site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
शब्द, शिक्षा र व्यवहार

समकालीन समाजमा शब्दको शक्ति कमजोर हुन पुगेको छ । समयमा काम हुँदैन भने हामीलाई दुःख लाग्छ । सबैभन्दा ज्वलन्त उदाहरण भनेको काकाकुल काठमाडौंको मेलम्ची प्रतीक्षा हो । हामीले ३० वर्षसम्म कुर्दा पनि मूत हुन नसकेको यस परियोजना र यस्ता कैयांै सरकारी वाचा शब्दमा प्रकट भएअनुसार किन वास्तविकताको धरातलमा पदार्पण गर्दैनन् ? शब्दका दुई पक्षहरूमध्ये ध्वनि र भाव पक्षबीचको तालमेल के कारणले बिग्रन्छ ? यसरी बिग्रिएको तालमेलले उत्पन्न गर्ने असर भनेको झुट हो र त्यस्तो झुटले भाषा व्यवहार गर्ने प्रथम पक्षको वैधतामा दीर्घकालसम्म प्रश्न गरिरहन्छ । वक्ता वा भाषा व्यवहारको प्रथम पक्षको वैधतामा देखिएको संकटले सो व्यक्तिबाट भविष्यमा व्यवहार गरिने भाषामाथि नै संशयको भारी बोकाइदिन्छ । 

भाषाको प्रयोगमा शब्द र भावबीचको असन्तुलन भावप्रतिको इमानदारीको अभावमा जन्मिन्छ । भाषाको ध्वनि पक्षले बोक्ने अर्थले भविष्यको जीवन व्यवस्थापनको वास्तविकतालाई समेटेको हुन्छ । कुनै पनि भावसँग तालमेल स्थापित गर्न थुपै परिस्थितिलाई एउटा लयमा ल्याएर भविष्यमा नितान्त व्यक्तिगत परिस्थिति निर्माण गर्नुपर्छ । तर, भाषा प्रयोगमा ध्वनि अभिव्यक्त गर्ने पक्षले भाषाको यो जटिल पक्षलाई ध्यानमा राख्न वा ध्यानमा राख्दाराख्दै पनि यसप्रति इमानदार रहन सकेन भने भाषाको मूल उद्देश्य असफल हुन्छ । त्यसले अपेक्षा गरेको तालमेल र सामाजिक लय निर्माण हुन सक्तैन । यसरी सामाजिकरूपमा सम्बन्धहरू नै भत्किन पुग्छन् वा सम्बन्धहरूले कार्य गरे बलपूर्वकमात्र हुने अवस्था आइपर्छ । अर्थात्, दोस्रो पक्ष भाषाको असावधानीपूर्वक गरिएको प्रयोगका कारण उत्पन्न हुने हिंसामा पर्छ । म यस लेखमा कसरी मानिसहरू भाषाप्रति गरिने बेइमानीको सिकार हुन पुग्छन् र त्यसका कारण के के हुन सक्छन् भनेर विश्लेषण गर्ने प्रयत्न गर्नेछु ।

विषयको केन्द्रमा जानुभन्दा पहिले म ध्वनि र भाव पक्षको बीचमा असन्तुलन उत्पन्न वा तालमेल भंग भएका निजी जीवनबाट तीनवटा घटना प्रस्तुत गर्छु । यी घटना प्रस्तुत गर्नुको पछाडि कुनै व्यक्तिगत लाभको उद्देश्य नभई भाषामा देखिने असन्तुलनले उत्पन्न गर्ने समस्याले निम्त्याउने सामाजिक समस्याका बारेमा विमर्श गर्नु हो ।

Agni Group

घटना नं. १ 

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको अडिटोरियममा स्नातकोत्तर पहिलो सत्रका विद्यार्थीका लागि स्वागत र अन्तिम सत्रका विद्यार्थीका लागि बिदाइ कार्यक्रम तेस्रो सत्रका विद्यार्थीले राखेका थिए । मलाई पनि निम्तो गरे । मैले उनीहरूको कामको प्रशंसा गरेँ । मैले उनीहरूलाई सधैँ यस्तै सृजनशील रहन शुभेच्छा व्यक्त गरेँ । अनि उनीहरूसँग कार्यक्रम सुरू हुने समयको बारेमा सोधेँ । उनीहरूले कार्यक्रम ११ बजे हुने जानकारी दिए । मैले शनिवारको दिन उनीहरूलाई समर्पण गरेँ । कीर्तिपुरभन्दा करिब २७ किलोमिटर पूर्वपट्टि नगरकोटको लेकको दक्षिणी मोहडामा बस्ने म भोलिपल्ट बिहान ९ : ४५ बजे नै ११ बजे कीर्तिपुर पुग्न हतारिएँ । 

Global Ime bank

म विश्वविद्यालयको अडिटोरियममा पुग्दा लगभग १० : ४५ बजेको थियो । तर, त्यहाँ त दुईतीन जना विद्यार्थीमात्र थिए । उनीहरूले मलाई अभिवादन गरे, मैले पनि अभिवादन फर्काएँ । ‘‘सर, तपाईँ छिटो आउनुभएछ’’ एकजना विद्यार्थीले हाँस्तै अज्ञात भूतकाल प्रयोग गरेर भने । ‘‘किन र? कार्यक्रम ११ बजे हुने भनेको होइन र?’’ मैले सोधेँ । विद्यार्थीले कार्यक्रम १२ बजे सुरू गर्ने भनेर बिहानमात्र समय बदलेको जानकारी दिए । मलाई अचम्म लाग्यो । ‘‘सबैलाई खबर छ त ?’’ मैले सोधेँ । ‘‘सरलाई बोर हुने भयो । सर, एक घन्टापछाडि आउनुस् है ।’हुन्छ’’ भने र म त्यहाबाट निस्किएँ ।  भोलिपल्ट केही विद्यार्थीहरूले सोधे – ‘‘सर, हिजोको कार्यक्रममा किन आउनु भएन?’’ ‘‘फुर्सदै भएन’’ भनेर मैले उनीहरूलाई ढाँटे ।

घटना नं. २ 
एक दिन मेरा एकजना अत्यन्त सहृदयी विद्यार्थीले मलाई फोन गरे । उनले आफनो चिनजानका एकजना विद्वान मित्रलाई भाषा सम्पादनको  लागि सहयोग चाहिएको मलाई सुनाए । मैले सोधेँ – ‘‘मैले गर्नु पर्ने के हो? ’’ उनले फेसबुकमार्फत म भेट गराउँछु, त्यतै कुरा गर्नुहोस् न भने । मैले सहमती दिएँ । भेट भयो । उनी दक्षिण कोरियाको कुनै विश्वविद्यालयबाट विद्यावारिधि गर्दै रहेछन् । अन्तिम समयमा काम गरिरहेका । रमाइलो भयो । 

प्रविधि र प्रशासनलाई कसरी जोड्ने भन्नेबारे विद्यावारिधिको शोधप्रबन्धको भाषा सम्पादन गर्ने अवसर जुट्यो । उनी आफ्नो समयको सीमा ममाथि थुपार्न खोज्थ्ये । उनलाई असाध्यै हतारो छ भन्थे । मैले भाषा सम्पादकको रूपमा काम गर्दा यसरी अनावश्यक दबाबमा राखेर थुप्रै मानिसले आफ्नो परियोजना नै बिगारेको पनि देखेको छु । तर, यी विद्वानसँग केही व्यक्तिगत, पारिवारिक कुरा पनि भयो । मैले भनेँ – ‘‘तपाईँको सबै शोधप्रबन्ध मैले पढेर नसके पनि जति सक्छु त्यति नै गर्छु ।‘‘ उनी त्यसमा नै सहमत भए । मलाई पनि त्यहीअनुसार राम्रो भुक्तानी गर्ने बताए । मैले पनि सहमति जनाएँ । एक साता जति मैले उनको विद्यावारिधिको शोधप्रबन्धको भाषा सम्पादन गरेँ । उनी मलाई कामबाट छुट्टी लिएर भए पनि उनको काम सिध्याउनका लागि दबाब दिन्थे । मैले उनलाई भ्याए जति सहयोग गर्छु भनेको थिएँ । कामबाट छुट्टी नै त लिइन तर रातरातभरि काम गरेर उनको भाषा सम्पादनको कार्यमा सहयोग गरेँ । 

उनको विद्यावारिधि सकियो । हाल उनी काठमाडौं फर्केका छन् । काम नसकिउन्जेल भेट्छु भन्थे तर उनले भेटेनन् । भुक्तानीको कुरा अहिलेसम्म भएन । अब उनले मसँग लिनु पर्ने काम सकियो, उनी स्वतन्त्र विचरण गर्ने प्राणी भए । तर, उनले सत्य, आदर्श, मर्यादा, कर्तव्यमाथि फेसबुकमा लेखेको म पढिरहन्छु । उनीसँग देश विकास गर्ने तरिका छ, उनीसँग संस्थाहरू सुधार गर्ने उपाय छ, उनीसँग समग्र विकासको दृष्टिकोण नै छ । सबैभन्दा ठूलो कुरा उनीसँग विशाल हृदय छ भनेर उनी आफ्ना लामाछोटा टिप्पणीमार्फत सामाजिक सञ्जालमा व्यक्त गरिरहन्छन् । 

घटना नं. ३ 
एकजना हितैषीले मलाई एउटा समाजिक क्लबका कार्यक्रममा सहभागी हुन दुई महिना अगाडि आग्रह गरे । मलाई उनको समाज विकासप्रतिको चिन्तन असाध्यै मन पर्छ । मभन्दा अघिल्लो पुस्ताको होनहार शिक्षाकर्मी भएर पनि उनले मप्रति देखाएको सदाशयका लागि म कृतज्ञ छु, रहनेछु । उनको व्यक्तित्वबाट म अत्यन्त प्रभावित भएको छु । उनीजस्तो सफलताको उचाइमा रहेकाहरू हामीजस्ता पछिल्ला पुस्ताप्रति खासै रूचि राख्दैनन् भन्ने लाग्थ्यो । त्यसैले कहिले पनि उनीसँग नजिक हुन गइन । उनी आफैँले मलाई भेट्न बोलाए । जीवनमा धेरै कुरा सुनेको व्यक्तिसँग पहिलो भेटमा नै समाज परिवर्तनका लागि ससाना, मसिना चिन्ता, चासो मैले पाएँ । अत्यन्त हर्षित भएँ । 

‘‘बौद्धिक हस्तक्षेपको अपेक्षा गरिरहेछ समाज’’ उनले भने । हामी चिया पिउँदै कुरा गर्दै थियौँ । मलाई उनको कुरामा घत लाग्यो । समाजमा परिवर्तन ल्याउन हामीले एउटा समूह नै खडा गर्नुपर्छ । यसरी संगठित कार्यक्रममार्फत हामीले समाजको दृष्टिकोणलाई चुनौती दिनुपर्छ । हामीबीच कुन क्षेत्रबाट समाजको दृष्टिकोणलाई चुनौती दिने भन्नेबारेमा विमर्श भयो । स्वास्थ्य, शिक्षा, यातायातका सबालहरू जनजीवनसँग प्रत्यक्ष जोडिएका हुनाले हामीले त्यस्तै कुनै एउटा विषयलाई उठान गर्ने सामान्य योजना बनायौँ ।

त्यसपछिको अर्को बैठक बस्न सकेको थिएन । उनले मलाई एउटा कार्यक्रममा अतिथिको रूपमा उपस्थित हुन दोस्रो पटक आग्रह गरे । मैले दोस्रो पटक नाइँ भन्न सकिन । मैले उनको निम्तो स्वीकार गरेँ । उनले भने – ‘‘हामी समयको सीमालाई अलि बढी मान्छौँ । ५ : १५ भनेपछि घडीको सुईअनुसार नै चल्छौँ । त्यसैगरी आउनुहोला, है ।’’ ‘‘हुन्छ’’ भने । उनीप्रति सम्मान अझै बढ्यो । समाज परिवर्तनका लागि हामीमा धेरै मसिना कुराप्रति सचेतता बढ्नु जरूरी छ । ‘‘कोमलजी, ४ः१५ मा तपाईँ त्यहाँ आउनुहोस्, मैले एउटा सानो अनुसन्धान पनि गरेको छु । त्यसका बारेमा पनि कुराकानी गरौँला’’ उनले भने । मैले नकार्नुपर्ने कुनै कुरा थिएन । स्वीकार गरेँ । पहिलोपटक त्यति ठूलो मान्छेले बोलाएको कार्यक्रममा जानुछ भनेर दिनभर त्यही कुरा मनमा राखेर म ठीक ४ः१० मा उनले बोलाएको स्थलमा पुगेँ । अघिल्लो दिनको उनको वाक्य ‘‘हामी समयको सीमालाई अलि बढी मान्छौँ’’ मेरो दिमागमा अलि बढी गढेको रहेछ । तर, त्यहाँ पुगेको तीन मिनेटपछि एउटा एसएमएस आयो – ‘‘म विद्यालयबाट भर्खर निस्केँ । ४ः४५ मा भेटौँला ।’’ 

माथिका तीनवटा घटनामा म एउटा गम्भीर समानता देख्छु । पहिलो र दोस्रो घटनामा विश्वविद्यालयमा उच्च शिक्षा ग्रहण गरिरहेका विद्यार्थीहरूका शब्दहरू निष्क्रिय भएको दखिन्छ । तिनीहरू ध्वनि पक्षप्रति मात्र इमानदार देखिए । ध्वनि पक्ष भनेको शब्दको वर्तमान हो । त्यसले भूतको पृष्ठभूमिमा भविष्यमा हुने भाव पक्षलाई अंगीकार गरेको हुन्छ । हाम्रो शिक्षा प्रणालीमा भएको सबैभन्दा ठूलो समस्या नै शब्दका दुई पक्ष ध्वनि र भावबीचको तालमेल हराउनु नै रहेको छ । हुन त अर्को शब्दमा यसलाई झुठ, बेइमानी पनि भनेर भन्न सकिन्छ । तर, यस्तो प्रहारले मानव सभ्यताका आधारशीलाको रूपमा रहने  शिक्षा र व्यवहारलाई कमजोर बनाउँछ । शब्दको गतिशीलतामा नै शिक्षा र व्यवहारको जग अडेको हुन्छ । शब्दले आफ्नो गति गुमाउनु भनेको शब्द ध्वनिमा मात्र सीमित हुनु हो । 

पहिलो घटनामा विद्यार्थीहरूले आफ्नो सुबिधाअनुसार समय तय गरे । एउटा सार्वजनिक प्रकृतिको कार्यक्रम तय गरे । निम्ता बाँडे । तर, उनीहरूलाई शब्दको ध्वनि पक्षलाई चलाउँदा भाव पक्षमा पनि एउटा गम्भीर किसिमको परिणाम निस्कन्छ भन्ने हेक्का भएन ।

आफ्नो अहंबाट निर्दे्िशत जस्ता देखिने ती आयोजकलाई आफ्नो सुविधामा संसार चल्छ भन्ने भान भएको क्षणमा नै शिक्षाले मानव व्यवहारबाट सम्बन्ध अन्त्य गर्न पुग्यो । हो, शब्दको गतिशीलता नै यहीँ रोकियो । भाव पक्षले संसारका अन्य परिस्थितिहरूसँग मोलमोलाइ गरिरहेको हुन्छ । सामञ्जस्य कायम गर्न संघर्ष गरिरहेको हुन्छ र यसरी उत्पन्न हुने द्वन्द्वमा शक्तिको आधारमा परिस्थितिहरूको आआफ्नो मूल्य तथा स्वार्थ सृजना हुन्छ । ती मूल्य र स्वार्थ नै आफैँमा स्वतन्त्र अस्तित्वमा देखिने नयाँ विषय हुन् जसले भाषा प्रयोग गर्ने प्रथम पक्षको भाषिक वैधानिकताका आधारमाथि प्रश्न खडा गर्छन् । 

विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीहरूमा यो गुण अभावको चर्चा गरिरहँदा हामीले ध्यानमा राख्नुपर्ने नं. २ मा उल्लेखित घटना पनि हो । नेपालको सार्वजनिक प्रशासनमा प्रविधिको कसरी प्रयोग भएको छ र भविष्यमा त्यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्ने विद्वान्ले आफ्ना वचनप्रति इमानदार रहन नसक्नु र सामाजिक सञ्जालका भित्ताहरूमा प्रदर्शन गर्ने ज्ञान एउटा वाक्पटुतामात्र हो । भाषाको ध्वनि पक्षमात्र सबल भयो र भाव पक्ष हरायो भने त्यस्तो प्रकारको भाषाको व्यवहार बाँदरहरूले निकाल्ने आवाज वा यन्त्रहरूबाट निस्कने घ्वारघ्वारभन्दा माथिल्ले श्रेणीको हुन सक्तैन् । यसले समाजका नैतिक अभ्यासमा सबैभन्दा पहिले प्रहार गर्छ र भाषा श्रवणमार्फत भावी स्वरूपलाई अनुमान गर्नेजस्तो मानव व्यवहारको सबैभन्दा गम्भीर पक्षलाई निरर्थक बनाउँछ । त्यस्तै व्यावसायिक जीवनमा विभिन्न किसिमका आदर्शले बाँधिएर एउटा समुन्नत समाज बनाउने चेष्टाले अगाडि बढेको वर्गले नैतिक आदर्शका कुरालाई बोझिलोरूपमा अर्को पक्षमाथि थोपार्ने र आफूले भविष्यको भावलाई वर्तमानको चेष्टाभन्दा माथिको कुरा हो भनेर बुझ्न अस्वीकार गरेसम्म पनि शब्दहरूको गतिशीलता हराउँछ । हामी शब्दहरू गतिशील बनून्, शिक्षाको वास्तविक उद्देश्य पूरा होओस् र हाम्रो व्यवहार वर्तमानको चाहनाअनुरूप होओस् भन्ने त चाहन्छौँ तर त्यसअनुरूप आफूलाई तयार राख्दैनौँ ।

शब्दको गति कायम राख्ने वा त्यस्तो गतिशीलतालाई बेवास्ता गर्ने भन्ने हामी आफैँमा निर्भर रहन्छ । यस्तो परिस्थितिको हामी आफैँ नै सिकार भइरहेका हुन्छौँ । तर, हामीले यस्तो परिस्थितिको पूर्वाकलन गरेर, निकट भविष्यमा पर्ने प्रभावलाई मूल्यांकन गरेर र हामीमा भविष्य बोध गर्ने चेतना छ भन्ने सन्देश कुनै न कुनै प्रकारले प्रवाह गराएर शब्दको ध्वनि पक्ष र भाव पक्षको तालमेल अप्ठेरो परिस्थितिमा पनि न्यूनतम रूपमा नै सही कायम गर्न सक्छौँ । ध्वनि पक्षको प्रयोग गरेर यसबाट उत्पन्न हुने भावको भविष्यमा पर्ने असरप्रति कुनै पनि चासो व्यक्त नगर्नु र वर्तमानको गर्भबाट निस्कने भविष्यप्रति कुनै पनि अभिरूचि देखाउन नसक्नु भनेको शब्दको गतिशीलता विरूद्धमा जानु हो । यसले शिक्षा र मानव व्यवहारका मर्मलाई हदैसम्म नोक्सान गर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC