काठमाडौं । हिमालयन बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो बोनस सेयरको वितरणपश्चात् बैंकको चुक्तापूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ रुपैयाँ पुग्नेछ ।
सभाले आर्थिक वर्ष २०७४–७५ को प्रतिवेदन पनि पारित गरेको छ ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकहरुले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी गराए ।
बैंकले आव २०७४–७५ अन्त्य सम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ ।
उक्त सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद १ मा विजयबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।