काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम सिलेट सिक्सरले आज आफ्नो चौथो खेलमा कोमिल्ला भिक्टोरियन्स खेल्दैछ । सिलेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
यसअघि तीन खेल खेलेको सिक्सरले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । ४ खेल खेलेको कोमिल्ला भिक्टोरियन्सले दुईमा जित र दुईमा हार ब्यहोरेको छ । सिलेट सिक्सर २ अंकसहित छैटौं स्थानमा रहेको छ भने भिक्टोरियन्स चार अंकसहित चौथो स्थानमा छ । यसअघिका तीनै खेलमा पहिलो रोजाइको खेलाडीका रुपमा मैदान प्रवेश गरेका सन्दीप पछिल्ला दुई खेलमा विकेटविहिन छन् ।
पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका थिए । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप दोस्रो चितागोङ भिकिन्सविरुद्धको खेलमा कसिलो बलिङ गर्दै कम खर्चन सफल भएपनि विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चे । यस्तै तेस्रो खेलमा सन्दीप ढाका डाइनामाइट्ससँग महँगो सावित भएका थिए । ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएका थिए । उक्त खेलमा सन्दीपको टोली ३२ रनले पराजित भएको थियो ।
बिग बास खेल्न अस्ट्रेलिया पुगेका सन्दीप जनवरी १ मा बंगलादेश फर्किएका थिए । उनले अस्ट्रेलियामा रहँदा मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाइज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिती अनिवार्य जस्तै बनाइसकेका छन् ।
क्यारेबीयन प्रिमियर लिग, क्यानडाको ग्लोवल टि—२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा पनि आवद्ध भइसकेका छन् । बिग बास खेलिसकेका सन्दीपलाई दिल्ली क्यापिटल्सले यो सिजनका लागि रिटेन गरिसकेको छ । बंगलादेशमा रहेका सन्दीप जनवरी २५ देखि सुरु हुने नेपाल र युएईबीचको एकदिवसीय र ट्वान्टी—२० शृंखलाका लागि युएई पुग्नेछन् ।