काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्विडेनका जोन कालेनलाई नियुक्त भएका छन् । शुक्रबार बसेको अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यसहित बैठकले कालिनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
जापानी प्रशिक्षक ग्योटोकु कोजीले छाडेपछि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको पद खाली रहेको थियो । तथापी एन्फाले बालगोपाल महर्जनलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । महर्जनकै प्रशिक्षणमा नेपाली फुटबल टोलीले साफ च्याम्पियनसिप खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
“नेपाली राष्ट्रिय फुटबल टिमलाई तथा उमेर समूहका राष्ट्रिय टिमहरुलाई विदेशी प्रशिक्षकबाट प्रशिक्षण गराउनका निम्ति मित्रराष्ट्र स्विडेनका फुटबल फुटबल प्रशिक्षक जोन कालेनलाई मनोनयल गरी झिकाउने तथा आगामी २०१९ को मार्च देखी राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा कार्य गराउने निर्णय गरियो,” एन्फाले जनाएको छ ।
एन्फाले कति वर्षका लागि कालिनलाई प्रशिक्षकको जिम्मेवारी दिएको खुलाएको छैन । तर कालिनले दुई वर्षका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने जनाइएको छ । कालेनले यसअघि २०१३ सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि प्राविधिक समितीमा छलफल नगरी कालेनलाई नियुक्त गर्न लागेकोमा एन्फा उपाध्यक्ष समेत रहेका प्राविधिक समितीका संयोजक कृष्ण थापाले आपत्ति जनाउँदै आएका थिए ।