काठमाडौं । साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ । शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवसरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।
नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघ मध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार ससहत सम्मान पत्रले पुरस्कृत गरिएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मूलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए ।