site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रविधि निरक्षर कि कुटिल कर्मचारीतन्त्र ?

राईट ब्रदर्सले डेटन ओहायोमासन् १९०३ अर्थात आजभन्दा करिब ११६ वर्षअघि पहिलो विमान उडाउँदा अमेरिकामा हवाई उड्डयन नियम पक्कै पनि थिएन । त्यसबेला ती दुई व्यक्तिले सरकारले कहिल्यै नसोचेको र नियम नबनाएको काम गरेका थिए । आजभन्दा सय वर्षअघिको अमेरिकी सरकारमा अहिले नेपालमा भएजस्तै प्रविधि निरक्षर र कुटिल सरकारी कर्मचारी भएका भए आज संसारमा हवाई उड्डयनको अवस्था कस्तो हुन्थ्यो होला ? 

जर्मनीका कार्ल बेन्जले सन् १८८६मा पहिलो मोटर निर्माण गरेका थिए । त्यसपछि सन् १९०८मा अमेरिकामा फोर्ड मोटर कंपनीले धेरै जनताको पहुँच हुनसक्ने गरी मोडल टी नाम गरेको मोटरको निर्माण गर्‍यो । ती देशमा व्यापारीले नयाँ काम गरेबापत सरकारले तिनलाई दुःख दिने वा तिनलाई सरकारी शक्तिको धाक देखाएर पैसा असुल गर्ने निर्णय गरेका भए मोटर यातायात कति वर्ष पछि पर्थ्यो होला ?

एक्काइसौं शताब्दीको सबैभन्दा महत्वपूर्ण आविष्कारमध्ये ड्रोन एउटा हो । धेरै मुलुकका सरकारमा यो मानवरहित उडान यन्त्र अर्थात् ड्रोनको आविष्कारले एक प्रकारको त्रास फैलाएको छ । धेरै देशको प्रशासन संयन्त्रले ड्रोनको प्रयोग र उडानलाई अझै पनि स्वीकार गर्न सकेका छैनन् । तर, कुनैबेला गृहयुद्धको मारमा परेको र अहिले विकासको पथमा अघि बढेको एउटा सानो अफ्रिकी मुलुक रुवान्डाले ड्रोनको प्रयोग गर्ने निर्णय लियो । देशको कुना काप्चामा रगत र जीवनरक्षक औषधि तुरुन्तै पठाउन अमेरिकी कंपनी जीपलाइनलाई ड्रोन सञ्चालन गर्ने अनुमति दियो । अहिले रुवान्डा संसारमै ड्रोनको प्रयोग गरेर दुर्गम क्षेत्रका बासिन्दालाई तुरुन्तै औषधि उपचार पुर्‍याउन सक्षम देशको उदाहरण बनेको छ । नेपालमा भने संसारका अन्य धेरै मुलुकमा जस्तै ड्रोन उडाउनु अझै पनि एकप्रकारको अपराध बनेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नियम कानुन बनाउने र सोको पालना गराउने जिम्मेवारी पाएको कर्मचारीतन्त्रका लागि सबैभन्दा सजिलो उपाय निषेध र लाइसेन्स जारी गर्नु हो । कुनै पनि नयाँ सेवा होस्, नवीनतम उपचार वा जीवनोपयोगी प्राविधिक सुविधा नियन्त्रणमुखी सरकारले सबैभन्दा पहिले त्यसलाई निषेध नै गर्छ । निषेधित वस्तु खुलाउन सम्बद्ध व्यापारी वा व्यावसायिक समूहले सरकारलाई मनाउन थालेपछि उसले आफ्नो स्वार्थ पूरा गर्दै लाइसेन्स जारी गर्ने मनस्थिति बनाउँछ । कुनै पनि सेवा वा उद्योग लाइसेन्स दिने प्रक्रियालाई सकसपूर्ण बनायो भने त्यसमा ‘मोनोपोली’ अर्थात् एकाधिकार हुन्छ । एकाधिकार पाउन सरकारसँग निकट सम्बन्ध भएको व्यक्ति सरकारी अधिकारीलाई नजराना चढाउन तत्पर रहन्छ । सरकारमा भएका व्यक्तिले देश र जनताको हितका आधारमा कुनै विषयमा नियन्त्रण र कुनै विषयमा खुलापन अपनाउनुपर्ने हुन्छ । देशको हित र जनताको सुविधाको ध्यान नदिने र व्यक्तिगत स्वार्थमा मात्र जाने हो भने निर्णयकर्ता समूहले अवैध सम्पत्ति जम्मा गर्ने सोचमा जस्तोसुकै निर्णय पनि गर्छन् । त्यो देशको लागि हानिकारक वा जनताको अहित हुने प्रकारको हुन्छ ।

नेपालमा धेरैजसो निर्णय सरकारी कर्मचारीलाई सम्बद्ध व्यापारिक ‘माफिया’ले ठूलो रकम भेट गरेरमात्र हुने परम्परा बसिसकेको छ । कुनै वस्तुमा कर लगाउनु पर्‍यो, कुनैमा कर घटाउनु पर्‍यो, कुनै नयाँ प्रकारको काम गर्नु पर्‍यो वा कुनै प्रतिस्पर्धीलाई रोक्नु पर्‍यो भने त्यस व्यापारमा संलग्न सबैले दामासाहीमा रकम उठाएर निर्णयकर्तालाई बुझाउँछन् । अनि निर्णय त्यहीअनुसारको हुन्छ । त्यसैले नेपालमा कुनै पनि विषयमा जनताको हित हेरेर निर्णय प्रायः गरिँदैन । कतिसम्म भने चिनीको मूल्य निर्धारण गर्दा होस् वा मेलम्चीको पानी ल्याउने विषयमा होस्, स्वार्थ भएका समूह सरकारी निर्णयकर्ताको घर घरमा ब्रिफकेस लिएर पुग्छन् । त्यसैले सरकार प्रविधि निरक्षर वा साक्षर हुनेभन्दा पनि निजी स्वार्थमा बहेर कुटिल हुने परम्परा बनेको छ । 

Global Ime bank

अब प्रवेश गरौँ मोटरसाइकलको पछाडीको सिट भाडामा दिने सेवा बारे । यो सेवा संसारका धेरै मुलुकमा चालु भइसकेको छ । नेपालमा विगत दुई वर्षदेखि टुटल नामक कंपनीले यो सेवा प्रदान गर्दै आएको छ भने बंगलादेशमा पनि उपस्थित रहेको अर्को कंपनी पठाओले ६ महिना अघिदेखि काठमाडौंमा यो सेवा सुरु गरेको छ । काठमाडौंका युवामाझ यो सेवा निकै लोकप्रिय पनि भइसकेको छ । कहीँ जानआउन आफ्नै सवारी साधन नभएकालाई पनि यो सेवाले गर्दा सहज भएको छ । सार्वजनिक यातायात गल्ली, कुनामा नजाने भएकाले समय बचतको हिसाबले पनि यसको महत्त्व बढेको हो ।

यातायात व्यवस्था विभागले यसरी भाडामा सवारी लिएर हिँड्ने मोटर साइकल वा स्कुटरको व्यवसाय तुरुन्त रोक्न ट्राफिक प्रहरीलाई अनुरोध गरेअनुरुप टुटल र पठाओको व्यापार ठप्प भएको छ । समाचारअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबीच अलोकप्रिय हुने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई निर्देशन दिएका छन् । आशा गरौँ, सरकारले यस्तो व्यवसायलाई नियमन गरेर निजी क्षेत्रबाट प्रविधिमा भएको सिर्जनात्मक कार्यलाई प्रोत्साहन गर्नेछ र प्रहरी लगाएर जनताले पाएको सुविधा बन्द गर्ने कार्य रोक्नेछ । 

टुटल र पठाओ त उदाहरणमात्र हुन् कसरी सूचना प्रविधिको प्रयोगबाट सर्वसाधारणलाई सुविधा तथा सरकारको राजस्व बढाउन सकिन्छ भन्ने । अहिले जति पनि अनलाइन पसल, खाना पुर्‍याउने सेवा, औषधि तथा चिकित्सा सुविधा पुर्‍याउने सेवा, पुराना सामान बेच्ने सुविधा छन् तिनीहरू सबैलाई कुनै न कुनै प्रकारले नियमन गर्नै पर्छ । तर, प्रविधि पहिलै ल्याएर कसैले कुनै व्यवसाय अघि बढाउँछ भने सरकार पछि लागेर तिनलाई निरुत्साही बनाउने होइन बरु तिनको कामलाई सरकारी नियमनमा ल्याउने हो । नियम कानुन बनाउन समय लाग्छ भने त्यतिन्जेलका लागि अस्थायी नियम लगाएर पनि यस्ता जनउपयोगी सेवालाई सुचारु गराउनुपर्छ । बंगलादेशमा पनि यस्तो मोटरसाइकल वा स्कुटर सेवा केही वर्ष विनाकानुन चलेपछि हालै नियमन गर्न थालिएको छ । सरकारले बंगलादेशबाट यस विषयमा जानकारी लिन सक्छ ।

वर्तमान कानुनी व्यवस्थाअनुसार निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन सार्वजनिक यातायात सेवाको लागि प्रयोग गर्न पाइँदैन । सरकारले यथासक्य यो व्यवस्था परिवर्तन गरेर सवारी साधनलाई खरिदको समयमा निजी वा सार्वजनिक भन्नुभन्दा प्रयोगका आधारमा निजी र सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्छ । पैसा भएको बेला आफूले किनेको सवारी साधन आफैँलेमात्र प्रयोग गर्ने र आर्थिक अवस्था कमजोर भएको बेलामा र समय मिलेको बेलामा सोही सवारी साधनलाई ट्याक्सीको रुपमा प्रयोग गर्ने सुलभता धेरै विकसित देशमा छ । भारतमा पनि उबर कम्पनी प्रवेश गर्दा ट्याक्सी चालकहरूको ठूलो विरोध भयो तर अहिले उबर, ओला वा अन्य कंपनीका इन्टरनेटको माध्यमबाट ग्राहक र ट्याक्सी खोज्ने व्यवसायले धेरैलाई रोजगारीको अवसर दिएको छ र युवाको आयस्रोत पनि बढाएको छ । 

अहिले उबर वा अन्य कुनै इन्टरनेटमा आधारित चार पाङ्ग्रे सेवा आइनसकेको अवस्थामा मोटरसाइकलको प्रयोगलाई गलत मान्नु पर्दैन । मोटरसाइकलको सवारी अलि खतरनाक अवश्यै छ तर त्यसका लागि पनि नियमन गर्न सकिन्छ । कुनै पनि सवारी चालकले यति संख्यामा यस्तो प्रकृतिको दुर्घटना गरेको खण्डमा उसले सार्वजनिक सवारी बोक्न नपाउने जस्ता नियम लगाएर पनि चालकलाई सावधान बनाउन सकिन्छ ।

अहिले कुनैपनि व्यक्तिले काम पाएन भने सरकारी नोकरी वा कुनै निजी कंपनीमा काम खोज्न जानुपर्छ । ट्याक्सी किनेर चलाउन निकै महंगो पर्छ । तर, कोही टुटल वा पठाओजस्तो सेवा दिन तत्पर भयो भने कलेज जाँदा र आउँदा र खाली समयमा आफ्नो मोटर साइकलको पछाडिको सिट भाडा लगाएर पढाइ खर्च निकाल्न सक्छ । काठमाडौंको अहिलेको सडक र मोटर संख्या हेर्दा मोटर साइकलको सेवाले ट्राफिक जामलाई पनि निकै कम गर्न सहयोग पुग्ने देखिन्छ । 

आशा गरौँ, सरकारमा बस्नेले आफ्नो निजी स्वार्थका लागि कुटिलतावश यस्तो सुलभ सेवा बन्द गराउने दुस्प्रयास गरेका नहोस् र सरकार पनि प्रविधि निरक्षर नहोस् । वास्तवमा यस्तो सेवा प्रयोग गर्न टेलिकम कम्पनीले पनि डाटामा खर्च नलाग्ने वा कम लाग्ने व्यवस्था गरेर झन प्रोत्साहन गर्नुपर्ने हो । 

बीबीसी रेडियोले हालैमात्र प्रसारण गरेको एक कार्यक्रममा एक विज्ञ भन्दै थिए – अबको केही दशकमा कसैले पनि निजी सवारी किन्दैन । किनभने बिना ड्राइभरका ट्याक्सी इन्टरनेटबाटै मगाएर प्रयोग गर्न सकिन्छ । संसार प्रविधिको क्षेत्रमा कहाँबाट कहाँ पुग्न लागिसक्यो हामी भने अझै प्रगतिको तगारो बन्ने धुनमा लागिरहेका छौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC