह्वावेको फाइभ–जी प्रविधि अस्वीकार गर्ने तयारीमा रहेको बताइएको छ । बर्लिनले प्रविधि सम्बन्धि कडा सुरक्षा प्रावधान मिलाएको हुँदा हुवावेका उत्पादनको प्रयोगमा रोक लाग्ने बताइएको हो । यसअघि पनि थुप्रै देशहरुले राष्ट्रिय सुरक्षाको मुद्दा उठाउँदै चिनियाँ कम्पनी हुवावेको फाइभ जी प्रविधि नअपनाउने निर्णय सुनाइसकेका छन् ।
फाइभजी नेटवर्क सबैभन्दा चर्चामा रहेको आगामी प्राविधि हो । यस्तोमा विश्वको सबैभन्दा ठूलो टेलिकम उत्पादक कम्पनी हुवावे पनि फाइभजी निर्माणको प्रतिस्पर्धामा सक्रिय भएर लागिरहेको छ । तर विदेशी सरकारहरुबाट हुवावे बारम्बार आलोचित हुनु परिरहेको छ । हुवावेलाई चिनियाँ सरकारले नियन्त्रण गरिरहेको अमेरिकाको आरोपपछि विभिन्न देशहरुले यो कम्पनीका उपकरण प्रयोग गर्नमाथि प्रतिबन्ध लगाएका हुन् । कम्पनीले भने यस्ता आरोप गलत ठहर गर्दै आएको छ ।
जर्मनीको यस्तो निर्णयपछि एउटा बयानमा कम्पनीले भनेको छ, ‘जर्मनी वा विश्वका अन्य कुनैपनि देशमा हुवावेले फाइभजी निर्माण गर्न नपाउनुका पछाडि हामीले वास्तवमै कुनै तार्किक कारण देखेका छैनौँ । ’ जर्मनीको आन्तरिक मन्त्रालयले यसअघि भने फाइभजीका लागि हुवुावेका उत्पादनमाथि प्रतिबन्ध नलगाउने तर यसको सट्टा आफूहरुले कडा प्राविधिक सुरक्षा नियम ल्याउने बताएको थियो ।
हाल अमेरिका, न्युजिल्यान्ड र अष्ट्रेलियाले हुवावेका सबै फाइभजी उत्पादनमाथि प्रतिबन्ध लगाइसकेका छन् । बिहिबार मात्र क्यानडास्थित चीनका राजदूतले क्यानडाले हुवावेको फाइभजी प्रविधि स्थापनामा कुनै अवरोध पुर्याए यसको भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । यसै महिना चिनियाँ अदालतले क्यानडेली नागरिकलाई लागू औषध तस्करीको आरोपमा मृत्युको सजायँ सुनाएको थियो जसलाई यसअघि क्यानडामा पक्राउ परेकी हुवावेकी वरिष्ठ अधिकारी मेङ वान्जाउको घटनासँग जोडिएको छ । तर चीनले भने यी दुई फरक सन्दर्भ भएको दाबी गर्ने गरेको छ । यिनै कारणले अहिले क्यानडा र चीनबीच तनावग्रस्त अवस्था उत्पन्न भइरहेको बताइएको छ ।