गलकोट, रासस । कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।
घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल तथा सात जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँको छाउनी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । अन्य २२ घाइतेलाई एम्बुलेन्समार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नंको बस आज पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो । दुर्घटनामा ३२ जना घाइते भएका थिए ।