site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘हिजोको ब्याज’ खाएर देश लुट्न पाइँदैन 
Sarbottam CementSarbottam Cement

सार्वजनिक लेखा समितिका सदस्य एवम् वाइडबडी विमान खरिद प्रकरणमा गठित छानबिन उपसमितिका सदस्य समेत रहका प्रदीप यादव निकै जुझारू लाग्यो । उहाँको विचार सुन्दा ‘द एम्परर्स न्यु क्लोथ्स ’कथाको याद आयो, ‘हान्स क्रिस्टियन एन्डर्सन’कृत ।

कुनै समय अत्यन्त सौखिन बादशाह थिए । ठगहरूले सोचे– यी बादशाहलाई नङ्गयाउनुपर्यो । उनीहरूको ध्येय थियो, बादशाह नांगिएपछि हामीलाई ठूलो लाभ मिल्छ । लामो बहस पछि उपाय पहिल्याए– हुँदै नभएको लुगा लगाइदिने र भन्ने– “जो बदमास छ, त्यसले लुगा देख्दैदेख्दैन । जो सज्जन, भद्र छ उसले मात्रै लुगा देख्छ ।”

सबै चाकडीबाज, भाइभारदार जति पनि थिए ती सबैले बादशाहको तारिफ गरे– “अहो ! कति राम्रो लुगा !” बादशाह पुलकित हुँदै सडकमा हिँड्दै थिए । एउटा बालखले आश्चर्य हुँदै भन्यो– “बादशाह त नाङ्गै पो हुनुहुँदो रहेछ !”

Prabhu Bank
Agni Group
NIC Asia

सानो बालखलाई कुनै लोभ, क्षोभ, लालच थिएन । उसले सत्य कुरा बताइदियो ।

युवा सांसद प्रदीप यादवले तिनै बालकको भूमिका निर्वाह गरेर बादशाह नाङ्गै छ भन्ने हिम्मत गरेका छन् । 

Global Ime bank

सार्वजनिक लेखा समितिका थुप्रै सदस्यहरू यहाँ आउनुभएन, बोलिराख्नुभएको छैन, किनभनेर उहाँहरूले बादशाह अत्यन्त राम्रो छ भन्नैपर्छ ।
वाइडबडी प्रकरणमा भ्रष्टाचार भयो कि भएन भनेर कुनै द्विविधा छैन । 

संयोगले संविधानसभाको पहिलो निर्वाचन पछाडि गणतान्त्रिक नेपालको पहिलो सरकारको अर्थमन्त्री हुने मैले अवसर पाएँ । संयोगले हिसिला यमी पनि त्यही क्याबिनेटको पर्यटनमन्त्री हुनुभयो । मुलुकलाई कसरी समृद्ध बनाउने हाम्रो सपना छँदै थियो । समृद्धिको बलियो आधार पर्यटन हुँदै हो । त्यसबेला कस्तो अवस्था थियो भने, तिनताक नेपालमा जति पर्यटक आउँथे । सबै विदेशी एअरलाइन्सले नै त्यो फैसा फिर्ता लैजाँदा रहेछन् । पर्यटक जति आउन्, मुख्यतः आवतजावतमै खर्च हुने हो । पैसा खर्च गर्ने ठाउँ नबनाउने हो भने जति पर्यटक आए पनि के काम ?

एअरलाइन्समा सरकारको लगानी आवश्यक छ कि छैन, बहस निकै पेचिलो छ । यो आजै किनारा लाग्ने विषय होइन । त्यतिबेला हामीले सोच्यौँ, नेपालका निजी एअरलाइन्स कम्पनीसँग विश्वका विभिन्न मुलुक पुग्न सक्ने, लामो उडान भर्ने गरी ठूला जहाज आवश्यक हुन्छ, ती ल्याउने क्षमता छैन । त्यसैले हिसिला यमी र मैले नै सल्लाह गरेर केही सचिवसँग समेत परामर्श गर्यौँ । रामेश्वर खनाल पनि त्यहीबेला सचिव हुनुहुन्थ्यो । उहाँ स्वच्छ छवि भएकै सचिवमा दरिनुहुन्थ्यो ।

“जहाज कसरी ल्याउन सकिन्छ ?,” हामीले सल्लाह माग्यौँ । रामेश्वर खनालले उपाय सुझाउनुभयो, “हामीसँग सञ्चय कोष, नागरिक लगानी कोषमा रकम थुप्रिएर बसेको छ । त्यसले सीधै दिन सक्दैन । दिनु पनि हुँदैन । सरकार जमानी बस्यो भने रकम प्रवाह हुन सक्छ  । तत्काल ठूला जहाज आउन सक्छ र पर्यटन प्रवद्र्धन हुनसक्छ ।

मैले २०६५ सालमा राखेको बजेटमा हेर्नूहोला, त्यहाँ मैले दुईवटा ठूला जहाज किन्ने भनेर वजेट विनियोजन भएको छ । त्यतिबेलैदेखि यो प्रक्रिया शुरू भएको हो । त्यसअघि ३० औँ वर्षसम्म नेपालले ठूला जहाज ल्याउन सकेको थिएन । सरकार त ढलिहाल्यो । तर, हिसिला यमीले जुन प्रक्रिया शुरू गर्नुभयो । आर्थिक विनियमावली– २०६५ उहाँकै पालामा बनेको हो । त्यसले सबैकुरा निर्धारण गरेको छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको रकम पुरानो जहाज खरिद गर्ने प्रयोजनमा दिन पाइँदैन । नयाँ जहाज खरिद गर्दा मात्रै पाइन्छ ।

सरकारले लगानी गर्दा पनि नयाँ जहाजमा मात्रै गर्ने हो, पुरानामा होइन, विनियमावलीमा प्रष्टै व्यवस्था छ । विनियमावली २३६(१)मा त्यो व्यवस्था छ । पुरानो ल्याउन २३६ (२)मा अपवाद भनेर राखिएको छ । मैले सुनेसम्म पछि त्यो संशोधन गरेर थपिएको हो ।

मैले छुट्याएको बजेट र विनियमावलीको २३६ (१)मा टेकेर दुईवटा न्यारो बडी ल्याइयो । त्यतिबेला विचौलिया खडा गरिएको थिएन । सीधै कम्पनीसँग खरिद गरियो ।

अहिले पनि त्यही नियममा टेकेर सीधै कम्पनीसँग वाइडबडी खरिद गर्न सकिन्थ्यो । तर, २३६ (२)को अपवादमा टेकेर पुरानो जहाज किन ल्याइयो ? फेरि एक डलरको कम्पनीसँग खरिद गरेको भनिएको छ । एक डलरको पनि कहीँ कम्पनी हुन्छ ?

सामान्य नागरिकले ऋण लिन जाँदा पनि विभिन्न क्राइटएरिया पूरा गर्नुपर्छ । जहाज बेच्न खडा गरिएको एक डलर पुँजी भएको कम्पनीसँग २५ अर्बको कारोबार गर्न मिल्छ ? सीधै दालमा कालो छ भन्ने प्रष्ट भएन ?

जहाज बिक्री गर्ने दुई ठूला कम्पनी हुन्, बोइङ र एअरबस । उसले प्रत्यक्ष, विचौलिया नराखी बेच्छ भने बीचको कम्पनी किन चाहियो ? नयाँ जहाज खरिद गर्ने प्रावधान विपरित गएर पुरानो जहाज किन्नु सीधै भ्रष्टाचार हो । यसमा कसैले द्विविधा मान्नुपर्दैन ।

जहाज खरिद प्रकरणमा जोडिएको मुख्य मानिसलाई मैले पनि सोधेँ– “किन त्यसो गर्नुभयो ?”

उहाँहरू बडो लडखडिएको जवाफ दिनुहुन्छ, “हामीलाई एअरबस नै ल्याउनुपर्ने थियो । खुला प्रतिस्पर्धा गर्ने हो भने बोइङले पनि हाल्ला, बोइङ आयो भने पाल्ना गाह्रो हुन्छ ? एअरबस ल्याउन यसो गर्नुपर्यो !”

यस्तो पनि कहीँ तर्क हुन्छ ? त्यसो भए किन चाहियो सार्वजनिक खरिद ऐन ? प्रतिस्पर्धा किन गर्ने ? सीधै किन्न मिल्ने बनाए हुँदैन । अतः यो भ्रष्टाचार गर्नकै लागि खरिद गरिएको हो ।

यसको मूल्यमा पनि गडबड छ, तर म त्यतातिर गइनँ ।

यस प्रकरणमा चार अर्ब २५ करोड घोटाला भएको छ भनेर उपसमितिले प्रतिवेदन दिएको छ र समितिको निष्कर्ष पनि त्यही छ । त्यही नै यथार्थ हो । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने भ्रष्टाचारको ठूलै हिमपहाड तल छ । वाइडबडी त टुप्पो, चुली देखिएको मात्रै हो । कहिले एनसेल प्रकरणमार्फत देखा पर्छ । कहिले बूढीगण्डकीमार्फत देखिन्छ ।  पहिले लाउडा भएर देखा पर्यो, अहिले वाइडबडीमा आएर ठोक्किएको छ ।

लाउडा प्रकरण १२ वर्षदेखि अदालतमा छ । अस्ति खबर पढेँ– ९५ पटक त्यसको पेसी सरेछ । १२ वर्षमा १२ वटै प्रधानन्यायाधीश भए । प्रधानन्यायाधीश पदमा ठूल्ठूला नाम चलेका व्यक्ति पनि पुगे । उहाँहरूको पालामा किन छिनिएन ? अहिले किन छिनिँदैन ? लाउडा टुंगो लागेन भने कुनै पनि ठूला प्रकरण निष्कर्षमा पुग्दैन । किनकि यसमा तैँ चुप मै चुप छौँ, ‘काले काले मिले खाऊँ भाले’ भन्ने गीतजस्तै । सबै मिलेर भाले खान पाइने भएपछि भ्रष्टाचार कसरी किनारा लाग्छ । यसर्थ राज्य नै भ्रष्टाचारको केन्द्र बने छ ।

हिजो त्यत्रो बलिदान गरेर आएका कांग्रेस र कम्युनिस्ट ब्रान्डका कोकाकोला र पेप्सीजस्ता अत्यन्त लोकप्रिय रहेका र गएगुज्रिएका पेय पदार्थजस्ता पार्टीहरू सत्तामा छन् । मिलेमतो गरेर भ्रष्टाचार गरेको प्रष्टै छ । संसदको सार्वजनिक लेखा उपसमितिले दिएको प्रतिवेदन समितिले अदलबदल गर्यो । यस प्रकरणमा सबै मुछिएपछि जोगाउनुपर्यो ।

यो धेरै गम्भीर प्रकृतिको भ्रष्टाचार छ । ‘यस्तो सधैँ हुन्छ’ भनेर चुप लाग्ने कि भ्रष्टाचारको पहाड कुनै न कुनै दिन फाल्न सक्छौँ भनेर खन्न थाल्ने ? आजको प्रश्न यहाँनेर हो । हामीले चिनियाँ कथा पढ्छौँ– पहाड पन्छाउने मूर्ख बूढो । भ्रष्टाचारको पहाड भत्काउन हामी मूर्ख बूढो बन्न तत्पर हुनुपर्यो । ‘सबै मिलेका छन्, हामीले के गर्न सक्छौँ  र !’ भन्नेतिर गयौँ भनेर यो यस्तै रहन्छ । हामीले त दुःख पायौँपायौँ, शाखासन्तानले पनि दुःख पाउँछन् । हामी एक्लै किन नहोऔँ, यो विषय छाड्दैनौँ, छाड्न मिल्दैन । प्रदीप यादव बोलिराख्नुभएको छ । संसदमा हामी पनि कुरा राख्छौँ । संसदले पुग्दैन सडकबाट पनि यसको विरोध गरिनुपर्छ ।

यसप्रकरणमा मिडियालाई धन्यवाद दिनुपर्छ । केहीदिन यता हाम्रा सार्वजनिक मिडिया भ्रष्टाचारका काण्ड बाहिर ल्याउन लागिपरेका छन् । हाम्रोजस्तो लामो सङ्घर्षपछि परिवर्तन हात पारेका छौँ । समाजवादतिर जाने हाम्रो लक्ष्य भए पनि अहिले नै त्यतातिर जाने होइन । किनभने हिजो बनाइएका समाजवादका मोडल हामीले देखेका छौँ । जबसम्म मानिसको उत्पादकत्व बढ्दैन, श्रमको उत्पादकत्व बढ्दैन । गरिबीको अवस्थामा समाजवादको कुरा गरियो भने गरिबी बाँड्नेमात्रै कुरा हुन्छ र यस्तै भ्रष्टाचार मौलाउने कुरा हुन्छ । यतिबेला हामीले राष्ट्रिय औद्योगिक पुँजीवादकै विकास गर्ने हो । त्यसका निम्ती निजी क्षेत्रलाई प्राथमिकता दिइनुपर्छ । यसमा विवाद हुनुहुँदैन ।

हिजो माक्र्सवादको भ्रष्टीकरण स्टालिनको पालामा भयो । सबैकुरा राज्यले लिने, निजी अर्थतन्त्रलाई अन्त्य गर्ने भनियो, त्यो आज सम्भव छैन । यसमा हाम्रो द्विविधा छैन । हामी निजी क्षेत्रलाई नै अघि सारेर जानुपर्छ ।

सामजिक क्षेत्रका कतिपय विषय छन्, त्यहाँ राज्यले ध्यान दिएन र सबै कुरा बजारलाई छाड्दिने हो भने चरम असमानता आउँछ । अमेरिका, फ्रान्सलगायत कतिपय पश्चिमा मुलुकका संकटहरू त्यसको उदाहरण हुन् ।

अतः हाम्रोजस्तो देशले सार्वजनिक र निजी क्षेत्रको सन्तुलन मिलाएरै जानुपर्छ । अतः वायु सेवा निगम विघटन गरिहाल्नुपर्छ भन्ने पक्षमा म छैन । हाम्रो निजी क्षेत्र कहाँ स्वतन्त्र छ ? यो त राज्यसँग जोडिएको छ । राज्यसत्ताको दोहोन गर्न पल्किएको छ । ब्युरोक्रेसी, राजनीतिक दलको नेतृत्व र निजी क्षेत्रका एकाधिकार चलिरहेको छ मुलुकमा । निजीक्षेत्रमा एउटा तप्का छ, त्यसले अर्थतन्त्रमा प्रभुत्व जमाइरहेको छ ।

यिनै विचौलिया वर्गको राजनीति र अर्थतन्त्रबीचको साँठगाँठलाई नै हामीले ‘क्रोनिक क्यापिटालिजम’ भनेका हौँ । त्यसले नै नेपालको अर्थतन्त्र गाँजेको छ । अत विमान सेवा सम्पूर्ण रूपमा निजी क्षेत्रलाई छाड्न सकिने अवस्था होइन । हाम्रोजस्तो मुलुकमा राष्ट्रिय ध्वजाबाहक भएन भने, विकट ठाउँहरूमा निजी क्षेत्रले धान्न सक्दैन भन्ने हामीले देखिराखेका छौँ । हुम्ला, जुम्ला जाने रुटमा निजी विमानहरूको भाडा जनताले धान्नै नसक्ने थियो । नेपाल वायु सेवा निगमले चलाएपछि कम भएको प्रष्ट छ । अतः केही समय राज्यले नै राष्ट्रिय ध्वजावाहक चलाउनुपर्ने हुन्छ । संसारका अति विकसित देशले पनि आफैँ राष्ट्रिय ध्वजा चलाएका छन् ।

टिस एयरवेज जस्तो विमान सेवा प्रदायक संस्था निजीकरण भएको हो । तर, अहिले पनि संसारका डेढसय देशसँग राष्ट्रिय ध्वजावाहक विमान छन् । जर्मनी, फिनल्याण्ड, न्युजील्याण्ड यसका उदाहरण हुन् । 

राष्ट्रिय ध्वजावाहक विमान सेवाको अन्त्य गरेर यसको समाधान हुँदैन । राजनीतिक दलसँग मेरो आग्रह छ– राज्यदोहन बन्द गरौँ । हिजो हामीले अत्यन्त आदर्शवादी भएर, छिटो विकास गर्नुपर्छ भन्ने मान्यताले छिटो गर्न खोजेका हौँ । अस्ति प्रचण्ड भन्दै हुनुहुन्थ्यो– कम्युनिस्टको पूरा शासन ल्याउन सकेको भए ड्याम्ड्याम गर्न पाइन्थ्यो । कहाँ पाइन्छ त्यसरी ?

लोकतन्त्रमा जनताप्रति उत्तरदायी हुनपर्छ । कम्युनिस्टले ड्याम्ड्याम गर्न खोज्दा कति ठाउँमा भ्रष्टाचारमा चुर्लुम्म डुबे । भित्रैबाट बिस्फोट भएर ढले । रुमानियाका चाउचेस्को त्यसका उदाहरण हुन् । हिजोको जुन कथित साम्यवादी मोडल थियो, त्यो आज सम्भव छैन । हो, म अहिले पनि मार्क्सका विचार मार्क्सको पद्धति सबभन्दा वैज्ञानिक छ भन्ने मान्यता राख्छु । नयाँ शक्ति नेपालले अहिले पनि त्यसलाई परित्याग गरेको छैन । विचार र विज्ञान चाहिन्छ ।

मार्क्सवादका नाममा जे गलत अभ्यास गरियो त्यसबाट पाठ सिक्नुर्छ । पुँजीवाद र साम्यवादका हिजोका विमर्शहरू र प्रवर्गहरू पर्याप्त छैनन् । त्यो भन्दा माथि उठेर व्यक्ति निजत्व र सामजिक हित दुवैको सन्तुलन कायम गरेर वैज्ञानिक मानवतावादी विचारसहितको नयाँ प्रणाली चाहिन्छ । आजको बहस यो हो ।
तर, हाम्रो नेतृत्व यता तिर छैनन् । पुराना पार्टी कांग्रेस र कम्युनिस्ट जसरी हुन्छ सत्तामा पुग्ने, सत्ताको दोहान गरेर चुनाव जित्ने, चुनावको खर्च उठाउन फेरि तिनै विचौलियासँग पैसा लिने दुस्चक्र बनेको छ । यही दुस्चक्र आजको जड हो । मेरो राजनीतिक दलका नेताहरूलाई आग्रह छ– हिजोको क्रान्तिको ब्याज खानुहुँदैन । खान पाइँदैन ।

अस्तिको दिन ममा ठूलो शंका उब्जियो । सार्वजनिक लेखा समितिको प्रदिवेदनमा विवाद चुलियो । त्यसपछि प्रमुख प्रतिपक्ष र सत्ताधारी नेता र प्रधानमन्त्रीसहितको बैठक बालुवाटारमा बसेको कुरा मैले सुने । प्रमुख प्रतिपक्ष र सत्तापक्ष बीच सम्वाद हुनु त राम्रो कुरा हो भन्ने पनि लाग्यो । गुपचुप छलफल भएकाले बाहिर खासै आएन । 

मेरा पुराना मित्र प्रचण्डलाई त म राम्रोसँग चिन्छु, उहाँ फुर्किएपछि त कुरा खोलिहाल्नुहुन्छ । भोलिपल्टै चितवनमा गएर भन्नुभयो– राष्ट्रियसहमति भयो । अब राष्ट्रिय सहमति बमोजिम गरिन्छ । मलाई चिसो पस्यो– कतै वाइडबडीमा त राष्ट्रिय सहमति भएन ? नभन्दै दुईदिनपछि पत्रपत्रिमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा मुछिएको समाचार आइहाल्यो । यसमा पो भएको रहेछ– राष्ट्रिय सहमति !

अतः उहाँहरू पनि कुनै आग्रह–पूर्वाग्रह छैन । उहाँहरूप्रति सम्मान नै छ । हिजो त्यत्रो वर्ष जेलनेल र यातना भोग्नुभयो । तर हिजोको क्रान्तिको ब्याज खाएर देश लुट्न पाइँदैन । राज्यसत्ताको दोहन गरेर आफ्ना आसेपासे पोस्न पाइँदैन । हिजोको क्रान्तिको धक्कु लगाएर राष्ट्र कंगला बनाउन पाइँदैन ।

भ्रष्टाचार रोक्न कुन निकायको भर पर्नुहुन्छ ? अख्तियारतिर जानूस् तिनैले टिका लगाएका मान्छे छन् । सर्वोच्च अदालततिर जाऊ मलाई मान हानीको मुद्दा लाग्न सक्छ । प्रधानमन्त्री भएकैबेला थुप्रै मानहानीको मुद्दा खेपेको मान्छे हुँ म । धेरै बोल्नु उपयुक्त हुँदैन । ‘लाउड प्रकरण’ले नै उसको छवि उदाङ्गो बनाएको छ । सार्वजनिक लेखा समिति जसको नेतृत्व प्रमुख प्रतिपक्षले गरेको छ । त्यहीँ तैँ चुप मै चुप भइराखेको छ ।

यस्तो बेला देशका नागरिक समाज, मिडिया, बौद्धिक जगत, हामीजस्ता वैकल्पिक राजनीतिक शक्तिहरू एकट्ठा भएर यो मुद्दालाई उठाउनै पर्छ । देश र जनतलाई निराशमा पार्नुहुँदैन । यो हामी सबैको ‘टेस्टकेश’ हो ।

(बुधबार नयाँ शक्ति नेपालको राज्य व्यवस्था र संसदीय मामिला विभागलले राजधानीमा वाइडबडी प्रकरणबारे आयोजना गरेको अन्तरक्रियामा पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेको विचारको सम्पादित अंश)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC